परिच्छेद–८ विविध

परिच्छेद–८ विविध

६१निविदा मतपत्र सम्बन्धी व्यवस्था: (१) कसैले अर्को मतदाताको नामबाट मतपत्र लिइसकेको वा मतदान गरिसकेको र पछिबाट मतदान गर्न आउने व्यक्ति नै वास्तविक मतदाता हो भन्ने कुरा निजले पेश गरेको प्रमाणबाट देखिन आएमा मतदान अधिकृतले त्यस्तो मतदातालाई निविदा मतपत्र दिनेछ । यसरी निविदा मतपत्र दिएकोमा त्यस्तो मतपत्रमा मतदाताले आफ्नो मत सङ्केत गरिसकेपछि त्यस्तो मतपत्र मतपेटिकामा नहाली त्यसको प्रयोजनको लागि राखिएको छुट्टै खाममा राख्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम निविदा मतपत्र दिने, राख्ने र तत्सम्बन्धी अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ ।

(३) यस ऐन बमोजिम मतगणना गर्दा उपदफा (१) बमोजिम छुट्टै खाममा राखिएका निविदा मतपत्रहरू त्यस समयमा गणना गरिने छैन । निर्वाचन सम्बन्धी उजुरी पर्न आई त्यस्तो उजुरीको निर्णय गर्नको लागि आवश्यक पर्ने भनी ठहर गरेमा अदालतले त्यस्तो निविदा मतपत्रहरू समेत गणना गर्न सक्नेछ ।

६२. निर्वाचन प्रचार–प्रसार खर्च: (१) निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने रकमको हद
आयोगले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिए बमोजिम हुनेछ ।

(२) उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले निर्वाचनको अवधिमा निर्वाचनमा भएको सम्पूर्ण खर्चको विवरण तोकिएको ढाँचामा तोकिए बमोजिम राख्नु पर्नेछ ।

स्पष्टीकरण: यस उपदफाको प्रयोजनको लागि “निर्वाचनको अवधि” भन्नाले उम्मेदवारको
मनोनयनपत्र दर्ता भएको मितिदेखि त्यस्तो निर्वाचनको परिणाम घोषणा भएको मितिसम्मको अवधि सम्झनु पर्छ ।

(३) कुनै उम्मेदवारले निर्वाचनमा गरेको जम्मा खर्च उपदफा (१) बमोजिम तोकिएको खर्चको रकमको हदभन्दा बढी हुनु हुँदैन ।

(४) उपदफा (२) बमोजिमको निर्वाचन खर्चको विवरण, उम्मेदवार वा निजका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले तीस दिनभित्र आयोगले तोकेको कार्यालय समक्ष पेश गर्नु पर्नेछ । यसरी प्राप्त भएको खर्चको विवरण सम्बन्धित कार्यालयले आयोगमा पठाउनु पर्नेछ।

(५) यस दफा बमोजिम निर्वाचन प्रचार प्रसार खर्चको विवरण तोकिएको समयभित्र नबुझाउने उम्मेदवारलाई आयोगले निर्वाचन आयोग सम्बन्धी प्रचलित सङ्घीय कानून बमोजिम जरिबाना गर्न सक्नेछ ।

६३. निर्वाचन सम्बन्धी कागजात वा अभिलेखको गोप्यता: (१) निर्वाचनमा प्रयोग भएको
कागजात वा विद्युतीय उपकरणबाट मतदान भएकोमा त्यस्तो अभिलेखमध्ये मतगणनाको
प्रयोजनको लागि आवश्यकता अनुसार खोली हेरी मतगणनाको काम समाप्त भएपछि सिलबन्दी गरी तोकिएको अधिकारीको जिम्मामा राखिनेछ ।

(२) उपदफा (१) बमोजिम सिलबन्दी भई रहेको मतपत्रको अर्धकट्टी, मतदानमा प्रयोग गरिएको मतदाता नामावली र सदर तथा बदर भएको मतपत्र राखिएको सिलबन्दी खाम, थैलो, बोरा वा अभिलेख प्रचलित कानून बमोजिम परेको उजुरीको सिलसिलामा अदालतले मात्र खोल्न र हेर्न सक्नेछ ।

(३) उपदफा (२) बमोजिम अदालतको आदेशले खोली हेरिसकेपछि अदालतले ती कागजात वा अभिलेख यथारूपमा सिलबन्दी गरी राख्नु पर्नेछ । अदालत बाहेक अन्य कुनै अधिकारी वा निकायलाई त्यस्तो बन्दी खाम, थैलो वा बोरा खोली हेर्ने अधिकार हुने छैन ।

(४) यस दफामा उल्लिखित कागजात वा अभिलेख मुद्दा परेकोमा मुद्दाको अन्तिम टुङ्गो लागेको मितिले र मुद्दा नपरेकोमा उजुरी गर्ने म्याद भुक्तान भएको मितिले तीन महिनासम्म सुरक्षित राख्नु पर्नेछ ।

६४. गोप्यता भङ्ग गर्न नहुनेः (१) कानून बमोजिम अधिकार पाएकोमा बाहेक निर्वाचन सम्बन्धी
काम गर्न खटिएको कुनै पनि कर्मचारी, उम्मेदवार, निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि, मतगणना प्रतिनिधि वा अन्य कुनै व्यक्तिले मतपत्रमा मतदाताले सङ्केत गरेको मत वा तत्सम्बन्धमा आफूलाई जानकारी रहेको वा हुन आएको अन्य कुनै कुरा कसैलाई भन्न, लेख्न वा कुनै किसिमले प्रकट गर्न वा प्रकाशन गर्न समेत हुँदैन ।

(२) यो ऐन वा अन्य प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन अन्तर्गत चलेको कानूनी कारबाहीमा कुनै पनि साक्षी वा कुनै व्यक्तिलाई निर्वाचनमा निजले कसलाई मत दिएको हो भनी वा कसले कसलाई मत दिएको हो भनी प्रश्न गरिने छैन ।

६५. आदेश जारी गर्ने र निर्देशन दिने: (१) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियममा लेखिएको कुराका अतिरिक्त निर्वाचनको सम्बन्धमा यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही आयोगले आवश्यक आदेश जारी गर्न सक्नेछ र त्यस्तो आदेश नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ ।

(२) आयोगले निर्वाचन सञ्चालनको लागि निर्वाचनको काममा खटिएका कर्मचारीलाई आवश्यक निर्देशन दिन सक्नेछ ।

(३) यस दफा बमोजिम आयोगले जारी गरेको आदेश र निर्देशन पालना गर्नु नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सरकारी कार्यालय तथा निकाय, सरकारी, अर्धसरकारी तथा गैरसरकारी संस्था तथा निकाय, राजनीतिक दल, उम्मेदवार, निजको प्रतिनिधि, निर्वाचन सम्बन्धी काम कारबाहीको प्रचार प्रसार गर्ने व्यक्ति तथा निर्वाचनको काममा खटिएका कर्मचारी समेतको कर्तव्य हुनेछ ।

६६. मद्दत लिन सक्ने: (१) निर्वाचन अधिकृत, मतदान अधिकृत वा आयोगले निर्वाचनको काममा खटाएको अनुगमन टोली, पर्यवेक्षक वा अन्य कुनै अधिकृतले निर्वाचनको कामको
सिलसिलामा कुनै पनि सरकारी वा सुरक्षा निकायको मद्दत लिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम मद्दत मागिएमा आवश्यक मद्दत पुर्याउनु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।

६७. कारबाही गर्न सक्ने: कुनै निर्वाचन अधिकृतले संविधान, कानून, निर्देशिका, कार्यविधि र
आयोगले दिएको निर्देशन विपरीत कार्य गरेमा आयोगले त्यस्तो निर्वाचन अधिकृतको नियुक्ति बदर गरी अर्को निर्वाचन अधिकृत नियुक्त गर्न वा विभागीय कारबाहीको लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ ।

 ६८. नियम बनाउने अधिकार: आयोगले यो ऐन कार्यान्वयनको लागि आवश्यक नियम बनाउन सक्नेछ ।

६९. निर्देशिका वा कार्यविधि बनाई लागू गर्न सक्ने: आयोगले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही आवश्यक निर्देशिका वा कार्यविधि बनाई लागू गर्न सक्नेछ ।