परिच्छेद–४ धितोको हकको परिपक्वता र प्राथमिकता

परिच्छेद–४ धितोको हकको परिपक्वता र प्राथमिकता

२६. धितोको हकको परिपक्वताः (१) कुनै धितोमा धितोको हक आबद्ध भई यस दफाबमोजिमका शर्तहरु पूरा भएमा त्यस्तो धितोको हक परिपक्व भएको मानिनेछ ।
(२) यस दफामा अन्यथा व्यवस्था गरिएकोमा बाहेक धितोको हक परिपक्व गराउनको लागि दर्ता कार्यालयमा सूचना दर्ता गराउनु पर्नेछ ।
(३) खरिद मूल्यसम्बन्धी धितोको हक कुनै उपभोग्य वस्तुमा आबद्ध भइसकेपछि मात्र त्यस्तो उपभोग्य वस्तुमा सृजना भएको खरिद मूल्यसम्बन्धी धितोको हक परिपक्व हुनेछ । सो को सूचना दर्ता गराई रहनु पर्ने छैन ।
(४) मालसामान, अधिकारपत्र, लिखत वा सुरक्षित बिक्री करारमाथि रहेको धितोको हक धितो लिने व्यक्तिले त्यस्तो धितो आफ्नो कब्जामा लिएपछि मात्र परिपक्व हुनेछ । यसका लागि दर्ता गराइरहनु पर्नेछैन । त्यस्ता मालसामान, अधिकारपत्र, लिखत वा सुरक्षित बिक्री करार कब्जामा लिएको बखतदेखि नै त्यसमाथि रहेको धितोको हक परिपक्व हुनेछ र सो कब्जा कायम रहेसम्म सो हक कायम रहनेछ । यस उपदफाबमोजिम कब्जामा लिई परिपक्व गराइएको मालसामान, अधिकारपत्र, लिखत वा सुरक्षित बिक्री करारमाथिको धितोको हक धितो लिने व्यक्तिले कब्जाको अवधिभन्दा अगाडि, कब्जाको अविधिभित्र वा कब्जाको अवधि पछि पनि सूचना दर्ता गरेर परिपक्व गराउन सक्नेछ ।
(५) नगद लाभबाहेक धितो लिने व्यक्तिले रकम कब्जामा लिएपछि मात्र त्यस्तो रकममाथि रहेको धितोको हक परिपक्व हुन सक्नेछ ।
(६) क्रमसंख्या अङ्कित सवारी साधनमा रहेको धितोको हक सो सवारी साधनको साधारण विवरण दिएर वा सोको क्रमसंख्या उल्लेख गरी सूचना दर्ता गरेपछि मात्र परिपक्व हुन सक्नेछ ।
(७) लाभमाथि रहेको धितोको हक परिपक्व गराउन सूचना दर्ता गराउन आवश्यक हुने छैन ।
(८) नासोमा लिने व्यक्तिको जिम्मामा मालसामान रहेका बखत निजले सो मालसामानलाई समेट्ने गरी लिखत जारी गरेको रहेछ भने त्यस्तो लिखतउपर धितोको हक परिपक्व गराएपछि मात्र त्यस्तो मालसामानमाथि रहेको धितोको हकलाई परिपक्वता प्रदान गर्न सकिनेछ । नासो लिने व्यक्तिको जिम्मामा मालसामान रहेका बखत सूचना दर्ता गराई त्यस्ता मालसामानमा धितोको हक परिपक्व गराइएको भए त्यस्तो धितोको हक लिखतमा परिपक्व गराएको धितोको हकसँग सम्बन्धित हुनेछ ।
(९) धितोको सम्पत्तिउपर रहेको धितोको हकको परिपक्वताले धितोको सुरक्षार्थ दिएको जमानतउपर रहेको धितोको हकसमेतलाई परिपक्व बनाउनेछ । जमानतउपर रहेको धितोको हक परिपक्व गराउन सूचना दर्ता गराउन आवश्यक हुने छैन ।
(१०) भुक्तानीको अधिकार वा परिपालनउपर रहेको धितोको हकको परिपक्वताले भुक्तानीको अधिकारलाई सुरक्षित गर्ने अचलसम्पत्तिको बन्धकीउपरको धितोको हकलाई समेत परिपक्व बनाउनेछ ।
२७. परिपक्वताको निरन्तरताः (१) धितोको हकको परिपक्वताको निरन्तरता नटुट्ने गरी धितोसम्बन्धी हक पहिले कुनै एक तवरमा परिपक्व बनाइएको र पछि अर्को तवरमा परिपक्व बनाइएकोमा सो हक निरन्तररुपमा परिपक्व भइरहेको मानिनेछ ।
(२) धितो लिने व्यक्तिले परिपक्व बनाइएको धितोको हक हस्तान्तरण गरेमा धितो दिने व्यक्तिका साहूहरुको हक विरुद्ध, धितो दिने व्यक्तिबाट हस्तान्तरण गरी लिने व्यक्तिको हक विरुद्ध तथा लियन होल्डरका विरुद्ध त्यस्तो धितोको हकको परिपक्वतालाई निरन्तरता दिनको लागि यस ऐनअन्तर्गत सूचना दर्ता गराई राख्नु पर्ने छैन ।
 २८. एउटै धितोको सम्पत्तिमा रहेका धितोको हकको प्राथमिकताः (१) यस ऐनमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक एउटै धितोको सम्पत्तिमा एकभन्दा बढी व्यक्तिको धितोको हकको सृजना भएको अवस्थामा सूचना दर्ता भएको र सूचना दर्ता नभएको धितोको हकमध्ये सूचना दर्ता भएको धितोको हकले प्राथमिकता पाउनेछ । सूचना दर्ता भएको धितोको हकमा पनि त्यस्तो धितोको हकले धितोको हकको सूचना दर्ता गराएको समय वा धितोको हक परिपक्व भएको समय अनुसार प्राथमिकता पाउनेछ ।
(२) धितोको सम्पत्ति समेट्ने गरी पहिलो सूचना दर्ता गरिएको समय वा धितोको हक पहिलो पटक परिपक्व भएको समयमध्ये जुन अघिल्लो हुन्छ सो धितोको हकले प्राथमिकता पाउनेछ । धितोको हकको प्राथमिकता निर्धारणगर्दा पहिलो पटक सूचना दर्ता भए पछि वा धितोको हक परिपक्व भइसकेपछि त्यस्तो सूचना अप्रभावकारी भएको वा दफा २७ को उपदफा (१) बमोजिम त्यस्तो धितोको हकको परिपक्वताको निरन्तरता अवरुद्ध भएको हुनु हुँदैन ।
(३) धितोको सम्पत्तिमा पहिले आबद्ध भएको धितोको हकले यस ऐनबमोजिम सूचना प्रभावकारी नभएको वा परिपक्व भई नसकेको धितोको हकउपर प्राथमिकता पाउनेछ ।
(४) धितोको सम्पत्तिको सम्बन्धमा कायम भएको दर्ता वा परिपक्वताको मिति नै सो धितोको सम्पत्तिबाट प्राप्त लाभको हकमा पनि सोही दर्ता वा परिपक्वताको मिति कायम भएको मानिनेछ ।
२९. लियनहोल्डरको अधिकारउपर धितोको हकको प्राथमिकताः यस ऐनको अधीनमा रही लियन होल्डरले धितोको हक परिपक्व हुनुअगावै र धितोको सम्पत्ति समेट्ने सूचना दर्ता गर्नुअगावै सूचना दर्ता गरेको अवस्थामा बाहेक अन्य अवस्थामा धितोको हकले लियन होल्डरको अधिकारउपर प्राथमिकता पाउनेछ ।
३०. धितोको सम्पत्ति खरिद गर्दाको असरः (१) धितोको हक रहेको कुराको जानकारीबिना र सो धितोको हक परिपक्व हुनुअगावै कुनै खरिदकर्ताले सो धितोको सम्पत्तिबापत मूल्य तिरी खरिद गरेको भए त्यस्तो खरिदकर्ताले खरिद गरेको धितोको सम्पत्तिमा रहेको धितोको हकले त्यस्तो खरिदकर्तालाई कुनै असर पार्ने छैन ।
तर मूर्त सम्पत्तिउपरको धितोको सम्पत्तिको हक त्यस्तो सम्पत्ति त्यसरी धितो राखेको जानकारीबिना र सो धितोको हक परिपक्व हुनुअगावै खरिदकर्ताले प्राप्त गरिसकेको हुनु पर्नेछ ।
(२) उपदफा (१) को सर्वमान्यतामा प्रतिकूल असर नपर्ने गरी देहायका कुरामा देहायबमोजिम हुनेछः–
(क) नियमित व्यावसायिक कारोबारको सिलसिलामा मालसामान खरिद गर्ने खरिदकर्ताको हकमा त्यस्तो मालसामानउपर रहेको धितोको हक परिपक्व भएको र धितोको हक रहेको जानकारी निजलाई भएको भए तापनि त्यस्तो मालसामानमा रहेको धितोको हकले निजलाई कुनै असर पार्ने छैन,
(ख) उपभोग्य वस्तु खरिद गर्ने व्यक्तिले धितोसम्बन्धी हकको जानकारीबिना र उपभोग्य वस्तु समाबेश गर्ने सूचना दर्ता गर्नुअगावै त्यस्ता मालसामान खरिद गरेमा त्यस्तो उपभोग्य वस्तुमा रहेको धितोकोे हक परिपक्व भए तापनि वा नभए तापनि सो व्यक्तिलाई त्यस्तो उपभोग्य वस्तुमा रहेको धितोको हकले कुनै असर पार्ने छैन,
(ग) क्रमसंख्या अङ्कित सवारी साधन खरिद गर्ने व्यक्तिले सो सवारी साधनमा रहेको धितोको हकको ज्ञान बेगर वा दर्ता गरिएको सूचनामा सो सवारी साधनको क्रमसंख्या विवरण उल्लेख नगरेको वा त्यस्तो विवरण गलत ढङ्गले उल्लेख गरेको भएमा त्यस्तो क्रमसंख्या अङ्कित सवारी साधनमा रहेको धितोको हकले निजलाई कुनै असर पार्ने छैन,
(घ) कृषिजन्य उत्पादन खरिद गर्ने व्यक्तिको हकमा,–
(१) उपभोग्य वस्तुको रुपमा उपभोग गर्न खरिद गरिएको कृषिजन्य उत्पादनमा रहेको धितोको हकले असर पार्ने छैन,
(२) उपभोग्य वस्तुको रुपमा उपभोग गर्न खरिद नगरिएको कृषिजन्य उत्पादनको हकमा धितोको हकको जानकारीबिना तथा त्यस्तो हक परिपक्व हुनुअगावै त्यस्तो कृषिजन्य उत्पादन बुझी लिएमा त्यस्तो कृषिजन्य उत्पादनमा कायम रहेको धितोको हकले असर पार्ने छैन ।
३१. धितोको सम्पत्ति पट्टामा लिने व्यक्तिः (१) धितोको हकको जानकारीबिना त्यस्तो धितोको हक परिपक्व हुनुअगावै कुनै मालसामान पट्टामा लिने कुनै व्यक्तिले सो मालसामान पट्टामा लिएकोमा त्यस्तो मालसामानमा रहेको धितोको हकले निजको सो मालसामानमा रहेको पट्टाको हकमा कुनै असर पार्ने छैन ।
(२) नियमित व्यावसायिक कारोबारको सिलसिलामा मालसामान पट्टामा लिने व्यक्तिलाई त्यस्तो मालसामानउपरको धितोको हक परिपक्व भएको र धितोको हकको जानकारी भए तापनि त्यस्तो मलासामानमा रहेको धितोको हकले निजको पट्टाको हकमा कुनै असर पार्ने छैन ।
(३) क्रमसंख्या अङ्कित सवारी साधन पट्टामा लिने व्यक्तिले सो सवारी साधनमा रहेको धितोको हकको जानकारीबिना वा दर्ता गरिएको सूचनामा सोको क्रमसंख्या विवरण उल्लेख नगरेको वा त्यस्तो विवरण गलत ढङ्गले उल्लेख गरेको भएमा त्यस्तो क्रमसंख्या अङ्कित सवारी साधनमा रहेको धितोको हकले निजको पट्टाको हकमा कुनै असर पार्ने छैन ।
३२. खरिद मूल्यसम्बन्धी धितोको हकको सूचनाः धितो दिने व्यक्तिले मालसामान बुझिलिएको पाँच दिनभित्र कुनै व्यक्तिले त्यस्तो मालसामानको खरिद मूल्यसम्बन्धी धितोको हकको सम्बन्धमा सूचना दर्ता गराएमा धितोको हक आबद्ध भएको र सूचना दर्ता भएको समयको बीचमा त्यस्ता मालसामानउपर सृजना भएको खरिदकर्ता, पट्टा लिने व्यक्ति वा लियन होल्डरको अधिकारउपर त्यस्तो धितोको हकले प्राथमिकता पाउनेछ ।
३३. धितोको सम्पत्तिको बेचबिखन र त्यसबाट प्राप्त लाभः (१) यस ऐनमा अन्यथा व्यवस्था भएको वा पक्षहरु बीच अन्यथा सहमति भएकोमा बाहेक धितोको सम्पत्तिको बिक्री, पट्टा, इजाजत, विनिमय, बेचबिखन वा अन्य किसिमले हस्तान्तरण गरिएको भए तापनि सो धितोको सम्पत्तिउपर रहेको धितोको हक निरन्तर रही रहनेछ ।
(२) यस ऐनमा अन्यथा व्यवस्था भएको वा पक्षहरु बीच अन्यथा सहमति भएकोमा बाहेक धितोको सम्पत्तिको बेचबिखन पछि सोबाट प्राप्त लाभमा धितोको हक आबद्ध हुनेछ ।
(३) मूल धितोको सम्पत्तिमा धितोको हक परिपक्व भएकोमा त्यस्तो मूल धितोबाट प्राप्त लाभउपर पनि धितोको हक कायमै रही रहनेछ । देहायको अवस्थामा बाहेक धितो दिने व्यक्तिले प्राप्त गरेको लाभ सो लाभ प्राप्त गरेको मितिले बीस दिन पछि सो लाभमा रहेको धितोको हक परिपक्व हुने छैनः–
(क) दर्ता गरिएको सूचनाले शुरुको धितोको सम्पत्ति समेटेमा र त्यस्तो शुरुको धितोको सम्पत्तिबाट प्राप्त भएको लाभ नगद लाभ भएमा वा शुरुको सूचनामा जुन प्रकृतिको लाभ उल्लेख गरिएको थियो सोही प्रकृतिको लाभ प्राप्त भएमा, वा
(ख) बीस दिनको समय अवधि समाप्त हुनुअगावै त्यस्तो लाभउपर धितोको हक परिपक्व गराईएको भएमा ।
३४. उपकरण खरिद मूल्यमा धितोको हकको प्राथमिकताः खरिद मूल्यसम्बन्धी धितोको हक धितो दिने व्यक्तिले उपकरणमा कब्जा प्राप्त गर्दाका बखत वा सो प्राप्त गरेको पाँच दिनभित्र परिपक्व गराइएको भए त्यस्तो खरिद मूल्यसम्बन्धी धितोको हकले सोही सम्पत्तिउपर रहेको विवादयुक्त धितोको हकउपर तथा सो सम्पत्तिबाट प्राप्त लाभमा रहेको धितोको हकउपर समेत प्राथमिकता पाउनेछ ।
३५. मौज्दातमा रहेको मालसामान वा घरपालुवा पशुपक्षीमा रहेको खरिदसम्बन्धी धितोको हकको प्राथमिकताः देहायका अवस्थामा मौज्दातमा रहेको मालसामान वा घरपालुवा पशुपक्षीमा परिपक्व भएको खरिद मूल्यसम्बन्धी धितोको हकले त्यस्ता मालसामान वा पशुपक्षीउपर रहेको अन्य विवादयुक्त धितोको हकउपर प्राथमिकता पाउनेछः–
(क) धितो दिने व्यक्तिले मौज्दातमा रहेको मालसामान वा घरपालुवा पशुपक्षीउपर कब्जा लिई खरिद मूल्यसम्बन्धी धितोको हक परिपक्व भएमा, र
(ख) खरिद मूल्यसम्बन्धी धितोको हक लिने व्यक्तिले सूचना दर्ता गराउनुभन्दा अगावै विवादयुक्त धितोको हक लिने व्यक्तिले सोही मौज्दातको मालसामान वा घरपालुवा पशुपक्षीलाई समेट्ने गरी पहिले नै सूचना दर्ता गराई सकेको रहेछ भने खरिद मूल्यसम्बन्धी धितोको हक लिने व्यक्तिले विवादयुक्त धितोको हक लिने व्यक्तिलाई लिखितरुपमा जानकारी दिएको र सो जानकारीमा मौज्दातमा रहेका मालसामान वा घरपालुवा पशुपक्षीको विवरण दिई त्यस्तो जानकारी दिने व्यक्तिको धितो दिने व्यक्तिका मौज्दातमा रहेका मालसामान वा घरपालुवा पशुपक्षीउपर खरिद मूल्यसम्बन्धी धितोको हक रहेको वा निजले त्यस्तो हक प्राप्त गर्ने अपेक्षा गरेको कुरासमेत खुलाएको भएमा ।
३६. मालसामान नियन्त्रण (रिटेन्सन) मा लिने अधिकारको प्राथमिकताः कानूनको कार्यान्वयनबाट मालसामान नियन्त्रण लिने अधिकारको सृजना भई त्यस्तो मालसामान कब्जामा लिएको अवस्थामा सो मालसामानमा धितोको हक परिपक्व भए तापनि त्यस्तो मालसामानउपर देहायका अवस्थामा नियन्त्रणमा लिने अधिकारले प्राथमिकता प्राप्त गर्नेछः–
(क) त्यस्तो मालसामानका सम्बन्धमा सामग्री वा सेवाबापतको भुक्तानी सुरक्षित गर्न त्यस्ता मालसामान कब्जा लिने व्यक्तिको पक्षमा सो नियन्त्रण लिने अधिकार सृजना भएको भएमा, र
(ख) त्यस्तो सामग्री वा सेवा नियमित व्यावसायिक कारोबारको सिलसिलामा उपलव्ध गराइएको भएमा ।
३७. जडित समान ः (१) धितोको हक जडित सामानमा सृजना गर्न सकिनेछ । धितोको हक सृजित मालसामान पछि जडित हुने सामान भएमा सोमा धितोको हक निरन्तर रहीरहनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सामान्य निर्माण सामग्रीहरुमा रहेको धितोको हक त्यस्ता सामग्रीहरु अचलसम्पत्तिमा समाविष्ट हुँदाका बखत समाप्त हुनेछ ।
(३) सजिलै हटाउन वा झिक्न सकिने कारखानाको मेशिन, कार्यालय मेशिन वा घरेलु उपयोगका मालसामानहरुको प्राथमिकता यस दफाबमोजिम निर्धारण गरिने छैन ।
(४) यस दफामा अन्यथा व्यवस्था गरिएकोमा बाहेक जडित सामानउपरको धितोको हक अचलसम्पत्तिमा रहेका अन्य सबै वास्तविक अधिकारहरुको अधीनस्थ हुनेछ ।
(५) अचलसम्पत्तिको स्वामी वा बन्धकी लिने व्यक्तिको हक प्रचलित कानूनबमोजिम दर्ता हुनुअगावै सूचना दर्ता गरिएमा जडित सामानमा रहेको परिपक्व धितोको हकले त्यस्तो अचलसम्पत्तिको स्वामीको हक वा बन्धकी लिखतमा जुनसुकै व्यवस्था गरिएको भए तापनि बन्धकी लिने व्यक्तिको हकउपर प्राथमिकता पाउनेछ ।
(६) यस ऐनबमोजिम दर्ता गराउनु पर्ने लियन होल्डरको हकको सूचना दर्ता गराउनुअगावै सूचना दर्ता गरिएमा जडित सामानमाथिको परिपक्व धितोको हकले लियन होल्डरको हकउपर प्राथमिकता पाउनेछ ।
(७) कुनै मालसामान जडित सामान हुनुअगावै धितो दिने व्यक्तिले दिएको धितोको हक खरिद मूल्यसम्बन्धी धितोको हक भएमा र त्यस्ता मालसामान जडित सामान हुनभन्दा अगावै वा जडित समान भईसकेको मितिले पाँच दिनभित्र सूचना दर्ता गरिएमा जडित सामानमा रहेको परिपक्व धितोको हकले अचलसम्पत्तिको स्वामीको, लियनहोल्डरको वा बन्धकी लिखतमा जुनसुकै व्यवस्था गरिएको भए तापनि बन्धकी लिने व्यक्तिको हकउपर प्राथमिकता पाउनेछ ।
तर यसरी निर्धारण गरिएको प्राथमिकता निर्माणसम्बन्धी बन्धकी हकमा लागू हुने छैन ।
स्पष्टिकरणः यस उपदफाको प्रयोजनको लागि “निर्माणसम्बन्धी बन्धकी” भन्नाले अचलसम्पत्तिमा गरिने निर्माण सुधारबापत भुक्तानी दिने कुनै पनि दायित्व सुरक्षित गर्ने गरी प्रचलित कानूनबमोजिम दर्ता गरिएको बन्धकी सम्झनु पर्छ ।
(८) सुरक्षित दायित्व परिपालन नभएमा यस दफाबमोजिमको प्राथमिकता प्राप्त गर्ने धितो लिने व्यक्तिले देहायका कुरामा देहायबमोजिम हुने गरी अचलसम्पत्तिबाट जडित सामान छुट्याई लैजान सक्नेछः–
(क) जडित सामान छुट्याई लैजाने धितो लिने व्यक्तिले अचलसम्पत्तिमा पुग्न गएको हानि नोक्सानीको मर्मत गर्न लाग्ने खर्च धितो दिने व्यक्तिबाहेकका अन्य बन्धकी लिने व्यक्तिलाई अविलम्ब शोधभर्ना गर्नु पर्ने,
(ख) धितो लिने व्यक्तिले छुट्याई लैजाने जडित सामानको अभावले वा त्यस्ता सामान विस्थापित गर्नु पर्ने आवश्यकताको कारणले त्यस्तो अचलसम्पत्तिको मूल्यमा हुन गएको कमीबापत त्यस्तो बन्धकी लिने व्यक्ति वा मालिकलाई रकम शोधभर्ना गर्नु पर्ने, र
(ग) धितो लिने व्यक्तिले शोधभर्ना गर्ने दायित्व पूरागर्ने पर्याप्त मात्रामा विश्वास दिलाउन नसकेसम्म शोधभर्ना प्राप्त गर्ने व्यक्तिले त्यस्तो जडित सामान छुटाई लैजाने अनुमति दिन इन्कार गर्न सक्ने ।
३८. बालीः धितो दिने व्यक्तिको कब्जामा रहेको अचलसम्पत्ति वा त्यस्तो अचलसम्पत्तिउपर रहेको निजको हकलाई प्रचलित कानूनबमोजिम दर्ता गरी राखेको अवस्थामा त्यस्तो अचलसम्पत्तिमा हुर्की रहेको बालीउपरको परिपक्व धितोको हकले त्यस्तो स्वामी वा बन्धकी लिने व्यक्तिको विवादयुक्त हकउपर प्राथमिकता पाउनेछ ।
३९. सम्मिलनः (१) मालसामानको मौलिक पहिचान नष्ट नहुने गरी अन्य मूल मालसामानसँग भौतिकरुपमा एकीकृत भएमा त्यस्तो मालसामान त्यस्तो मूल मालसामानमा सम्मिलित भएको मानिनेछ ।
(२) सम्मिलन हुने मालसामानमा पनि धितोको हक सृजना गर्न सकिनेछ र त्यस्तो धितोको हक सम्मिलन हुने धितोको सम्पत्तिमा पनि निरन्तर रही रहनेछ । धितोको सम्पत्ति सम्मिलन हुँदाका बखत त्यस्तो सम्पत्तिउपर धितोको हक परिपक्व भैसकेको भए त्यस्तो धितोको हक सम्मिलन भएको मालसामानको हकमा समेत परिपक्व भएको मानिनेछ ।
(३) सुरक्षित दायित्व परिपालना नभएमा सम्मिलित मालसामानउपरको धितोको हकले समग्र मालसामानमा हक रहेका प्रत्येक व्यक्तिका दाबीहरुउपर प्राथमिकता पाउने भएमा धितो लिने व्यक्तिले अन्य मालसामानबाट त्यस्ता सम्मिलित मालसामान हटाउन सक्नेछ ।
(४) सम्मिलित मालसामान हटाउने धितो लिने व्यक्तिले समग्र वा अन्य मालसामानमा कुनै हक निहीत भएको धितो दिने व्यक्तिबाहेकको अन्य व्यक्तिलाई समग्र मालसामानमा हुन गएको भौतिक हानि नोक्सानीबापत देहायबमोजिम शोधभर्ना गर्नु पर्नेछ र यसरी शोधभर्ना गर्दा धितो लिने व्यक्तिको हक त्यस्तो व्यक्तिको हकको अधीनस्थ हुनु पर्नेछः–
(क) सम्मिलित मालसामान हटाउने धितो लिने व्यक्तिले अचलसम्पत्तिमा पुग्न गएको हानि नोक्सानीको मर्मत गर्न लाग्ने खर्च धितो दिने व्यक्तिबाहेकका अन्य बन्धकी लिने व्यक्तिलाई अबिलम्ब शोधभर्ना गर्नु पर्नेछ ।
(ख) धितो लिने व्यक्तिले हटाएको मालसामानको अभावले वा त्यस्ता मालसामान विस्थापित गर्नु पर्ने आवश्यकताको कारणले त्यस्तो अचलसम्पत्तिको मूल्यमा हुन गएको कमीबापत धितो दिने व्यक्ति वा अन्य धितो लिने व्यक्तिलाई रकम शोधभर्ना गर्नु पर्नेछ ।
(ग) धितो लिने व्यक्तिले शोधभर्ना गर्ने दायित्व पूरा गर्ने पर्याप्त मात्रामा विश्वास दिलाउन नसकेसम्म शोधभर्ना प्राप्त गर्ने व्यक्तिले त्यस्तो मालसामान छुटाई लैजान अनुमति दिन इन्कार गर्न सक्नेछ ।
४०. मिश्रित सामानहरुः (१) उत्पादनमा वा सोको समूहमा आफ्नो पहिचान गुमाउने गरी अन्य मालसामानमा भौतिकरुपमा एकीकृत गरिएको मालसामान मिश्रित सामान हुनेछ ।
(२) मिश्रित सामानउपर धितोको हक सृजना नहुन पनि सक्नेछ ।
तर त्यस्तो मालसामान मिश्रित सामान भई त्यसबाट सृजित उत्पादन वा समूहमा भने धितोको हक सृजना हुन सक्नेछ ।
(३) धितोको सम्पत्ति मिश्रित सामान भएमा सोको उत्पादन वा समूहमा धितोको हक आबद्ध हुनेछ ।
(४) धितोको सम्पत्ति मिश्रित सामान हुनुभन्दा अगावै सो धितोको सम्पत्तिमा रहेको धितोको हक परिपक्व भएको भए उत्पादन वा समूहसँग आबद्ध रहेको धितोको हक सूचना दर्ता नगरेमा पनि परिपक्व हुन सक्नेछ । उत्पादन वा सोको समूहउपरको धितोको हकको प्राथमिकता मिश्रित भएको धितोको सम्पत्तिउपर रहेको धितोको हक परिपक्व भएको समयदेखि गणना गरिनेछ ।
(५) मिश्रित सामानको उत्पादन वा सोको समूहउपर एकभन्दा बढी धितोको हक आबद्ध भएको अवस्थामा देहायबमोजिम प्राथमिकताको निर्धारण गरिनेछः–
(क) धितोको सम्पत्ति मिश्रित सामान हुँदाका बखत परिपक्व भएको धितोको हकले सोबखत अपरिपक्व रहेको धितोको हकउपर प्राथमिकता पाउनेछ,
(ख) उत्पादन वा सोको समूहमा आबद्ध भएको पहिलो धितोको हकले अपरिपक्व धितोको हकउपर प्राथमिकता पाउनेछ, र
(ग) एकभन्दा बढी धितोको हक परिपक्व भएमा धितोको सम्पत्ति मिश्रित सामान हुँदाका बखत सो सम्पत्तिको मूल्यको अनुपातमा धितोको हक समान स्थितिमा रहनेछ ।
४१. सुरक्षित बिक्री करार र अधिकारपत्रहरुको खरीदः देहायका अवस्थामा सुरक्षित बिक्री करार वा अधिकारपत्रको खरिदकर्ताले सुरक्षित बिक्री करार वा अधिकारपत्रउपरका विवादयुक्त धितोको हक र सोबाट प्राप्त लाभउपर समेत प्राथमिकता प्राप्त गर्नेछः–
(क) प्राप्तकर्ताको नियमित व्यावसायिक कारोबारको सिलसिलामा प्राप्तकर्ताले नयाँ मूल्य दिई सुरक्षित बिक्री करार वा अधिकारपत्र आफ्नो कब्जामा लिएको भएमा, र
(ख) सुरक्षित बिक्री करार वा अधिकारपत्रमा विवादयुक्त धितोको हक राख्ने व्यक्तिलाई सोको हस्तान्तरण गरिएको कुरा उल्लेख नगरेको भएमा ।
४२. हस्तान्तरणः (१) कुनै व्यक्तिले बहीखाता, सुरक्षित बिक्री करार, अधिकारपत्र तथा अन्य अमूर्त सम्पत्तिमा रहेको आफ्नो केही वा सबै अधिकार हस्तान्तरण गर्न सक्नेछ । हस्तान्तरण गर्दा सुरक्षित बिक्री करार, लिखत तथा अन्य अमूर्त सम्पत्तिमा रहेको अधिकार हस्तान्तरण हुन सक्नेछ ।
(२) दायित्व वहन गर्ने व्यक्ति र हस्तान्तरण गरि दिने व्यक्ति बीच सम्पन्न सम्झौताका शर्तहरु हस्तान्तरण गरी लिने व्यक्तिका हकमा समेत लागू हुनेछ ।
(३) यस दफामा अन्यथा व्यवस्था भएकोमा बाहेक हस्तान्तरणबाट उत्पन्न धितोको हकको आबद्धता, परिपक्वता वा कार्यान्वयनको सम्बन्धमा दायित्व वहनगर्ने व्यक्तिलाई कुनै जानकारी दिन आवश्यक हुने छैन ।
(४) हस्तान्तरणको जानकारी दायित्व वहन गर्ने व्यक्तिलाई दिनुपर्ने भएमा त्यस्तो जानकारी लिखितरुपमा दिनु पर्नेछ र सो जानकारीमा हस्तान्तरण गरिएको अधिकारको पहिचान गरी हस्तान्तरण गरि दिने वा हस्तान्तरण गरि लिने व्यक्तिले सही गर्नु पर्नेछ ।
(५) हस्तान्तरणको जानकारी प्राप्त गरेपछि दायित्व बहन गर्ने व्यक्तिले हस्तान्तरण गरि दिने व्यक्तिलाई भुक्तानी नदिई हस्तान्तरण गरि लिने व्यक्तिलाई भुक्तानी दिएर आफ्नो दायित्व परिपालन गर्नेछ । दायित्व बहनगर्ने व्यक्तिले अनुरोध गरेमा हस्तान्तरण गरि लिने व्यक्तिले हस्तान्तरण गरिएको कुराको पर्याप्त प्रमाण यथासमयमै उपलव्ध गराउनु पर्नेछ । हस्तान्तरण गरि लिने व्यक्तिले हस्तान्तरण गरेको कुराको पर्याप्त प्रमाण उपलव्ध गराउन नसकेमा हस्तान्तरणको सूचना पाइसकेको भए तापनि दायित्व बहनगर्ने व्यक्तिले हस्तान्तरण गर्ने व्यक्तिलाई भुक्तानी गरेर आफ्नो दायित्व पूरा गर्न सक्नेछ ।
४३. बिक्री वा हस्तान्तरणमा रोक वा प्रतिबन्धः धितो लिने व्यक्ति र धितो दिने व्यक्ति बीचको सम्झौताले बहीखाता, पट्टा वा सुरक्षित बिक्री करारको बिक्री वा हस्तान्तरणमा रोक वा प्रतिबन्ध लगाएमा त्यस्तो सम्झौता कार्यान्वयन हुने छैन ।
४४. भावी पेश्कीः परिपक्व धितोको हकले धितो लिने व्यक्तिले भविष्यमा दिनु पर्ने ऋण दायित्व सुरक्षित गर्ने भएमा धितो लिने व्यक्तिले लियनहोल्डरको हकको सम्बन्धमा वास्तविकरुपमा थाहा पाएपछि वा लियनहोल्डरको हकसम्बन्धी सूचना दर्ता कार्यालयमा दर्ता गरेको मितिले एक्काइस दिन पछिको अवधिमध्ये जुन अघिल्लो हुन्छ त्यसपछि दिइने पेश्कीको हदसम्म लियनहोल्डरको अधिकारले धितोको हकउपर प्राथमिकता पाउनेछ ।
४५. प्राथमिकतामा हेरफेरः यस ऐनअन्तर्गत प्राथमिकता पाउने हक भएको व्यक्तिले त्यस्तो प्राथमिकता परिवर्तन गर्न वा परित्याग गर्न मन्जूर गर्न सक्नेछ । यस्तो सम्झौताको सम्बन्धमा सूचना दर्ता गरिरहनु पर्ने छैन ।