परिच्छेद–३ अन्तःशुल्क असुली सम्बन्धी व्यवस्था

परिच्छेद–३ अन्तःशुल्क असुली सम्बन्धी व्यवस्था

 

६. अन्तःशुल्क लगाउने प्रक्रियाः (१) मदिरा, स्प्रिट, खुदो (मोलासेस) र वियरलाई उत्पादन गरी निष्कासन गर्दाको अवस्थामा नै अन्तःशुल्क लगाई असुल उपर गर्ने गरी भौतिक नियन्त्रण प्रणाली अन्तर्गत निष्कासन गर्न दिइनेछ ।
(२) उपनियम (१) मा उल्लिखित वस्तु बाहेकका अन्य अन्तःशुल्क लाग्ने वस्तु तथा सेवालाई स्वयं निष्कासन प्रणाली अन्तर्गत निष्कासन गर्न दिइनेछ ।
(२क) उपनियम (१) र (२) मा जनुसुकै कुरा लेखिएको भए तापनि चुरोट, सूर्ती, खैनी, गुट्खा, निकोटिन युक्त वा निकोटिन रहित पानमसाला तथा यस्तै अन्य सूर्तीजन्य पदार्थहरु निस्कासन गर्दा लाग्ने अन्तः शुल्क राजश्व दाखिला गरी माग फाराम स्वीकृत गराई निस्कासन गर्न दिइनेछ ।
(३) उत्पादन गरी निष्कासन गर्दाको अवस्थामा नै अन्तःशुल्क लगाई असुल उपर गर्नु पर्ने भौतिक नियन्त्रण प्रणालीमा आधारित वस्तुको हकमा उत्पादकले आर्थिक वर्षभरीमा उत्पादन गर्ने वस्तु र सो वापत बुझाउनु पर्ने अन्तःशुल्क रकमको अन्तःशुल्क अधिकृतले हिसाब गरी त्यस्तो रकम उत्पादकबाट अग्रीम रूपमा धरौटी राख्न लगाउन सक्नेछ । त्यसरी धरौटी राखिएको रकम अन्तःशुल्क वापत बुझाउनु पर्ने रकम भन्दा कम भएमा अन्तःशुल्क अधिकृतले नपुग रकम जति उत्पादकबाट दाखिला गर्न लगाउन सक्नेछ र बढी भए जति रकम उत्पादकलाई फिर्ता गर्नु पर्नेछ ।
(४) स्वयं निष्कासन प्रणाली अन्तर्गत निष्कासन हुने वस्तु तथा सेवाका हकमा अनुसूची–१३ बमोजिमको बिजकमा अन्तःशुल्क असुल गरी ऐनको दफा ३ बमोजिम दाखिला गर्नु पर्नेछ ।
…………
(५) भौतिक नियन्त्रण प्रणाली अन्तर्गतका वस्तुको निष्कासन माग फाराम स्वीकृत भएपछि पनि अनुसूची–१३ बमोजिमको बिजक जारी गरी सामान निष्कासन गर्नुपर्नेछ ।

६क. अन्तःशुल्क अधिकृतले अन्तःशुल्क निर्धारण गर्न सक्नेः (१) ऐनको दफा १०घ. को उपदफा (१) बमोजिम अन्तःशुल्क अधिकृतले अन्तःशुल्क निर्धारण गर्दा अनुसूची–४क. बमोजिमको ढाँचामा अन्तःशुल्क निर्धारण आदेश जारी गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम जारी भएको आदेशका सम्बन्धमा ऐनको दफा १०घ.को उपदफा (२) बमोजिमको म्यादभित्र पेश भएका प्रमाण तथा लिएका जिकिरको छानविन गरी अन्तःशुल्क अधिकृतले अनुसूची ४ख. बमोजिमको अन्तिम अन्तःशुल्क निर्धारण आदेशजारी गर्नु पर्नेछ । त्यस्तो आदेशमा अन्तःशुल्क निर्धारण आदेश जारी भएको मितिसम्मको ऐनको दफा ४ख. को उपदफा (२) बमोजिम लाग्ने विलम्ब दस्तुर समेत समावेश गर्नुपर्नेछ ।
(३) उपनियम (२) बमोजिम जारी भएको अन्तःशुल्क निर्धारण आदेश बमोजिमको अन्तःशुल्क, विलम्ब दस्तुर तथा जरिवाना रकम सम्बन्धित व्यक्तिले त्यस्तो आदेश प्राप्त गरेको मितिले सात दिनभित्र सम्बन्धित कार्यालयमा दाखिला गर्नुपर्नेछ ।

६ख. अन्तःशुल्क निर्धारण आदेशको सूचना पठाउने कार्यविधिः (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि अन्तःशुल्क अधिकृतले इजाजतपत्रवालालाई नियम ६क. बमोजिम अन्तःशुल्क निर्धारण आदेशको सूचना पठाउँदा निजलाई बुझाउन वा त्यस्तो व्यक्तिको ठेगानामा राखिएको टेलिफ्याक्स, टेलेक्स वा त्यस्तै विद्युतीय उपकरण मार्फत पठाउन वा निजको कार्यालयमा बुझाउन वा निजको ठेगानामा रजिष्ट्री गरी हुलाक मार्फत पठाइ तामेल गर्न सकिनेछ । त्यसरी तामेल गरिएको सूचना रीतपूर्वक तामेल
भएको मानिनेछ ।
(२) उपनियम (१) बमोजिम अन्तःशुल्क निर्धारण आदेशको सूचना तामेल हुन नसकेमा अन्तःशुल्क अधिकृतले सम्बन्धित व्यक्तिलाई रेडियो, टेलिभिजन वा राष्ट्रियस्तरको कुनै पत्रपत्रिकामा तत्सम्बन्धी आदेशको सूचना प्रशारण वा प्रकाशन गरी जानकारी गराउन सक्नेछ र यसरी सूचना प्रसारण वा प्रकाशन गरिएकोमा सम्बन्धित व्यक्तिले त्यस्तो सूचना प्राप्त गरेको मानिनेछ ।

६ग. इजाजत पत्र नलिई उठाएको अन्तःशुल्कको निर्धारण र असुलीः कसैले इजाजतपत्र नलिई अन्तःशुल्क वा अन्तःशुल्कको नाममा अन्य कुनै रकम उठाएमा निजले उठाएको अन्तःशुल्क रकम नियम ६क. बमोजिम निर्धारण गरी असुल उपर गरिनेछ ।

६घ. अन्तःशुल्क निर्धारणको अवधिः ऐनको दफा १०घ. को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांश बमोजिमको अवधि गणना गर्दा अन्तःशुल्कको सम्बन्धमा कुनै अदालतमा निवेदन परि स्थगन आदेश जारी भएको अवस्थामा सोको निर्णय नभएसम्मको अवधि कटाइ गणना गरिनेछ ।

७. बाँकी अन्तःशुल्क रकम असुल उपर गर्न सकिनेः अन्तःशुल्क लाग्ने वस्तु वा सेवा बापत कसैले ऐन तथा यस नियमावली बमोजिम अन्तःशुल्क रकम भन्दा घटी रकम वुझाएको देखिएमा अन्तःशुल्क अधिकृतले निजबाट बा“की अन्तःशुल्क रकम असुल उपर
गरी लिन सक्नेछ ।

८. इजाजतपत्र रद्द भएमा मौज्दात रहेको वस्तु विक्री गर्नेः ऐन तथा यस नियमावली बमोजिम इजाजतपत्र रद्द हुँदाका अवस्थामा गोदाममा मौज्दात रहेका वस्तुका हकमा वक्यौता अन्तःशुल्क बुझाइ विभागको स्वीकृति लिई विक्री गर्न सकिनेछ । विभागलाई वुझाउनु पर्ने वक्यौता अन्तःशुल्क नबुझाएमा विभागले त्यस्तो वस्तु लिलाम विक्री गरी प्राप्त भएको रकमबाट वक्यौता अन्तःशुल्क लिई बाँकी रहन गएको रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नु पर्नेछ ।