परिच्छेद -८ साक्षी परीक्षण

परिच्छेद -८ साक्षी परीक्षण

३८. साक्षी हुन सक्ने व्यक्ति: कलिलो उमेर, अति बृद्धावस्था वा शारीरिक वा मानसिक रोग वा अरू त्यस्तै कारणले गर्दा आफूलाई सोधिएको प्रश्न बुझ्न नसक्ने वा त्यसको युक्तियुक्त जवाफ दिन नसक्ने भनि अदालतले ठहराएको व्यक्ति बाहेक मतियार लगायत जुनसुकै व्यक्ति साक्षी हुन सक्नेछ ।

३९. बोल्न नसक्ने व्यक्तिको गवाही: बोल्न असमर्थ भएका व्यक्तिले अरूले बुझ्न सक्ने गरी लेखेर वा इशाराद्वारा गवाही दिन सक्नेछ ।

 ४०. पक्षको आमा, बाबु, इत्यादिलाई गवाही दिन कर नलाग्ने: यस ऐनका अन्य दफाहरूमा वा अन्य प्रचलित नेपाल कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पक्षका बिरुद्ध गवाही दिन निजको आमा, बाबु, छोरा, छोरी, लोग्ने वा स्वास्नीलाई कर लाग्ने छैन ।

 ४१. लोग्नेस्वास्नीका बीचको कुरा प्रकट गर्न नहुनेः कुनै लोग्नेले स्वास्नीलाई वा स्वास्नीले लोग्नेलाई आफ्नो दाम्पत्य सम्वन्ध कायम रहेको अवस्थामा व्यक्त गरेको कुनै करा प्रकट गर्न कर लाग्ने छैन र त्यस्तो लोग्ने र स्वास्नीका बीचमा परेको कुनै मुद्दामा वा त्यस्तो लोग्ने वा स्वास्नीले स्वास्नी वा लोग्नेका बिरुद्ध कुनै अपराध गरेको सिलसिलामा श्री ५ को सरकार वादी भई चलेको कुनै फौज्दारी मुद्दामा बाहेक त्यस्तो कुरा व्यक्त गर्न लोग्ने वा स्वास्नीले अनुमति नदिएसम्म त्यस्तो कुरा प्रकट गर्न हुँदैन ।

४२. न्यायाधीशको हैसियतले गरेको कुनै कार्य प्रकट गर्न कर नलाग्ने: माथिल्लो तहको अदालतबाट अन्यथा आदेश भएमा बाहेक कुनै व्यक्तिले अदालतमा न्यायाधीशको हैसियतले गरेको कुनै कार्य वा थाहा पाएको कुनै कुराका सम्वन्धमा सोधिएको कुनै प्रश्नको जवाफ दिन निजलाई कर लाग्ने छैन ।

तर न्यायाधीशको हैसियतले काम गर्दा निजका समक्ष अदालतमा भएको कुनै घटना वा अन्य कुनै कुराका सम्वन्धमा निजलाई साक्षीको रूपमा बुझ्न हुन्छ ।

 ४३. सरकारी कार्यालयमा रहेका अप्रकाशित सरकारी लिखतका कुरा प्रकट गर्न नहुने: विभागीय प्रमुखले अनुमति दिएमा बाहेक कुनै व्यक्तिले सरकारी कार्यालयमा रहेका सरकारी कामकाज सम्बन्धी अप्रकाशित गोप्य लिखत पेश गर्न वा त्यसको कुनै कुरा प्रकट गर्न हुँदैन ।

 ४४. सरकारी कर्मचारीलाई प्राप्त भएको जानकारी प्रकट गर्न कर नलाग्नेः कुनै सरकारी कर्मचारीले पदीय विश्वासमा थाहा पाएको जानकारी प्रकट गर्दा जनहित बिरुद्ध हुन्छ भन्ने निजलाई लागेमा सो जानकारी प्रकट गर्न निजलाई कर लाग्ने छैन ।

४४क.प्रहरी कर्मचारीलाई अपराध घटेको कुराको जानकारीको स्रोत प्रकट गर्न कर नलाग्ने: कुनै प्रहरी कर्मचारीलाई अपराध घटेको कुराको आफूलाई कुनै तवरले प्राप्त भएको जानकारीको श्रोत प्रकट गर्न कर लाग्ने छैन ।

 ४५. कानून व्यवसायीले आफ्नो पक्षले दिएको जानकारी प्रकट गर्न नहुने: (१) कानून व्यवसायीले आफूलाई नियुक्त गर्ने पक्षको लिखित अनुमति नलिई आफ्नो नियुक्तिको अवस्थामा वा सो गर्ने उद्देश्यले आफ्नो पक्ष वा निजको वारिसले दिएको कुनै जानकारी वा आफूलाई थाहा भएको कुनै लिखतको व्यहोरा वा आफूले दिएको कुनै सल्लाह प्रकट गर्न हुँदैन ।

तर (क) कुनै कानूनी काम गर्ने अभिप्रायले कुनै कानून व्यवसायीलाई दिएको कुनै जानकारी निजले प्रकट गर्न हुन्छ ।

(ख) कानून व्यवसायीको नियुक्ति भै सकेपछि कुनै अपराध भै निजले थाहा पाएमा सो कुरा निजले प्रकट गर्न हुन्छ ।

(२) उपदफा (१) बमोजिम कानून व्यवसायी उपर लगाइएको प्रतिबन्ध कानून व्यवसायीको रूपमा सो पक्षद्वारा निजको नियुक्ति समाप्त भै सकेपछि पनि कायम रहनेछ र सो प्रतिबन्ध कानून व्यवसायीको कारिन्दा, नोकर तथा दोभाषेलाई समेत लागू हुनेछ ।

(३) कुनै पक्षले आफ्ना तर्फका कुनै कानून व्यवसायीलाई उपदफा (१) मा उल्लेख भए बमोजिमको कुनै जानकारीको सम्वन्धमा कुनै गवाही दिन लगाएमा सो उपदफाको तात्पर्यको लागि सो पक्षले त्यस्तो जानकारी वा कुरा प्रकट गर्न अनुमति दिएको मानिनेछ ।

 ४६. कुनै व्यक्ति र निजको व्यवसायिक कानूनी सल्लाहकारको बीचमा भएको कुरा प्रकट गर्न पक्षलाई कर नलाग्ने: कुनै व्यक्ति र निजको व्यवसायिक कानूनी सल्लाहकारको बीचमा के कस्तो कुरा वा जानकारी आदान प्रदान भयो भनि प्रकट गर्न सो व्यक्तिलाई कर लगाइने छैन ।

तर निजले त्यस्तो कुनै जानकारी आफैं अदालतमा प्रकट गर्न चाहेमा त्यसलाई स्पष्ट गर्न अदालतले आवश्यक ठहराएको तत्सम्बन्धी अन्य कुनै कुरा निजले प्रकट गर्नु पर्नेछ ।

 

 ४७. साक्षीले जवाफ दिन कर लाग्ने: कुनै साक्षीले अदालतमा सोधिएको कुनै प्रश्नको जवाफ दिएमा सो जवाफले आफूलाई सजायको भागी बनाउन सक्छ भन्ने आधारमा त्यस्तो प्रश्नको जवाफ दिन इन्कार गर्न पाउने छैन । तर झुठा बके बापत कुनै कारवाई बाहेक जवाफ दिन कर लगाइएको यस्तो कुनै जवाफको आधारमा निजलाई पक्राउ गर्न वा निज उपर कुनै फौज्दारी कारवाई चलाउन हुँदैन र त्यस्तो जवाफ अरू कुनै फौज्दारी मुद्दामा प्रमाणमा लाग्ने छैन ।

४८. साक्षी पेश गर्ने र बकाउनेः प्रचलित नेपाल कानूनका अधिनमा रही अदालतले निर्धारित गरेको क्रम अनुसार साक्षी पेश गरिने र बकाइनेछ ।

 ४९. साक्षी बकाउँदाको कार्यविधि: (१) साक्षी बकाउँदा आफूले देखे, जाने वा सुनेको कुरा ईमान धर्म सम्झी साँचो बयान गरुँला भन्ने व्यहोराको शपथ लिन लगाई बकाउनु पर्छ ।

(२) साक्षी बकाउँदा मुद्दाका सबै पक्षहरूको रोहबरमा बकाउनु पर्छ ।

तर, अदालतद्वारा साक्षी बकाउन तोकिएको तारीख र समयमा कुनै पक्ष अदालतमा उपस्थित भएसम्मका पक्षको रोहबरमा साक्षी बकाउनु हुन्छ ।

(३) साक्षी बकाउँदा एउटा साक्षीले बकेको अर्को साक्षीले सुन्न नपाउने गरी बकाउनु पर्छ ।

(४) एक पटक बकाई सकेको साक्षीलाई कुनै मनासिब कारणबाट फेरी नबकाई नहुने देखिएमा अघि स्पष्ट नभएका कुराहरूका सम्वन्धमा मात्र ततिम्बा गरी बकाउनु हुन्छ ।

(५) साक्षीको बकपत्रमा मुद्दाका पक्षहरूको पनि सहिछाप गराउनु पर्छ । कुनै पक्षले सहिछाप नगरे न्यायाधीशले सो व्यहोरा जनाई आफ्नो सहिछाप गर्नु पर्छ ।

 ५०. सोधपूछ र जिरह: (१) कुनै साक्षी बकाउँदा सो साक्षी जुन पक्षको हो, सो पक्षले निजसँग सोधपूछ गर्न सक्नेछ । त्यसपछि अर्को पक्षले चाहेमा सो साक्षीसँग जिरह गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम अर्को पक्षले जिरह गरी सकेपछि जुन पक्षको साक्षी हो सो पक्षले सो साक्षीसँग पुनः सोधपूछ गर्न सक्नेछ ।

तर सो बमोजिम कुनै पक्षले आफ्नो साक्षीसँग पूनः सोधपूछ गर्दा आफ्नो विपक्षले गरेको जिरहसँग सम्वन्धित कुरामा मात्र सोधपूछ गर्न सक्नेछ ।

(३) उपदफा (२) को प्रतिबन्धात्मक वाक्यांशमा जुसुकै कुरा लेखिएको भए तापनि अदालतले अनुमति दिएमा कुनै पक्षले आफ्नो साक्षीसँग पूनः सोधपूछ गर्दा कुनै नयाँ कुराका सम्वन्धमा प्रश्न सोध्न सक्नेछ ।

तर सो बमोजिम कुनै नयाँ कुराका सम्वन्धमा प्रश्न सोधिएकोमा सो पक्षको विपक्षीले त्यस सम्वन्धमा सो साक्षीसँग फेरी जिरह गर्न सक्नेछ ।

(४) कुनै पक्षले आफ्नो साक्षीसँग सोधपूछ वा पुनः सोधपूछ गर्दा आफूले इच्छा गरेको जवाफ सुझाउने सूचक प्रश्न विपक्षीले आपत्ति गरेमा सोध्न पाउने छैन ।

तर अदालतले अनुमति दिएमा त्यस्तो प्रश्न सोध्न हुन्छ ।

(५) उपदफा (४) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम अदालतले कुनै पक्षलाई आफ्नो साक्षीसँग कुनै सूचक प्रश्न सोध्ने अनुमति दिंदा अदालतको बिचारमा सो प्रश्न परिचायक, विवादरहित वा सो प्रश्नसँग सम्वन्धित कुरा पूर्णरूपमा प्रमाणित भै सकेको छ भन्ने लागेमा मात्र अनुमति दिनेछ ।

(६) माथिका उपदफाहरूमा जुनसुकै कुरा लेखिएको भए तापनि साक्षी बकाउँदा सो साक्षी जुन पक्षको हो, सो पक्षले निजसँग सोधपूछ नगरी अदालतबाट सोधपूछ गरियोस् भनि लिखित दरखास्त दिएमा अदालतले नै सो साक्षीसँग सोध्नुपर्ने प्रश्न सोधी जवाफ लिनेछ र त्यसपछि अर्को पक्षले चाहेमा सो साक्षीसँग जिरह गर्न सक्नेछ ।

तर (क) यस उपदफा बमोजिम अदालतले कुनै साक्षीसँग सोधपूछ गरेकोमा जुन पक्षको साक्षी हो सो पक्षले सोधपूछ वा पुनः सोधपूछ गर्न पाउने छैन ।

(ख) कुनै पक्षले आफ्नो साक्षीहरू मध्ये कुनैसँग खण्ड (क) बमोजिम आफैंले सोधपूछ गर्न र कुनैसँग यस खण्ड अनुसार अदालतबाटै सोधपूछ गरियोस्भनि दरखास्त दिन पाउने छैन ।

 ५१. साक्षीसँग अनुचित प्रश्न सोध्न अदालतले मनाही गर्न सक्ने: कुनै साक्षीलाई अनावश्यक रूपमा बेइज्जत गर्ने वा झिकाउने किसिमका प्रश्न सोध्न अदालतले मनाही गर्नेछ ।

 ५२. विशेषज्ञलाई साक्षी सरह बकाउने र जिरह गर्ने: हस्ताक्षर, ल्याप्चे, बिदेशी कानून, विज्ञान, रीति रिवाज, कला वा यस्तै अन्य विषय सम्वन्धी कुरा यकीन गर्नुपर्ने हुन आएमा अदालतले त्यस सम्वन्धमा विशेष दक्षता, अनुभव, वा तालीम प्राप्त व्यक्तिलाई साक्षी सरह उपस्थित गराई बकाउन हुन्छ । सो बमोजिम अदालतले कुनै विशेषज्ञलाई साक्षी सरह बकाएमा मुद्दाको पक्षलाई यस ऐन बमोजिम जिरह गर्ने मौका दिनु पर्छ ।

५३. अदालतले साक्षीसँग आवश्यक प्रश्न सोध्न सक्ने: अदालतले साक्षीसँग आवश्यक देखेमा जुनसुकै प्रश्न सोध्न सक्नेछ ।