परिच्छेद–२ सुरक्षित कारोबारसम्बन्धी दर्ता कार्यालयको स्थापना र सञ्चालन

परिच्छेद–२ सुरक्षित कारोबारसम्बन्धी दर्ता कार्यालयको स्थापना र सञ्चालन

४. दर्ता कार्यालयको स्थापनाः (१) यस ऐनबमोजिमको सूचनाहरु दर्ता गर्नको लागि नेपाल सरकारले सुरक्षित कारोबार दर्ता कार्यालय नाम गरेको एउटा दर्ता कार्यालयको स्थापना गर्नेछ ।
(२) उपदफा (१) बमोजिम दर्ता कार्यालयको स्थापना नभएसम्मको लागि नेपाल सरकारले यस ऐनबमोजिम सूचनाहरु दर्ता गर्ने काम गर्नको लागि कुनै कार्यालयलाई तोक्न सक्नेछ ।
(३) दर्ता कार्यालयको काम कारबाहीलाई व्यवस्थित गर्न नेपाल सरकारले कम्तीमा राजपत्राङ्कित द्वितीय श्रेणी वा सोसरहको कर्मचारीलाई रजिष्ट्रारको रुपमा नियुक्ति गर्न वा तोक्न सक्नेछ ।
(४) उपदफा (३) बमोजिम नियुक्त वा तोकिएको रजिष्ट्रारले यस ऐनबमोजिम तोकिएका काम तथा कर्तव्य पूरा गर्नु पर्नेछ ।
५. दर्ता कार्यालयको काम, कर्तव्य र अधिकारः (१) दर्ता कार्यालयको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछः–
(क) सूचना वा सूचनासँग सम्बन्धित कुनै संशोधन, सूचनाको निरन्तरतासम्बन्धी विवरण, सूचनाको समाप्तिसम्बन्धी विवरण, त्रुटी सच्याउने विवरण तथा लियन होल्डरको हकसम्बन्धी सूचनाहरु दर्ता गर्नका लागि विद्युतीय प्रविधिद्वारा सञ्चालन हुने गरी दर्ता अभिलेख खडा गर्ने र सोको सञ्चालन तथा सम्भार गर्ने ।
(ख) कुनै पनि व्यक्तिले अनुरोध गरेमा निजलाई यस ऐनमा व्यवस्था भएबमोजिम दर्ता कार्यालयको अभिलेखबाट जानकारी उपलब्ध गराउने ।
(ग) प्रत्येक आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र आपूmले गरेको कामको वार्षिक प्रतिवेदन प्रकाशन गर्ने ।
(२) दर्ता कार्यालयले गर्ने कुनै वा सबै काम कारबाही गर्नका लागि नेपाल सरकारले कुनै निजी निकायसँग सम्झौता गरी त्यस्तो निकाय मार्फत दर्ता कार्यालयले गर्नु पर्ने काम कारबाही पूरा गर्न आवश्यकता अनुसार सहयोग लिन सक्नेछ । दर्ता कार्यालयले त्यस्तो निकायसँग सम्झौता गर्नुअघि त्यस्तो निकाय देहायबमोजिम सक्षम भए नभएको कुरामा ध्यान दिनु पर्नेछः–
(क) सूचना दर्तासम्बन्धी काममा दर्ता कार्यालयलाई सघाउ पु¥याउन त्यस्तो निकायसँग आवश्यक साधन, जनशक्ति, आर्थिक तथा प्राविधिक साधन पर्याप्त भए नभएको,
(ख) दर्ता कार्यालयले राखेको विद्युतीय रजिष्ट्रीमा उपयुक्त व्यावसायिक प्रचलनअनुरुप पहुँच राख्न सक्ने क्षमता भए नभएको ।
६. कार्यालयको सूचनामा पहुँचको अधिकारः (१) यस ऐनबमोजिम दर्ता भएको सूचनासँग सम्बन्धित जानकारी सार्वजनिक अभिलेखको रुपमा रहनेछ ।
(२) दर्ता कार्यालयले सूचनाका सम्बन्धमा कुनै ढाँचा वा माध्यमद्वारा तयार पारेको सूचिपत्रहरु तथा अन्य अभिलेखहरुसमेत सार्वजनिक अभिलेखको रुपमा रहनेछ ।
(३) प्रत्येक व्यक्तिलाई दर्ता कार्यालयमा रहेको उपदफा (१) वा (२) बमोजिमका अभिलेख हेर्ने र सोको आवश्यक प्रतिलिपि प्राप्त गर्ने अधिकार हुनेछ ।
७. प्रारम्भिक सूचनाका विषयवस्तुहरुः (१) प्रारम्भिक सूचनामा कम्तीमा देहायका कुराहरु उल्लेख भएको हुनु पर्नेछः–
(क) धितो दिने व्यक्तिको नाम, ठेगाना र अन्य विवरण,
(ख) धितो लिने व्यक्ति वा निजको प्रतिनिधिको नाम, ठेगाना र अन्य विवरण,
(ग) धितोको सम्पत्तिसँग सम्बन्धित विवरण ।
तर त्यस्तो सूचना कटान गरिने रुख, उत्खनन गरिने खनिज पदार्थ वा धितोको सम्पत्तिमा जडित सामानसँग सम्बन्धित भएमा
सम्बन्धित अचलसम्पत्तिको विवरणसमेत उल्लेख गर्नु पर्नेछ ।
(२) धितो दिने व्यक्ति वा निजले अख्तियारी दिएको व्यक्तिले निजको तर्फबाट यस ऐनबमोजिम प्रारम्भिक सूचना दर्ता कार्यालय समक्ष दर्ता गर्न सक्नेछ । धितो दिने व्यक्तिले अख्तियारी दिएको लिखत त्यस्तो सूचनामा समावेश हुन आवश्यक छैन ।
(३) धितो दिने व्यक्तिले धितोसम्बन्धी सम्झौता सम्पन्न गरेको अवस्थामा त्यस्तो सम्झौतामा उल्लिखित धितोको सम्पत्ति र त्यस्तो धितोको सम्पत्तिबाट प्राप्त लाभका सम्बन्धमा सो सम्झौतामा स्पष्ट व्यवस्था भएको वा नभएको जेसुकै भए तापनि त्यस्तो धितोको सम्पत्ति वा सोबाट प्राप्त लाभसँग सम्बन्धित प्रारम्भिक सूचना वा संशोधन दर्तासमेतको काम गर्न पाउने गरी अख्तियारी प्रदान गरेको मानिनेछ ।
(४) यस दफाबमोजिम प्रारम्भिक सूचना धितोसम्बन्धी सम्झौता सम्पन्न हुनुअगावै वा धितोको हक आबद्ध हुनुअगावै दर्ता गर्न सकिनेछ ।
(५) कुनै प्रारम्भिक सूचनामा यस दफाबमोजिम उल्लेख गर्नु पर्ने कुनै कुरा उल्लेख हुन नसकेको भए तापनि सो सूचनाले यस परिच्छेदमा उल्लेख भएका अन्य शर्तहरु पूरा गरेको भएमा र त्यस्तो सूचनाको भ्रामक अर्थ नलाग्ने भएमा यस ऐनबमोजिम प्रभावकारी भएको मानिनेछ ।
८. सूचनामा उल्लिखित नामको पर्याप्तताः (१) सूचनामा देहायका कुराहरु उल्लेख भएमा धितो दिने व्यक्तिको नाम सो सूचनामा पर्याप्तरुपमा खुलाएको मानिनेछः–
(क) धितो दिने व्यक्ति प्राकृतिक व्यक्ति भए निजले प्राप्त गरेको नेपाली नागरिकताको प्रमाणपत्रमा उल्लिखित नागरिकता नम्बर त्यस्तो सूचनामा उल्लेख गरिएको भए,
(ख) धितो दिने व्यक्ति गैर–नेपाली नागरिक भए निजले प्राप्त गरेको राहदानीमा उल्लिखित नाम र सो राहदानी जारी गर्ने देशको नाम तथा नम्बर त्यस्तो सूचनामा उल्लेख गरिएको भए,
(ग) धितो दिने व्यक्ति प्रचलित कानूनबमोजिम स्थापना भएको सङ्गठित संस्था भए प्रचलित कानूनबमोजिम स्थापना भई मान्यता प्राप्त गरेको नाम र दर्ता प्रमाणपत्र नम्बर त्यस्तो सूचनामा उल्लेख गरिएको भए,
(घ) धितो दिने व्यक्ति प्रचलित कानूनबमोजिम नेपाल राज्यभित्र व्यवसाय सञ्चालन गर्न मान्यताप्राप्त विदेशी सङ्गठित संस्था भए त्यस्तो संस्थाले नेपाल राज्यभित्र कारोबार सञ्चालन गर्न प्रचलित कानूनबमोजिम मान्यता प्राप्त गरेको नाम त्यस्तो सूचनामा उल्लेख गरिएको भए, र
(ङ) धितो दिने व्यक्ति प्रचलित कम्पनी कानूनअन्तर्गत दर्ता नभएको तर प्रचलित कम्पनी कानूनबमोजिम नेपाल राज्यभित्र व्यवसाय सञ्चालन गर्न पाउने विदेशी सङ्गठित संस्था भए त्यस्तो सङ्गठित संस्था संस्थापना भएको देशको प्रचलित कानूनबमोजिम मान्यताप्राप्त नाम त्यस्तो सूचनामा उल्लेख गरिएको भए ।
(२) सूचनामा धितो दिने व्यक्तिको नाम पर्याप्तरुपमा खुलाइएको अवस्थामा त्यस्तो सूचनामा धितो दिने व्यक्तिको व्यापारिक नाम वा अन्य कुनै नाम उल्लेख नभएको कारणले मात्र त्यस्तो सूचना प्रभावकारी नभएको मानिने छैन ।
तर सूचनामा धितो दिने व्यक्तिको व्यापारिक नाम मात्र उल्लेख भएको अवस्थामा त्यस्तो सूचनामा धितो दिने व्यक्तिको नाम पर्याप्तरुपमा उल्लेख गरेको मानिने छैन ।
(३) सूचनामा एकभन्दा बढी धितो दिने व्यक्तिको नाम र एकभन्दा बढी धितो लिने व्यक्तिको नाम उल्लेख गर्न सकिनेछ ।
(४) सूचनामा कुनै व्यक्ति धितो लिने व्यक्तिको प्रतिनिधि हो भन्ने कुरा खुलाउन नसकेको कुराले मात्र सो सूचनाको पर्याप्ततामा कुनै असर पार्ने छैन ।
९. सूचनाको परिवर्तनबाट उत्पन्न असरः
 (१) धितोको सम्पत्ति बिक्री, विनिमय गरिएको, पट्टा वा इजाजतमा दिइएको वा कुनै पनि किसिमले हस्तान्तरण गरिएको भएमा धितो दिने व्यक्तिले त्यसरी हस्तान्तरण भएको कुरा थाहा पाएको वा सो हस्तान्तरण गर्नमा मन्जूरी दिएको भए तापनि सो धितोको सम्पत्तिको सम्बन्धमा दर्ता गरिएको सूचना त्यस्तो हस्तान्तरणपछि पनि मान्य रहिरहनेछ ।
(२) यस ऐनबमोजिम दर्ता गरिएको सूचना गम्भीररुपमा भ्रमपूर्ण हुने गरी धितो दिने व्यक्तिले आफ्नो नाम परिवर्तन गरेमा पनि त्यस्तो नाम परिवर्तन गरेको मितिभन्दा अगाडि वा सो मितिले चार महिनाको अवधिभित्र धितो दिने व्यक्तिले प्राप्त गरेको सम्पत्तिको सम्बन्धमा धितोको हक परिपक्व गराउन दर्ता गरेको त्यस्तो सूचना मान्य रहिरहनेछ । नाम सच्याउने प्रयोजनका लागि नाम परिवर्तन गरिएको चार महिनाभित्र त्यस्तो संशोधन पेश गरी सो नाम सच्याएमा मात्र नाम परिवर्तन गरिएको चार महिनापछि धितो दिने व्यक्तिले प्राप्त गरेको धितोको सम्पत्तिमा धितोको हक परिपक्व गर्न त्यस्तो सूचना मान्य रहिरहेको मानिनेछ ।
(३) उपदफा (२) बमोजिम धितो दिने व्यक्तिको नाम परिवर्तनगर्ने सम्बन्धमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक कुनै सूचना दर्ता गरिसकेपछिको परिस्थितिमा भएको परिवर्तनले सो सूचनालाई गम्भीररुपमा भ्रमपूर्ण बनाएको अवस्थामा समेत सो सूचना मान्य रहिरहनेछ ।
१०. सूचनाको अवधि र सोको समाप्तिबाट पर्ने असरः (१) यस ऐनबमोजिम दर्ता गरिएको सूचना दर्ता गरेको मितिले पाँच वर्षको अवधिसम्म बहाल रहनेछ । यसरी दर्ता गरिएको सूचनाको अवधि समाप्त हुनुअगावै निरन्तरताको विवरण दर्ता नगरिएमा त्यस्तो सूचना पाँच वर्षको अवधि समाप्त भएपछि मान्य हुने छैन ।
(२) दर्ताबिना नै धितोको हक परिपक्व भएकोमा बाहेक सूचना बहाल रहने समयावधि समाप्त भएपछि सूचना अमान्य हुनेछ र सो सूचनाबाट परिपक्व गराइएको धितोको हक अपरिपक्व हुनेछ ।
(३) सूचना बहाल रहने समयावधि समाप्त भएको कारणले कुनै धितोको हक अपरिपक्व भएमा त्यस्तो सूचना समाप्त हुनुभन्दा अघि वा पछि मूल्य तिरी धितोको सम्पत्ति प्राप्त गर्ने व्यक्तिका बिरुद्ध धितोको हक कुनै पनि अवस्थामा परिपक्व भएको मानिने छैन ।
११. सूचनामा उल्लिखित धितो दिने व्यक्तिको नामः (१) यस ऐनबमोजिम दर्ता गरिएको प्रारम्भिक सूचना वा संशोधनको सूचनामा जसको नाम धितो लिने व्यक्ति वा निजको प्रतिनिधि भनी जनिएको छ त्यस्तो व्यक्तिलाई सो सूचनामा उल्लिखित धितो लिने व्यक्ति भनिनेछ ।
(२) संशोधनको सूचनाद्वारा उपदफा (१) बमोजिमको धितो लिने व्यक्तिलाई नाम संशोधन गरी नहटाएसम्म त्यस्तो व्यक्ति नै धितो लिने व्यक्तिको रुपमा कायम रहिरहनेछ ।
१२. सूचनामा संशोधनः (१) प्रारम्भिक सूचना एक वा एकभन्दा बढी संशोधनहरुबाट संशोधित हुन सक्नेछ । प्रारम्भिक सूचनाको संशोधनको सूचनामा देहायका कुराहरु समावेश भएको हुनु पर्नेछः–
(क) दर्ता नम्बरबाट प्रारम्भिक सूचनाको पहिचान गरिएको हुनु पर्ने,
(ख) संशोधनको अख्तियारी दिने सूचनामा उल्लिखित धितो लिने व्यक्तिको पहिचान गरिएको हुनु पर्ने,
(ग) सूचनालाई संशोधन गर्न खोजिएको कुरा स्पष्टरुपमा खुलाइएको हुनुपर्ने,
(घ) सूचनाको संशोधन भएको कुरा देखाउने गरी सूचनालाई पूर्णरुपमा पुनर्लेखन गरी प्रारम्भिक सूचनामा खुलाउनु पर्ने सम्पूर्ण जानकारी उपलब्ध गराउनु पर्ने ।
(२) धितो दिने व्यक्तिले हस्ताक्षरित अभिलेखनद्वारा अख्तियारी दिई कुनै संशोधनको सूचना दर्ता गरिएकोमा त्यस्तो संशोधनको सूचनाले समेटेको धितोको सम्पत्तिमा थप हुने व्यवस्था गरेमा वा कुनै धितो दिने व्यक्तिलाई सूचनामा समावेश गरेमा सो संशोधन मान्य हुनेछ । धितोको लाभका सम्बन्धमा सम्झौतामा स्पष्टरुपमा उल्लेख भएको वा नभएको जेसुकै भए तापनि त्यस्तो सम्झौता गरिसकेपछि सो सम्झौतामा उल्लिखित धितोको सम्पत्ति तथा सोबाट प्राप्त लाभलाई समेट्ने गरी संशोधन दर्ता गर्न पाउने गरी धितो दिने व्यक्तिले अख्तियारी दिएको मानिनेछ ।
(३) सूचनामा एकभन्दा बढी व्यक्तिको नाम धितो लिने व्यक्तिको रुपमा जनिएको भएमा त्यस्तो प्रत्येक व्यक्तिले संशोधन दर्ता गर्न कसैलाई अख्तियारी दिन सक्नेछ ।
(४) सूचनामा एकभन्दा बढी धितो लिने व्यक्तिको नाम उल्लेख भएकोमा कुनै एक धितो लिने व्यक्तिले हस्ताक्षरित अभिलेखद्वारा दर्ता गर्न अख्तियारी दिएमा संशोधन मान्य हुनेछ ।
(५) सूचनामा उल्लिखित धितो लिने एउटा व्यक्तिले अख्तियारी दिएको संशोधनले सूचनामा उल्लिखित धितो लिने अर्को व्यक्तिको अधिकारमा कुनै असर पार्ने छैन ।
(६) धितोको सम्पत्ति थप गर्ने संशोधन दर्ता गरिएको मितिदेखि मात्र थप गरिएको धितोको सम्पत्तिको हकमा सो संशोधन मान्य हुनेछ ।
(७) धितो दिने व्यक्ति थप गर्नका लागि संशोधन दर्ता गरिएको भए सो संशोधन दर्ता गरिएको मितिदेखि मात्र थप गरिएको धितो दिने व्यक्तिको हकमा सो संशोधन मान्य हुनेछ ।
(८) धितोको सम्पत्ति वा धितो दिने व्यक्ति थप गर्ने संशोधनबाहेकको अन्य संशोधनको सूचनामा उल्लिखित धितो लिने व्यक्तिले त्यस्तो संशोधन दर्ता गर्न अख्तियारी दिएमा मात्र सो संशोधन मान्य हुनेछ ।
(९) सूचनामा उल्लिखित धितो लिने सबै व्यक्तिहरुलाई सो सूचनाबाट बाहेक गर्ने वा त्यसरी बाहेक गरिएका धितो लिने व्यक्तिहरुको सट्टा नयाँ धितो लिने व्यक्तिको नाम सूचनामा उल्लेख नगर्ने वा त्यस्तो सूचनामा उल्लिखित धितो दिने सबै व्यक्तिहरुको नाम हटाउने वा त्यसरी हटाइएका धितो दिने व्यक्तिको सट्टा नयाँ धितो दिने व्यक्तिको नाम सूचनामा उल्लेख नगर्ने संशोधन अमान्य हुनेछ ।
(१०) संशोधनको दर्ताले कुनै पनि सूचनाको बहाली अवधिलाई विस्तार गर्ने छैन ।
१३. सूचनाको निरन्तरताः (१) देहायका विवरण उल्लेख गरी दर्ता भएको निरन्तरताको विवरणले सूचनाको बहाली अवधि विस्तार गर्न सक्नेछः–
(क) दर्ता नम्बरबाट प्रारम्भिक सूचनाको पहिचान हुने विवरण,
(ख) निरन्तरताको अख्तियारी दिने सूचनामा उल्लिखित धितो लिने व्यक्तिको पहिचान हुने विवरण,
(ग) सूचना दर्ता गर्न अख्तियारी दिने धितो लिने व्यक्तिको सम्बन्धमा निरन्तरताको विवरण दर्ता गरी सूचनाको प्रभावकारिता निरन्तर हुने विवरण ।
(२) सूचना बहाल रहने पाँच वर्षको अवधि व्यतित हुनुभन्दा छ महिनाअगावै यस ऐनबमोजिम निरन्तरताको विवरण दर्ता गर्न सकिनेछ ।
(३) उपदफा (२) बमोजिम म्यादभित्रै निरन्तरताको विवरण दर्ता गरिएमा त्यस्तो विवरण दर्ता नगरिएको भए सो सूचना जुन मितिमा समाप्त हुने थियो सोही मितिदेखि पाँच वर्षको अवधिसम्म त्यस्तो सूचना बहाल रहनेछ ।
(४) सूचनामा उल्लिखित धितो लिने व्यक्ति एकभन्दा बढी भएको अवस्थामा जसले निरन्तरताको विवरण दर्ता गर्न अख्तियारी दिएको छ त्यस्तो धितो लिने व्यक्तिका हकमा मात्र उपदफा (३) मा उल्लेख भएबमोजिमको अवधिसम्म सूचना बहाल रहनेछ ।
(५) उपदफा (३) बमोजिम सूचना बहाल रहने अवधि समाप्त हुनुभन्दा अगावै धितो लिने व्यक्तिको अख्तियारीबमोजिम अर्को निरन्तरताको विवरण दर्ता नगरिएमा धितो लिने त्यस्तो व्यक्तिका हकमा सूचनाको बहाली अवधि समाप्त हुनेछ । सूचनाको बहाली अवधिलाई निरन्तरता दिन जुन तरिकाबाट सूचना दर्ता गर्नु पर्ने हो सोही तरिकाबाट पछिल्लो निरन्तरताको विवरण दर्ता गर्नु पर्नेछ ।
१४. सूचनाको समाप्तिः (१) देहायका कुराहरु खुलाई समाप्तिको विवरण दर्ता गरी सूचनाको प्रभावकारिता अन्त्य गर्न सकिनेछः–
(क) दर्ता नम्बरबाट प्रारम्भिक सूचनाको पहिचान गरिएको,
(ख) समाप्तिको अख्तियारी दिने सूचनामा उल्लिखित धितो लिने व्यक्तिको पहिचान गरिएको,
(ग) दर्ता गर्ने अख्तियारी दिने धितो लिने व्यक्तिको हकमा सो सूचना प्रभावकारी नभएको भन्ने कुरा खुलाइएको ।
(२) देहायका अवस्था पूरा भएमा धितो दिने व्यक्तिले धितो लिने व्यक्तिसँग लिखित माग गरेमा त्यस्तो माग प्राप्त गरेको बीस दिनभित्र धितो लिने भनी सूचनामा जनिएको व्यक्तिले समाप्तिको विवरण दर्ता गर्नु पर्नेछः–
(क) कुनै पनि सुरक्षित दायित्व तिर्न बाँकी नरहेको र पेश्की दिने, दायित्व बहन गर्ने वा कुनै किसिमको मूल्य चुक्ता गर्ने प्रतिबद्धता नगरेको, वा
(ख) धितो दिने व्यक्तिले प्रारम्भिक सूचना दर्ता गर्न अख्तियारी नदिएको, वा
(ग) सूचनामा समाविष्ट बिक्री गरिसकेको बहीखाता वा सुरक्षित बिक्री करारका सम्बन्धमा रकम भुक्तानी गर्नु पर्ने दायित्व भएको व्यक्ति वा त्यस्तो दायित्व पूरा गर्नु पर्ने अन्य व्यक्तिले त्यस्तो दायित्व पूरा गरिसकेको ।
(३) सूचनामा उल्लिखित धितो लिने व्यक्तिको अख्तियारीबमोजिम समाप्तिको विवरण दर्ता भएमा त्यस्तो धितो लिने व्यक्तिको हक समाप्त हुनेछ । समाप्तिको विवरण दर्ता भएमा सो समाप्तिको विवरणसँग सम्बन्धित सूचना त्यस्तो अख्तियारी दिने धितो लिने व्यक्तिका हकमा प्रभावकारी हुने छैन ।
१५. सूचनाको प्रभावकारिताः (१) प्रारम्भिक सूचना, संशोधन, निरन्तरताको विवरण वा समाप्तिको विवरण दर्ता गर्नको लागि लाग्ने दस्तूर सहित दर्ता कार्यालयमा पेश भएमा वा दर्ता कार्यालयले दर्ताको लागि त्यस्तो अभिलेख स्वीकार गरेमा त्यस्तो सूचना वा विवरण दर्ता कार्यालयमा दर्ता भएको मानिनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफाबमोजिम दर्ता कार्यालयमा दर्ताको लागि पेश भएको अभिलेख देहायको अवस्थामा दर्ता कार्यालयले दर्ता गर्न इन्कार गरेमा त्यस्तो अभिलेख दर्ता भएको मानिने छैनः–
(क) यस ऐनबमोजिम दर्ताको लागि लाग्ने दस्तूर अभिलेखसाथ संलग्न नभएमा,
(ख) प्रारम्भिक सूचनाको सम्बन्धमा ऋणीको नाम उल्लेख नभएमा,
(ग) संशोधनको सूचनाको विवरणमा प्रारम्भिक सूचनाको दर्ता नम्बर उल्लेख नगरेमा, ऋणीको नाम उल्लेख नगरेमा वा संशोधनसँग सम्बन्धित सूचनाको म्याद समाप्त भइसकेको भएमा,
(घ) निरन्तरताको विवरणमा प्रारम्भिक सूचनाको दर्ता नम्बर उल्लेख नभएको वा त्यस्तो निरन्तरताको विवरण दफा १३ को उपदफा (२) बमोजिम छ महिनाको अवधिभित्र पेश नगरिएमा, र
(ङ) समाप्तिको विवरणमा प्रारम्भिक सूचनाको दर्ता नम्बर उल्लेख नगरिएको भएमा ।
(३) उपदफा (२) मा उल्लिखित अवस्थामा बाहेक कार्यालयले आफु समक्ष दर्ताको लागि पेश भएको प्रारम्भिक सूचना, संशोधनको सूचना, निरन्तरताको विवरण वा समाप्तिको विवरण दर्ता गर्न इन्कार गरे तापनि त्यस्तो अभिलेख दर्ता भएसरह मानिनेछ ।
तर धितोको सम्पत्ति प्राप्त गर्ने व्यक्तिले त्यस्तो सूचना दर्ता नभएको भन्ने मुनासिब माफिकको विश्वासमा परी मूल्य बुझाएको अवस्थामा निजको हकमा यो व्यबस्था लागू हुनेछैन ।
(४) दर्ता कार्यालयले कुनै अभिलेख दर्ता गर्न इन्कार गरेमा सोको कारण सहितको सूचना सम्बन्धित व्यक्तिलाई यथाशिघ्र दिनु पर्नेछ ।
(५) यस ऐनबमोजिम दर्ता गर्न अख्तियारी पाएको व्यक्तिले दर्ता गरेको सूचनाको हदसम्म मात्र त्यसरी दर्ता गरिएको सूचना प्रभावकारी हुनेछ ।
(६) सूचनामा उल्लिखित धितो लिने व्यक्तिले अख्तियारी दिएको सूचनाले सो सूचनामा उल्लिखित धितो लिने अर्को व्यक्तिको अधिकारमा प्रभाव पार्ने छैन ।
(७) दर्ता कार्यालयले कुनै अभिलेखको सूची दुरुस्त नराखेको कारणले सो अभिलेखको प्रभावकारितामा असर पर्ने छैन ।
१६. गलत ढङ्गले दर्ता गरिएको सूचनासम्बन्धी दाबीः (१) कुनै व्यक्तिलाई आफ्नो नाममा दर्ता कार्यालय समक्ष दर्ता भएको कुनै सूचना यथार्थमा आधारित नभएको वा गलत ढङ्गले दर्ता गरिएको भन्ने लागेमा त्यस्तो व्यक्तिले त्यस्तो सूचना सच्याउनको लागि दर्ता कार्यालयमा देहायका कुरा खुलाई सच्चाउने विवरण दर्ता गर्न सक्नेछः–
(क) प्रारम्भिक सूचनाको दर्ता नम्बरबाट सो विवरणसँग सम्बन्धित अभिलेखको पहिचान भएको कुरा,
(ख) सो विवरण सच्याउने विवरण भएको कुरा, र
(ग) कुन आधारमा सो व्यक्तिलाई सो अभिलेख अयथार्थ हो भन्ने लागेको हो त्यस्तो आधार र सो व्यक्तिलाई अयथार्थता हटाउन सो अभिलेखमा कसरी संशोधन गर्नु पर्छ भन्ने लागेको छ सो कुरा वा कुन आधारमा सो व्यक्तिलाई सो अभिलेख गलत ढङ्गले दर्ता गरिएको हो भन्ने लागेको हो सोको आधार ।
(२) यस दफाबमोजिम दर्ता भएको सच्याउने विवरणको दर्ताले सूचनाको प्रभावकारितामा कुनै असर पार्ने छैन ।
१७. दर्ता कार्यालयको दायित्वः (१) दर्ता कार्यालयले आफु समक्ष दर्ता भएको प्रत्येक सूचनाका सम्बन्धमा देहायबमोजिम गर्नु पर्नेछः–
(क) दर्ता गरिएका प्रत्येक अभिलेखलाई छुट्टाछुट्टै दर्ता नम्बर दिनु पर्ने ।
(ख) प्रत्येक अभिलेखलाई दिएको दर्ता नम्बर, दर्ताको मिति र समय समेत खुलेको अभिलेख खडा गरी राख्नु पर्ने ।
(ग) प्रत्येक अभिलेख सार्वजनिक निरीक्षणका लागि खुला राख्नु पर्ने ।
(२) दर्ता कार्यालयले प्रारम्भिक सूचनालाई धितो दिने व्यक्तिको नामबाट दर्ता गरी राख्नु पर्नेछ ।
(३) दर्ता कार्यालयले प्रारम्भिक सूचना तथा सोसँग सम्बन्धित सबै अभिलेखहरुलाई एक आपसमा आबद्ध हुने किसिमबाट दर्ता गरी राख्नु पर्नेछ ।
(४) दर्ता कार्यालयले क्रमसंख्या अङ्कित सवारी साधनको क्रमसंख्या उल्लिखित सूचनाको सम्बन्धमा क्रमसंख्या अङ्कित सूची खडा गरी राख्नु पर्नेछ ।
(५) दर्ता कार्यालयले म्याद व्यतित भएको सूचनाहरुको अभिलेख म्याद व्यतित भएको मितिले दश वर्षसम्म सुरक्षित राख्नु पर्नेछ ।
(६) दर्ता कार्यालयको दायित्व केवल प्रशासनिक हुनेछ । सूचना दर्ता गर्दा वा सूचना दर्ता गर्न इन्कार गर्दा दर्ता कार्यालयले त्यस्तो सूचना पर्याप्त भएको वा अपर्याप्त भएको वा सूचनामा उल्लिखित जानकारी यथार्थ वा अयथार्थ भएको भन्ने कुनै कुराको निर्धारण गर्ने छैन ।
१८. दर्ता कार्यालयबाट जानकारी प्राप्त गर्न सकिनेः (१) दर्ता कार्यालयले आफूसँग कुनै जानकारीको लागि अनुरोध गर्ने कुनै पनि व्यक्तिलाई देहायबमोजिम जानकारी उपलब्ध गराउनु पर्नेछः–
(क) धितो दिने कुनै खास व्यक्तिको नाम उल्लेख गरेको र सबै धितो लिने व्यक्तिहरुको हकमा बहाल रहेको सूचना दर्ता कार्यालयले तोकेको मिति र समयमा दर्ता भएको वा नभएको कुरा,
(ख) प्रत्येक सूचनाको दर्ता नम्बर र सो सूचना दर्ता भएको मिति र समय,
(ग) प्रत्येक सूचनामा उल्लिखित धितो लिने र धितो दिने व्यक्तिको नाम र ठेगाना,
(घ) प्रत्येक सूचना वा संशोधनको सूचनामा उल्लिखित धितोको सम्पत्तिको विवरण, र
(ङ) प्रत्येक प्रारम्भिक सूचनासँग सम्बन्धित प्रत्येक अभिलेखको दर्ता नम्बर र सो दर्ता भएको मिति, समय र सो अभिलेख संशोधन, निरन्तरताको विवरण, सच्याउने विवरण वा समाप्तिको विवरण के हो भनी पहिचान गर्ने कुरा ।
(२) देहायको कुनै पनि कुरा खुलाई अभिलेखको खोजी गर्न दर्ता कार्यालयमा अनुरोध गर्न सकिनेछः–
(क) प्रारम्भिक सूचनाको दर्ता नम्बर,
(ख) क्रमसंख्या अङ्कित सवारी साधनको क्रमसंख्या,
(ग) धितो दिने व्यक्ति नेपाली नागरिक भए निजको नागरिकता प्रमाणपत्रको नम्बर, वा
(घ) धितो दिने व्यक्ति गैर नेपाली नागरिक भए निजको नाम तथा राहदानी नम्बर ।
(३) दर्ता कार्यालयले आफ्नो कर्तव्यको पालना गर्दा कुनैपनि माध्यमबाट सूचना वा जानकारी संपे्रषण गर्न सक्नेछ ।
१९. दर्ता शुल्कसम्बन्धी व्यवस्थाः (१) प्रारम्भिक सूचना, संशोधनको सूचना, निरन्तरताको विवरण, समाप्तिको विवरण, सच्याउने विवरणको दर्ताको लागि वा अभिलेख खोजीका लागि पाँच सय रुपैयाँ शुल्क लाग्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दर्ता कार्यालयले उपलब्ध गराएको विद्युतीय प्रविधिको उपयोग गरी अभिलेख खोजी गरेबापत कुनै पनि शुल्क लाग्ने छैन ।
(३) यस ऐनबमोजिम उपलव्ध गराइएका अन्य सेवाहरुका लागि कुनै पनि शुल्क लाग्ने छैन ।
(४) रजिष्ट्रारले दर्ता कार्यालयबाट उपलव्ध गराइने सेवा उपभोग गर्ने व्यक्तिहरुको खाता खडा गरी त्यस्तो सेवाबापत लगाइएको शुल्क आवधिकरुपमा भुक्तानी गर्नेसम्बन्धी कार्यविधि तय गर्न सक्नेछ ।