परिच्छेद: २ प्रमाण बुझ्न हुने र प्रमाण वुझ्न नपर्ने कुराहरू

परिच्छेद: २ प्रमाण बुझ्न हुने र प्रमाण वुझ्न नपर्ने कुराहरू

३. प्रमाण बुझ्न हुने कुराहरू: (१) अदालतले मुद्दामा ठहर गर्नुपर्ने कुरा र त्यस्तो कुरासँग सम्वद्ध कुराको मात्र प्रमाण बुझ्न हुन्छ ।

स्पष्टीकरण: “सम्वद्ध कुरा” भन्नाले मुद्दामा ठहर गर्नु पर्ने कुरालाई प्रमाणित वा खण्डन गर्न सहायता हुने कुरालाई सम्झनु पर्छ ।

 ४. प्रमाण बुझ्न नपर्ने कुराहरू: (१) देहायका कुनै कुराका सम्वन्धमा प्रमाण बुझ्न पर्दैन:

(क) मुद्दाको कुनै पक्षले व्यक्त गरेको कुनै कुरा अर्को पक्षले लिखित रूपमा स्वीकार गरेमा सो स्वीकार गरेको कुरा, तर अदालतले उपयुक्त ठानेमा त्यस्तो कुराका सम्वन्धमा पनि प्रमाण बुझ्न सक्नेछ ।

(ख) दफा ५ बमोजिम अदालतले स्वंम न्यायिक जानकारी लिने कुरा ।

(२) दफा ६ र ७ बमोजिम कुनै कुरा अनुमान गर्न अदालतले कुनै प्रमाण बुझ्न पर्दैन ।

तर दफा ७ बमोजिम कुनै कुरा अनुमान गर्नुभन्दा अघि अदातलले आवश्यक प्रमाण बुझ्न सक्नेछ ।

 ५. अदालतले स्वयं जानकारी लिने कुराहरू: (१) अदालतले देहायका कुराहरूको स्वयं न्यायिक जानकारी लिनु पर्छ

(क) नेपालको इलाका,

(ख) नेपालको संविधान र नेपाल कानून,

(ग) नेपालको राष्ट्रिय झण्डा,

(घ) राष्ट्रपतिको शपथ,

(ङ) विधेयकको प्रमाणीकरण मिति,

(च) नेपाल राजपत्रमा प्रकाशित सूचनाहरू ।

(२) अदालतले विवादको विषय हुन नसक्ने सामान्य ज्ञानका कुराहरूको स्वंम न्यायिक जानकारी लिन हुन्छ ।

तर यस उपदफा अनुसार मुद्दाको कुनै पक्षले कुनै कुराको न्यायिक जानकारी लिन अदालतलाई अनुरोध गरेमा अदालतले त्यस सम्वन्धमा आवश्यक प्रमाण पेश गर्न सो पक्षलाई आदेश दिन सक्नेछ र अदालतलाई सन्तोष हुने गरी प्रमाण पेश नभएसम्म अदालतले सो कुराको न्यायिक जानकारी लिन इन्कार गर्न सक्नेछ ।

(३) यस दफा अन्तर्गत न्यायिक जानकारी लिन अदालतले आवश्यक किताब वा लिखतको सहायता लिन सक्नेछ ।

 ६. अदालतले अनुमान गर्ने कुराहरू: अन्यथा प्रमाणित नभएसम्म:

(क) एकाघरसँगका अंशियारहरूमध्ये जुनसुकै अंशियारको नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनि अदातलले अनुमान गर्नेछ ।

(ख) दुई वा सो भन्दा बढी व्यक्तिहरूको भोग वा चलनमा रहेको सम्पत्तिमा ती व्यक्तिहरू सबैको बराबर हक छ भनि अदालतले अनुमान गर्नेछ ।

(ग) कुनै अदालत वा सरकारी कार्यालयमा कानून राख्नु पर्ने स्याहा, श्रेस्ता वा कागजपत्रमा उल्लेखित गरिएको कुराहरू सही रूपमा उल्लेख गरिएका हुन् भनि अदालतले अनुमान गर्नेछ ।

(घ) अन्यथा प्रमाणित भएकोमा बाहेक देहायको अवस्थामा जन्मिएको शिशु विवाहित पतिबाट जन्मिएको अनुमान गरिनेछ:

(१) विवाह भएको मितिबाट एक सय असी दिन पछि जन्मिएको,

(२) पतिको मृत्यु भएको वा वैवाहिक सम्बन्ध अन्त्य भएको मितिबाट दुई सय बहत्तर दिनभित्र जन्मिएको

(ङ) कुनै अदालत वा सरकारी कार्यालय वा अधिकारीबाट वा नेपाल कानुनबमोजिम अधिकार प्राप्त कुनै व्यक्तिबाट प्रकाशित भएको, तयार गरिएको वा प्रमाणित गरिएको भनि जनिएको लिखत सो अदालत, कार्यालय, अधिकारी वा व्यक्तिबाट प्रकाशित भएको वा तयार वा प्रमाणित गरिएको हो भनि अदालतले अनुमान गर्नेछ ।

(च) कुनै विदेशी राज्यको सरकारबाट वा त्यस्तो सरकारबाट अधिकार प्राप्त अधिकारीबाट प्रकाशित भएको भन्ने जनिएको सो राज्यको कानून वा अदालतको निर्णय छापिएको पुस्तक वा पत्रिकामा प्रकाशित त्यस्तो कानून वा निर्णय सही रूपमा प्रकाशित भएका छन्भनि अदालतले अनुमान गर्नेछ ।

 ७. अदालतले अनुमान गर्न हुने कुराहरू: अन्यथा प्रमाणित नभएसम्म:

(क) कुनै व्यक्तिका साथमा चोरीको सम्पत्ति छ भने सो व्यक्तिले सम्पत्ति चोरेको वा चोरीको भन्ने जानाजानी खरीद गरेको हो भनि अदालतले अनुमान गर्न सक्नेछ ।

तर, त्यस्तो व्यक्तिले सो सम्पत्ति आफूकहाँ रहेको कुनै मनासिब कारण देखाएमा वा त्यस्ता व्यक्तिको व्यवसाय वा कारोबारको प्रकृतिको विचार गर्दा सो सम्पत्ति निजले चोरीको हो भन्ने नजानेर पनि निजकहाँ रहन जान सक्ने देखिएमा अदालतले त्यस्तो अनुमान गर्ने छैन ।

(ख) कुनै व्यक्तिको साथमा रहेको लिखत पेश गर्न निजलाई अदालतले आदेश दिंदा निजले पेश नगरेमा सो लिखत पेश भएको खण्डमा निजको विरुद्ध प्रमाण लाग्न सक्ने किसिमको छ भनि अदालतले अनुमान गर्न सक्नेछ ।

(ग) कुनै घटना मानिसहरूका आचरण वा काम कारोबारको सामान्य क्रम विचार गर्दा तर्कसंगतरूपमा अनुमान गर्न सकिने अन्य कुनै कुरा अदालतले अनुमान गर्न सक्नेछ ।