परिच्छेद–३ धितोको हकसम्बन्धी व्यवस्था

परिच्छेद–३ धितोको हकसम्बन्धी व्यवस्था

२०. धितोको हकः (१) उपदफा (२) को अधीनमा रही यस ऐनबमोजिम कुनै पनि व्यक्तिले धितोको हक दिन र लिन सकिनेछ । यसरी धितोको हक दिँदा लिँदा कुनै धितोको सम्पत्तिमाथि एकभन्दा बढी व्यक्तिको धितोको हकसमेत सृजना हुने गरी धितोको हक दिन र लिन सकिनेछ ।
(२) धितो दिने व्यक्तिसँग रहेको उपभोग्य वस्तुमाथि खरिद मूल्यसम्बन्धी धितोको हक (पर्चेज मनी सेक्युरिटी इन्टेस्ट) बाहेकका अन्य धितोको हक सृजना गर्न सकिने छैन ।
(३) धितोको सम्पत्ति प्रयोग गर्ने, भोग गर्ने बिक्री गर्ने, विनिमय गनेर्, मिश्रित गर्ने वा अन्य कुनै पनि किसिमले हक हस्तान्तरण गर्ने अधिकार धितो दिने व्यक्तिसँग रहेको कारणले मात्र धितोको हक अमान्य भएको मानिने छैन ।
२१. सुरक्षित दायित्वः (१) दफा २० बमोजिम सृजना भएको धितोको हकले एक वा एकभन्दा बढी सामान्य वा विशेषरुपमा उल्लेख गरिएका दायित्वहरु सुरक्षित गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको सुरक्षित दायित्व मौद्रिक वा गैरमौद्रिक हुन सक्नेछ ।
(३) धितोको हकले भावी दायित्व पनि सुरक्षित गर्न सक्नेछ । त्यस्तो दायित्व बाध्यात्मक, शर्त सहितको वा स्वेच्छिक हुन सक्नेछ ।
(४) धितोको हकले पहिले नै कायम रहेका दायित्वहरुलाई समेत सुरक्षित गर्न सक्नेछ ।
२२. धितोको सम्पत्तिको विवरणः कुनै धितोको सम्पत्तिको विवरणले जुन कुराको विवरण दिन खोजेको हो सो को मनासिब रुपले पहिचान हुने गरी विवरण दिएमा त्यस्तो विवरणलाई पर्याप्त मानिनेछ । क्रमसंख्या अङ्कित सवारी साधनको हकमा यस ऐनमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक धितोको सम्पत्तिको विवरण साधारण ढङ्गले पनि व्यक्त गर्न सकिनेछ ।
स्पष्टिकरणः यस दफाको प्रयोजनको लागि “साधारण ढङ्गले” भन्नाले धितो दिने व्यक्तिले उपभोग गर्ने उपभोग्य वस्तु बाहेक धितो दिने व्यक्तिको सबै जायजेथा वा सबै चलसम्पत्ति जस्ता शब्दावली उल्लेख गरी दिएको विवरण सम्झनु पर्छ ।
२३. धितोसम्बन्धी सम्झौताको प्रभावकारिताः (१) धितोसम्बन्धी सम्झौता अभिलेखको रुपमा रहनेछ । धितोसम्बन्धी सम्झौता एक वा एकभन्दा बढी अभिलेखको रुपमा राख्न सकिनेछ ।
(२) यस ऐनमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक धितोसम्बन्धी सम्झौताका शर्तहरुअनुरुप सो सम्झौताका पक्षहरु, धितोको सम्पत्ति प्राप्तकर्ता, साहू तथा लियन होल्डरसमेतका हकमा लागू हुनेछ ।
(३) धितोसम्बन्धी सम्झौता एक वा एकभन्दा बढी धितोको हकसँग सम्बन्धित हुन सक्नेछ ।
२४. धितो लिने व्यक्तिको कब्जामा रहेको धितोको सम्पत्तिः (१) धितो लिने व्यक्तिले आफ्नो जिम्मा र संरक्षणमा रहेको धितोको सम्पत्तिउपर मनासिब रेखदेख पु¥याउनु पर्नेछ ।
(२) धितोको सम्पत्ति धितो लिने व्यक्तिको जिम्मामा रहेको अवस्थामा अन्यथा सहमति भएकोमा बाहेक देहायका कुरामा देहायबमोजिम हुनेछः–
(क) धितोको सम्पत्तिको बीमाबापतको खर्च र सो सम्पत्तिसँग सम्बन्धित कर वा शुल्क लगायत मनासिब माफिकको खर्चको भुक्तानी गर्ने दायित्व धितो दिने व्यक्तिको हुने र त्यस्तो खर्चहरु उल्लिखित धितोको सम्पत्तिबाट असूलउपर गर्नु पर्ने,
(ख) कुनै दुर्घटनाबाट धितोको सम्पत्तिमा हानि नोक्सानी भएमा त्यस्तो हानि नोक्सानीबापत बीमा रकमले नखामेको हदसम्मको जोखिम धितो दिने व्यक्तिले व्यहोर्नु पर्ने, र
(ग) धितोको सम्पत्तिबाट प्राप्त रकमबाहेकको कुनै पनि वृद्धिलाई धितो लिने व्यक्तिले अतिरिक्त सुरक्षणको रुपमा राख्नु पर्ने र धितो दिने व्यक्तिलाई रकम शोधभर्र्ना गरिएकोमा बाहेक निजले सुरक्षित दायित्व कम गराउन त्यस्तो रकम उपयोग गर्न सक्ने ।
२५. धितोको सम्पत्तिमा धितोको हकको आबद्धताः (१) देहायको अवस्थामा मात्र धितोको सम्पत्तिमा धितोको हक आबद्ध भई सो सम्पत्तिका सम्बन्धमा धितो दिने व्यक्ति र तेश्रो पक्षविरुद्ध त्यस्तो हक चलन चलाउन सकिनेछः–
(क) धितोको सम्पत्तिको विवरण उल्लेख गरी धितोसम्बन्धी सम्झौता भएकोमा,
(ख) धितो लिने व्यक्तिले धितो दिने व्यक्तिलाई मूल्य दिएकोमा, र
(ग) धितो दिने व्यक्तिसँग धितोको सम्पत्तिउपर अधिकार रहेको वा निजमा त्यस्तो धितोको सम्पत्ति धितो लिने व्यक्तिलाई हस्तान्तरण गर्न सक्ने अधिकार रहेकोमा ।
(२) अन्यथा सहमति भएकोमा बाहेक धितोको सम्पत्तिमा रहेको धितोको हकको आबद्धताले यस ऐनबमोजिम धितो लिने व्यक्तिलाई त्यस्तो धितोको सम्पत्तिबाट लाभ प्राप्त गर्ने धितोको हक प्रदान गर्नेछ ।