परिच्छेद–५ बढुवा

परिच्छेद–५ बढुवा

२६. बढुवा: (१) व्यवस्थापिका–संसद सेवाको राजपत्राङ्कित पदमा कार्यक्षमताको मूल्याङ्कनद्वारा बढुवा गर्दा बढुवा समितिको सिफारिसमा गरिनेछ ।

(२) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि व्यवस्थापिका–संसद सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा देहाय बमोजिम बढुवा गरिनेछ:–

(क) राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा बढुवा गर्न बढुवा समितिले सम्भाव्य उम्मेदवारहरुमध्येबाट उपलब्ध भएसम्म रिक्त पदको तेब्बर संख्यामा कार्यसम्पादन मूल्याङ्कनको आधारमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने उम्मेदवारहरुलाई सिफारिस गर्नेछ र त्यसरी सिफारिस गरिएका उम्मेदवारहरुमध्येबाट समितिले ज्येष्ठता र कार्यकुशलताको आधारमा उपयुक्त ठहर्याएको उम्मेदवारलाई बढुवा गर्नेछ ।

(ख) खण्ड (क) बमोजिमको विशिष्ट श्रेणीको पदमा सम्भाव्य उम्मेदवार हुन राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीले नेपाल सरकारले तोकेको उच्चस्तरीय व्यवस्थापन तालिम समेत उत्तीर्ण गरेको हुनु पर्नेछ ।
तर यो दफा प्रारम्भ भएपछि एक वर्षभित्र हुने बढुवामा यो व्यवस्था लागू हुने छैन ।

(ग) खण्ड (क) बमोजिमको विशिष्ट श्रेणीको बढुवाको लागि कार्यसम्पादन मूल्याङ्कनको गणना गर्दा बढुवा हुन जति वर्षको न्यूनतम सेवा अवधि आवश्यक पर्ने हो, पछिल्लो त्यति वर्षको कार्यसम्पादन मूल्याङ्कनको गणना गरिनेछ ।

(३) व्यवस्थापिका–संसद सेवाको राजपत्र अनङ्कित पदमा कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाको लागि सिफारिस गर्न तोकिए बमोजिमको बढुवा समिति रहनेछ ।

२७. बढुवा समिति: (१) व्यवस्थापिका–संसद सेवाको राजपत्राङ्कित पदमा बढुवाको लागि सिफारिस गर्न देहाय बमोजिमको बढुवा समिति रहनेछ:–

(क) लोक सेवा आयोगको अध्यक्ष वा निजले तोकेको सो आयोगको सदस्य – अध्यक्ष

(ख) महासचिव – सदस्य

(ग)   सचिवमध्येबाट सभामुखले तोकेको सचिव    -सदस्य

(घ) कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव – सदस्य

(ङ) लोक सेवा आयोगको अध्यक्षले मनोनीत गरेको सम्बन्धित विषयको विशेषज्ञ – सदस्य

(च) सचिवालय सचिव – सदस्य–सचिव

(२) बढुवा समितिको सचिवालय व्यवस्थापिका–संसद सचिवालयमा रहनेछ ।

(३) बढुवा समितिले आवेदन फाराम (दरखास्त) बुझाउने अन्तिम मितिले चार महिनाभित्र बढुवाको नतिजा प्रकाशन गर्नुपर्नेछ ।

(४) बढुवा समितिले कर्मचारीको बढुवाको सिफारिस गर्दा अपनाउनु पर्ने अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ ।

२८. बढुवाको लागि उम्मेदवार हुनलाई चाहिने न्यूनतम सेवा अवधि र शैक्षिक योग्यता: (१) बढुवाको लागि उम्मेदवार हुन बढुवा हुने पदको श्रेणीभन्दा एक श्रेणी मुनिको पदको लागि तोकिए बमोजिमको शैक्षिक योग्यता र देहाय बमोजिम न्यूनतम सेवा अवधि पुगेको हुनु पर्नेछ:–

(क) राजपत्र अनङ्कित पदको निमित्त तीन वर्ष,

(ख) राजपत्राङ्कित पदको निमित्त पाँच वर्ष ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि महिला, आदीवासी÷जनजाति, मधेसी,
दलित, अपाङ्ग र पिछडिएको क्षेत्रमा स्थायी बसोवास भएका कर्मचारीकोसोसेवा अवधिमा एक वर्ष कम सेवा अवधि भए पनि बढुवाको लागि सम्भाव्य उम्मेदवार हुनेछन्।

२९. बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन नपाउनेः दफा २८ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका अवस्थामा देहायका अवधिभर कर्मचारी बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन पाउनेछैन:–

(क) निलम्बन भएकोमा निलम्बन भएको अवधिभर,

(ख) बढुवा रोक्का भएकोमा रोक्का भएको अवधिभर,

(ग) तलबवृद्धि रोक्का भएकोमा रोक्का भएको अवधिभर,

(घ) दफा १०३ बमोजिम समूह परिवर्तन गरेको कर्मचारी भए त्यसरी समूह परिवर्तन भएको मितिले तीन वर्षको अवधिभर ।

३०. बढुवा नियुक्तिको रोक्का तथा फुकुवा: कुनै कर्मचारीको बढुवाको लागि सिफारिस भइसकेपछि बढुवा नियुक्ति नपाउञ्जेल निलम्बन वा बढुवा रोक्का वा तलबवृद्धि रोक्का भएमा सो अवधिभर निजको बढुवा नियुक्ति रोक्का गरिनेछ र निलम्बनबाट निजले सफाई पाएमा वा बढुवा रोक्का अवधि समाप्त भएपछि निजको निलम्बन वा बढुवा रोक्का नभए सरह मानी नियुक्ति दिई ज्येष्ठता मात्र कायम गरिनेछ ।

३१. बढुवाको आधार: (१) बढुवा समितिले कर्मचारीलाई बढुवाको लागि सिफारिस गर्दा निजको कार्यक्षमताको आधारमा गर्नेछ ।

(२) कर्मचारीको कार्यक्षमताको मूल्याङ्कन गर्दा देहाय बमोजिम बढीमा एक सय अङ्क दिइनेछ:–

(क) कार्यसम्पादन मूल्याङ्कन बापत पचास अङ्क

(ख) ज्येष्ठता बापत तीस अङ्क

(ग) शैक्षिक योग्यता बापत पन्ध्र अङ्क

(घ) तालिम बापत पाँच अङ्क

३२. कार्य सम्पादनको मूल्याङ्कन: (१) कर्मचारीको कार्य सम्पादनको मूल्याङ्कन गर्न तोकिए बमोजिमको कार्यसम्पादन मूल्याङ्कन फाराम प्रयोग गरिनेछ ।

(२) कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनको कूल अङ्कको विभाजन देहाय बमोजिम हुनेछ:–

(क) सुपरिवेक्षकले दिन सक्नेअधिकतम तीस अङ्क

(ख) पुनरावलोकनकर्ताले दिन सक्ने अधिकतम दश अङ्क

(ग) पुनरावलोकन समितिले दिन सक्ने अधिकतम दश अङ्क

(३) राजपत्राङ्कित कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन अर्धवार्षिक र वार्षिक रुपमा तथा राजपत्र
अनङ्कित कर्मचारीको लागि वार्षिक रुपमा गरिनेछ ।

(४) उपदफा (३) बमोजिम अर्धवार्षिक रुपमा कार्यसम्पादन मूल्याङ्कन गर्दा सो अवधि समाप्त भएको सात दिनभित्र सम्बन्धित राजपत्राङ्कित कर्मचारीले निर्धारित कार्यहरु, सम्पादित कार्यहरु, कुनै कार्य सम्पन्न हुन नसकेको भए त्यस्तो सम्पन्न हुन नसकेका कार्यहरु र त्यसको कारण सहित
उल्लेख गरी तोकिएको ढाँचामा दुई प्रति फाराम भरी सुपरिवेक्षक समक्ष पेश गर्नु पर्नेछ । त्यसरी
पेश भएको फाराम सुपरिवेक्षकले मूल्याङ्कन गरी पृष्ठपोषण दिनु पर्ने कुरा फारामको निर्दिष्ट स्थानमा नै उल्लेख गरी अर्को सात दिनभित्र एक प्रति सम्बन्धित कर्मचारीलाई फिर्ता दिनु पर्नेछ । वार्षिक कार्यसम्पादन मूल्याङ्कन गर्दा अर्धवार्षिक रुपमा भरिएका प्रत्येक कार्यसम्पादन मूल्याङ्कन फारामको समेत आधार लिनु पर्नेछ । अर्धवार्षिक कार्यसम्पादन मूल्याङ्कन फाराम निर्दिष्ट समयमा नभर्ने कर्मचारी र त्यसको जाँच गरी पृष्ठपोषण नदिने सुपरिवेक्षकलाई अख्तियारवालाले विभागीय कारबाही गर्न सक्नेछ ।

(५) वार्षिक रुपमा मूल्याङ्कन गर्नु पर्ने कार्यसम्पादन मूल्याङ्कन तोकिएको अवधिभित्र मूल्याङ्कन
गरी, गराई त्यसको दुई प्रति तयार गरी एक प्रति बढुवा समितिको सचिवालयमा र अर्को एक प्रति सचिवालयमा राख्नु पर्नेछ ।

(६) प्रत्येक कर्मचारीले आफ्नो कार्यसम्पादन मूल्याङ्कन फाराम भरी तोकिएको समयावधिभित्र
सचिवालयमा दर्ता गर्नु पर्नेछ । त्यस्तो अवधिभित्र दर्ता गर्न नसकी सोको मनासिब कारण सहित
म्याद थपको लागि सम्बन्धित कर्मचारीले निवेदन दिएमा र सुपरिवेक्षकले निवेदनमा उल्लिखित
कारण मनासिब देखेमा तोकिएको समय अवधि समाप्त भएको मितिले पन्ध्र दिनसम्मको म्याद थप गर्न सक्नेछ । त्यसरी थपिएको म्यादपछि सोही आर्थिक वर्षभित्रै कार्यसम्पादन मूल्याङ्कन फाराम दर्ता हुन आएमा दर्ता भएको कार्यसम्पादन मूल्याङ्कन फाराममा मूल्याङ्कन बापत कुल प्राप्ताङ्कबाट पुनरावलोकन समितिले एक अङ्क घटाउनेछ ।
तर कार्यसम्पादन मूल्याङ्कन फाराम भर्ने समय अवधिमा कुनै कर्मचारी वैदेशिक तालिम, गोष्ठी वा अध्ययन भ्रमण आदिमा काजमा जानु पर्ने अवस्था परेमा त्यसरी जानुभन्दा अगावै कार्यसम्पादन मूल्याङ्कन फाराम भरी सचिवालयमा दर्ता गराउनु पर्नेछ । त्यसरी दर्ता भएको कार्यसम्पादन मूल्याङ्कन फारामलाई निर्धारित समयमै दर्ता भएको मानी मूल्याङ्कन गर्नु पर्नेछ ।

(७) कर्मचारीले समयमा नै भरी दर्ता गरेको कार्यसम्पादन मूल्याङ्कन फाराम तोकिएको अवधिभित्र मूल्याङ्कन नगर्ने पदाधिकारीलाई विभागीय कारबाही गरिनेछ ।

(८) प्रत्येक वर्ष गरिने वार्षिक कार्यसम्पादन मूल्याङ्कन पुनरावलोकन समितिबाट भैसकेपछि सम्बन्धित कर्मचारीले त्यस वर्ष प्राप्त गरेको कार्यसम्पादन मूल्याङ्कनको कुल अङ्क निजले निवेदन दिई माग गरेमा पुनरावलोकन समितिको सचिवालयले जानकारी दिनु पर्नेछ ।
तर पुनरावलोकन समितिले दिएको अङ्क जानकारी गराइने छैन ।

(९) उपदफा (८) बमोजिम जानकारी लिएपछि सुपरिवेक्षक र पुनरावलोकनकर्ताले गरेको मूल्याङ्कन कुनै कर्मचारीलाई चित्त नबुझेमा सोको ठोस आधार र कारण सहित सात दिनभित्र तोकिए बमोजिमको अधिकारी समक्ष उजुरी गर्न सक्नेछ । त्यसरी उजुरी गरेकोमा त्यस्तो अधिकारीले उजुरीउपर सम्बन्धित सुपरिवेक्षक र पुनरावलोकनकर्तासँग परामर्श गरी आवश्यक छानबिन गर्नेछ र आवश्यक देखिएमा त्यस्तो मूल्याङ्कन फाराममा प्राप्त अङ्क तोकिए बमोजिम संशोधन गर्न सक्नेछ ।

(१०) वार्षिक रुपमा गरिने कार्यसम्पादन मूल्याङ्कन बापत सुपरिवेक्षक वा पुनरावलोकनकर्ताले
९५ प्रतिशतभन्दा बढी वा ७५ प्रतिशतभन्दा कम अङ्क प्रदान गरेकोमा सोको स्पष्ट कारण खुलाउनु पर्नेछ । ७५ प्रतिशतभन्दा कम अङ्क दिएकोमा सम्बन्धित कर्मचारीलाई जानकारी गराई प्रतिक्रिया दिएमा सो समेत राखी पुनरावलोकन समिति समक्ष पेश गर्नु पर्नेछ । कार्यसम्पादन मूल्याङ्कनमा पुनरावलोकन समितिलाई सुपरिवेक्षक वा पुनरावलोकनकर्ता वा दुवैको सो मूल्याङ्कन चित्त नबुझेमा सोको स्पष्ट कारण समेत खुलाई फिर्ता पठाउन सक्नेछ । त्यसरी फिर्ता पठाएकोमा सम्बन्धित मूल्याङ्कनकर्ताले पुनः मूल्याङ्कन गरी वा पहिले गरेको मूल्याङ्कनमा संशोधन गर्न आवश्यक नभए सोको औचित्यपूर्ण कारण खुलाई पठाउनु पर्नेछ ।

(११) कार्यसम्पादन मूल्याङ्कनको प्रयोजनको निमित्त अङ्क गणना गर्दा बढुवाको लागि सम्भाव्य
उम्मेदवार हुन जति वर्षको सेवा आवश्यक पर्ने हो पछिल्लो त्यति वर्षको कार्यसम्पादन मूल्याङ्कन
फारामको औसतबाट हिसाब गरिनेछ ।

तर,

(१) अध्ययन वा तालिममा गएको वा निलम्बन भई निलम्बन फुकुवा भएकोमा निलम्बन अवधिको कार्यसम्पादन मूल्याङ्कन बापत त्यस्तो अध्ययन वा तालिममा जानुभन्दा वा निलम्बन हुनुभन्दा तत्काल अघिको कार्यसम्पादन मूल्याङ्कन भएमा सोही वर्षको र त्यस्तो कार्यसम्पादन मूल्याङ्कन नभएमा हाजिर भएपछि भरेको कार्यसम्पादन मूल्याङ्कनमा जति अङ्क पाएको छ सोही अनुपातमा नै अङ्क गणना गरिनेछ ।

(२) असाधारण विदामा बसेको अवधिलाई कटाएर मात्रै सम्भाव्य उम्मेदवारीको हिसाब गरिनेछ र त्यस्तो विदा अवधिको कार्यसम्पादन मूल्याङ्कन फाराम भरिने छैन । असाधारण विदामा बसेको कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनको प्रयोजनको निमित्त अङ्क गणना गर्दा असाधारण विदामा बसेको अवधि कटाई सोभन्दा अगाडि वा पछाडिका वर्षहरुका बढुवाको लागि आवश्यक पर्ने अवधिको कार्यसम्पादन मूल्याङ्कन बापतको अङ्क गणना गरिनेछ ।

(१२) कार्यसम्पादन मूल्याङ्कन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

३३. ज्येष्ठताको मूल्याङ्कन: कर्मचारीलाई ज्येष्ठता बापतको अङ्क प्रदान गर्दा हाल बहाल रहेको देहाय बमोजिमको श्रेणीमा काम गरे बापत देहायको दरले बढीमा तीस अङ्क प्रदान गरिनेछ:–

(क) राजपत्र अनङ्कित तृतीय र द्वितीय श्रेणीका पदमा काम गरे बापत प्रत्येक वर्षको अङ्क ३.७५ को दरले,

(ख) राजपत्र अनङ्कित प्रथम श्रेणीको पदमा काम गरे बापत प्रत्येक वर्षको अङ्क ३ को दरले,

(ग) राजपत्राङ्कित तृतीय र द्वितीय श्रेणीको पदमा काम गरे बापत प्रत्येक वर्षको अङ्क २.५ को दरले ।

तर –

(१) ज्येष्ठता बापत अङ्क गणना गर्दा एक वर्षभन्दा बढी चानचुन महिना वा दिनको लागि दामासाहीको हिसाबलेअङ्क दिइनेछ ।

(२) यस दफाको प्रयोजनको लागि गयल भएको वा असाधारण विदामा बसेको अवधिको अङ्क दिइने छैन ।

३४. शैक्षिक योग्यता र तालिमको मूल्याङ्कन: (१) कर्मचारीलाई शैक्षिक योग्यताको अङ्क दिंदा सेवाको कुनै पदमा सेवा प्रवेश गर्न आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता र न्यूनतम शैक्षिक योग्यताभन्दा माथिको सेवा, समूह वा उपसमूहसँग सम्बन्धित विषयको एक अतिरिक्त शैक्षिक उपाधी बापत पन्ध्र अङ्कमा नबढ्ने गरी देहाय बमोजिम अङ्क दिइनेछ । सेवा प्रवेश गर्न आवश्यक न्यूनतम शैक्षिक योग्यताभन्दा माथिल्लो शैक्षिक उपाधी मात्र पाएको अवस्थामा पनि सोही बराबरको दुवै अङ्क दिइनेछः–

शैक्षिक योग्यता (उपाधी) अङ्क
प्रथम श्रेणी द्वितीय श्रेणी तृतीय श्रेणी
(क) सेवा प्रवेशको निमित्त तोकिएको न्यूनतम शैक्षिक योग्यता बापत १२ ११.७५ ११.५0
(ख) सेवा प्रवेशको निमित्त तोकिएको न्यूनतम शैक्षिक योग्यताभन्दा माथिको सम्बन्धित विषयको कुनै एक अतिरिक्त शैक्षिक उपाधी बापत २.७५ २.५०

(२) श्रेणी नखुलेको शैक्षिक योग्यताको हकमा प्राप्ताङ्कको आधारमा त्रिभुवन विश्वविद्यालयले निर्धारण गरेको श्रेणी कायम गरिनेछ ।

(३) दफा १७ को उपदफा (१) को खण्ड (छ) र (ज) बमोजिम खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने राजपत्राङ्कित द्वितीय र प्रथम श्रेणीको पदको निमित्त निर्धारित न्यूनतम शैक्षिक योग्यता बाहेक राजपत्राङ्कित द्वितीय श्रेणीभन्दा माथिको पदमा बढुवाको लागि पनि राजपत्राङ्कित तृतीय श्रेणीको सेवा प्रवेशको लागि निर्धारित न्यूनतम शैक्षिक योग्यतालाई न्यूनतम शैक्षिक योग्यता मानिनेछ ।

(४) सेवाकालिन तालिम बापत प्रथम श्रेणीको लागि ५ अङ्क, द्वितीय श्रेणीको लागि ४.७५ अङ्क र तृतीय श्रेणीको लागि ४.५० अङ्क प्रदान गरिनेछ ।

(५) कर्मचारीलाई तालिमको अङ्क दिंदा एक महिना वा सोभन्दा बढी अवधिको सेवासँग सम्बन्धित विषयको सेवाकालीन तालिम बापत अङ्क दिइनेछ । तालिमको अङ्क गणना गर्दा जुन श्रेणीमा छँदा तालिमको लागि मनोनयन भएको हो सो अङ्क सोही श्रेणीको लागि मात्र गणना गरिनेछ ।
स्पष्टीकरणः “एक महिनाको तालिम” भन्नाले तीस कार्यदिन वा सोभन्दा बढी अवधिको सेवासँग सम्बन्धित तालिमलाई जनाउँछ ।

(६) कर्मचारीले शैक्षिक योग्यता र सेवाकालिन तालिम बापत प्राप्त गरेको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि पेश गर्नु पर्नेछ । सो पेश नगरेमा त्यस बापत अङ्क दिइने छैन ।

(७) कर्मचारीले बढुवा प्रयोजनको लागि दरखास्तसँग पेश गरेको शैक्षिक योग्यता सेवा, समूह, उपसमूहसँग सम्बन्धित हो वा होइन भन्ने सम्बन्धमा तोकिए बमोजिमको सम्बद्धता निर्धारण समितिले निर्णय गरे बमोजिम हुनेछ । बढुवा प्रयोजनको लागि दरखास्तसँग पेश गरेको शैक्षिक योग्यताको सम्बद्धता निर्धारण बढुवा समितिको बैठक बस्नुभन्दा अगाडिको मितिसम्म भएमा त्यस्तो शैक्षिक योग्यताको अङ्क बढुवाको लागि गणना गरिनेछ ।

(८) यस दफाको अधीनमा रही कर्मचारीलाई तालिम दिने संस्था र तालिमको स्तर सम्बन्धी व्यवस्था समितिले तोके बमोजिम हुनेछ ।

३५. कार्यसम्पादन तथा अनुभवको मूल्याङ्कनद्वारा गरिने बढुवा सम्बन्धी विशेष व्यवस्था: (१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको श्रेणीको पदमा कम्तीमा देहाय बमोजिमको सेवा अवधि पूरा गरेका कर्मचारीले सम्बन्धित समूह वा उपसमूहको पदमा सेवा प्रवेश गर्दा वा समुहीकृत हुँदाका बखत निर्धारित आवश्यक न्यूनतम शैक्षिक योग्यताभन्दा माथिल्लो शैक्षिक योग्यता सेवा प्रवेश वा समूहीकृत हुनुभन्दा अघि वा पछि प्राप्त गरेको भए त्यस्ता कर्मचारीलाई एक श्रेणी माथिको पदमा बढुवा गरिनेछ:–

(क) राजपत्र अनङ्कित द्वितीय श्रेणी                           दश वर्ष

(ख) राजपत्र अनङ्कित प्रथम श्रेणी                              बाह्र वर्ष

(ग) राजपत्राङ्कित तृतीय श्रेणी                                   पन्ध्र वर्ष

(घ) राजपत्राङ्कित द्वितीय श्रेणी                                 अठार वर्ष

(२) उपदफा (१) मा जुनसुकैकुरा लेखिएको भए तापनि राजपत्राङ्कित तृतीय श्रेणी, राजपत्र अनङ्कित प्रथम श्रेणी र राजपत्र अनङ्कित द्वितीय श्रेणीका कर्मचारीले एउटै श्रेणीको स्थायी पदमा
क्रमशः अठार, पन्ध्र र तेह्र वर्ष वा सोभन्दा बढी सेवा अवधि पूरा गरी सम्बन्धित सेवा, समूह वा
उपसमूहको पदमा सेवा प्रवेश गर्दा वा समुहीकृत हुँदाका बखत निर्धारित विषयमा न्यूनतम शैक्षिक योग्यता प्राप्त गरेको भए त्यस्तो कर्मचारीलाई एक श्रेणी माथिको पदमा बढुवा गरिनेछ ।

(३) उपदफा (१) र (२) बमोजिमको बढुवा हुन देहायको शर्त पूरा भएको हुनु पर्नेछ ।

(क) दफा २८ अनुसारको अवस्था हुन नहुने,

(ख) पछिल्लो तीन वर्षको कार्यसम्पादन मूल्याङ्कनमा औषतमा नब्बे प्रतिशत वा सोभन्दा बढी अङ्क प्राप्त गरेको हुनु पर्ने ।

(४) उपदफा (१) वा (२) बमोजिम बढुवाको सिफारिस गर्ने प्रयोजनका लागि देहाय बमोजिमको एक बढुवा समिति रहनेछः

(क) लोकसेवा आयोगको अध्यक्षले तोकेको सो आयोगको सदस्य – अध्यक्ष

(ख) सचिवमध्येबाट सभामुखले तोकेको सचिव               -सदस्य

(ग) सचिवालय सचिव – सदस्य–सचिव

(५) उपदफा (४) बमोजिमको बढुवा समितिको सचिवालय व्यवस्थापिका–संसद सचिवालयमा
रहनेछ र बढुवा समितिले यस दफा बमोजिमको बढुवा सिफारिस गर्दा प्रत्येक आर्थिक वर्षको पौष महिनामा एकपटक र आषाढ महिनामा एकपटक गरी वर्षको दुईपटक गर्नु पर्नेछ ।

(६) उपदफा (१) वा (२) बमोजिम बढुवा गर्नको लागि त्यस्तो कर्मचारी बहाल रहेको कार्यालयमा सम्बन्धित सेवा, समूह वा उपसमूहको एक श्रेणी माथिको विशेष पद स्वतः सृजना हुनेछ र त्यस्तो पदमा सम्बन्धित निकायले बढुवा गरेपछि बढुवा कायम भएको मितिदेखि लागू हुने गरी बढुवा भएको विशेष पद निजामती किताबखानाले दर्ता गर्नेछ ।

(७) उपदफा (६) बमोजिमको पदमा बढुवा भएको कर्मचारी जुनसुकै कारणले सेवाबाट अवकाश भएमा वा निज माथिल्लो पदमा बढुवा भएमा वा दरबन्दीको पदमा समायोजन भएमा त्यस्तो पद स्वतः खारेज भई निज यस दफा बमोजिम बढुवा हुनुभन्दा तत्काल अगाडिको पद स्वतः कायम भएको मानिनेछ र सोही बमोजिम निजामती किताबखानाले त्यस्तो पदको अभिलेख व्यवस्थित गर्नेछ ।

(८) दफा १७ बमोजिम समायोजन भएको अवस्थामा बाहेक उपदफा (६) बमोजिमको विशेष
पदमा बढुवा भएको कर्मचारीले त्यसरी बढुवा हुनुभन्दा अगाडिको पदमा बहाल रहँदा सम्पादन
गरेको काम नैसम्पादन गर्नु पर्नेछ ।
तर ज्येष्ठता गणना गर्दा बढुवा भएकै पदको गणना गरिनेछ र यस दफा बमोजिम बढुवा पाएको कर्मचारीले सोभन्दा माथिल्लो श्रेणीको पदको निम्ति हुने सबै प्रकारको बढुवाको निम्ति प्रतिस्पर्धा गर्न पाउनेछ ।

(९) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि स्तरवृद्धि हुने पदमा यस दफा बमोजिमको बढुवा व्यवस्था लागू हुने छैन ।

(१०) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस दफा बमोजिम हुने बढुवाले खुल्ला प्रतियोगिताद्वारा पद पूर्ति गर्ने व्यवस्थामा कुनै प्रतिकूल असर पुर्याउने छैन ।

(११) कार्यसम्पादन तथा अनुभवको मुल्याङ्कन द्वारा गरिने बढुवाको दरखास्त आव्हान गर्ने, नतिजा प्रकाशन गर्ने प्रक्रिया र अवधि, बढुवाउपरको उजूरी एवं बढुवा पाउने कर्मचारीहरुको
समायोजन लगायतका कार्यविधि सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

३६. श्रेणीविहीन कर्मचारीको स्तरवृद्धि सम्बन्धी व्यवस्था: (१) श्रेणीविहीन पदहरुको स्तर देहाय बमोजिम हुनेछ:–

(क) प्रथम स्तर

(ख) द्वितीय स्तर

(ग) तृतीय स्तर

(घ) चतुर्थ स्तर

(ङ) पाँचौ स्तर

(२) श्रेणीविहीन पदमा शुरु नियुक्ति हुने कर्मचारीको प्रथम स्तर कायम हुनेछ ।

(३) दफा १०४ बमोजिम सजायको अभिलेख नभएको श्रेणीविहीन कर्मचारीको अख्तियारवालाले देहाय बमोजिम स्तरवृद्धि गर्नेछ:–

(क) पाँच वर्ष वा सोभन्दा बढी तर दश वर्षभन्दा कम सेवा अवधि भएकोलाई द्वितीय स्तर,

(ख) दश वर्ष वा सोभन्दा बढी तर पन्ध्र वर्षभन्दा कम सेवा अवधि भएकोलाई तृतीय स्तर,

(ग) पन्ध्र वर्ष वा सोभन्दा बढी तर बीस वर्षभन्दा कम सेवा अवधि भएकोलाई चतुर्थ स्तर ।

(घ) बीस वर्ष वा सोभन्दा बढी सेवा अवधि भएकोलाई पाचौं स्तर ।

(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि श्रेणीविहीन पदमा पच्चीस वर्ष वा सोभन्दा बढी सेवा अवधि पूरा गरेका कर्मचारीलाई जुनसुकै कारणबाट अवकाश हुँदा छैठौं स्तर
कायम गरी सो स्तर बमोजिमको तलबमानको आधारमा निवृत्तभरण लगायतका अन्य सुविधा प्रदान गरिनेछ ।

(५) उपदफा (३) र (४) बमोजिमको स्तरका कर्मचारीहरुको तलबमान नेपाल सरकारले तोके
बमोजिम हुनेछ ।

(६) स्तरवृद्धि सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

३७. वैयक्तिक विवरण दुरुस्त राख्नु पर्ने: कर्मचारीको वैयक्तिक विवरण तोकिए बमोजिम दुरुस्त राखिनेछ ।

३८. बढुवाको उजुरी: (१) बढुवा समितिले गरेको बढुवाको सिफारिसमा चित्त नबुझ्ने सम्बन्धित
कर्मचारीले त्यस्तो सिफारिस गरेको मितिले पैंतीस दिनभित्र समिति समक्ष उजुरी दिन सक्नेछ ।
यसरी उजुरी दिने कर्मचारीले आफूले बढुवा पाउनु पर्ने स्पष्ट आधारहरु समेत खुलाउनु पर्नेछ ।
यसरी परेका उजुरीको हकमा उजुरीको म्याद नाघेको मितिले साठी दिनभित्र टुङ्गो लगाइनेछ ।

(२) उपदफा (१) बमोजिम पर्न आएका उजुरी टुङ्गो लागेपछि पहिले प्रकाशित बढुवा नामावलीमा संशोधन गर्नु पर्ने भएमा समितिले सोको सूचना बढुवा समितिलाई दिनु पर्नेछ ।

(३) उपदफा (१) बमोजिम पर्न आएको उजुरी झुठ्ठा ठहरिएमा उजुरीपछि हुने बढुवामा त्यस्तो उजुरीकर्ताको कुल प्राप्ताङ्कबाट पहिलोपटकको उजुरी भए दुई अङ्क र दोस्रोपटकको उजुरी
भए तीन अङ्क काटिनेछ ।

(४) बढुवाको उजुरी सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

३९. बढुवा सम्बन्धी विशेष व्यवस्था: (१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि एउटै श्रेणीमा कम्तीमा पन्ध्र वर्षसम्म बहाल रहिसकेका राजपत्राङ्कित प्रथम श्रेणी वा सोभन्दा मुनिका कर्मचारीको दफा ४५ बमोजिम अवकाश हुन एक महिना बाँकी भएमा निजलाई एक श्रेणी माथिको पदमा बढुवा गरिनेछ ।

(२) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि एउटै पदमा कम्तीमा पन्ध्र वर्षसम्म बहाल रहिसकेका राजपत्राङ्कित प्रथम श्रेणी वा सोभन्दा मुनिका कर्मचारीले दफा ४८ बमोजिम स्वेच्छिक अवकाश लिन चाही निवेदन दिएमा निजलाई एक श्रेणी माथिको पदमा बढुवा गरी अवकाश दिइनेछ ।

(३) उपदफा (१) वा (२) बमोजिम बढुवा गर्नको लागि विशेष पद स्वतः सृजना हुनेछ र त्यस्ता कर्मचारी सेवाबाट अवकाश भएपछि सो पद स्वतः खारेज हुनेछ ।

(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि एउटै पदमा यस दफा बमोजिमको अवधि पूरा भएको कुनै कर्मचारीको मृत्यु भएमा त्यस्तो कर्मचारीको परिवारलाई एक श्रेणी माथिको पदको निवृत्तभरण लगायतका अन्य सुविधा प्रदान गरिनेछ ।

(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कम्तीमा पन्ध्र वर्षसम्म एउटै पदमा बहाल रहेका राजपत्राङ्कित प्रथम श्रेणी र राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारीले बढुवा भई
अवकाश लिन चाहेमा त्यस्तो कर्मचारीलाई एक श्रेणी माथि बढुवा गरी अवकाश दिइनेछ ।