परिच्छेद–७ अवकाश, उपदान र निवृत्तभरण

परिच्छेद–७ अवकाश, उपदान र निवृत्तभरण

४५. अनिवार्य अवकाश: (१) साठी वर्ष उमेर पूरा भएको कर्मचारीले सेवाबाट स्वतः अवकाश पाउनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विशिष्ट श्रेणीको पदमा बहाल रहेको कर्मचारीले निजको पाँच वर्ष सेवा अवधि पूरा भएपछि स्वतः अवकाश पाउनेछ ।

(३) यस दफाको प्रयोजनको लागि कर्मचारीको उमेर सेवामा प्रवेश गर्दा निजले पेश गरेको शिक्षण संस्थाको प्रमाणपत्रमा किटिएको जन्म दिन वा वर्षबाट हुन आएको उमेर वा नागरिकताको प्रमाणपत्रमा किटिएको जन्म दिन वा वर्षबाट हुन आएको उमेर वा निजले भरेको वैयक्तिक नोकरी विवरण (सिटरोल) मा लेखिदिएको जन्म मिति वा वर्षबाट हुन आएको उमेरमध्ये जुन उमेरबाट निज पहिले अवकाश हुन्छ सोही आधारमा गणना गरिनेछ ।

४६. अवकाश दिन सक्ने: समितिले देहायका अवस्थामा कुनै पनि कर्मचारीलाई संघीय संसद सेवाबाट अवकाश दिन सक्नेछ:–

(क) कुनै कर्मचारीले आफ्नो जिम्मामा रहेको वा आफूले कुनै तरिकाबाट प्राप्त गरेको सरकारी गोप्य कागजात, लिखत वा जानकारी कुनै अनधिकृत व्यक्ति वा निकायलाई दिएमा वा दिने प्रयास गरेको कुरा प्रमाणित भएमा,

(ख) कुनै कर्मचारीले संघीय संसदको प्रतिष्ठा तथा राष्ट्रिय हित विपरीत कुनै विदेशी राष्ट्र, संस्था वा नागरिकसँग अवाञ्छित सम्पर्क कायम गरी आफ्नो ओहदाको मर्यादा विपरीत गैर जिम्मेवारीपूर्ण व्यवहार गरेको कुरा प्रमाणित भएमा ।

४७. असमर्थ कर्मचारीलाई अवकाश दिने सम्बन्धी विशेष व्यवस्था: कुनै कर्मचारी शारिरिक वा मानसिक रोगको कारणबाट नियमित रुपमा सेवा गर्न असमर्थ छ भनी नेपाल सरकारले गठन गरेको मेडिकल बोर्डबाट प्रमाणित भएमा समितिले निजलाई निजको सेवा अवधिमा बढीमा सात वर्ष सेवा अवधि थप गरी अवकाश दिन सक्नेछ ।

४८. स्वेच्छिक अवकाश: (१) निवृत्तभरण पाउने अवस्था र उमेरको हद पचास वर्ष पूरा भएका कर्मचारीले समितिद्वारा नेपाल राजपत्रमा प्रकाशित सूचनामा तोकिएको अवधिभित्र सोही सूचनामा उल्लिखित शर्तमा स्वेच्छिक अवकाश लिन सक्नेछ । यसरी स्वेच्छिक अवकाश लिने कर्मचारीलाई साठी वर्ष उमेर ननाघ्ने गरी बढीमा सात वर्षसम्म सेवा अवधि थप गरी निवृत्तभरणको लागि जम्मा सेवा अवधि कायम गरिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि निवृत्तभरण पाउने अवस्था र उमेरको हद पचास वर्ष पुगेको कर्मचारीले स्वेच्छिक अवकाश लिन चाहेमा समिति समक्ष निवेदन दिन सक्नेछ । यसरी अवकाश लिन चाहने कर्मचारीलाई यस ऐन बमोजिम एक श्रेणी माथिको पदमा दफा ३९ बमोजिम बढुवा पाउने भएमा एक श्रेणी माथिको पदमा बढुवा गरी, साठी वर्ष उमेर ननाघ्ने गरी बढीमा सात वर्ष सेवा अवधि थप गरी स्वेच्छिक अवकाश दिन सकिनेछ ।

४९. उपदान: (१) पाँच वर्ष वा सोभन्दा बढी सेवा गरेको तर निवृत्तभरण पाउने अवधि नपुगेको कर्मचारीले अवकाश पाएमा वा राजीनामा स्वीकृत गराई संघीय संसद सेवाबाट अलग भएमा वा भविष्यमा संघीय संसद वा अन्य सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी पदबाट हटाइएमा निजले देहाय बमोजिम उपदान पाउनेछ:–

(क) पाँच वर्षभन्दा बढी दश वर्षसम्म सेवा गरेको कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आधा महिनाको आखिरी तलब,

(ख) दश वर्षभन्दा बढी पन्ध्र वर्षसम्म सेवा गरेको कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त एक महिनाको आखिरी तलब,

(ग) पन्ध्र वर्षभन्दा बढी बीस वर्षभन्दा कम सेवा गरेको कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त डेढ महिनाको आखिरी तलब ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि संघीय संसद सेवामा बहाल रहने उद्देश्यले नागरिकता, योग्यता वा उमेर ढाँटेको प्रमाणित हुन आएमा त्यस्तो कर्मचारीलाई उपदान दिइने छैन र ढांँटे बापत प्रचलित कानून बमोजिम सजाय समेत हुनेछ ।

५०. निवृत्तभरण: (१) बीस वर्ष वा सोभन्दा बढी अवधिसम्म सेवा गरेकोकर्मचारीले देहाय बमोजिमको हिसाबले मासिक निवृत्तभरण पाउनेछ:–
(जम्मा सेवा वर्ष × आखिरी तलबको रकम) ÷ ५०

तर,

(१) भविष्यमा संघीय संसद वा अन्य सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी संघीय संसद सेवाबाट बरखास्त गरिएको कर्मचारीले यस दफा बमोजिम निवृत्तभरण पाउने छैन,

(२) संघीय संसद सेवामा बहाल रहने उद्देश्यले नागरिकता, योग्यता वा उमेर ढाँटेको प्रमाणित हुन आएमा त्यस्ता कर्मचारीलाई निवृत्तभरण दिइने छैन ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सेवा प्रवेशको लागि अधिकतम उमेर
४० वर्ष तोकिएको वर्ग र पदमा नियुक्त भएका कर्मचारीहरु उमेरका कारण अनिवार्य अवकाश हुँदा निजको सेवा अवधि निवृत्तभरण पाउन सक्ने अवस्था रहेनछ भने त्यस्तो कर्मचारीलाई बढीमा दुई वर्षसम्म सेवा अवधि थप गरी निवृत्तभरण प्रदान गर्न सकिनेछ ।

(३) सम्वत् २०४९ साल कार्तिक २१ गते अघिदेखि निजामती सेवामा बहाल रही पछि संघीय संसद सेवामा कायम भएका कर्मचारीले ३० वर्ष सेवा अवधि पूरा गरिसकेको भए स्वेच्छाले सेवाबाट अवकाश लिन सक्नेछ । यसरी अवकाश लिंदा कर्मचारीको साठी वर्ष उमेर पूरा हुन जति अवधि बाँकी छ सो अवधि थप गरी निजको जम्मा सेवा अवधि कायम गरिनेछ ।

(४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि निवृत्तभरणको न्यूनतम रकम समान पदको बहालवाला कर्मचारीको तलबको शुरु अङ्कको आधा रकमभन्दा कम र समान पदको बहालवाला कर्मचारीको तलबको शुरु अङ्कभन्दा बढी हुने छैन ।

(५) पन्ध्र वर्ष सेवा अवधि पूरा गरेको कुनै कर्मचारीको मृत्यु भएमा निजको सेवा अवधिमा बढीमा पाँच वर्ष थप गरी निजको परिवारलाई निवृत्तभरण वा उपदान जुन लिन चाहन्छ सो रोजेर लिन दिइनेछ ।

(६) कुनै सरकारी पदमा अघि गरेको सेवा बापत निवृत्तभरण पाइरहेको व्यक्ति पछि संघीय संसद सेवाको कुनै पदमा नियुक्ति भएमा निजले पछि गरेको सेवा अवधिमा अघि गरेको सेवा अवधि जोडी यस दफा बमोजिम निवृत्तभरण लिन पाउनेछ ।

५१. निवृत्तभरणमा वृद्धि: संघीय संसद सेवाको बहालवाला कर्मचारीको तलब वा भत्ता वृद्धि हुँदा तलब वा भत्ताको शुरु अङ्कमा जति वृद्धि भएको छ त्यसको दुई तिहाई रकम समान पदका निवृत्त कर्मचारीहरुको निवृत्तभरण रकममा पनि वृद्धि गरिनेछ ।
तर दफा ५२ बमोजिम निवृत्तभरण पाउने कर्मचारीको हकमा यो प्रावधान लागू हुने छैन ।

५२. उपदान र निवृत्तभरण सम्बन्धी विशेष व्यवस्था: (१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिभन्दा पछि नियुक्त हुने कर्मचारीलाई उपदान तथा निवृत्तभरण दिने प्रयोजनका लागि नेपाल सरकारले छुट्टै उपदान तथा निवृत्तभरण कोष खडा गर्नेछ र त्यस्ता कर्मचारीहरुको मासिक तलबबाट दश प्रतिशतका दरले रकम कट्टी गरी सो रकममा नेपाल सरकारले मासिक तलबको दश प्रतिशत बराबरको रकम थप गरी हुन आउने रकम सो कोषमा
जम्मा गरिदिनेछ ।

(२) दफा ४८, ४९, ५०, ५१, ५३ र ५४ को उपदान तथा निवृत्तभरण सम्बन्धी प्रावधान उपदफा (१) बमोजिमको सूचना प्रकाशन भएपछि नियुक्त हुने कर्मचारीहरुको हकमा लागू हुने छैनन्।

(३) उपदफा (१) बमोजिम मासिक तलबबाट कट्टा भए बराबरको रकम नेपाल सरकारले त्यस्तो कर्मचारीलाई तलब भुक्तानी गर्दाको बखत उपलब्ध गराउनेछ ।

(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ८१ को खण्ड (ख) को उपखण्ड (२) बमोजिम भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त भएका कर्मचारीले उक्त कोषमा निजको तलबबाट कट्टी गरिएको कूल रकम र सो बापत पाकेको ब्याज तथा मुनाफा समेत एकमुष्ट लिन पाउनेछ ।

(५) उपदफा (१) बमोजिम खडा भएको उपदान तथा निवृत्तभरण कोषमा जम्मा हुने रकमको व्यवस्थापन, सञ्चालन, कोष कट्टी गर्ने प्रक्रिया, उपदान तथा निवृत्तभरण प्रयोजनको लागि कोष कट्टी रकमको भुक्तानी तथा कोष कट्टी सम्बन्धी अन्य व्यवस्था नेपाल सरकारले तोके बमोजिम हुनेछ ।

५३. पारीवारिक निवृत्तभरण र उपदान: (१) कुनै कर्मचारीको सेवामा छँदै वा निवृत्तभरण पाउन थालेको सात वर्ष नपुग्दै मृत्यु भएमा निजको परिवारलाई वा निजको नाबालक भाई वा अविवाहिता दिदी बहिनीलाई दफा ४९ वा ५० बमोजिम उपदान वा निवृत्तभरण प्राप्त हुनेछ ।
तर निवृत्तभरणको हकमा यस्तो निवृत्तभरण सात वर्षभन्दा बढी समय प्राप्त हुने छैन ।निवृत्तभरण पाउन थालेको सात वर्ष नपुग्दै मृत्यु भएको कर्मचारीको नजिकको हकदारलाई सात वर्ष पुगेपछि निवृत्तभरण प्राप्त हुने छैन ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि निवृत्तभरण पाउने व्यक्ति नाबालक रहेछ भने निज बालिग नभएसम्म त्यस्तो निवृत्तभरण पाउनेछ ।

(३) कर्मचारीको विधुर पति वा विधवा पत्नीले निजको पति वा पत्नी सेवामा छँदै वा निवृत्तभरण पाउन थालेको सात वर्ष नपुग्दै मृत्यु भई उपदफा (१) बमोजिम पारीवारिक निवृत्तभरण पाउने भएमा सो निवृत्तभरण पाउने अवधि भुक्तान भएको मितिदेखि र त्यस्तो निवृत्तभरण नपाउने भएमा वा निजको पति वा पत्नीले निवृत्तभरण पाउन थालेको सात वर्ष व्यतित भइसकेपछि मृत्यु भएकोमा निज कर्मचारीको मृत्यु भएको मितिदेखि जीवनभर निजले पाउने निवृत्तभरणको आधा
रकम पाउनेछ ।
तर त्यस्तो विधुर पति वा विधवा पत्नीले अर्को विवाह गरेमा निजले त्यस्तो निवृत्तभरण सुविधा पाउने छैन ।

(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कर्मचारीको निवृत्तभरण पाइरहेको विधुर पति वा विधवा पत्नीको मृत्यु भएमा वा निजले अर्को विवाह गरेमा त्यस्तो कर्मचारीको नाबालिग सन्तानले बालिग नभएसम्म त्यस्तो निवृत्तभरणको रकम तोकिए बमोजिम पाउनेछ ।

(५) बहालवाला कर्मचारीको तलब वृद्धि हुँदा तलबको शुरु अङ्कमा जति वृद्धि भएको छ त्यसको दुई तिहाई रकम उपदफा (१), (२) र (३) अनुसार पारीवारिक निवृत्तभरण पाइरहेका व्यक्तिले खाइपाई आएको पारीवारिक निवृत्तभरण रकममा पनि थप गरिनेछ ।

(६) कुनै कर्मचारीको यस ऐन बमोजिम पाउने कुनै रकम लिन नपाउँदै मृत्यु भएमा सो रकम निजको परिवारका सदस्यहरुमध्ये यस ऐन बमोजिम निजको निवृत्तभरण वा उपदान पाउने ठहरिएको व्यक्तिले लिन पाउनेछ ।

(७) निवृत्तभरण वा उपदान दिंदा मृत कर्मचारीले आफ्नो परिवारको सदस्यमध्ये वा आफ्नो नाबालक भाई वा अविवाहिता दिदी बहिनी कसैलाई इच्छाएको रहेछ भने सो व्यक्तिलाई र कुनै
कारणले सो व्यक्तिले पाउन नसक्ने अवस्था भएमा वा कसैलाई पनि इच्छाएको नभएमा सो कर्मचारीको परिवारको सदस्यमध्ये समितिले उचित ठह¥याएको व्यक्तिलाई दिइनेछ ।

५४. बेपत्ता भएको कर्मचारीको निवृत्तभरण र उपदान: (१) कुनै कर्मचारी हराई बेपत्ता भई मरे बाँचेको पत्ता नलागेमा त्यस्तो कर्मचारीले दफा ४९ वा ५० बमोजिम पाउने उपदान वा निवृत्तभरणको रकम निजको परिवारलाई दिइनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ५० बमोजिम निवृत्तभरण लिन
पाउने व्यक्ति निवृत्तभरण लिन नपाउँदै बेपत्ता भएमा सात वर्षसम्म र निवृत्तभरण पाउन थालेपछि बेपत्ता भएमा सात वर्ष पुग्न बाँकी अवधिसम्म निजको परिवारलाई निवृत्तभरणको पूरै रकम र सो अवधिपछि पति वा पत्नीलाई आजीवन निवृत्तभरणको आधा रकम पारीवारिक निवृत्तभरण दिइनेछ ।

(३) बेपत्ता भएको कर्मचारी पछि फेला परेमा दफा ४९ बमोजिमको उपदान भुक्तानी दिई नसकेको भए सो उपदान वा दफा ५० बमोजिम पाउने निवृत्तभरणको रकम निजले दावी गर्न
आएको मितिदेखि निजलाई नै दिइनेछ ।
तर उपदफा (१) वा (२) बमोजिम भुक्तानी दिइसकेको उपदान, निवृत्तभरण वा पारीवारिक निवृत्तभरण रकममा पछि फेला परेको व्यक्तिले दावी गर्न पाउने छैन ।

५५. पारीवारिक निवृत्तभरण सम्बन्धी विशेष व्यवस्था: (१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले खटाएको कार्य सम्पादन गर्ने सिलसिलामा द्वन्द्वको कारणले कुनै कर्मचारीको मृत्यु भएमा त्यस्तो कर्मचारीको पदावधि बीस वर्षभन्दा कम रहेछ भने बाँकी अवधि थप गरी निजको पति वा पत्नीलाई आजीवन यस ऐन बमोजिमको निवृत्तभरण दिइनेछ ।

(२) उपदफा (१) बमोजिमको निवृत्तभरण प्राप्त गर्ने व्यक्तिले दफा ५३ बमोजिमको पारीवारिक निवृत्तभरण वा उपदान पाउने छैन ।

(३) यस दफा बमोजिम निवृत्तभरण पाउने व्यक्तिले अर्को विवाह गरेमा निजले त्यस्तो निवृत्तभरण पाउने छैन ।

(४) बहालवाला कर्मचारीको तलब वृद्धि हुँदा तलबको शुरु अङ्कमा जति वृद्धि भएको छ त्यसको दुई तिहाई रकम यस दफा अनुसार निवृत्तभरण पाइरहेका व्यक्तिले खाइपाई आएको पारीवारिक निवृत्तभरण रकममा पनि थप गरिनेछ ।

(५) यस दफा बमोजिम निवृत्तभरण पाइरहेको व्यक्तिको मृत्यु भएमा वा निजले अर्को विवाह
गरेमा त्यस्तो निवृत्तभरणको रकम मृतक कर्मचारीको नाबालक छोरा छोरी भए त्यस्ता छोरा छोरीले बालिग नभएसम्म तोकिए बमोजिम पाउनेछन्।

५६. विशेष आर्थिक सुविधा: कर्मचारीको सेवामा छँदै मृत्यु भएमा निजको परिवारलाई एक लाख पचास हजार रुपैयाँ एकमुष्ट प्रदान गरिनेछ ।

५७. तलबको उल्लेख: (१) यस ऐनको ठाउँठाउँमा रहेको “तलब” भन्ने शब्दले व्यवस्थापिका–संसद सेवाको सम्बन्धित कर्मचारीको तत्कालको तलब रकम (तलब वृद्धि समेत) लाई जनाउनेछ।

(२) दफा ४९ र ५० को प्रयोजनका लागि “आखिरी तलब” भन्नाले सम्बन्धित कर्मचारीको अवकाश प्राप्त गर्ने अवस्थामा खाइपाई आएको तलबलाई जनाउनेछ र त्यसरी अवकाश प्राप्त गर्ने अवस्थामा कुनै कर्मचारी असाधारण विदा वा निलम्बनमा रहेको भए त्यस्तो अवधिको निमित्त पनि पूरै तलबको हिसाब गरिनेछ ।

५८. बीमा सम्बन्धी व्यवस्था: कर्मचारीको बीमा सुविधा सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।

५९. कर्मचारीले पाउने विदा: (१) कर्मचारीले देहायका विदाहरु तोकिए बमोजिम पाउनेछ:–

(क) भैपरी आउने र पर्व विदा,

(ख) घर विदा,

(ग) विरामी विदा,

(घ) प्रसूती विदा,

(ङ) प्रसूती स्याहार विदा,

(च) किरिया विदा,
(छ) सट्टा विदा,

(ज) अध्ययन विदा,

(झ) असाधारण विदा ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै कर्मचारीको पति वा पत्नी विदेशस्थित नेपाली राजदूतावास वा कुनै नियोगमा खटिई गएमा त्यस्तो कर्मचारीले तोकिए
बमोजिम बेतलबी विदा पाउनेछ । यसरी बसेको विदाको अवधि निजको सेवा अवधिमा गणना गरिने छैन ।

(३) विदा सम्बन्धी अन्य व्यवस्था र कार्यविधि तोकिए बमोजिम हुनेछ ।

६०. अध्ययन, तालिम वा अध्ययन भ्रमण सम्बन्धी व्यवस्था: कर्मचारीको अध्ययन, तालिम वा अध्ययन भ्रमण सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।