परिच्छेद ३ प्रमाणमा लिन हुने र नहुने कुराहरू

परिच्छेद ३ प्रमाणमा लिन हुने र नहुने कुराहरू

८. प्रमाणमा लिन हुने कुराहरू: दफा ३ बमोजिम मुद्दामा प्रमाण बुझ्दा यस परिच्छेद बमोजिम प्रमाणमा लिन हुने कुराहरू र साक्षीले अदालतका समक्ष बकेका अन्य कुराहरूमात्र प्रमाणमा लिन हुन्छ ।

९. पक्षले व्यक्त गरेको कुरा: (१) मुद्दाका कुनै पक्षले व्यक्त गरेको कुनै कुरा निजका विरुद्ध प्रमाणमा लिन हुन्छ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि:

(क) फौज्दारी मुद्दामा कुनै अभियुक्तले निजलाई लगाइएको अभियोगको सम्वन्धमा अदालत बाहेक अन्यत्र व्यक्त गरेको कुरा अदालतले देहाय बमोजिम ठहराएमा प्रमाण लिन हुन्छ:

(१) सो कुरा व्यक्त गर्दा अभियुक्त सचेत अवस्थामा र आफूले भनेको र गरेको कुरा बुझ्न सक्ने अवस्थामा थियो ।

(२) निजलाई बाध्य गरी वा निज वा अरू कसैलाई यातना दिई वा यातना दिने धम्की दिई वा निजलाई आफ्नो

इच्छा विरुद्ध सो कुरा व्यक्त गर्ने स्थितिमा पारी सो कुरा व्यक्त गरेको होइन ।

(३) सो अभियोग बारे कुनै सार्वजनिक अधिकारीले गर्ने कारवाईको सम्वन्धमा यस्तो धम्की वा विश्वास पर्ने आश्वासन दिएको थिएन जसबाट निजले सो कुरा असत्य रूपमा व्यक्त गर्ने सम्भावना थियो र जुन धम्की वा आश्वासन कार्यान्वित गर्न सक्ने अधिकार र शक्ति सो अधिकारीलाई थियो भन्ने कुरा निजले युक्तिसंगत रूपमा विश्वास गरेको थियो ।

(ख) दफा १२ को खण्ड (क) देखि (घ) सम्ममा उल्लिखित कुराहरू र  यस परिच्छेदको अन्य कुनै दफा बमोजिम प्रमाणमा लिन हुने कुनै कुरा सो पक्षले नै व्यक्त गरेको भए पनि निजले चाहेमा त्यस्तो कुरा निजका पक्षमा पनि प्रमाणमा लिन हुन्छ ।

(ग) मिल्ने उद्देश्यले कुनै पक्षले आफ्नो दाबी पूरै वा आंशिक रूपमा छोड्न वा कुनै व्यक्तिलाई कुनै रकम दिन वा कुनै सेवा प्रदान गर्न स्वीकार गरेको कुरा निजका बिरुद्ध प्रमाणमा लिन हुँदैन ।

(३) यस दफाको प्रयोजनको लागि देहायका व्यक्तिले व्यक्त गरेको देहाय बमोजिमको कुरा पक्षले नै व्यक्त गरेको मानिनेछ:

(क) पक्षको वारिस वा प्रचलित नेपाल कानुन बमोजिम निजका तर्फबाट मुद्दामा प्रतिनिधित्व गर्ने व्यक्तिले वारिस वा त्यस्तो प्रतिनिधिको हैसियतले व्यक्त गरेको कुनै कुरा,

(ख) पक्षका तर्फबाट कुनै काम गर्न अधिकार पाएका व्यक्तिले त्यस्तो अधिकार कायम रहेको अवस्थामा आफ्नो अधिकारको विषय वस्तुका सम्वन्धमा व्यक्त गरेको कुनै कुरा,

(ग) मुद्दाको कुनै विषय वस्तुमा पक्षलाई कुनै अधिकार प्राप्त हुनुभन्दा अगावै सो विषय वस्तुमा स्वामित्व वा आर्थिक स्वार्थ भएका व्यक्तिले आफ्नो स्वामित्व वा आर्थिक स्वार्थ रहेको अवस्थामा त्यस सम्वन्धमा व्यक्त गरेको कुनै कुरा, वा

(घ) मुद्दाको विषय वस्तुमा संयुक्तरूपमा पक्ष र अन्य कुनै व्यक्तिको स्वामित्व वा आर्थिक स्वार्थ कामय रहेको अवस्थामा सो व्यक्तिले सो सम्वन्धमा व्यक्त गरेको कुनै कुरा ।

१०. मौकामा व्यक्त गरेको कुरा: (१) कुनैकाम घटना वा अवस्थाका सम्वन्धमा देहायका कुनै व्यक्तिले मौकामा वा त्यसको तत्काल अघि वा पछि व्यक्त गरेको कुरा प्रमाणमा लिन हुन्छः

(क) सो काम गर्ने वा सो काम, घटना वा अवस्था प्रत्यक्ष रूपमा देख्ने वा थाहा पाउने व्यक्ति, वा

(ख) सो काम, घटना वा अवस्थाबाट पीडित भएका व्यक्ति ।

(२) कुनै व्यक्तिले निजको शारीरिक वा मानसिक अवस्था स्पष्टरूपमा बोध हुने गरी त्यस्तो अवस्था कायम छँदै व्यक्त गरेको कुरा प्रमाणमा लिनहुन्छ ।

 ११. मरेको व्यक्तिले होस् छँदै व्यक्त गरेको कुरा: कुनै मरेको व्यक्तिले आफू मर्न लागेको अवस्थामा होस्छँदै आफ्नो मृत्युको कारणका सम्वन्धमा व्यक्त गरेको कुरा प्रमाणमा लिन हुन्छ ।

 १२. खास अवस्थाका व्यक्तिले व्यक्त गरेको खास खास कुराहरू:  मरेको, बेपत्ता भएको वा साक्षी बस्न यस ऐनबमोजिम असमर्थ वा कर नलाग्ने भएको वा विपक्षीको जाल प्रपञ्चले गर्दा अदालतमा उपस्थित गराउन सम्भव छैन भनि मुद्दाको पक्षले प्रमाणित गरेको वा अदालतद्वारा समाव्हान जारी हुन नसक्ने अवस्थामा भएको वा अदालतको रायमा अनावश्यक रूपमा बढी खर्च वा समय लाग्ने भई उपस्थित गराई रहन अनुपयुक्त देखिएको व्यक्तिले व्यक्त गरेको देहायका कुराहरू प्रमाणमा लिन हुन्छ:

(क) निजको हक, हित वा स्वार्थको विपरीत हुने गरी व्यक्त गरेको कुनै कुरा,

(ख) निज उपर कुनै कानूनी कारवाई हुन सक्ने वा कुनै फौज्दारी अभियोग लाग्न सक्ने गरी लिखित रूपमा व्यक्त गरेको कुनै कुरा,

(ग) निजलाई विशेष रूपमा थाहा भएको कुनै सार्वजनिक हक वा रीतिस्थितिका सम्वन्धमा मुद्दा पर्नु भन्दा अघि लिखित रूपमा व्यक्त गरेको कुनै कुरा, वा

(घ) निजलाई विशेष रूपमा थाहा भएको कुनै नाता सम्वन्धका विषयहरू मुद्दा पर्नुभन्दा अघि व्यक्त गरेको कुनै कुरा ।

 १३. सार्वजनिक लिखत इत्यादिमा उल्लेख भएका कुराहरू: (१) राष्ट्रसेवकले आफ्नो ओहदाको कर्तव्यपालनको सिलसिलामा र कुनै व्यक्तिले कानूनद्वारा तोकिएको आफ्नो कर्तव्य पालनको सिलसिलामा कुनै सार्वजनिक लिखतमा उल्लेख गरेका कुराहरू प्रमाणमा लिन हुन्छ ।

(२) नेपाल सरकारबाट वा नेपाल सरकारद्वारा अधिकार प्राप्त व्यक्तिबाट वा सार्वजनिक संस्थाबाट प्रकाशित भई सार्वजनिक रूपमा बिक्रीमा रहेका नक्सा, मानचित्र वा तथ्यांक सम्वन्धी लिखतमा जनिएका कुराहरू प्रमाणमा लिन हुन्छ ।

 १४. नियमित रूपमा राखिएका खाता, बही, किताब वा अन्य श्रेस्तामा जनिएका कुराहरू: कुनै काम, कारवाई वा व्यवसायको सिलसिलामा नियमितरूपमा राखिएको खाता, बही, किताब वा अन्य श्रेस्तामा नियमितरूपमा चढाएको वा जनाएको कुनै कुरा वा सो काम, कारोबार वा व्यवसायका सम्वन्धमा लेखेको चिठृीपत्र, भरपाई, चलानी वा अन्य कुनै विवरण प्रमाणमा लिन हुन्छ ।

 १५. पुस्तक वा लेखमा लेखिएका कुराहरू: (१) कुनै विदेशी राज्यको सरकारबाट वा त्यस्तो सरकारबाट अधिकारप्राप्त व्यक्ति वा संस्थाबाट सो राज्यको कानून वा अदालतको निर्णयको सम्वन्धमा प्रकाशित पुस्तकमा उल्लेख भएका त्यस्तो कानून वा निर्णय सम्वन्धी कुराहरू प्रमाणमा लिन हुन्छ ।

(२) कुनै विषयमा सो विषयका विद्वान कहलिएका व्यक्तिद्वारा लेखिएको प्रकाशित पुस्तक वा लेखमा उल्लेख भएका कुराहरू प्रमाणमा लिन हुन्छ ।

 १६. खास प्रकारका तथ्यांक, सूची पत्र, विवरण इत्यादि: कुनै खास पेशामा लागेका व्यक्तिहरूको उपयोगका लागि नियमति रूपमा प्रकाशित हुने तथ्यांक, फिहरिस्त, सूचीपत्र, विवरण वा लेखमा उल्लेख भएका कुराहरू प्रमाणमा लिन हुन्छ ।

१७. अन्य मुद्दामा साक्षीले बकेका कुराहरू: कुनै मुद्दामा कुनै अदालतका समक्ष कुनै साक्षीले बकेका कुराहरू देहायका अवस्थामा मात्र अर्को मुद्दामा प्रमाणमा लिन हुन्छ:

(क) सो साक्षी मरेको, बेपत्ता भएको वा साक्षी बस्न यस ऐन बमोजिम अयोग्य हुन गएकोमा, वा

(ख) निजले सो कुरामा प्रमाण दिन कर नलाग्ने गरी यस ऐन बमोजिम सुविधा पाउने अवस्था भएमा, वा

(ग) विपक्षीको जाल प्रपञ्चले गर्दा निजलाई अदालतमा उपस्थित गराउन सम्भव छैन भनि मुद्दाका पक्षले प्रमाणित गरेमा, वा

(घ) निजका बिरुद्ध म्याद जारी हुन नसक्ने अवस्था भएमा, वा

(ङ) अदालतको रायमा निजलाई उपस्थित गराउँदा अनावश्यक रूपमा बढी समय वा खर्च लाग्ने भै अनुपयुक्त देखिएमा ।

१८. तहकिकात वा जाँचबुझको सिलसिलामा तयार भएका लिखत: कुनै काम, घटना वा अवस्थाका सम्वन्धमा भएको तहकिकात वा जाँचबुझको सिलसिलामा प्रचलित नेपाल कानुनबमोजिम तयार भएको कुनै लिखतमा उल्लेख भएको कुनै कुरा सो कुरा व्यक्त गर्ने व्यक्ति साक्षीको रूपमा अदालतमा उपस्थित भै बयान गरेमा प्रमाणमा लिन हुन्छ ।

तर, (क) शव परीक्षाको प्रतिवेदन (पोष्टमार्टम रिपोर्ट) मा सम्वन्धित विशेषज्ञले उल्लेख गरेको कुनै कुराका सम्वन्धमा मुद्दाका पक्षहरूका बीचमा कुनै विवाद नभएमा वा सो कुरा मिसिलमा देखापरेको कुनै प्रमाण वा कुनै वस्तुस्थितिसँग असंगत नदेखिएमा सो विशेषज्ञ अदालतमा उपस्थित नभए पनि सो कुरा प्रमाणमा लिन हुन्छ ।

(ख) मुद्दाको पुर्पक्ष गर्दा अभियुक्तलाई थुनछेक गर्ने प्रयोजनको लागि अधिकार प्राप्त अधिकारीले गराएको लास जाँच मुचुल्का र मौका तहकिकात सरजमीन मुचुल्का सो मुचुल्कामा उल्लेख भएका कुराहरू व्यक्त गर्ने व्यक्तिहरू साक्षीको रूपमा अदालतमा उपस्थित भई बयान नगरे पनि थुनछेकको लागि प्रमाणमा लिन हुन्छ ।

 १९. निस्सा वा प्रमाणपत्र: कुनै निस्सा वा प्रमाणपत्र दिने कानूनी कर्तव्य भएका व्यक्तिले प्रचलित नेपाल कानुनबमोजिम दिएको निस्सा वा प्रमाणपत्र प्रमाणमा लिन हुन्छ ।

 २०. प्रतिवेदन: प्रचलित नेपाल कानुनबमोजिम कुनै काम, घटना वा अवस्थाका सम्वन्धमा कुनै टिप्पणी वा प्रतिवेदन तयार गरी कुनै खास ठाउँ वा कार्यालयमा जाहेर गर्नुपर्ने कानूनी कर्तव्य भएका व्यक्तिले आफ्नो कर्तव्य पालनको सिलसिलामा लेखेको त्यस्तो टिप्पणी वा प्रतिवेदन प्रमाणमा लिन हुन्छ ।

तर त्यस्तो टिप्पणी वा प्रतिवेदन सम्बन्धित ठाउँ वा कार्यालयमा रीतपूर्वक जाहेर भै दर्ता भएको हुनुपर्छ ।

२१. प्रमाण लाग्ने अन्य लिखत: दफा ९ देखि २० सम्ममा उल्लेख भएका लिखत बाहेक अन्य कुनै लिखत सो लिखत छ भन्ने कुराको प्रमाणको रूपमा लिन हुन्छ ।

 २२. दशी प्रमाण: साक्षीले अदालतका समक्ष सनाखत गरेको मुद्दासँग सम्वन्धित जुनसुकै दशी वा चीज वस्तु प्रमाणमा लिन हुन्छ ।

 २३. व्यक्तिगत राय: (१) अदालतले विदेशी कानून, विज्ञान, कला, हस्ताक्षर वा ल्याप्चेका सम्वन्धमा राय यकीन गर्नु परेमा सो सम्वन्धी विशेषज्ञको राय प्रमाणमा लिन हुन्छ ।

 

स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “विशेषज्ञ” भन्नाले विशेष अध्ययन, तालीम वा अनुभवबाट कुनै विषयमा विशेष ज्ञान प्राप्त गरेको व्यक्तिलाई सम्झनु पर्छ ।

(२) अदालतले कुनै व्यक्तिको हस्ताक्षरका सम्वन्धमा राय यकीन गर्नु परेमा सो व्यक्तिको हस्ताक्षर बराबर देख्ने मौका पाई सो हस्ताक्षर चिन्न सक्ने स्थितिमा भएको व्यक्तिको राय प्रमाणमा लिन हुन्छ ।

(३) अदालतले कुनै धार्मिक, जातीय वा सार्वजनिक हक वा रीतिस्थितिका सम्वन्धमा कुनै कुरा यकीन गर्न परेमा त्यस्तो हक वा रीतिस्थितिको विशेष जानकारी हुन सक्ने स्थितिमा भएका व्यक्तिको राय प्रमाण लिन हुन्छ ।

(४) अदालतले कुनै व्यक्तिको अर्को कुनै व्यक्तिसँग कुनै नाता सम्वन्ध छ वा छैन भन्ने कुरा यकीन गर्न परेमा त्यस्तो नाता वा सम्वन्धको विशेष जानकारी हुन सक्ने स्थितिमा भएका व्यक्तिको राय प्रमाणमा लिन हुन्छ ।

(५) अदालतले कुनै खास स्थानमा प्रयोग हुने खास शब्द वा शब्दहरूको अर्थ यकीन गर्नु परेमा त्यसको विशेष ज्ञान हुन सक्ने स्थितिमा भएका व्यक्तिको राय प्रमाणमा लिन हुन्छ ।

(६) यस दफाबमोजिम कुनै व्यक्तिको राय प्रमाणमा लिइएमा त्यस्तो रायलाई समर्थन वा खण्डन गर्ने कुराहरू र त्यस्तो रायको आधार पनि प्रमाणमा लिन हुन्छ ।

(७) कुनै व्यक्तिले व्यक्त गरेको कुनै राय सो व्यक्ति साक्षीको रूपमा आफैं अदालतमा उपस्थित भएमा मात्र यस दफा बमोजिम प्रमाणमा लिन हुन्छ ।

तर कुनै विषयको विशेषज्ञद्वारा कुनै पुस्तक वा लेखमा व्यक्त भएको राय वा सो रायको आधारलाई प्रमाणमा लिन सोपुस्तक वा लेखको लेखक आफैं अदालतमा उपस्थित हुन अनिवार्य हुने छैन ।

 २४. प्रमाण लिन नहुने कुरा: (१) मुद्दामा पक्षहरूको चरित्र असल वा खराब छ भन्ने कुरा प्रमाणमा लिन हुँदैन ।

तर कुनै पक्षको चरित्र नै अदालतले ठहर गर्नु पर्ने भएमा निजको चरित्र सम्वन्धी कुरा प्रमाणमा लिन हुन्छ ।

(२) दफा ४१, ४३ वा ४५ बमोजिम कुनै व्यक्तिले कुनै कुरा प्रकट गर्न नहुने अवस्थामा निजले त्यस्तो कुनै कुरा प्रकट गरे पनि प्रमाणमा लिन हुँदैन ।

(३) कुनै पक्षलाई अदालतले पेश गर्न आदेश दिएको कुनै लिखत सो पक्षले पेश नगरेमा सो लिखत अर्को पक्ष वा अदालतको अनुमति बेगर सो मुद्दामा प्रमाणमा पेश गर्न पाइने छैन ।

(४) यस दफामा किटानीसाथ उल्लेख गरिएका कुराहरूका अतिरिक्त यो ऐन वा अन्य प्रचलित नेपाल कानुनबमोजिम प्रमाणमा लिन नहुने अन्य कुनै कुरा प्रमाणमा लिन हुँदैन ।