परिच्छेद–१ प्रारम्भिक

परिच्छेद–१ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भः (१) यस ऐनको नाम “धितोपत्र सम्बन्धी ऐन, २०६३” रहेको छ ।
(२) यो ऐन २०६३ साल असोज ६ गतेदेखि प्रारम्भ भएको मानिनेछ ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “अध्यक्ष” भन्नाले दफा ७ बमोजिम नियुक्त बोर्डको अध्यक्ष सम्झनु पर्छ ।
(ख) “अनुमतिपत्र” भन्नाले धितोपत्र बजार सञ्चालन गर्न वा धितोपत्र व्यवसाय गर्न यस ऐन बमोजिम बोर्डले दिएको अनुमतिपत्र सम्झनु पर्छ ।
(ग) “कम्पनी” भन्नाले कम्पनी सम्बन्धी प्रचलित कानून बमोजिम संस्थापना भएको कम्पनी सम्झनु पर्छ ।
(घ) “डिपोजिटरी” भन्नाले योजना व्यवस्थापकसँग सम्झौता गरी कुनै सामूहिक लगानी योजनाको सम्पत्ति सुरक्षापूर्वक राख्ने र सञ्चालन गर्ने जस्ता सुरक्षक सेवा (कस्टोडियल सर्भिस) प्रदान गर्ने गरी जिम्मेवारी लिने बैंक वा वित्तीय संस्था सम्झनु पर्छ ।
(ङ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
(च) “धितोपत्र” भन्नाले संगठित संस्थाले जारी गरेको शेयर, स्टक, बण्ड, डिवेञ्चर, डिवेञ्चर स्टक वा सामूहिक लगानी योजना सम्बन्धी प्रमाणपत्र वा नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानतमा संगठित संस्थाले जारी गरेको ऋणपत्र, बचतपत्र वा बण्ड सम्झनु पर्छ र सो शब्दले धितोपत्र बजार मार्पmत कारोबार हुन सक्ने वा हस्तान्तरण हुन सक्ने भनी बोर्डले तोकिदिएको अन्य धितोपत्र वा त्यस्तो धितोपत्र खरिद, बिक्री वा विनिमय गर्न सक्ने अधिकारपत्र समेतलाई जनाउँछ ।
(छ) “धितोपत्र कारोबार” भन्नाले धितोपत्रको निष्काशन, खरिद, बिक्री वा विनिमय तथा तत्सम्बन्धी अन्य कार्य सम्झनु पर्छ ।
(ज) “धितोपत्रको दर्ता” भन्नाले संगठित संस्थाले दफा २७ बमोजिम बोर्ड समक्ष गरेको धितोपत्रको दर्ता सम्झनु पर्छ ।
(झ) “धितोपत्र बजार” भन्नाले धितोपत्र खरिदकर्ता तथा बिक्रेतालाई एकै ठाउँमा ल्याई निरन्तर रुपमा धितोपत्रको खरिद, बिक्री वा विनिमय कार्य सम्पन्न गर्ने बजार, स्थान वा सुविधा सम्झनु पर्छ ।
(ञ) “धितोपत्र व्यवसाय” भन्नाले धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्राप्त कम्पनी वा संस्थाले यस ऐन बमोजिम गर्ने धितोपत्र कारोबार सम्झनु पर्छ ।
(ट) “धितोपत्र व्यवसायी” भन्नाले धितोपत्र व्यवसाय गर्न दफा ५८ बमोजिम अनुमतिपत्र प्राप्त कम्पनी वा संस्था सम्झनु पर्छ ।
(ठ) “निष्काशन” भन्नाले संगठित संस्थाले पूँजी उठाउनको लागि धितोपत्र जारी गर्न राखेको प्रस्ताव तथा तत्सम्बन्धी कार्य सम्झनु पर्छ र सो शब्दले संस्थापकलाई धितोपत्र जारी गर्ने कार्य समेतलाई जनाउँछ ।
(ड) “परिपत्र विधि” भन्नाले बढीमा पचास जनासम्म लगानीकर्ताहरुलाई लक्षित गरी चिठ्ठी, पत्र वा कुनै पनि विद्युतीय सञ्चार माध्यमबाट धितोपत्र बिक्रीका लागि प्रस्ताव राख्ने कार्य सम्झनु पर्छ ।
(ढ) “बोर्ड” भन्नाले दफा ३ बमोजिम स्थापना भएको नेपाल धितोपत्र बोर्ड सम्झनु पर्छ ।
(ण) “विनिमय” भन्नाले यस ऐन बमोजिम निष्काशन भैसकेका धितोपत्रको खरिद, बिक्री वा हस्तान्तरण सम्बन्धी कार्य सम्झनु पर्छ ।
(त) “विवरणपत्र” भन्नाले संगठित संस्थाले धितोपत्रको सार्वजनिक निष्काशन गर्नु अघि दफा ३० बमोजिम प्रकाशन गर्नु पर्ने विवरणपत्र सम्झनु पर्छ ।
(थ) “योजना व्यवस्थापक” भन्नाले यस ऐन बमोजिम दक्ष लगानी सेवा प्रदान गर्ने उद्देश्य लिई सहभागीहरुको सामूहिक लगानी योजना व्यवस्थापन गर्ने संगठित संस्था सम्झनु पर्छ ।
(द) “लगानी कोष” भन्नाले योजना व्यवस्थापकले दक्ष लगानी सेवा प्रदान गर्ने उद्देश्यले करारको आधारमा सहभागीहरुबाट सामूहिक लगानी योजनामा जम्मा गरेको रकमबाट सृजना भई आफ्नो जिम्मामा लिएको कोष वा त्यस्तो कोषसँग सम्बन्धित सम्पत्ति सम्झनु पर्छ र सो शब्दले यस ऐन बमोजिम योजना व्यवस्थापकले आफ्नो जिम्मेवारीमा लिएको कोष वा सम्पत्तिको लगानी व्यवस्थापनबाट सृजित थप सम्पत्ति र प्रतिफलस्वरुप जम्मा भएको रकम समेतलाई जनाउँछ ।
(ध) “सहभागी” भन्नाले योजना व्यवस्थापकले यस ऐन बमोजिम सञ्चालन गरेको सामूहिक लगानी योजनामा रकम लगानी गर्ने व्यक्ति वा संस्था सम्झनु पर्छ ।
(न) “सदस्य” भन्नाले बोर्डको सदस्य सम्झनु पर्छ र सो शब्दले अध्यक्ष समेतलाई जनाउँछ ।
(प) “संगठित संस्था” भन्नाले धितोपत्रको सार्वजनिक निष्काशन गर्न सक्ने गरी प्रचलित कानून बमोजिम स्थापना भएको संगठित संस्था सम्झनु पर्छ ।
तर सो शब्दले प्राइभेट लिमिटेड कम्पनी वा सहकारी संस्थालाई जनाउने छैन ।
(फ) “सार्वजनिक निष्काशन” भन्नाले संगठित संस्थाले आफ्नो धितोपत्र बिक्री गर्न सर्वसाधारण समक्ष विवरणपत्र प्रकाशन गरी राखेको प्रस्ताव सम्झनु पर्छ ।
(ब) “सामूहिक लगानी योजना” (कलेक्टिभ इन्भेष्टमेन्ट स्कीम) भन्नाले विभिन्न व्यक्ति वा संस्थाहरुको सहभागिता रहने गरी परिचालन गरिएको बचत लगानी रकमलाई आफ्नो जिम्मेवारीमा लिई सोको दक्ष लगानी सेवाद्वारा प्राप्त भएको प्रतिफल सम्बन्धित कार्यक्रमका सहभागीहरुलाई समानुपातिक रुपले वितरण गर्न यस ऐन बमोजिम योजना व्यवस्थापकले सञ्चालन गरेको लगानी कोष, एकाङ्क कोष वा समय समयमा बोर्डले तोकिदिएको त्यस्तै प्रकारका अन्य सहभागितामूलक कोष व्यवस्थापन कार्यक्रम सम्झनु पर्छ ।
(भ) “सूचीकरण” भन्नाले धितोपत्र बजार मार्पmत धितोपत्रको खरिद, बिक्री वा विनिमय गर्ने प्रयोजनको लागि धितोपत्र बजारमा गरिने धितोपत्रको सूचीकरण सम्झनु पर्छ ।
(म) “हकप्रद निष्काशन” भन्नाले संगठित संस्थाले निष्काशन गरेको कुनै धितोपत्र साबिकका शेयरवाला वा निजले मनोनयन गरेको कुनै व्यक्तिले खरिद गर्न पाउने गरी राखिएको प्रस्ताव सम्झनु पर्छ ।