परिच्छेद–१ प्रारम्भिक

परिच्छेद–१ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भः (१) यस ऐनको नाम “सुरक्षित कारोबार ऐन, २०६३” रहेको छ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “अदालत” भन्नाले नेपाल सरकारले सर्वोच्च अदालतको सहमति लिई नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको अदालतको बाणिज्य इजलास सम्झनु पर्छ ।
(ख) “अधिकारपत्र”(इन्स्टुमेन्ट) भन्नाले नियमित व्यावसायिक कारोबारको सिलसिलामा दरपीठ वा हस्तान्तरणको माध्यमबाट अरुलाई प्रदान गर्न सकिने लिखत तथा शेयर प्रमाणपत्र सम्झनु पर्छ र सो शब्दले नगद भुक्तानीको हक प्रमाणित गर्ने जुनसुकै लिखतसमेतलाई जनाउँछ ।
तर सो शब्दले धितो वा पट्टा सम्झौतालाई जनाउने छैन ।
(ग) “अमूर्त सम्पत्ति” (इन्ट्यान्जिबल प्रपर्टी) भन्नाले कानूनी हक सृजना गर्ने मालसामान, बहीखाता, सुरक्षित बिक्री करार, लिखत, अधिकारपत्र र मुद्राबाहेकका अन्य चलसम्पत्ति सम्झनु पर्छ ।
(घ) “अभिलेख” भन्नाले आवश्यकतानुसार हेर्न, देख्न, खोल्न वा प्राप्त गर्न सकिने किसिमले कुनै लिखत वा विद्युतीय वा अन्य माध्यमद्वारा सञ्चित गरी राखिएको जानकारी सम्झनु पर्छ र सो शब्दले यस ऐनबमोजिमको सूचनासमेतलाई जनाउँछ ।
(ङ) “उपभोग्य वस्तु” भन्नाले व्यक्तिगत, पारिवारिक वा घरायसी प्रयोजनका लागि उपयोग गरिने जुनसुकै मालसामान सम्झनु पर्छ ।
तर सो शब्दले क्रमसंख्या अङ्कित सवारी साधनलाई जनाउने छैन ।
(च) “उपकरण” (इक्वीपमेन्ट) भन्नाले कृषिजन्य उत्पादन, मौज्दातमा रहेको मालसामान वा उपभोग्य वस्तुबाहेकका अन्य मालसामान सम्झनु पर्छ ।
(छ) “क्रमसंख्या अङ्कित सवारी साधन” भन्नाले धितो दिने व्यक्तिको मौजदातमा रहेको बाहेकका अन्य सवारी साधन, सवारी साधनको टेलर, हवाईजहाज वा यन्त्र जडित डुङ्गा सम्झनु पर्छ ।
(ज) “कृषिजन्य उत्पादन” भन्नाले कृषि व्यवसायमा संलग्न धितो दिने व्यक्तिको कटान नगरिएका रुखबाहेकका देहायका मालसामान सम्झनु पर्छः–
(१) हुर्केको, हुर्कंदै गरेको वा पछि हुर्कने बालीनाली,
(२) पानीमा उत्पादित जलचर,
(३) घरपालुवा पशुपक्षी (भविष्यमा जन्मनेसमेत),
(४) खेतीपातीको सिलसिलामा प्रयोग भएको वा सोबाट उत्पादन भएका मालसामानहरु,
(५) बालीनाली वा घरपालुवा पशुबाट उत्पादित तयारी अवस्थामा नपुगेका उत्पादनहरु ।
(झ) “खरिद मूल्यसम्बन्धी धितोको हक” (पर्चेज मनी सेक्यूरिटी इन्ट्रेस्ट ) भन्नाले देहायको हदसम्मको कुनै पनि धितोको हकलाई खरिद मूल्यसम्बन्धी धितोको हक सम्झनु पर्छः–
(१) मालसामानको पूरा वा आंशिक मूल्य सुरक्षित गर्न सोको बिक्रेताले सो हक लिएको वा आफुसँग निहित राखेको, वा
(२) बिक्रेताबाहेक अन्य व्यक्तिले धितो लिने व्यक्तिलाई मालसामान वा सोको प्रयोगउपर हक प्राप्त गराउन मूल्य वा प्रतिफल दिई निजले सो मालसामानउपर धितोको हक लिएको र त्यस्तो मूल्य वा प्रतिफल जुन प्रयोजनका लागि लिएको हो सोबापत नै प्रयोग गरेको ।
(ञ) “जडित सामान” (फिक्स्चर) भन्नाले प्रचलित कानूनबमोजिम सम्पत्तिसम्बन्धी अधिकार सृजना हुने अचलसम्पत्तिमा जडान गरिएको वा जडान गर्ने अभिप्रायले राखिएका मालसामान सम्झनु पर्छ ।
तर सो शब्दले सजिलै हटाउन वा झिक्न सकिने कारखानाको मेशिन, कार्यालय मेशिन वा घरेलु उपयोगका मालसामानहरु जडित सामानमा पर्ने छैन ।
(ट) “जमानत” भन्नाले भुक्तानीको दायित्व वा प्रतितपत्र अन्तर्गत जारी गर्ने व्यक्तिको भुक्तानीको दायित्व जस्ता सहायक दायित्व सम्झनु पर्छ र सो शब्दले बहीखाता, सुरक्षित बिक्री करार, लिखत, अधिकारपत्र वा अन्य अमूर्त सम्पत्तिका सम्बन्धमा भुक्तानी गराउन सहयोग पुर्याउने दायित्वसमेतलाई जनाउँछ ।
(ठ) “दर्ता कार्यालय” भन्नाले दफा ४ बमोजिम स्थापना भएको सुरक्षित कारोबार दर्ता कार्यालय सम्झनु पर्छ ।
(ड) “दायित्व बहन गर्ने व्यक्ति” भन्नाले बहीखाता, सुरक्षित बिक्री करार वा अन्य अमूर्त सम्पत्तिका सम्बन्धमा दायित्व पूरा गर्नु पर्ने व्यक्ति सम्झनु पर्छ ।
(ढ) “धितो लिने व्यक्ति” भन्नाले धितोको सम्झौताबमोजिम धितोको हक प्राप्त गर्ने ऋण वा उधारो दिने व्यक्ति वा बिक्रेता वा अन्य व्यक्ति सम्झनु पर्छ र सो शब्दले बहीखाता वा सुरक्षित बिक्री करार खरिद गर्ने व्यक्ति र मालसामान पट्टामा दिने व्यक्तिसमेतलाई जनाउँछ ।
(ण) “धितो दिने व्यक्ति” भन्नाले धितोको सम्पत्तिमा आफ्नो स्वामित्व वा अधिकार भए वा नभए पनि कुनै भुक्तानी दिनु पर्ने वा सुरक्षित दायित्व सम्पन्न गर्नु पर्ने कर्तव्य भएको व्यक्ति सम्झनु पर्छ र सो शब्दले बहीखाता वा सुरक्षित बिक्री करारको बिक्रेता तथा मालसामान पट्टामा लिने व्यक्तिसमेतलाई जनाउँछ ।
(त) “धितोको सम्पत्ति” भन्नाले धितोको हकसँग सरोकार भएको कुनै पनि प्रकृतिको अमूर्त सम्पत्ति, जडित सामान, काट्नु पर्ने रुख, उत्खनन गर्नु पर्ने खनिज जस्ता चलसम्पत्ति सम्झनु पर्छ र सो शब्दले भविष्यमा सृजना हुने धितोको सम्पत्ति, मुलुकभित्र वा बाहिर रहेको धितोको सम्पत्ति, बिक्री गरिएको बहीखाता वा सुरक्षित बिक्री करार, पट्टामा दिएको मालसामान तथा धितोको सम्पत्तिबाट प्राप्त लाभसमेतलाई जनाउँछ ।
(थ) “धितोसम्बन्धी सम्झौता” भन्नाले धितोको हकको सृजना गर्ने वा सोको व्यवस्था गर्ने सम्झौता सम्झनु पर्छ ।
(द) “धितोको हक” (सेक्युरिटी इन्ट्रेस्ट) भन्नाले कुनै दायित्वको परिपालना सुरक्षित गर्ने गरी धितोको सम्पत्तिमाथि रहेको सम्पत्तिसम्बन्धी अधिकार सम्झनु पर्छ ।
(ध) “नियमित व्यावसायिक कारोबारको सिलसिलाको खरिदकर्ता” (वायर इन द अर्डिनरी कोर्स अफ बिजनेश) भन्नाले नियमितरुपमा एकै किसिमका मालसामान बिक्री गर्ने व्यक्तिबाट त्यस्तो मालसामान खरिद गर्दा सो मालसामानमाथि रहेको अरु व्यक्तिको अधिकारमा असर पर्न सक्ने भन्ने कुरा थाहा नपाई असल नियतले खरिद गर्ने व्यक्ति सम्झनु पर्छ ।
(न) “नियमित व्यावसायिक कारोबारको सिलसिलामा पट्टा लिने व्यक्ति” (लेसी इन द अर्डिनरी कोर्स अफ बिजनेस) भन्नाले नियमितरुपमा एकै प्रकृतिको मालसामान बिक्रीगर्ने वा पट्टा दिने व्यवसायमा संलग्न व्यक्तिबाट अन्य तेस्रो व्यक्तिको स्वामित्वसम्बन्धी अधिकारमा वा धितोको हक वा पट्टासम्बन्धी हकमा हनन हुन सक्छ भन्ने कुरा थाहा नपाई असल नियतले त्यस्तो मालसामान पट्टामा लिने व्यक्ति सम्झनु पर्छ ।
(प) “खरिदकर्ता” (पर्चेजर) भन्नाले कुनै पनि किसिमले कुनै सम्पत्ति प्राप्त गर्ने वा त्यस्तो सम्पत्तिमा हक प्राप्त गर्ने व्यक्ति सम्झनु पर्छ ।
(फ) “बहीखाता” (एकाउन्ट) भन्नाले अधिकारपत्र वा सुरक्षित बिक्री करारबाट प्रमाणित नभएको, बिक्री गरिएको वा पट्टामा दिएको मालसामान वा प्रदान गरिएको सेवाबापत भुक्तानी पाउने अधिकार सृजना गर्ने खाता सम्झनु पर्छ ।
(ब) “मौज्दातमा रहेको मालसामान” भन्नाले कुनै व्यापार, व्यवसायमा बिक्री वा पट्टामा दिनका लागि राखिएका मालसामान सम्झनु पर्छ र सो शब्दले कुनै उद्यम वा व्यवसायमा प्रयोग हुने कच्चा पदार्थ, अर्ध–तयारी, तयारी वा त्यस्ता उद्यम वा व्यवसायमा प्रयोग गरिएका वा उपभोग गरिएको मालसामानसमेतलाई जनाउँछ ।
(भ) “मूल्य” भन्नाले सम्झौताबमोजिम दिइएको वा दिइने प्रतिफल सम्झनु पर्छ ।
(म) “मालसामान” भन्नाले धितोको हक आबद्ध हुँदाका बखत चलरुपमा रहेको सबै प्रकारका वस्तुहरु सम्झनु पर्छ र सो शब्दले जडित सामान, बिक्री गर्ने प्रयोजनका लागि कटान गरिने रुख तथा कृषिजन्य उत्पादनसमेतलाई जनाउँछ ।
तर सो शब्दले बहीखाता, सुरक्षित बिक्री करार, मुद्रा, लिखत वा अधिकारपत्रलाई जनाउने छैन ।
(य) “मालसामानको पट्टा” भन्नाले देहायको मालसामानको पट्टा सम्झनु पर्छः–
(१) एक वर्षभन्दा बढी समयको लागि गरिएको मालसामानको पट्टा,
(२)अनिश्चित अवधिको लागि दिइएको मालसामानको पट्टा,
(३) शुरुमा एक वर्ष वा सोभन्दा कम अवधिको लागि मालसामानको पट्टा दिइएकोमा पट्टा दिने व्यक्तिको सहमतिबमोजिम पट्टा लिने व्यक्तिले मालसामानमा कब्जा प्राप्त गरेको समयबाट एक वर्षभन्दा बढी अवधिसम्म अविच्छिन्नरुपमा त्यस्तो मालसामान कब्जामा लिएको भएमा,
तर पट्टामा लिने व्यक्तिले त्यस्तो पट्टामा लिएको मालसामान एक वर्षभन्दा बढी अवधिको लागि आफ्नो कब्जामा राखेको छैन भने त्यस्तो मालसामान एक वर्षभन्दा बढी अवधिको लागि पट्टामा दिएको मानिने छैन ।
(४) कुनै मालसामान एक वर्ष वा सोभन्दा कम अवधिको लागि पट्टामा दिएको भए तापनि एक वर्षभन्दा बढी अवधिको लागि नवीकरण गर्न सकिने प्रावधान त्यस्तो पट्टामा गरिएको भएमा ।
(र) “रजिष्ट्रार” भन्नाले दफा ४ को उपदफा (३) बमोजिम नियुक्त वा तोकिएको व्यक्ति सम्झनु पर्छ ।
(ल) “लियन होल्डर” भन्नाले देहायका व्यक्तिहरु सम्झनु पर्छः–
(१) अदालत, प्रचलित कानूनबमोजिम अधिकारप्राप्त अधिकारी वा दामासाहीसम्बन्धी प्रचलित कानूनबमोजिम दामासाहीसम्बन्धी व्यवसायीको आदेशबाट धितो लिने व्यक्तिको धितोको सम्पत्तिमा हक प्राप्त गर्ने वा त्यस्तो धितोको सम्पत्ति कब्जा गर्न पाउने अधिकारप्राप्त व्यक्ति,
(२) कुनै धितोको सम्पत्तिमा नियन्त्रण राख्ने व्यक्तिबाहेक कानूनको कार्यान्वयनको सिलसिलामा धितो लिने व्यक्तिको धितोको सम्पत्तिमा अधिकार प्राप्त गर्ने अन्य व्यक्ति ।
(व) “लिखत” भन्नाले मालसामानको ढुवानी वा भण्डारणको व्यवसाय गर्ने व्यक्तिले जारी गरेको बाहकपत्र (बिल अफ लेडिङ्ग), गोदामघर, दाखिला रसिद जस्ता हकको लिखत वा भरपाई सम्झनु पर्छ ।
(श) “लाभ” (प्रोसिस्डस) भन्नाले देहायबमोजिमको काम कारबाहीबाट प्राप्त भएको वा हुने लाभ सम्झनु पर्छः–
(१) धितोको सम्पत्तिको बिक्री, पट्टा, इजाजतपत्र, विनिमय वा अन्य कुनै किसिमले हुने हक हस्तान्तरणबाट भएको कुनै पनि किसिमको प्राप्ति,
(२) धितोको सम्पत्तिका सम्बन्धमा सङ्कलन वा वितरणबाट भएको कुनै पनि प्राप्ति,
(३) धितोको सम्पत्तिबाट सृजित अधिकार,
(४) धितो सम्पत्तिको मूल्यको हदसम्म धितोमा हुन गएको हानि नोक्सानी, त्रुटी वा धितोको सम्पत्तिको शर्तको उल्लंघनबाट उत्पन्न भएको हानि नोक्सानीबापतको दाबी,
(५) धितोको सम्पत्तिको मूल्यको हदसम्म तथा धितो दिने व्यक्ति वा धितो लिने व्यक्तिलाई भुक्तानी गर्नु पर्ने हदसम्म धितोमा हुन गएको हानि नोक्सानी वा क्षतीको कारणबाट वा धितोको सम्पत्तिको शर्तको उल्लंघन भएको कारणबाट प्राप्त हुने भुक्तानीयोग्य बीमा रकम ।
(ष) “नगद लाभ” भन्नाले मुद्रा, चेक वा निक्षेप जस्ता लाभ सम्झनु पर्छ र सो शब्दले यस्तै प्रकारका अन्य नगद लाभसमेतलाई जनाउँछ ।
(स) “सङ्केत चिन्ह” भन्नाले हस्ताक्षर गर्ने पक्षको पहिचान गर्ने वा अभिलेखको आधिकारिता ग्रहण वा स्थापित गर्ने उद्देश्यले कुनै पनि माध्यमबाट नाम वा सङ्केत ग्रहण वा कार्यान्वयन गर्ने काम सम्झनु पर्छ ।
तर सो शब्दले हातले नै हस्ताक्षर गर्नु पर्ने बाध्यतालाई जनाउने छैन ।
(ह) “सम्पत्ति प्राप्त गर्ने कार्य” भन्नाले खरिदकर्ता, दान प्राप्त गर्ने, धितो लिने वा बन्धकी लिने व्यक्तिका रुपमा सुरक्षण प्राप्त गर्ने व्यक्तिले सम्पत्ति लिने वा अन्य कुनै स्वेच्छिक कारोबारबाट सम्पत्तिउपर हक सृजना गर्ने कार्य सम्झनु पर्छ ।
(क्ष) “सूचना” भन्नाले दर्ता कार्यालयमा दर्ता गरिएको वा दर्ताको लागि पेश गरिएको अभिलेख सम्झनु पर्छ र सो शब्दले दर्ता गरिएको वा दर्ताको लागि पेश गरिएको संशोधन, निरन्तरताको विवरण र समाप्तिको विवरणसमेतलाई जनाउँछ ।
(त्र) “सुरक्षित बिक्री करार” भन्नाले मालसामान वा पट्टामा लिएको मालसामानउपर ऋण दायित्व तथा धितोको हक सृजना गर्ने अभिलेख सम्झनु पर्छ ।
(ज्ञ) “हस्तान्तरण” भन्नाले एक व्यक्तिबाट अर्को व्यक्तिमा पूर्ण वा आंशिकरुपमा हस्तान्तरण हुने बहीखाता, सुरक्षित बिक्री करार, अधिकारपत्र, लिखतमा रहेको भुक्तानीको अधिकार वा भुक्तानी पाउने अन्य अधिकार सम्झनु पर्छ ।
(कक) “हस्तान्तरण गरी लिने व्यक्ति” भन्नाले अधिकार वा भुक्तानी हस्तान्तरण गरी लिने व्यक्ति सम्झनु पर्छ ।
(कख) “हस्तान्तरण गरी दिने व्यक्ति” भन्नाले अधिकार वा भुक्तानी हस्तान्तरण गरी दिने व्यक्ति सम्झनु पर्छ ।
३. यो ऐन लागू हुनेः (१) देहायका कारोबारका सम्बन्धमा यो ऐन लागू हुनेछः–
(क) धरौटी (प्लेज), बन्धकी (हाइपोथिकेसन) तथा हायर पर्चेज लगायत धितोको सम्पत्तिबाट दायित्व सुरक्षित गर्ने प्रयोजनका लागि गरिने सम्पूर्ण कारोबार,
(ख) बहीखाता र सुरक्षित बिक्री करारको बेच बिखन, र
(ग) मालसामानको पट्टा ।
स्पष्टिकरणः यस दफाको प्रयोजनको लागि “बन्धकी” भन्नाले चलसम्पत्तिको बन्धकीलाई मात्र जनाउँछ ।
(२) पक्षहरुका बीचमा भएको सम्झौतामा जुनसुकै कुरा लेखिएको भए तापनि वा धितोको सम्पत्तिमा स्वामित्वको अधिकार धितो लिने वा धितो दिने व्यक्ति जोसँग रहेको भए तापनि उपदफा (१) मा उल्लिखित कारोबारहरुका सम्बन्धमा यो ऐन लागू हुनेछ ।
(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका कारोबारका सम्बन्धमा यो ऐन लागू हुने छैनः–
(क) कर्मचारीको क्षतिपूर्तिको दाबीको हस्तान्तरण ।
(ख) कुनै व्यवसायको बिक्रीको सिलसिलामा सो व्यवसायसँग सम्बन्धित बहीखाता वा सुरक्षित बिक्री करारको बिक्री भएको रहेछ भने त्यस्तो बिक्री सम्बन्धमा ।
(ग) सङ्कलनको प्रयोजनको लागि हस्तान्तरण गरिएको बहीखाता, सुरक्षित बिक्री करार वा अधिकारपत्र सम्बन्धमा, र
(घ) कुनै करार अन्तर्गत परिपालन गर्नु पर्ने समेत दायित्व भएको हस्तान्तरण गरी लिने व्यक्तिले सोही करार अन्तर्गत भुक्तानी पाउने अधिकारको हस्तान्तरण सम्बन्धमा ।