परिच्छेद–४ धितोपत्र बजार सम्बन्धी व्यवस्था

परिच्छेद–४ धितोपत्र बजार सम्बन्धी व्यवस्था

३६. धितोपत्र बजार सञ्चालन गर्न अनुमतिपत्र लिनु पर्नेः (१) धितोपत्र बजार सञ्चालन गर्न चाहनेले यस ऐन बमोजिम बोर्डबाट धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्र लिनु पर्नेछ ।
(२) कसैले पनि यस ऐन बमोजिम बोर्डबाट अनुमतिपत्र प्राप्त नगरी धितोपत्र बजार सञ्चालन गर्न वा धितोपत्र खरिद, बिक्री वा विनिमय गर्न गराउन पाउने छैन र त्यस्तो अनुमतिपत्र प्राप्त नगरी कसैले धितोपत्र बजारको नाम प्रयोग गर्न समेत हुँदैन ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुँदाका बखत सञ्चालनमा रहेको नेपाल धितोपत्र विनिमय बजारले यो ऐन प्रारम्भ भएको मितिले एक वर्षभित्र यस ऐन बमोजिम धितोपत्र विनिमय बजार सञ्चालन गर्ने अनुमतिपत्र प्राप्त गर्नको लागि बोर्ड समक्ष निवेदन दिइसक्नु पर्नेछ । सो अवधिभित्र नेपाल धितोपत्र विनिमय बजारले यस ऐन बमोजिम धितोपत्र विनिमय बजार सञ्चालन गर्न कुनै वाधा पुगेको मानिनेछैन ।
(४) उपदफा (३) बमोजिमको अवधिभित्र नेपाल धितोपत्र विनिमय बजारले धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्रको लागि बोर्ड समक्ष निवेदन नदिएमा सो अवधि समाप्त भएपछि नेपाल धितोपत्र विनिमय बजारले धितोपत्र बजार सञ्चालन गर्न पाउने छैन ।
(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ भएपछि प्रचलित कम्पनी सम्बन्धी कानून बमोजिम सीमित दायित्वको कम्पनीको रुपमा कुनै धितोपत्र बजारको संस्थापना गर्दा कम्पनी रजिष्ट्रारको कार्यालयले बोर्डको सिफारिसमा मात्र गर्नेछ ।
३७. धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्रको लागि निवेदन दिनुपर्नेः (१) संगठित संस्थाले मात्र धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्रको लागि बोर्डमा निवेदन दिन सक्नेछ ।
(२) संगठित संस्थाले उपदफा (१) बमोजिमको निवेदन तोकिएको ढाँचामा तोकिए बमोजिमका विवरण तथा कागजात र दस्तुर समेत संलग्न राखी बोर्ड समक्ष दिनु पर्नेछ ।
३८. धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्र दिनेः (१) दफा ३७ बमोजिम निवेदन प्राप्त भएमा बोर्डले आवश्यक जाँचबुझ गरी देहायका कुरामा बोर्ड सन्तुष्ट भएमा निवेदक संगठित संस्थालाई तोकिए बमोजिमको ढाँचामा धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्र दिन सक्नेछः–
(क) धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्र दिंदा लगानीकर्ता र सर्वसाधारणको हित हुन्छ वा धितोपत्र बजारको उचित सञ्चालनको लागि त्यस्तो अनुमतिपत्र दिन आवश्यक छ भन्ने लागेमा,
(ख) निवेदक संगठित संस्थाले उपदफा (२) मा उल्लिखित कुराहरु पूरा गरेको भएमा ।
(२) उपदफा (१) बमोजिम धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्र लिनका लागि बोर्ड समक्ष निवेदन दिने संगठित संस्थाले देहायका कुराहरु निवेदनमा उल्लेख गर्नु पर्नेछः–
(क) संगठित संस्था स्थापना गर्ने कानूनी व्यवस्था वा प्रबन्धपत्रमा सो संगठित संस्था धितोपत्र बजारको स्थापना र सञ्चालन गर्ने उद्देश्य लिई स्थापना भएको,
(ख) संगठित संस्थाले धितोपत्र बजार सञ्चालन गरुञ्जेल पाँच करोड रुपैयाँमा नघट्ने गरी बोर्डले तोकिदिए बमोजिमको चुक्ता पूँजी कायम राख्ने,
(ग) संगठित संस्थाले बोर्डलाई सन्तुष्ट हुने गरी धितोपत्र बजार सञ्चालन गर्न आवश्यक व्यवस्था पूर्वाधार तथा सुविधा प्रदान गर्न सक्ने पर्याप्त आधारहरु रहेको,
(घ) आफू मार्तफ कारोबार हुने धितोपत्रलाई मान्यता प्रदान गर्न सूचीकरण वा त्यस्तै अन्य व्यवस्था गर्ने सम्बन्धी कुरा,
(ङ) संगठित संस्थाले धितोपत्र बजार सञ्चालन गर्नका लागि प्रस्ताव गरेको विनियम तथा कारोबार सञ्चालन सम्बन्धी व्यवस्था तथा अवलम्बन गर्ने पद्धतिबाट धितोपत्र कारोबार नियमित रुपमा सञ्चालन भई लगानीकर्ताको हित संरक्षण हुने कुरा,
(च) धितोपत्र बजारमा भएका कारोबारहरुको हिसाब राफसाफ गर्ने र त्यसको अभिलेख तथा कारोबारको विवरणहरु प्रकाशन गर्न उपयुक्त व्यवस्था गरेको,
(छ) आफ्नो सदस्यहरुले गरेको कारोबारका सम्बन्धमा परेका उजुरीहरुका सम्बन्धमा उचित तवरले छानबिन गर्न सक्ने कुरा,
(ज) आफ्नो सदस्यहरुले करार बमोजिम दायित्व पूरा नगरेमा तत्सम्बन्धमा विनियममा उल्लेख भए बमोजिम कारबाही गरिने कुरा ।
३९. बोर्डले शर्तहरु तोक्न सक्नेः (१) बोर्डले धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्र प्रदान गर्दा पूँजी बजारको अवस्था, धितोपत्र बजारको स्वस्थ सञ्चालन तथा लगानीकर्ताहरुको हितलाई ध्यानमा राखी आवश्यक शर्तहरु तोक्न सक्नेछ । यस्तो शर्तको पालना गर्ने कर्तव्य सम्बन्धित धितोपत्र बजारको हुनेछ ।
(२) उपदफा (१) बमोजिम तोकिएको शर्तमा बोर्डले आवश्यकता अनुसार पूँजी बजारको अवस्था, धितोपत्र बजारको स्वस्थ सञ्चालन तथा लगानीकर्ताहरुको हितलाई ध्यानमा राखी थपघट तथा हेरफेर गर्न सक्नेछ ।
४०. धितोपत्र बजार सञ्चालन गर्न अनुमतिपत्र दिन इन्कार गर्न सकिनेः (१) दफा ३८ मा जुनसुकै कुरा लेखिएको भए तापनि बोर्डले देहायका अवस्थामा संगठित संस्थालाई धितोपत्र बजार सञ्चालन गर्न अनुमतिपत्र दिन इन्कार गर्न सक्नेछः–
(क) उद्योग तथा व्यवसायको विकास र विद्यमान धितोपत्र कारोबारको सम्भाव्यताको आधारमा धितोपत्र बजारको सञ्चालन गर्न आवश्यक नभएमा,
(ख) लगानीकर्ताको हितको संरक्षणको निमित्त धितोपत्र बजार सञ्चालन गर्न दिनु उचित र उपयुक्त नदेखिएमा ।
(२) उपदफा (१) मा उल्लिखित अवस्थामा कुनै संगठित संस्थालाई धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्र नदिने भएमा बोर्डले सोको कारण खुलाई सम्बन्धित संगठित संस्थालाई सूचना गर्नु पर्नेछ ।
४१. न्यूनतम पूँजी र आर्थिक स्रोतः धितोपत्र बजार सञ्चालन गर्ने संगठित संस्थाको चुक्ता पूँजी पाँच करोड रुपैयाँमा नघट्ने गरी समय समयमा बोर्डले तोकिदिए बमोजिम हुनु पर्नेछ र सो संस्थाले आपूmले सञ्चालन गर्ने बजार व्यवस्थाको निमित्त पर्याप्त आर्थिक स्रोत राखेको हुनु पर्नेछ ।
४२. धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्रको अवधि र नवीकरणः (१) धितोपत्र बजार सञ्चालन गर्न प्रदान गरिएको अनुमतिपत्र जुन आर्थिक वर्षमा जारी गरिएको हो सोही आर्थिक वर्षको अन्त्यसम्म मात्र कायम रहनेछ ।
(२) धितोपत्र बजार सञ्चालन गर्ने संगठित संस्थाले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र तोकिए बमोजिमको वार्षिक शुल्क बोर्डमा बुझाई धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्र नवीकरण गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको म्यादभित्र वार्षिक शुल्क बुझाई त्यस्तो अनुमतिपत्र नवीकरण गर्न नसकेमा सो म्याद समाप्त भएको तीन महिनासम्म वार्षिक शुल्कको पच्चीस प्रतिशत जरिबाना तिरी सो अनुमतिपत्र नवीकरण गराउन सकिनेछ ।
(४) उपदफा (३) बमोजिमको म्यादभित्र पनि त्यस्तो अनुमतिपत्र नवीकरण नगराउने संगठित संस्थाले प्राप्त गरेको धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्र खारेज हुनेछ ।
४३. मान्यता प्रदान गरेको धितोपत्रको कारोबार गराउनु पर्नेः (१) संगठित संस्थाले निष्काशन गरेका धितोपत्रहरु धितोपत्र बजारले आफ्नो विनियमावलीमा तोकिए बमोजिम सूचीकरण गरी वा त्यस्तै अन्य व्यवस्था गरी कारोबार गर्न मान्यता प्रदान गरेको धितोपत्रको लागि मात्र बजार व्यवस्थापन गर्नु पर्नेछ ।
(२) धितोपत्र बजारमा सूचीकरण नभएका धितोपत्र खरिद, बिक्री वा विनिमय सम्बन्धी काम कारबाही तोकिए बमोजिम हुनेछ ।
४४. धितोपत्र बजारको व्यवस्थापकीय जिम्मेवारीः धितोपत्र बजारले गरेको धितोपत्र कारोबारको व्यवस्थापनका सम्बन्धमा सो धितोपत्र बजारको सञ्चालक समितिले जिम्मेवारी लिनेछ ।
४५. धितोपत्र बजारको काम, कर्तव्य र अधिकारः धितोपत्र बजारको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) आफू मार्फत हुने धितोपत्र कारोबारलाई पारदर्शी, स्वच्छ र नियमित रुपमा सञ्चालन गर्ने गराउने,
(ख) धितोपत्र बजार सञ्चालन गर्दा सर्वसाधारण लगानीकर्ताको हितलाई ध्यानमा राखी गर्ने गराउने,
(ग) आफ्नो सदस्यहरुलाई यो ऐन र यस ऐन अन्तर्गत बनेका नियम तथा विनियमहरुको पूर्ण रुपमा पालना गर्न लगाउने र यस सम्बन्धी कुराको अनुगमन र सुपरिवेक्षण गर्ने गराउने,
(घ) धितोपत्र कारोबार गर्न पर्याप्त र सुविधायुक्त कारोबार स्थलको व्यवस्था गर्ने,
(ङ) कारोबार सञ्चालन गर्न सक्षम कर्मचारीहरुको व्यवस्था गर्ने,
(च) आकस्मिक तथा सुरक्षा व्यवस्थाका लागि पर्याप्त सुविधा र उचित पद्धतिको व्यवस्था गर्ने,
(छ) धितोपत्रको विनिमय वा खरिद बिक्रीको प्रबन्ध गर्नको लागि सूचीकरण गर्न गराउन र सदस्यता सम्बन्धी व्यवस्था गर्न बोर्डको स्वीकृति लिई विनियम बनाउने,
(ज) धितोपत्र बजार सञ्चालनको लागि अन्य आवश्यक कार्यहरु गर्ने गराउने ।
४६. धितोपत्र बजारले जानकारी दिनुपर्नेः धितोपत्र बजारले देहायका कुरा आफूले थाहा पाउना साथ सोको जानकारी बोर्डलाई दिनु पर्नेछः–
(क) आफ्नो कुनै सदस्यबाट कुनै आर्थिक अनियमितता भएको वा सो सदस्यले गरेको काम कारबाहीबाट त्यस्तो सदस्यको आर्थिक हैसियत शङ्कास्पद देखिएमा,
(ख) आफ्नो कुनै सदस्यले आफूले पालना गर्नु पर्ने दायित्व कानून बमोजिम पूरा नगरेमा वा पूरा गर्न असक्षम भएको भन्ने देखिएमा,
(ग) आफ्नो कुनै सदस्यले आर्थिक नियम तथा विनियमको पालना नगरेमा वा गर्न नसक्ने अवस्था देखिएमा,
(घ) तोकिए बमोजिमको अन्य जानकारीहरु ।
४७. धितोपत्र बजारले प्रतिवेदन पेश गर्नु पर्नेः धितोपत्र बजारले आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र सो आर्थिक वर्षमा आपूmले गरेको काम कारबाही सम्बन्धी प्रतिवेदन बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।
४८. धितोपत्र बजारले निर्देशन दिन सक्नेः (१) धितोपत्र बजार मार्फत धितोपत्र कारोबार गराउने संगठित संस्थाले धितोपत्र बजारसँग गरेको सम्झौताको उल्लंघन गरेमा वा धितोपत्र कारोबारलाई स्वच्छ र नियमित बनाउन वा लगानीकर्ताको हितलाई ध्यानमा राखी त्यस्तो संगठित संस्थालाई निर्देशन दिन आवश्यक छ भन्ने लागेमा धितोपत्र बजारले त्यस्तो संगठित संस्थालाई आवश्यक निर्देशन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम दिएको निर्देशनको पालना गर्ने कर्तव्य सम्बन्धित संगठित संस्थाको हुनेछ ।
४९. धितोपत्र कारोबारको सीमा निर्धारण गर्न सक्नेः (१) बोर्डले एक पटकमा कारोबार गर्न सकिने धितोपत्रको सीमा वा कुनै एक व्यक्तिले एक पटकमा खरिद बिक्री गरी आफूले धारण गर्न सक्ने धितोपत्रको सीमा तोकिए बमोजिम निर्धारण गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम सीमा तोक्दा धितोपत्रको किसिम वा कारोबारको किसिमको आधारमा छुट्टाछुट्टै सीमा तोक्न सकिनेछ ।
(३) उपदफा (१) को सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी बोर्डले तोकिए बमोजिम एक समयमा कुनै किसिमको धितोपत्रमा एक व्यक्तिले आफ्नो स्वामित्वमा राख्न पाउने अधिकतम हद तोक्न वा निर्धारण गर्न सक्नेछ ।
५०. धितोपत्र बजारले दस्तुर बुझाउनु पर्नेः (१) धितोपत्र बजारमा हुने धितोपत्रको खरिद, बिक्री, विनिमय बापत तोकिए बमोजिम लाग्ने धितोपत्र कारोबार दस्तुर उठाई धितोपत्र बजारले बोर्डलाई बुझाउनु पर्नेछ ।
तर त्यस्तो दस्तुर कुल धितोपत्र कारोबार रकमको ०.०३ प्रतिशतभन्दा बढी हुने छैन ।
(२) धितोपत्र बजारले प्रत्येक महिनाको मसान्तभित्र अघिल्लो महिनामा प्राप्त भएको उपदफा (१) बमोजिम तोकिएको दस्तुर बापतको रकम बोर्डमा बुझाउनु पर्नेछ । यस दफाको पालना नगर्ने धितोपत्र बजारले यस ऐन बमोजिमको कसूर गरेको मानिनेछ ।
(३) उपदफा (२) मा तोकिएको म्यादभित्र धितोपत्र कारोबार दस्तुर बोर्ड समक्ष दाखिल नगर्ने धितोपत्र बजारसँग बोर्डले सयकडा दश प्रतिशतका दरले हुन आउने ब्याज समेत जोडी धितोपत्र कारोबार दस्तुर बापत लिनु पर्ने रकम असुल उपर गर्नेछ ।
५१. धितोपत्र बजारले बोर्डलाई सहयोग गर्नु पर्नेः धितोपत्र बजारले बोर्डलाई यस ऐन बमोजिमको कार्य सम्पादन गर्नको निमित्त आवश्यक सहयोग गर्नु पर्नेछ । त्यसरी सहयोग गर्ने क्रममा धितोपत्र कारोबार सम्बन्धी वा अन्य कुनै खास विषयमा बोर्डले कुनै जानकारी वा परामर्श मागेमा सो समेत बोर्डलाई उपलब्ध गराउनु पर्नेछ ।
५२. कारबाहीको जानकारी दिनुपर्नेः धितोपत्र बजारले आफ्नो कुनै सदस्यलाई कुनै कारबाही गर्ने सम्बन्धमा स्पष्टीकरण माग गरेको वा त्यस्तो सदस्यको सदस्यता निलम्बन वा खारेज गरेको वा त्यस्तो सदस्यलाई कुनै जरिबाना गरेको वा अन्य कुनै कारबाही गरेको भए त्यस्तो कारबाही गरेको सात दिनभित्र सम्बन्धित सदस्यको नाम र कारबाही सम्बन्धी विवरण तथा कारबाही गर्नु पर्ने कारण समेत खुलाई सोको जानकारी बोर्डलाई दिनु पर्नेछ ।
५३. धितोपत्र बजारले क्षतिपूर्ति कोषको व्यवस्था गर्नु पर्नेः (१) धितोपत्र बजारले लगानीकर्ताहरुलाई हुन सक्ने सम्भावित क्षतिबाट जोगाउन बोर्डले तोकिदिए बमोजिम एउटा क्षतिपूर्ति कोषको स्थापना र सञ्चालन गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा जम्मा रहेको रकम तोकिए बमोजिम क्षतिपूर्ति व्यहोर्न प्रयोग हुनेछ ।
५४. क्षतिपूर्ति कोषको सञ्चालन सम्बन्धी व्यवस्थाः दफा ५३ वा ५५ बमोजिम स्थापना हुने क्षतिपूर्ति कोषको सञ्चालनका सम्बन्धमा नियमावलीमा देहायका व्यवस्था गरिनेछः–
(क) कोषमा रकम जम्मा गर्ने सम्बन्धी व्यवस्था,
(ख) कोषबाट क्षतिपूर्तिस्वरुप दिने अधिकतम रकम,
(ग) कोषको लेखा र लेखापरीक्षण सम्बन्धी व्यवस्था,
(घ) क्षतिपूर्ति कोषबाट रकम प्राप्त गर्न दाबी गर्न पाउने अवस्था र दाबी गर्ने कार्यविधि,
(ङ) क्षतिपूर्ति कोषमा दाबी नलाग्ने अवस्थाहरु,
(च) क्षतिपूर्ति कोषबाट दाबी बमोजिम रकम दिने सम्बन्धमा कारबाही तथा निर्णय गर्ने तरिका,
(छ) एक व्यक्तिलाई क्षतिपूर्तिस्वरुप दिन सकिने अधिकतम रकमको हद,
(ज) क्षतिपूर्ति दाबीका सन्दर्भमा छानबिन गर्ने सम्बन्धमा आवश्यक अन्य कुराहरु,
(झ) धितोपत्र बजारको अनुमतिपत्र खारेज भएमा गरिने व्यवस्थाहरु,
(ञ) क्षतिपूर्तिका सम्बन्धमा आवश्यक अन्य व्यवस्थाहरु ।
५५. बोर्डले क्षतिपूर्ति सम्बन्धी व्यवस्था गर्न सक्नेः धितोपत्र बजारले लगानीकर्ताहरुलाई हुन सक्ने सम्भावित क्षतिबाट जोगाउन दफा ५३ बमोजिम क्षतिपूर्ति कोषको स्थापना र सञ्चालन गर्न नसकेमा वा तोकिए बमोजिम दिनु पर्ने क्षतिपूर्तिको रकम नदिएमा वा दिन नसकेमा बोर्डले तोकिए बमोजिम क्षतिपूर्ति कोषको स्थापना र सञ्चालन गर्न वा दिनु पर्ने क्षतिपूर्तिको रकम तोकिए बमोजिम दिलाउने सम्बन्धमा आवश्यक व्यवस्था गर्न सक्नेछ ।