परिच्छेद–३ धितोपत्रको दर्ता तथा निष्काशन

परिच्छेद–३ धितोपत्रको दर्ता तथा निष्काशन

२७. धितोपत्रको दर्ताः (१) संगठित संस्थाले आफूले निष्काशन गर्ने धितोपत्र निष्काशन गर्नु अघि बोर्डमा दर्ता गराउनु पर्नेछ ।
(२) संगठित संस्थाले उपदफा (१) बमोजिम धितोपत्र दर्ता गराउनका लागि आफ्नो प्रबन्धपत्र तथा नियमावली र सो धितोपत्रसँग सम्बन्धित कागजात सहित तोकिए बमोजिमको दस्तुर संलग्न गरी तोकिएको ढाँचामा बोर्डमा निवेदन दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम निवेदन प्राप्त भएमा बोर्डले आवश्यक जाँचबुझ गरी उपयुक्त देखेमा तोकिए बमोजिमको दर्ता किताबमा त्यस्तो धितोपत्र विवरण सहित दर्ता गरी तोकिएको ढाँचामा सम्बन्धित संगठित संस्थालाई धितोपत्रको दर्ता प्रमाणपत्र दिनु पर्नेछ ।
(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुनुभन्दा अघि धितोपत्र निष्काशन गरिसकेका संगठित संस्थाले त्यस्तो धितोपत्र यो ऐन प्रारम्भ भएको मितिले एक वर्षभित्र यस ऐन बमोजिम बोर्डमा दर्ता गराउनु पर्नेछ ।
२८. धितोपत्रको बिक्री तथा हस्तान्तरणः (१) संगठित संस्थाले धितोपत्रको दर्ता भएपछि त्यस्तो धितोपत्रको बाँडफाँड वा बिक्री गरेमा त्यसरी बाँडफाँड वा बिक्री गरेको धितोपत्रको विवरण सहितको सूचना सात दिनभित्र बोर्डलाई दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको सूचना प्राप्त भएपछि लगानीकर्ता र संगठित संस्थाको हितको लागि त्यस्तो धितोपत्रको बाँडफाँड र बिक्री गर्ने कार्यलाई स्वच्छ र जानकारीमूलक बनाउनु पर्ने देखिएमा बोर्डले सम्बन्धित संगठित संस्थालाई आवश्यक निर्देशन दिन सक्नेछ । त्यस्तो निर्देशनको पालना गर्नु सम्बन्धित संगठित संस्थाको कर्तव्य हुनेछ ।
२९. धितोपत्रको सार्वजनिक निष्काशन गर्नु पर्नेः (१) संगठित संस्थाले एक पटकमा पचासजनाभन्दा बढी व्यक्तिहरुलाई धितोपत्र बिक्री वितरण गर्ने भएमा त्यस्तो धितोपत्र बिक्री वितरणको निमित्त सार्वजनिक निष्काशन गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम निष्काशन गरिने धितोपत्रको दरखास्त खुला रहने अवधि तोकिए बमोजिम हुनेछ ।
(३) सार्वजनिक निष्काशन हुने धितोपत्रको मूल्य तथा बाँडफाँड सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।
(४) एक पटक सार्वजनिक निष्काशन गरिसकेको धितोपत्र बिक्री नभई एक वर्षभित्र पुनः निष्काशन गर्नु परेमा त्यसरी धितोपत्र निष्काशन गर्ने संगठित संस्थाले पहिले प्रकाशित विवरणपत्रमा उल्लेख भएका कुराभन्दा फरक भएका कुराहरु बोर्डको स्वीकृति लिई त्यस्तो फरक भएका कुरा र पहिले प्रकाशित भएको विवरणपत्र राखी धितोपत्र निष्काशन गर्न सक्नेछ ।
३०. विवरणपत्र प्रकाशन गर्नु पर्नेः (१) संगठित संस्थाले यो ऐन प्रारम्भ भएपछि यस ऐन बमोजिम धितोपत्रको सार्वजनिक निष्काशन गर्नका लागि विवरणपत्र बोर्डबाट स्वीकृत गराई सम्बन्धित सबैको जानकारीको लागि सो विवरणपत्र प्रकाशन गर्नु पर्नेछ । यसरी विवरणपत्र प्रकाशन गर्दा सर्वसाधारणले विवरणपत्र प्राप्त गर्न वा हेर्न सक्ने ठाउँ समेत विवरणपत्रमा खुलाउनु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका धितोपत्र निष्काशन गर्दा विवरणपत्र जारी गर्नु आवश्यक पर्ने छैनः–
(क) नेपाल राष्ट्र बैंकले जारी गरेको धितोपत्र,
(ख) नेपाल सरकारको पूर्ण जमानतमा जारी गरिएको धितोपत्र,
(ग) एक पटकमा बढीमा पचासजनासम्म व्यक्तिलाई बिक्री गर्ने गरी प्रस्ताव गरिएको धितोपत्र,
(घ) आफ्ना कामदार वा कर्मचारीहरुलाई जारी गरिएको धितोपत्र,
(ङ) बोर्डले विवरणपत्र जारी नगरी निष्काशन तथा बिक्री गर्न स्वीकृति दिएको धितोपत्र ।
३१. विवरणपत्रको स्वीकृतिः लगानीकर्ताहरुले निष्काशनकर्ताको सम्पत्ति तथा दायित्व, आर्थिक स्थिति, नाफा–नोक्सान, भविष्यमा अपेक्षित कुराहरु सम्बन्धमा मूल्याङ्कन गर्न पर्याप्त हुने जानकारीहरु समावेश भएको विवरणपत्र मात्र बोर्डले स्वीकृत गर्नेछ ।
३२. विवरणपत्रमा उल्लेख हुनु पर्ने कुराहरुः विवरणपत्रमा उल्लेख हुनु पर्ने सामान्य कुराहरु, निष्काशनकर्ताको पूँजी तथा अन्य जानकारी, निष्काशनकर्ताले गर्ने मुख्य कामहरु, कानूनी कारबाही सम्बन्धी जानकारी, निष्काशनकर्ताको आर्थिक स्थिति, सामान्य प्रशासन, व्यवस्थापन तथा विवरणपत्र र विवरणपत्रमा समावेश आर्थिक विवरण तयार गर्ने विशेषज्ञ सम्बन्धी जानकारी तथा अन्य कुराहरु तोकिए बमोजिम हुनेछ ।
३३. विवरणपत्रमा लेखिएको कुराको जवाफदेहीः (१) बोर्डमा धितोपत्र दर्ता गराई निष्काशन अनुमति प्राप्त गर्ने प्रयोजनको लागि बोर्ड समक्ष पेश गरिएको विवरणपत्रमा उल्लेख गरिएका विवरण तथा जानकारी सम्बन्धी कागजातहरुको सत्यताप्रति सम्बन्धित संगठित संस्था र सो विवरणपत्रमा सहीछाप गर्ने सञ्चालक तथा त्यस्तो विवरणपत्र तयार गर्ने विशेषज्ञले व्यक्तिगत वा सामूहिकरुपमा जवाफदेही वहन गर्नु पर्नेछ ।
(२) कुनै व्यक्तिले विवरणपत्रमा लेखिएका कुराहरुमा विश्वास गरी धितोपत्र खरिद गरिसकेपछि विवरणपत्रमा लेखिएका कुराहरु बदनीयत साथ वा जानीजानी झुट्टो वा गलत उल्लेख गरिएको कारणबाट लगानीकर्तालाई कुनै हानि नोक्सानी भएमा उपदफा (१) बमोजिमको संस्था, सञ्चालक वा विवरणपत्र तयार गर्ने विशेषज्ञहरुले त्यस्तो हानि नोक्सानीको क्षतिपूर्ति व्यहोर्नु पर्नेछ ।
तर विवरणपत्रमा लेखिएका कुरा बदनीयत साथ वा जानीजानी निर्णय गर्नुभन्दा अगावै राजीनामा दिने वा विवरणपत्र झुट्टो भएको कुरा थाहा थिएन भनी प्रमाणित गर्ने सञ्चालकले त्यस्तो क्षतिपूर्ति व्यहोर्नु पर्ने छैन ।
(३) संगठित संस्थाले बोर्डमा पेश गरेको विवरणपत्र, सूचना, जानकारी वा विवरण झुट्टा भएको कारण कुनै लगानीकर्तालाई हानि नोक्सानी परेमा क्षतिपूर्ति भराई माग्न लगानी गरेको एक वर्षभित्रमा आपूmलाई थाहा भएको मितिले पैंतीस दिनभित्र सम्बन्धित जिल्ला अदालतमा उजुर गर्न सक्नेछ ।
३४. संगठित संस्थाले सूचना गर्नु पर्नेः (१) धितोपत्र निष्काशन गर्ने संगठित संस्थाले बोर्ड तथा शेयरवालाहरुलाई देहायका कुराहरुका सम्बन्धमा यथासम्भव छिटो जानकारी उपलब्ध गराउनु पर्नेछः–
(क) आफ्नो आर्थिक स्थितिको मूल्याङ्कन गर्न आवश्यक र सहायक हुने कुरा,
(ख) धितोपत्र बजारको कारोबारलाई वा धितोपत्रको मूल्यलाई असर पार्ने जानकारी ।
(२) धितोपत्र निष्काशन गर्ने संगठित संस्थाले उपदफा (१) मा लेखिएका कुराहरुका अतिरिक्त तोकिए बमोजिमको सूचना तथा जानकारी समेत बोर्ड तथा शेयरवालाहरुलाई उपलब्ध गराउनु पर्नेछ ।
३५. सूचीकरण रद्द भएमा त्यसको क्षतिपूर्तिः कुनै धितोपत्र निष्काशन गर्ने संगठित संस्थाले धितोपत्र बजारसँग सम्झौता गरी धितोपत्र सूचीकरण गराएकोमा त्यस्तो संगठित संस्थाले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम बमोजिम पालना गर्नु पर्ने कुरा पालना नगरेको कारणबाट धितोपत्र बजारले त्यस्तो धितोपत्रको सूचीकरण रद्द गरेमा त्यसरी सूचीकरण रद्द भएको कारणले शेयरवालाले कुनै हानि नोक्सानी व्यहोर्नु परेमा सो संगठित संस्थाका सञ्चालकहरुले व्यक्तिगत वा सामूहिक रुपमा त्यस्तो शेयरवालालाई क्षतिपूर्ति तिर्नु पर्नेछ ।