परिच्छेद–९ विविध

परिच्छेद–९ विविध

२६. मौज्दात जाच्न सक्नेः इजाजतपत्रवालाले अन्तःशुल्क लाग्ने वस्तु सम्बन्धी कच्चा पदार्थ अर्ध तयारी पदार्थ वा वस्तु तथा तयारी पदार्थ वा वस्तुको मौज्दात जाच गर्नका लागि कार्यालयले कुनै पनि समयमा कर्मचारी खटाउन सक्नेछ । त्यस्तो कर्मचारीलाई मौज्दात जाच गर्न दिनु इजाजतपत्रवालाको कर्तव्य हुनेछ । त्यसरी जाच गरिएको विवरणको प्रतिवेदन कार्यालयले विभागमा पेश गर्नु पर्नेछ ।

२७. इजाजतपत्रवालाले दुर्घटनाको सूचना दिनु पर्नेः ईजाजतपत्रवालाले उत्पादन स्थलमा कुनै किसिमको दुर्घटना भएमा सो कुराको सूचना यथाशीघ्र सम्बन्धित अन्तःशुल्क अधिकृत वा विभागलाई दिनु पर्नेछ । सो बमोजिमको सूचना नदिएमा त्यस्तो दुर्घटनाबाट नेपाल सरकारलाई हुन गएको अन्तःशुल्क सम्बन्धी हानी नोक्सानी इजाजतपत्रवालाले नै व्यहोर्नु पर्नेछ ।

तर इजाजतपत्रवालाले अन्तःशुल्क लाग्ने वस्तु वा पदार्थ एक स्थानबाट अर्को स्थानमा ढुवानी गर्दा दुर्घटना भै त्यस्तो वस्तु वा पदार्थ नोक्सानी भएको अवस्थामा सो वस्तुको बीमा गराएको रहेछ र सोको क्षतिपूर्ति प्राप्त भएको रहेछ भने सो क्षतिपूर्ति प्राप्त भएको हदसम्म नेपाल सरकारलाई हुन गएको अन्तःशुल्कसम्बन्धी हानी नोक्सानी इजाजतपत्रवालाले व्यहोर्नु पर्ने छैन ।

२८. प्रतिष्ठान बन्द गर्दा सूचना दिनु पर्नेः (१) कुनै प्रतिष्ठान कुनै पनि कारणले बन्द गर्नु परेमा त्यस्तो कारण प्रष्ट खुलाइ त्यसरी बन्द गर्नुभन्दा तीन दिन अगावै सम्बन्धित अन्तःशुल्क अधिकृत र विभागलाई लिखित रूपमा जानकारी गराउनु पर्नेछ ।

तर इँटा उद्योगको हकमा यो व्यवस्था लागू हुने छैन ।

(२) उपनियम (१) बमोजिमको सूचना प्राप्त भएमा बिभागले आवश्यक सम्झेमा सो प्रतिष्ठान चालु राख्न सम्बन्धित व्यक्तिलाई आदेश दिन सक्नेछ ।

२९. मूल्य खुलाउनु पर्नेः (१) मदिरा, बियर, चुरोट, सुर्ती, खैनी, गुट्खा, निकोटि युक्त वा निकोटिन रहित पानमसाला तथा यस्तै अन्य सूर्तीजन्य पदार्थहरु उत्पादन गर्ने तथा पैठारी गर्ने इजाजतपत्रवालाले आफ्नो वितरक, थोक तथा खुद्रा विक्रेतालाई बिक्री गर्ने मूल्य सार्वजनिक गरी आफूले उत्पादन गरेको वस्तुमा अधिकतम खुद्रा मूल्य अंकित गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको इजाजतपत्रवालाले आकार र गुणस्तर परिवर्तन

गर्नु परेमा वा नयाँ ब्राण्ड उत्पादन गर्नु परेमा विभागको पूर्व स्वीकृति लिनु पर्ने र नयाँ ब्राण्डको उत्पादन गर्नु अघि बाँकी वक्यौता राजस्व चुक्ता गरेको हुनु पर्नेछ ।

२९क.सेवा बिक्री गर्दा बीजक जारी गर्नु पर्नेः ऐनको दफा ३ को उपदफा (१) बमोजिमको  सेवा बिक्री गर्दा अनुसूची–१३ बमोजिमको ढाँचामा बिजक जारी गर्नु पर्नेछ ।

२९ख. अन्त शुल्क टिकटको प्रयोगः

(१) नेपाल भित्र उत्पादन तथा पैठारी हुने विभागले तोकेका अन्तःशुल्क जन्य वस्तुमा विभागले तोकेको ढाँचाका अन्तःशुल्क टिकट प्रयोग
गर्नुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्रयोग गर्ने टिकट विभागले तोकेको प्रकृया बमोजिम टाँस गर्नुपर्नेछ ।

२९ग.पारदर्शी प्लाष्टिकको खोल (श्रिंक क्याप) प्रयोग गर्नु पर्नेः मदिरा उत्पादन गर्नेप्रतिष्ठानले आफूले उत्पादन गरेको मदिरा (वियर, वाइन र साईडर बाहेक) को   बोतलमा अन्तःशुल्क टिकटको सुरक्षाको लागि  पारदर्शी प्लाष्टिकको खोल (श्रिंक क्याप) प्रयोग गर्नुपर्नेछ ।

३०. अन्तःशुल्क टिकट दस्तुर लाग्नेः (१) नेपालभित्र उत्पादन हुने वा पैठारी हुने मदिरा रचुरोटको बिक्री तथा पैठारी गर्दा मदिराको प्रत्येक बोतलमा र चुरोटको  प्रत्येक बट्टामा अन्तःशुल्क टिकट लगाउनु पर्नेछ ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बियर उत्पादन गर्ने प्रतिष्ठानले तयारी बियर अन्तिम रूपमा बोतलबन्दी गर्दा विभाग वा कार्यालयबाट
सिलबन्दी गरिएको स्थायी रूपमा जडित विद्युतीय सूचना सम्प्रेषण क्षमता भएको अटो फ्लोमिटर सहितको पाइपबाट मात्र बोतलबन्दी गर्ने गरी विभागले तोक्नेछ । त्यसरी बोतलबन्दी गरेपछि प्रतिष्ठानले प्रत्येक बोतलको बिर्कोमा पर्ने गरी अन्तःशुल्क टिकट टाँसी कार्टुनमा राखी गोदाममा भण्डारण गर्नु पर्नेछ ।

(२क) सिगारको प्रत्येक बट्टामा र मुखमा राख्ने सूर्ति, खैनी, गुट्खा, निकोटिनयुक्त वा निकोटिन रहित पानमसाला तथा यस्तै अन्य सूर्तिजन्य पर्दाथहरुको प्रत्येक प्याकेट, बट्टा वा पोकामा विभागले तोके बमोजिम अन्तःशुल्क टिकट लगाउनु पर्नेछ ।

(३) उपनियम (१), (२) र २(क) बमोजिम लगाइने अन्तःशुल्क टिकट विभागले तोकेको दस्तुर तिरी आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयबाट खरिद
गर्नु पर्नेछ । त्यस्तो टिकट विभागले तोके बमोजिम अंकित गरी अन्तःशुल्क लाग्ने वस्तु बिक्री गर्नु पर्नेछ ।
(४) करपाटीको दायाँ कुनामा कार्यालयले उपलब्ध गराएको इजाजत चिह्न(स्टीकर) सबैले देख्ने ठाउँमा टाँसी राख्नु पर्नेछ ।

(५) ……….. प्रतिष्ठानलाई उपलब्ध गराइएका अन्तःशुल्क टिकट प्रयोग गर्ने सिलसिलामा च्यातिएमा, बिग्रीएमा वा कम भएमा अन्तःशुल्क अधिकृत वा निजले
खटाएको कर्मचारीले भौतिक परीक्षण गरी प्रमाणित गरेको आधारमा कार्यालयले त्यस्ता अन्तःशुल्क टिकट प्रतिस्थापन गर्न सक्नेछ । त्यसरी च्यातिएका र बिग्रीएका अन्तःशुल्क टिकटको मुचुल्काको आधारमा विभागले तोकेको प्रक्रिया अनुसार सम्बन्धित कार्यालयले नष्ट गर्नु पर्नेछ ।

३०क. अन्तःशुल्क टिकट नष्ट गर्ने: (१) विभागमा मौज्दात रही प्रयोगमा ल्याउन नमिल्ने अवस्थाका अन्तःशुल्क टिकट नष्ट गर्न देहायबमोजिमको एक समिति रहनेछः–
(क) महानिर्देशकले तोकेको विभागको सम्वन्धितबिषयहर्ने निर्देशक–संयोजक
(ख) जिल्लाप्रशासन कार्यालयको अधिकृतस्तरको प्रतिनिधि – सदस्य
(ग) कोष तथा लेखा नियन्त्रण कार्यालयको अधिकृतस्तरको प्रतिनिधि – सदस्य
(घ) जिल्ला सरकारी वकिल कार्यालयको अधिकृतस्तरको प्रतिनिधि – सदस्य
(ङ) जिल्लाप्रहरी कार्यालयको अधिकृतस्तरको प्रतिनिधि – सदस्य
(च) विभागको अन्तःशुल्कशाखाको अधिकृत – सदस्य सचिव

(२) आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमामौजदात रहेको प्रयोगमाल्याउननमिल्ने अवस्थाकाअन्तःशुल्क टिकट नष्ट गर्नको लागि देहायबमोजिमको एक समिति रहनेछः–
(क) सम्बन्धितआन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयको प्रमुख कर अधिकृत –संयोजक
(ख) जिल्लाप्रशासन कार्यालयको अधिकृतस्तरको प्रतिनिधि – सदस्य
(ग) कोष तथा लेखा नियन्त्रण कार्यालयको अधिकृतस्तरको प्रतिनिधि – सदस्य
(घ) जिल्ला सरकारी वकिल कार्यालयको अधिकृतस्तरको प्रतिनिधि – सदस्य
(ङ) जिल्लाप्रहरी कार्यालयको अधिकृतस्तरको प्रतिनिधि – सदस्य
(च) आन्तरिक राजस्व कार्यालयवा करदाता सेवा कार्यालयको अन्तःशुल्क अधिकृत – सदस्य सचिव

(३) उपदफा (१) र (२) बमोजिमको समितिले बिभागले बिभागले बनाएको बिभाग, आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा रहेका प्रयोगमाल्याउननमिल्ने अन्तःशुल्क टिकट नष्ट गर्न सक्नेछ ।

३१. ……………

३२. अन्तःशुल्क कर्मचारी बस्ने घरः कुनै प्रतिष्ठानको लागि नियुक्त भएका अन्तःशुल्क कर्मचारी लाई प्रतिष्ठान परिसरभित्र बस्नको लागि फर्निचर सहितको घर वा कोठाको व्यवस्था प्रतिष्ठानले गर्नु पर्नेछ ।

३३. तयारी वस्तु राख्ने ठाउः  (१) उत्पादन गरिएको वस्तु इजाजतपत्रवालाले त्यस्तो वस्तु उत्पादनस्थल परिसरभित्र गोदाममा राख्नु पर्नेछ । स्वयं निष्काशन प्रणाली अनुरूप निष्काशन हुनेमा बाहेक गोदामको एउटा ताल्चाको साचो ईजाजतपत्रवालाको प्रतिनिधि र अर्को ताल्चाको सा“चो अन्तःशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीले राख्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम राखिएका अन्तःशुल्क लाग्ने वस्तुहरू सुरक्षित साथ राख्ने जिम्मेवारी इजाजतपत्रवालाको हुनेछ । आगो लागी वा चोरी भई वा अरू कुनै कारणले त्यस्तो अन्तःशुल्क लाग्ने वस्तु नोक्सान भएमा उक्त नोक्सानी बापत नेपाल सरकार जवाफदेही हुने छैन ।

(३) अन्तःशुल्क लाग्ने उत्पादनस्थलभित्र रहेका वस्तु अन्तःशुल्क अधिकृतको पूर्णरेखदेखमा रहनेछ । अन्तःशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीको इजाजत वेगर कुनै पनि अन्तःशुल्क लाग्ने वस्तु सम्बन्धी कच्चा पदार्थ, अर्ध तयारी पदार्थ वा तयारी पदार्थ उत्पादनस्थल बाहिर लैजान हुदैन । स्वयं निष्काशन प्रणाली अन्तर्गत निष्काशन हुने वस्तुको हकमा अन्तःशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीले खाता तथा विवरण जाची प्रमाणित गरे मात्र पुग्नेछ ।

३४. उत्पादन प्रतिलब्धि दर: (१) खुदो (मोलासेस) बाट रेक्टिफाइड स्प्रीट वा ई.एन.ए. उत्पादन गर्ने इजाजतपत्रवालाले प्रत्येक महिनाको चुलाईमा प्रति क्वीन्टल खुदोबाट न्यूनतम ६६ ओ.पी. शक्तिको कम्तीमा २० लिटर रेक्टिफाइड स्प्रीट वा १९ लिटर ई.एन.ए. र एनहाइड्रस इथानोल उत्पादन गर्ने इजाजतपत्रवालाले प्रत्येक महिनाको चुलाईमा प्रति क्वीन्टल खुदोबाट न्यूनतम ७२ ओ.पी. शक्तिको कम्तीमा १९ लिटर इथानोल उत्पादन गर्नु पर्नेछ ।
(२) अन्नको दानाबाट रेक्टिफाइड स्प्रीट वा ई.एन.ए. उत्पादन गर्ने इजाजतपत्रवालाले भन्सार शीर्षक १०.०६ अन्तर्गत पर्ने अन्नबाट प्रत्येक महिनाको चुलाईमा प्रति क्वीन्टल ६६ ओ.पी. शक्तिको कम्तीमा ४० लिटर रेक्टिफाइड स्प्रीट वा ३८ लिटर ई.एन.ए. र भन्सार शीर्षक १०.०६ बाहेकमा पर्ने अन्नबाट प्रति क्वीन्टल ६६ ओ.पी. शक्तिको कम्तीमा ३७ लिटर रेक्टिफाइड स्प्रीट वा ३५.१५ लिटर ई.एन.ए. उत्पादन गर्नु पर्नेछ ।
(३) इजाजतपत्रवालाले जुनसुकै वस्तुबाट उत्पादित १०० लिटर रेक्टिफाइड स्प्रीटबाट ई.एन.ए. बनाउँदा न्यूनतम ९५ लिटर ई.एन.ए. उत्पादन गर्नु पर्नेछ ।
(४) फलफूलबाट वाइन उत्पादन गर्ने इजाजतपत्रवालाले प्रत्येक महिनाको चुलाईमा प्रति किलो फलफूलबाट १२ प्रतिशत अल्कोहलको मात्रा भएको १.५ लिटर वाइनका दरले सोही अनुपातमा वाइन उत्पादन गर्नु पर्नेछ ।
(५) उपनियम (१)‚ (२) र (३) मा उल्लेख गरिए देखि बाहेक कसैले अन्य वस्तुबाट रेक्टिफाइड स्प्रीट वा ई.एन.ए. उत्पादन गर्न चाहेमा विभागले तोके बमोजिमको ढाँचामा विभागमा निवेदन दिनु पर्नेछ ।
(६) उपनियम (५) बमोजिम कुनै निवेदन पर्न आएमा विभागले त्यस्तो रेक्टिफाइड स्प्रीट वा ई.एन.ए. उत्पादन गर्न प्रयोग हुने वस्तुको आधारमा प्रतिलब्धि दर कायम गर्नेछ ।
(७) इजाजतपत्रवालाले रेक्टिफाइड स्प्रीट, ई.एन.ए. वा वाइन उत्पादन गर्दा यस नियममा उल्लिखित दरभन्दा घटी उत्पादन हुन आएमा त्यसको उचित र पर्याप्त कारण सहित स्वीकृतिको लागि अन्तःशुल्क अधिकृत समक्ष निवेदन दिनु पर्नेछ ।
(८) उपनियम (७) बमोजिमको कसैको निवेदन पर्न आएमा अन्तःशुल्क अधिकृतले आवश्यक जाँचबुझ गर्दा रेक्टिफाइड स्प्रीट, ई.एन.ए. वा वाइन उत्पादनमा प्रयोग भएको वस्तुको प्रकृति तथा गुणस्तरको आधारमा घटी उत्पादन हुन सक्ने उचित तथा पर्याप्त कारण देखिएमा त्यस्तो घटी उत्पादन दरको स्वीकृति दिन सक्नेछ ।
(९) उपनियम (८) बमोजिम छानबिन गर्दा प्रयोग भएको वस्तुको प्रकृति तथा गुणस्तरको आधारमा घटी उत्पादन हुनसक्ने उचित र पर्याप्त कारण नदेखिएमा अन्तःशुल्क अधिकृतले त्यसको जानकारी इजाजतपत्रवालालाई दिई त्यसरी फरक हुन गएको परिमाणको सो उद्योगको उत्पादनको उच्चतम दरबन्दी अनुसार लाग्ने सम्पूर्ण अन्तःशुल्क निर्धारण गरी त्यस्तो अन्तःशुल्क रकम निजबाट असूल उपर गर्नु पर्नेछ ।

३४क. …………..

३५. अनुसूचीमा हेरफेर तथा संशोधनः नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आवश्यकता अनुसार अनुसूचीमा हेरफेर तथा संशोधन गर्न सक्नेछ ।

३६. खारेजी र बचाउः (१) अन्तःशुल्क नियमहरू, २०१९ खारेज गरिएको छ ।

(२) अन्तःशुल्क नियमहरू, २०१९ अन्तर्गत भए गरेका सम्पूर्ण काम कारवाहीहरू यसै नियमावली बमोजिम भए गरेको मानिने छन् ।