२. परिभाषा

२. परिभाषा

विषय वा प्रसङ्गले अर्काे अर्थ नलागेमा यस ऐनमा,–

(क) “अध्यक्ष” भन्नाले राष्ट्रिय सभाको अध्यक्ष सम्झनु पर्छ ।

(ख) “उपसभामुख” भन्नाले प्रतिनिधि सभाको उपसभामुख सम्झनु पर्छ ।

(ग) “उपाध्यक्ष” भन्नाले राष्ट्रिय सभाको उपाध्यक्ष सम्झनु पर्छ ।

(घ) “पदाधिकारी” भन्नाले सभामुख, अध्यक्ष, विपक्षी दलको नेता, सत्ता पक्षको नेता, सत्ता पक्षको
मुख्य सचेतक, उपसभामुख, उपाध्यक्ष, विपक्षी दलको प्रमुख सचेतक, सत्ता पक्षको प्रमुख सचेतक, दलको प्रमुख सचेतक, सत्ता पक्षको सचेतक, विपक्षी दलको सचेतक र सभापति सम्झनु पर्छ र सो शब्दले व्यवस्थापिका–संसदका पदाधिकारीलाई समेत जनाउँछ ।

(ङ) “विपक्षी दलको नेता” भन्नाले देहाय बमोजिमका दलले संसदीय दलको नेताका रुपमा छानेको व्यक्ति सम्झनु पर्छ:–

(१) मन्त्रिपरिषद् गठन गर्ने वा मन्त्रिपरिषद् गठन गर्न समर्थन गर्ने दल बाहेक प्रतिनिधि सभा वा राष्ट्रिय सभामा दश प्रतिशत वा सो भन्दा बढी सदस्यहरु भएको दलहरुमध्ये सबै भन्दा बढी सदस्य भएको दल,

(२) प्रतिनिधि सभा वा राष्ट्रिय सभामा दश प्रतिशत वा सो भन्दा बढी सदस्यहरु भएका एक भन्दा बढी दलहरुको बराबर सदस्य भएमा ती दलहरुले पारस्परिक सहमतिको आधारमा आफूमध्येबाट मान्यता दिएको कुनै एक दल,

(३) उपखण्ड (२) बमोजिम पारस्परिक सहमति हुन नसकेमा मन्त्रिपरिषद् गठन गर्ने वा मन्त्रिपरिषद् गठन गर्न समर्थन गर्ने दल बाहेकका प्रतिनिधि सभा वा राष्ट्रिय सभाका सबै भन्दा बढी सदस्यहरुले विपक्षी दलको नेता छान्नको लागि लिखित मञ्जुरी गरेको दल,

(४) उपखण्ड (३) बमोजिम लिखित मञ्जुरी नभएमा वा मन्त्रिपरिषद् गठन गर्ने वा मन्त्रिपरिषद् गठन गर्न समर्थन गर्ने दल बाहेकका प्रतिनिधि सभा वा राष्ट्रिय सभामा दश प्रतिशत वा सो भन्दा बढी सदस्यहरु भएको कुनै पनि दल नभएमा प्रतिनिधि सभा वा राष्ट्रिय सभाको लागि सभामुख वा अध्यक्षले तोकिदिएको दल, वा

(५) कुनै व्यक्ति विपक्षी दलको नेता भइरहेकोमा कुनै कारणबाट कुनै दलको प्रतिनिधि सभा
वा राष्ट्रिय सभामा दश प्रतिशत भन्दा बढी सदस्य पुग्न गई सबैभन्दा बढी सदस्य भएको दल बन्न पुगेमा त्यस्तो दल ।

(६) यस खण्डको प्रयोजनको लागि सम्बन्धित दल वा सदस्यले उपखण्ड (२) बमोजिमको पारस्परिक सहमति प्रतिनिधि सभा सदस्यको निर्वाचन भएको पहिलो पटक प्रतिनिधि सभा वा राष्ट्रिय सभाको अधिवेशन बसेको मितिले पन्ध्र दिनभित्र र उपखण्ड (३) बमोजिमको लिखित मञ्जुरी पारस्परिक सहमति हुन नसकेको मितिले पन्ध्र दिन भित्र दिनु पर्नेछ ।

(च) “विपक्षी दलको प्रमुख सचेतक” भन्नाले विपक्षी दलको नेताले प्रतिनिधि सभामा विपक्षी दलको प्रमुख सचेतक भई काम गर्न तोकेको त्यस्तो सभाको सदस्य सम्झनु पर्छ ।

(छ) “सत्ता पक्षको नेता” भन्नाले सत्ता पक्षको तर्फबाट राष्ट्रिय सभामा सरकारी कार्य सञ्चालन गर्न प्रधानमन्त्रीद्वारा मनोनीत मन्त्री बाहेकका राष्ट्रिय सभाको कुनै सदस्य सम्झनु पर्छ ।

(ज) “सत्ता पक्षको मुख्य सचेतक” भन्नाले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेताले वा त्यसरी बहुमत प्राप्त गर्ने कुनै दल नभएमा प्रधानमन्त्रीले प्रतिनिधि सभामा सत्ता पक्षको मुख्य
सचेतक भई काम गर्न तोकेको त्यस्तो सभाको सदस्य सम्झनु पर्छ ।

(झ) “सत्ता पक्षको प्रमुख सचेतक” भन्नाले प्रतिनिधि सभामा बहुमत प्राप्त गर्ने कुनै दल नभएमा
प्रतिनिधि सभामा दश प्रतिशत भन्दा बढी सदस्य भएको सत्तामा सहभागी दलको संसदीय दलको नेताले सो दलको प्रमुख सचेतक भई काम गर्न तोकेको त्यस्तो सभाको सदस्य सम्झनु
पर्छ ।

(ञ) “दलको प्रमुख सचेतक” भन्नाले प्रतिनिधि सभामा दशजना भन्दा बढी सदस्यहरु रहेको दलको नेताले सो दलको प्रमुख सचेतक भई काम गर्न तोकेको त्यस्तो सभाको सदस्य सम्झनु पर्छ ।

(ट) “सत्ता पक्षको सचेतक” भन्नाले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेताले वा त्यसरी बहुमत प्राप्त गर्ने कुनै दल नभएमा प्रधानमन्त्रीले प्रतिनिधि सभामा सत्ता पक्षको सचेतक
भई काम गर्न तोकेको त्यस्तो सभाको सदस्य सम्झनु पर्छ ।

(ठ) “विपक्षी दलको सचेतक” भन्नाले विपक्षी दलको नेताले प्रतिनिधि सभामा विपक्षी दलको
सचेतक भई काम गर्न तोकेको त्यस्तो सभाको सदस्य सम्झनु पर्छ ।

(ड) “सदस्य” भन्नाले मन्त्री वा पदाधिकारी बाहेकका प्रतिनिधि सभा वा राष्ट्रिय सभाका सदस्य
सम्झनु पर्छ र सो शब्दले व्यवस्थापिका संसदका सदस्यलाई समेत जनाउँछ ।

(ढ) “सभापति” भन्नाले प्रतिनिधि सभा वा राष्ट्रिय सभाको कुनै समितिको सभापति सम्झनु पर्छ ।

(ण) “सभामुख” भन्नाले प्रतिनिधि सभाको सभामुख सम्झनु पर्छ ।

(त) “समिति” भन्नाले प्रतिनिधि सभा वा राष्ट्रिय सभाको कुनै समिति सम्झनु पर्छ र सो शब्दले
संसदको दुवै सदनको संयुक्त समितिलाई समेत जनाउँछ ।