परिच्छेद–७ धितोपत्र व्यवसायको सञ्चालन

परिच्छेद–७ धितोपत्र व्यवसायको सञ्चालन

७६. व्यावसायिक स्तरः धितोपत्र व्यवसायीले धितोपत्र व्यवसाय सञ्चालन गर्दा देहाय बमोजिमको व्यावसायिक सिद्धान्तको पालना गर्नु पर्नेछः–
(क) धितोपत्र व्यवसाय सञ्चालनलाई स्वस्थ र उच्चस्तरीय राख्ने,
(ख) उचित सीप, होसियारी र मेहनतका साथ धितोपत्र व्यवसाय गर्ने,
(ग) धितोपत्र बजारको उच्च मर्यादा कायम राख्ने,
(घ) ग्राहकहरुबाट धितोपत्रमा लगानी गर्नाको उद्देश्यका सम्बन्धमा जानकारी लिई सो अनुसारको सेवा प्रदान गर्ने,
(ङ) ग्राहकलाई धितोपत्र लगानीका सम्बन्धमा निर्णय गर्न आवश्यक जानकारी र सल्लाह उपलब्ध गराउने,
(च) ग्राहकको स्वार्थसँग आफ्नो स्वार्थ बाझ्न नदिने र त्यस्तो अवस्था आइपरेमा ग्राहकलाई सो कुराको जानकारी दिई ग्राहकको हितलाई ध्यानमा राखी धितोपत्र व्यवसाय गर्ने,
(छ) धितोपत्र व्यवसायका सम्बन्धमा गरेका वचनवद्धता पूरा गर्नका लागि आवश्यक व्यवस्था गर्ने,
(ज) धितोपत्र व्यवसायसँग सम्बन्धित अभिलेखहरु राम्रोसँग राख्ने,
(झ) धितोपत्र व्यवसाय सञ्चालन गर्ने सम्बन्धमा दक्ष जनशक्ति तयार गर्नको लागि कर्मचारीलाई आवश्यक तालिमको व्यवस्था गर्ने,
(ञ) धितोपत्र व्यवसाय सञ्चालन गर्ने सम्बन्धमा तोकिए बमोजिमको अन्य सिद्धान्तको पालना गर्ने ।
७७. लगानीकर्ताको पहिचान, खरिद बिक्री आदेश, करार नोट तथा रकम लेनदेन सम्बन्धी व्यवस्थाः (१) धितोपत्र व्यवसायीले धितोपत्र कारोबार गर्नु अघि सम्बन्धित लगानीकर्ताको परिचय लिने, ग्राहक खाता खोल्ने, रकम लेनदेन गर्ने तथा कारोबार सम्बन्धी सम्झौता गर्ने सम्बन्धी व्यवस्था तोकिए वमोजिम हुनेछ ।
(२) कुनै पनि धितोपत्र व्यवसायीले धितोपत्र खरिद, बिक्री वा विनिमय सम्बन्धी करार गरेपछि अर्को दिनको बजार बन्द हुनु अगावै करार नोट बनाउनु पर्नेछ र त्यस्तो नोटमा सो धितोपत्र व्यवसायीले एजेण्टको रुपमा करार गरेको भए करार नोटको सक्कल प्रति सम्बन्धित ग्राहकलाई दिनु पर्नेछ र आफ्नै लागि करार गरेको भए करार नोटमा सो कुरा उल्लेख गरी आफूसँग राख्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको करार नोटमा देहायका कुराहरु समेत उल्लेख गर्नु पर्नेछः–
(क) धितोपत्र व्यवसायको किसिम र त्यस्तो व्यवसाय सञ्चालन गर्ने ठाउँ,
(ख) धितोपत्र व्यवसायीले आपैm मुख्य भई काम गरेको भए सोको विवरण,
(ग) करार नोट दिनुपर्ने व्यक्तिको नाम र ठेगाना,
(घ) करार भएको मिति र करार नोट तयार गरेको मिति,
(ङ) धितोपत्रको विवरण र परिमाण,
(च) धितोपत्रको प्रति इकाई मूल्य,
(छ) करार अन्तर्गत तिर्नुपर्ने प्रतिफल सम्बन्धी विवरण,
(ज) करार अन्तर्गत तिर्नुपर्ने कमिशनको रकम वा दर,
(झ) कुनै दस्तुर लाग्ने भए त्यस्तो दस्तुरको दर तथा तत्सम्बन्धी विवरण,
(ञ) हिसाब राफसाफ हुने दिन,
(ट) तोकिए बमोजिमको अन्य कुराहरु ।
७८. धितोपत्र व्यवसायीले राख्नु पर्ने हिसाबः (१) धितोपत्र व्यवसायीले हिसाब तथा अभिलेख राख्दा आफूले गरेको धितोपत्र कारोबार सम्बन्धी पर्याप्त रुपमा पुष्टी हुने गरी आफूले गरेको कारोबारको आर्थिक स्थिति स्पष्ट देखिने गरी राख्नु पर्नेछ । वासलात तथा नाफा नोक्सान हिसाब तयार गर्दा यथार्थ देखिने गरी राख्नु पर्नेछ ।
(२) धितोपत्र व्यवसायीले उपदफा (१) बमोजिम राखेको हिसाब तथा अभिलेखबाट प्रष्ट रुपमा अलग देखिने गरी धितोपत्र खरिद गर्न चाहने आफ्नो ग्राहकले धितोपत्र खरिद बिक्री गर्नका लागि बुझाएको रकम तथा धितोपत्रको हिसाब र अभिलेख तोकिए बमोजिम बेग्लै राख्नु पर्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम राखिएको हिसाब तथा अभिलेख र तत्सम्बन्धी आर्थिक विवरण तथा प्रतिवेदनहरु धितोपत्र व्यवसायीले तोकिए बमोजिम तयार गरी राख्नु पर्नेछ ।
(४) यस दफा बमोजिम राखिएका हिसाब तथा अभिलेखहरु बोर्ड वा बोर्डबाट नियुक्त भएको निरीक्षक वा लेखापरीक्षकले वा सम्बन्धित धितोपत्र बजारले निरीक्षण गर्न वा जाँच्न चाहेमा पछि सजिलैसँग जाँच्न वा निरीक्षण गर्न सकिने गरी धितोपत्र व्यवसायीले राख्नु पर्नेछ ।
७९. बीमा गर्नु पर्नेः प्रतिनिधि बाहेक धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्राप्त प्रत्येक धितोपत्र व्यवसायीले बोर्डले तोकिदिए बमोजिम आपूmले गर्ने व्यवसायको बीमा गराउनु पर्नेछ ।
८०. लेखापरीक्षक नियुक्त गर्नु पर्नेः (१) धितोपत्र व्यवसायीले बोर्डले सूचीकृत गरेको लेखापरीक्षकहरु मध्येबाट लेखापरीक्षक नियुक्ति गर्नु पर्नेछ ।
(२) धितोपत्र व्यवसायी कम्पनी वा संस्थाको सञ्चालक, शेयरवाला, अधिकृत, कर्मचारी वा साझेदार रहेको व्यक्ति सो धितोपत्र व्यवसायी कम्पनी वा संस्थाको लेखापरीक्षकमा नियुक्त हुन अयोग्य मानिनेछ ।
(३) धितोपत्र व्यवसायीले लेखापरीक्षक नियुक्त गरेको मितिले सात दिनभित्र त्यस्तो लेखापरीक्षकको नाम, ठेगाना समेत बोर्डलाई सूचना गर्नु पर्नेछ ।
(४) धितोपत्र व्यवसायीले कुनै लेखापरीक्षकलाई पदबाट हटाएमा वा त्यस्तो लेखापरीक्षकले राजीनामा दिई हटेमा त्यसको सूचना सो भए गरेको मितिले सात दिनभित्र धितोपत्र व्यवसायीले बोर्डलाई दिनु पर्नेछ ।
(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बोर्ड र धितोपत्र बजारका कर्मचारी कुनै पनि धितोपत्र व्यवसायी कम्पनी वा संस्थाको लेखापरीक्षकमा नियुक्त हुन सक्ने छैनन् ।
८१. लेखापरीक्षकको सूची राख्नेः  (१) दफा ८० बमोजिम लेखापरीक्षक नियुक्त गर्ने प्रयोजनको लागि बोर्डले प्रचलित कानून बमोजिम दर्तावाला लेखापरीक्षकहरु मध्येबाट तोकिएको योग्यता भएका लेखापरीक्षकहरुको नामको सूची तयार गरी राख्नेछ ।
(२) उपदफा (१) बमोजिमको सूचीमा नाम सूचीकृत गर्न चाहने लेखापरीक्षकले तोकिए बमोजिम बोर्ड समक्ष निवेदन दिनु पर्नेछ । यसरी सूचीकृत लेखापरीक्षकले बोर्डले तोकिदिएको जानकारी बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।
८२. हिसाब तथा विवरण पेश गर्नु पर्नेः (१) धितोपत्र व्यवसायीले आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र अघिल्लो आर्थिक वर्षमा धितोपत्र व्यवसाय गरेको सञ्चालन विवरण स्पष्ट देखिने गरी अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको नाफा नोक्सानको हिसाब, वासलात र नगद प्रवाह विवरण तथा अन्य आवश्यक आर्थिक विवरणहरु बोर्ड र सम्बन्धित धितोपत्र बजार समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम हिसाब तथा विवरण पेश गर्न नसकेमा सोको मनासिब माफिकको कारण खुलाई म्याद थपको लागि बोर्ड समक्ष धितोपत्र व्यवसायीले निवेदन दिएमा बोर्डले तीन महिनासम्म म्याद थप दिन सक्नेछ । यसरी म्याद थपिएको समयभित्र पनि त्यस्तो हिसाब तथा विवरण पेश नगरेमा बोर्डले त्यस्तो धितोपत्र व्यवसायीलाई पाँच हजारदेखि पच्चीस हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
(३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि म्यादभित्र लेखापरीक्षण हुन नसकेको कारणबाट हिसाब तथा विवरण पेश गर्न नसक्ने धितोपत्र व्यवसायीले पछि लेखापरीक्षण भइसकेपछि वास्तविक हिसाब तथा विवरण बुझाउने गरी लेखापरीक्षण भइनसकेको हिसाब तथा विवरण बुझाउन सक्नेछ ।
८३. सूचीकृत लेखापरीक्षकले बोर्डलाई प्रतिवेदन दिनुपर्नेः सूचीकृत लेखापरीक्षकले धितोपत्र व्यवसायीको हिसाब किताबको लेखापरीक्षण गर्दा त्यस्तो धितोपत्र व्यवसायीले आर्थिक विनियमको उल्लंघन गरेको पाएमा सो कुराको छुट्टै प्रतिवेदन तयार गरी बोर्डलाई दिनु पर्नेछ ।