कटारी अस्पताल विकास समिति (गठन) आदेश, २०६९

कटारी अस्पताल विकास समिति (गठन) आदेश, २०६९

कटारी अस्पताल विकास समिति (गठन) आदेश, २०६९
नेपाल राजपत्रमा प्रकाशित मिति
२०६९।११।२१

विकास समिति ऐन, २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायको आदेश जारी गरेको छ ।

१.१. सङ्क्षिप्त नाम र प्रारम्भः

(१) यस आदेशको नाम “कटारी अस्पताल विकास समिति (गठन) आदेश, २०६९” रहेको छ ।
(२) यो आदेश तुरुन्त प्रारम्भ हुनेछ ।

२.२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस आदेशमा,–

(क) “अध्यक्ष” भन्नाले समितिको अध्यक्ष सम्झनुपर्छ ।
(ख) “अस्पताल” भन्नाले कटारी अस्पताल सम्झनुपर्छ ।
(ग) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस आदेश अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनुपर्छ ।
(घ) “मन्त्रालय” भन्नाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्झनुपर्छ ।
(ङ) “सदस्य” भन्नाले समितिको सदस्य सम्झनुपर्छ र सो शब्दले समितिको अध्यक्ष र समितिको सदस्य–सचिव समेतलाई जनाउँछ ।
(च) “समिति” भन्नाले दफा ३ बमोजिम गठन गरिएको कटारी अस्पताल विकास समिति सम्झनुपर्छ ।

३.३. समितिको गठनः

(१) कटारी अस्पतालको व्यवस्थापन र सञ्चालन गर्ने काम समेतको लागि कटारी अस्पताल विकास समिति नामको एक समिति रहनेछ ।
(२) उपदफा (१) बमोजिमको समितिको गठन देहाय बमोजिम हुनेछः–

(क) लब्ध प्रतिष्ठित व्यक्तिहरूमध्येबाट मन्त्रालयले मनोनीत गरेको व्यक्ति – अध्यक्ष
(ख) अस्पताल रहेको क्षेत्रको सम्बन्धित नगरपालिकाको प्रमुख – सदस्य।
(ग) जिल्ला विकास समिति, उदयपुरको अधिकृत स्तरको प्रतिनिधि – सदस्य
(घ) जिल्ला प्रशासन कार्यालय, उदयपुरको अधिकृत स्तरको प्रतिनिधि – सदस्य
(ङ) जिल्ला उद्योग वाणिज्य संघ, उदयपुरको सभापति – सदस्य
(च) जिल्ला रेडक्रस सोसाइटी, उदयपुरको अध्यक्ष – सदस्य
(छ) अस्पताल रहेको क्षेत्रको नगरपालिकाको सम्बन्धित वडाका महिलाहरूमध्ये समितिबाट मनोनीत
एकजना – सदस्य
(ज) स्वास्थ्य सेवामा संलग्न महिलाहरूमध्ये समितिबाट मनोनीत एकजना – सदस्य
(झ) अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट – सदस्य–सचिव

(३) समितिको अध्यक्ष तथा मनोनीत सदस्यको पदावधि दुई वर्षको हुनेछ ।

(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भएतापनि अध्यक्ष तथा मनोनीत सदस्यले आफ्नो पदीय जिम्मेवारी पूरा नगरेमा वा समितिको हित विपरीत कुनै काम गरेमा मन्त्रालयले निजलाई जुनसुकै बखत हटाउन सक्नेछ ।  तर त्यसरी निजलाई पदबाट हटाउनु अघि सफाई पेश गर्ने मौकाबाट बञ्चित गरिने छैन ।

४. समितिको काम, कर्तव्य र अधिकारः समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–

(क) अस्पतालको सञ्चालन तथा व्यवस्थापनको लागि आवश्यक योजना तर्जुमा गरी कार्यान्वयन गर्ने, गराउने,
(ख) अस्पतालको लागि आवश्यक स्रोत तथा साधनको व्यवस्था गर्ने,
(ग) अस्पतालको वार्षिक कार्यक्रम तथा बजेट स्वीकृत गरी कार्यान्वयन गर्ने,
(घ) अस्पतालको सेवा शुल्क निर्धारण गर्ने,
(ङ) अस्पतालको भौतिक सम्पत्तिको संरक्षण तथा मर्मत सम्भार गर्ने।
(च) आर्थिक रुपमा असहाय तथा असक्षम मानिने बिरामी सम्बन्धी मापदण्ड तयार गर्ने,
(छ) आर्थिक रुपमा असहाय तथा असक्षम मानिने बिरामीको लागि निःशुल्क उपचारको व्यवस्था गर्ने,
(ज) तोकिए बमोजिमको अन्य कार्यहरू गर्ने ।

५. समितिको बैठक सम्बन्धी कार्यविधिः

(१) समितिको बैठक आवश्यकतानुसार बस्नेछ ।
(२) समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(३) समितिको बैठक बस्नु भन्दा कम्तीमा चौबीस घण्टा अगावै समितिको
सदस्य–सचिवले बैठकमा छलफल हुने विषय सहितको सूचना सबै सदस्यहरूलाई दिनु पर्नेछ ।
(४) समितिको कूल सदस्य सङ्ख्याको पचास प्रतिशत भन्दा बढी सदस्यहरू  उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ ।
(५) समितिको बैठकको अध्यक्षता अध्यक्षले र निजको अनुपस्थितिमा समितिका सदस्यहरूले आफूहरूमध्येबाट छानेको सदस्यले गर्नेछ ।
(६) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(७) समितिको निर्णय अध्यक्ष र सदस्य–सचिवले प्रमाणित गरी राख्नेछ ।
(८) समितिले आवश्यक देखेमा कुनै विशेषज्ञ वा नेपाल सरकारको कुनै अधिकृतलाई समितिको बैठकमा पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।
(९) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।

६. अस्पताल प्रमुखः अस्पतालको मेडिकल सुपरिटेण्डेण्टले समितिको प्रशासकीय प्रमुखको रुपमा काम गर्नेछ ।

७. कर्मचारी सम्बन्धी व्यवस्थाः

(१) समितिमा आवश्यक सङ्ख्यामा कर्मचारीहरू रहनेछन् ।
(२) उपदफा (१) बमोजिमका कर्मचारीको नियुक्ति, पारिश्रमिक, सुविधा तथा सेवाको शर्त सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।