परिच्छेद–४ मेलमिलापकर्ताको प्रमाणपत्र तथा त्यसको नियमन सम्बन्धी व्यवस्था

परिच्छेद–४ मेलमिलापकर्ताको प्रमाणपत्र तथा त्यसको नियमन सम्बन्धी व्यवस्था

२०. प्रमाणपत्रको लागि निवेदन दिनु पर्नेः (१) दफा ३ को उपदफा (४) वा दफा ९ को उपदफा (२) को प्रयोजनको लागि मेलमिलापकर्ताको रुपमा काम गर्न चाहने व्यक्तिले प्रमाणपत्रको लागि तोकिए बमोजिमको ढाँचामा परिषद् समक्ष निवेदन दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम निवेदन दिने व्यक्तिले निवेदन साथ नागरिकताको प्रमाणपत्र र मेलमिलापकर्ता हुनको लागि आवश्यक योग्यताको प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नु पर्नेछ ।

२१. प्रमाणपत्र सम्बन्धी व्यवस्था: (१) दफा २० बमोजिम प्राप्त भएको निवेदन जाँचबुझ गर्दा निवेदन दिने व्यक्तिलाई मेलमिलापकर्ताको प्रमाणपत्र दिन मनासिब देखिएमा परिषद्ले तोकिएको ढाँचामा प्रमाणपत्र दिनेछ ।

(२) उपदफा (१) बमोजिम दिइएको प्रमाणपत्र तीन वर्षका लागि कायम रहनेछ र त्यस्तो प्रमाणपत्र तोकिए बमोजिम नवीकरण हुन सक्नेछ ।

(३) मेलमिलापकर्ता हुनका लागि आवश्यक दफा २२ बमोजिमको योग्यता नरहेमा वा निजले कार्य सम्पादन गर्दा जालसाजपूर्ण वा किर्ते कार्य गरेमा तोकिएको कार्यविधि पूरा गरी परिषद्ले मेलमिलापकर्ताको प्रमाणपत्र रद्द गर्नेछ ।

(४) यो ऐन प्रारम्भ हुनु अघि प्रचलित कानून बमोजिम प्राप्त मेलमिलापकर्ताको प्रमाणपत्र यसै ऐन बमोजिम प्राप्त भएको मानिनेछ ।

२२. मेलमिलापकर्ताको योग्यता: (१) देहायको व्यक्ति मेलमिलापकर्ता हुन योग्य हुनेछ:

(क) नेपाली नागरिक,

(ख) पच्चीस वर्ष उमेर पूरा भएको,

(ग) मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा स्नातक गरेको,

(घ) मेलमिलाप सम्बन्धी तोकिएको अवधिको तालीम लिएको,

(ङ) होस ठेगानमा रहेको,

(च) नैतिक पतन देखिनेफौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको,

(छ) साहूको दामासाहीमा नपरेको, र

(ज) यस ऐन विपरीत कुनै काम गरेको कारण मेलमिलापकर्ताको सूचीबाट नाम नहटाइएको ।

(२) उपदफा (१) को खण्ड (ख), (ग) र (घ) मा जुनसुकै कुरा लेखिएको भए तापनि पक्षहरु आपैंmले मेलमिलापकर्ता हुने व्यक्ति प्रस्ताव गरेकोमा मेलमिलापकर्ताको तालीम नलिएको भए पनि पच्चीस वर्ष उमेर पूरा भई सामान्य लेखपढ गर्न जानेको व्यक्ति मेलमिलापकर्ता हुन योग्य हुनेछ ।

(३) उपदफा (१) को खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी व्यक्ति संलग्न रहेको विवाद वा विदेशी व्यक्तिसँग भएको करार बमोजिमको विवाद समाधान गर्दा विदेशी नागरिक मेलमिलापकर्ता हुन बाधा पर्ने छैन ।

 २३. मेलमिलाप सम्बन्धी कार्य गर्ने संस्था सम्बन्धी व्यवस्था: (१) पक्षहरुबीच यस ऐन बमोजिम मेलमिलाप गराउने उद्देश्य राखी प्रचलित कानून बमोजिम दर्ता भएका संगठित संस्थाले आफ्नो उद्देश्य कार्यान्वयन गर्न वा गराउन स्वीकृतिको लागि देहायका कुराहरु खुलाई तोकिएको ढाँचामा परिषद्समक्ष निवेदन दिनु पर्नेछ ः–

(क) संस्थाको नाम तथा दर्ता नम्बर,

(ख) संस्थाको पदाधिकारीहरुको नाम,

(ग) विवाद समाधान गर्न संस्थाले बनाएको मेलमिलाप सम्बन्धी कार्यविधि वा नियमावलीको प्रतिलिपि,

(घ) संस्थाले मेलमिलाप सञ्चालन गर्न चाहेको ठाउँ ।

(२) उपदफा (१) बमोजिम प्राप्त भएको निवेदन सहितको कागजात जाँचबुझ गर्दा निवेदन दिने संस्थाले बनाएको मेलमिलापको कार्यविधि वा नियमावली र अन्य विवरण उपयुक्त देखिएमा परिषद्ले तोकिए बमोजिम दस्तुर लिई स्वीकृति दिनेछ ।

२४. मेलमिलापकर्ताको सूची कायम राख्नु पर्ने: (१) दफा २३ को उपदफा (२) बमोजिम स्वीकृति पाएको संस्थाले कुनै विवादको निरुपण गर्न सहज पुर्याउन मेलमिलापकर्ता हुन सक्ने व्यक्तिहरुको सूची तयार गरी सार्वजनिक गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको सूचीमा अन्य कुराको अतिरिक्त सूचीमा समावेश भएका व्यक्तिको योग्यता, अनुभव, सम्पर्क गर्न सकिने ठेगाना उल्लेख गर्नु पर्नेछ ।

(३) विवादका पक्षहरुले सम्बन्धित संस्थाले बनाएको कार्यविधि वा नियमावलीको अधीनमा रही उपदफा (१) बमोजिम कायम भएको सूचीबाट मेलमिलापकर्ता छनौट गर्न सक्नेछन्।

२५. मेलमिलाप सम्बन्धी कार्यविधि वा नियमावली स्वीकृत गराउनु पर्ने: (१) कुनै विवादको निरुपण गर्न मेलमिलाप सम्बन्धी कार्य गर्ने प्रचलित कानून बमोजिम स्थापना भएका स·ठित संस्थाले त्यस्तो कार्य सम्पादन गर्दा अपनाउने प्रक्रिया तय गरी कार्यविधि वा नियमावली बनाउन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम बनाएको कार्यविधि वा नियमावली परिषद्बाट स्वीकृति प्राप्त गरेपछि लागू गर्नु पर्नेछ ।