परिच्छेद–७ मदिरासम्बन्धी विशेष व्यवस्था

परिच्छेद–७ मदिरासम्बन्धी विशेष व्यवस्था

 

१६. मदिरा उत्पादनः (१) मदिरा उत्पादन गर्ने इजाजतपत्रवालाले पेटेन्ट स्टिल प्लाण्टबाट उत्पादित स्प्रिटको मिश्रण (ब्लेडिङ्ग) बाट मात्र मदिरा उत्पादन गर्नु पर्नेछ ।

(२) मदिरा उत्पादन गर्ने इजाजतपत्रवालाले आफूले उत्पादन गरेका १५, २५, ३०, ४० र ५० यू.पी. शक्तिको मदिरालाई विभागले तोके बमोजिम बोतलबन्दी गर्नु पर्नेछ ।
(३) मदिरा उत्पादन गर्ने इजाजतपत्रवालाले आफूले उत्पादन गरेको ७० यू.पी. शक्तिको मदिरालाई ३०० मिली लिटरको पेट बोतल वा विभागले तोकेबमोजिम बोतलबन्दीमा मात्र बिक्री गर्नु पर्नेछ ।

१७. कच्चा पदार्थको संरक्षणः

मदिरा उत्पादन गर्ने इजाजतपत्रवालाले मोलसिस, स्प्रीट लगायतका कच्चा पदार्थको उचित संरक्षणको प्रबन्ध गर्नु पर्नेछ । त्यस्ता कच्चा पदार्थको उचित संरक्षणको प्रबन्ध नगरी हानी नोक्सानी भएमा सो बापत त्यस्तो इजाजतपत्रवालाले उत्पादन गर्ने मदिरा तर्फको उच्चतम दरबन्दी अनुसार लाग्ने राजश्व सो इजाजतपत्रवालाबाट असुल उपर गरी लिनु पर्नेछ ।

१८. व्याच र सिलसिलेवार नम्बर अंकित गर्नु पर्नेः

(१) मदिराको उत्पादन प्रक्रिया समाप्त भएपछि त्यस्तो मदिरा राखिएको प्रत्येक बोतलमा व्याच नम्बर, सिलसिलेवार नम्बर, उत्पादन मिति, उत्पादन गर्ने इजाजतपत्रवालाको नाम, टेडमार्क र शक्ति लेखिएको लेवल अंकित गरी गोदाममा पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम गोदाममा पठाउँदा अनुसूची–९क बमोजिमको ढाँचामा व्याच नियन्त्रण खाता प्रमाणित गरी राख्नु पर्नेछ ।

१९. वाससबन्धी रेकर्ड राख्नेः (१) मदिरा उत्पादन गर्ने इजाजतपत्रवालाले वास बनाउनको लागि फरमेन्टेशन गर्दा प्रयोग गरेको कच्चा पदार्थ, पानीको मात्रा समेत उल्लेख गरी सोको विवरण स्पष्ट देखिने गरी लगत राख्नु पर्नेछ ।
(२) मदिरा उत्पादन गर्ने इजाजतपत्रवालाले डिष्टिलेशन (चुहान) को लागि तयार भएको वास डिष्टिलेशन प्लाण्टमा हाल्नु अगावै डिष्टिल गर्ने वासको परिमाण र भेट नं. को लगत राखी सोको जानकारी अन्तःशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीलाई दिनु पर्नेछ ।

२०. इजाजत वेगर डिष्टिलरी वा ब्रुअरीभित्र प्रवेश गर्न नपाउनेः डिष्टिलरी वा ब्रुअरीभित्र मदिरा बनाउने वा मदिरा राखेको ठाउनिर डिष्टिलरी र ब्रुअरीको कामदार बाहेक बेसरोकारवाला अन्य कुनै पनि व्यक्ति अन्तःशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीको इजाजत बेगर प्रवेश गर्न पाउने छैन ।

२१. निरीक्षण पुस्तिका राख्नु पर्नेः मदिरा उत्पादन गर्ने इजाजतपत्रवालाले डिष्टिलरी वा ब्रुअरीमा विभागले तोके बमोजिमको एउटा निरीक्षण पुस्तिका राख्नु पर्नेछ । अन्तःशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीले डिष्टिलरी वा ब्रुअरी निरीक्षण गर्दा निरीक्षण मिति, समय र मदिरा उत्पादन प्रक्रियामा सम्बन्धमा देखेको त्रुटि सम्बन्धी सबै कुरा सो पुस्तिकामा लेख्नु पर्नेछ ।

२२. मदिराको हिसाब राख्नेः (१) मदिरा उत्पादन गर्ने इजाजतपत्रवालाले वासबाट चुहान भएको मदिराको परिमाण र त्यसको शक्ति समेत खुलाइ अनुसूची–१० र मदिरा बिक्री र सोबाट प्राप्त हुने अन्तःशुल्कको फाट“वारी अनुसूची–११ बमोजिमको ढाँचामा विवरण
तयार गरी राख्नु पर्नेछ ।

(२) मदिरा उत्पादन गर्ने इजाजतपत्रवालाले मदिरा बनाउन प्रयोग गरेको अन्न र फलफूलको हिसाब राखी त्यसबाट के कति मदिरा उत्पादन भयो सो को विवरण भरी अन्तःशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीबाट प्रमाणित गराइ राख्नु पर्नेछ ।

(३) ……….

२३. मौज्दात कमीको मिन्हाः (१) मदिरा उत्पादन गर्ने इजाजतपत्रवालाले आफूसँग रहेको मदिराको मौज्दातमा वाष्पिकरण, दुर्वौधिकरण, चुहावट वा वोतलमा मदिरा भर्दाको कारणबाट एक प्रतिशतसम्म कमी हुन आएमा मासिक विवरणमा उल्लेख गरी मिन्हाको लागि अन्तःशुल्क अधिकृत समक्ष पेश गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम पेश भएको विवरण अन्तःशुल्क अधिकृतले तीस दिनभित्र जाँच गर्नु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम जाँच गर्दा मौज्दात कमी भएको मनासिब माफिकको कारण भएमा आधार स्पष्ट खुलाइ अन्तःशुल्क अधिकृतले एक प्रतिशतसम्म मौज्दात कमी मिन्हा दिन सक्नेछ ।
(४) …………

(४क) ………………….

(५) …………….

२३क. वियर मौज्दात कमीको मिन्हाः (१) वियर उत्पादन गर्ने इजाजतपत्रवालाले तयारी वियर अन्तिम रूपमा बोतल बन्दी गर्दा फलोमिटरले देखाएको परिमाण भन्दा बोतल बन्दी भएपछिको बोतल काउण्टरले देखाएको परिमाणको मौज्दात कमी र पाश्चरराइजेशन, प्याकेजिङ्ग तथा गोदाममा भण्डारण गर्दा टुटफुट वा बिग्रेर बोतलमा प्रयोग हुन नसक्ने अवस्थाका क्राउनकर्कको मौज्दात कमीको विवरण विभागले तोेकेको ढाँचामा मासिक रूपमा उल्लेख गरी मिन्हाका लागि अन्तःशुल्क अधिकृत समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पेश भएको विवरण अन्तःशुल्क अधिकृतले तीस दिन भित्र जाँच गर्नु पर्नेछ । त्यसरी जाँच गर्दा फलोमिटरले देखाएको परिमाण भन्दा बोतल बन्दी भएपछिको बोतल काउण्टरले देखाएको परिमाणको मौज्दात कमी भएमा बढीमा १.५ प्रतिशत सम्म र पाश्चरराइजेशन, प्याकेजिङ्ग तथा गोदाममा भण्डारण गर्दा टुटफुट वा बिग्रेको वियरको भौतिक परीक्षण गरी बढीमा दुई प्रतिशतसम्म मौज्दात कमीको मिन्हा दिन सक्नेछ ।