परिच्छेद–५ धितोको हकको कार्यान्वयन

परिच्छेद–५ धितोको हकको कार्यान्वयन

४६. दायित्वको परिपालनसम्बन्धी व्यवस्थाहरुः (१) धितोसम्बन्धी सम्झौताका पक्षहरुले आपसी सहमतिद्वारा दायित्व परिपालन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न सक्ने छन् ।
(२) दायित्व परिपालन नभएमा धितो लिने व्यक्तिलाई देहायबमोजिमको अधिकार हुनेछः–
(क) धितोसम्बन्धी सम्झौतामा कब्जा वा नियन्त्रणका बारेमा कुनै पनि व्यवस्था नरहेको भए तापनि धितो लिने व्यक्तिले आफ्नो इच्छा अनुसार धितोको सम्पत्ति आफ्नो कब्जा वा नियन्त्रणमा लिन सक्ने,
(ख) धितोको सम्पत्ति बेचबिखन गर्ने,
(ग) यस ऐनमा व्यवस्था गरिएका अन्य अधिकार तथा उपचार प्रयोग गर्ने,
(घ) धितोसम्बन्धी सम्झौतामा व्यवस्था गरिएका अन्य अधिकार तथा उपचार प्रयोग गर्ने, र
(ङ) अन्य प्रचलित कानूनअन्तर्गत उपलव्ध अधिकार तथा उपचार प्रयोग गर्ने ।
(३) धितो लिने व्यक्तिले आपूmलाई उपलब्ध कुनै वा सबै अधिकारहरु एकसाथ प्रयोग गर्न सक्नेछ ।
(४) दायित्व परिपालन नभएको अवस्थामा धितोको सम्पत्ति, बहीखाता वा अन्य अमूर्त सम्पत्ति भएमा धितो लिने व्यक्तिले हस्तान्तरण वा सङ्कलनसम्बन्धी अधिकारको प्रयोग गर्ने सम्बन्धमा यस ऐनमा गरिएका व्यवस्थाको अधीनमा रही न्यायिक कारबाहीबिना सिधै त्यस्ता बहीखाता वा अन्य मूर्त सम्पत्तिका सम्बन्धमा आफैले आवश्यक कारबाई चलाउन सक्नेछ ।
(५) दायित्व परिपालन नभएको अवस्थामा धितोको सम्पत्ति लिखत भएमा धितो लिने व्यक्तिले त्यस्तो लिखत तथा सो लिखतबाट समेटिएका मालसामानका सम्बन्धमा आवश्यक कारबाई चलाउन सक्नेछ ।
(६) धितो लिने व्यक्तिले कब्जा गर्न पाउने आदेश प्राप्त गरेमा सूचना दर्ता गरेको मिति वा धितोको हक परिपक्व भएको मितिमध्ये जुन पहिले हुन्छ सो मिति देखि धितोको सम्पत्तिउपरको प्राथमिकताको गणना गरिनेछ ।
(७) अधिकारप्राप्त अधिकारीको आदेशबमोजिम वा सार्वजनिक लिलामको माध्यमबाट धितोको सम्पत्ति बिक्री गर्दा धितो लिने व्यक्तिले त्यस्तो धितोको सम्पत्ति खरीद गरी लिन सक्नेछ ।
४७. धितो लिने व्यक्तिको प्राप्त गर्ने अधिकारः (१) दायित्व परिपालन नभएमा धितो लिने व्यक्तिले बहीखाता, सुरक्षित बिक्री करार वा भुक्तानी पाउने अन्य अधिकारका सम्बन्धमा खातामा दायित्व बहन गर्ने भनी जनिएको व्यक्ति वा भुक्तानीको दायित्व बहन गर्ने अन्य व्यक्तिलाई भुक्तानी गर्न सूचित गर्न र त्यस पछिका कुनै लाभ आफ्नो नियन्त्रणमा लिनसमेत पाउनेछ ।
(२) धितोको हकले ऋण सुरक्षित गरेको भएमा धितो लिने व्यक्तिले सुरक्षित ऋृणको रकम र यस परिच्छेद अन्र्तगत कटाउन पाउने खर्च रकमभन्दा बढी रकम सङ्कलित हुन आएमा त्यसरी बढी भए जति रकम धितो दिने व्यक्तिलाई भुक्तानी दिनेछ । अन्यथा सहमति भएकोमा बाहेक यसरी सङ्कलित रकममा कुनै कमी हुन गएमा सुरक्षित ऋण तथा यस परिच्छेदअन्तर्गतको कट्टा गर्न पाउने खर्चसमेत र सङ्कलित रकम बीचको भिन्नता धितो दिने व्यक्तिले धितो लिने व्यक्तिलाई तिर्नु बुझाउनु पर्नेछ ।
(३) खाता वा सुरक्षित बिक्री करारको बिक्रीसँग सम्बन्धित कारोबारको हकमा धितोसम्बन्धी सम्झौतामा व्यवस्था गरिएको भएमा मात्र धितो दिने व्यक्तिलाई बढी हुन आएको रकमको भुक्तानी पाउने अधिकार हुनेछ र घटी हुन गएको रकमको लागि निज जिम्मेवार हुनेछ ।
(४) धितो लिने व्यक्तिले अदालती कारबाही अवलम्बन नगरी यस दफाअन्तर्गतको काम कारबाही गर्न सक्नेछ ।
४८. धितो लिने व्यक्तिको धितोको सम्पत्ति कब्जामा लिने अधिकारः (१) धितो दिने व्यक्तिले लिखितरुपमा स्वीकृति दिएको अवस्थामा दायित्वको परिपालन नभएको अवस्थामा पनि कानूनी कारबाहीबिना नै धितो लिने व्यक्तिले धितोको सम्पत्ति आफ्नो कब्जा वा नियन्त्रणमा लिन सक्नेछ ।
(२) धितो लिने व्यक्तिले दायित्वको परिपालन नगरेमा अदालतको आदेशबाट धितोको सम्पत्ति आफ्नो कब्जा वा नियन्त्रणमा लिन सक्नेछ । अदालतले त्यसरी आदेश दिंदा त्यस्तो विवाद धितोको सम्पत्ति समेट्ने धितोसम्बन्धी सम्झौता तथा दायित्वको परिपालन नभएको कुनै एउटा विषयसँग सम्बन्धित भएको कुरालाई हेरी त्यस्तो आदेश दिनु पर्नेछ ।
(३) अदालतले यस दफाबमोजिम धितो दिने व्यक्तिबाट धितोको सम्पत्तिको कब्जा छुटाउन दिएको आदेशउपर धितो दिने व्यक्तिले सर्वोच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ ।
(४) धितोसम्बन्धी सम्झौताको अधीनमा रही धितो लिने व्यक्तिले धितो दिने व्यक्तिलाई धितोको सम्पत्ति एकत्रित गर्न र धितो लिने व्यक्तिले तोकेको दुवै पक्षलाई मनासिबरुपमा उपयुक्त हुने स्थानमा त्यस्तो सम्पत्ति धितो लिने व्यक्तिलाई उपलब्ध गराउन लगाउन सक्नेछ ।
(५) धितो लिने व्यक्तिले कुनै पनि उपकरण रहेको स्थानबाट सो उपकरण नहटाई त्यसलाई प्रयोग गर्न नमिल्ने किसिमको बनाउन र धितोको सम्पत्तिलाई धितो दिने व्यक्तिको व्यवसायको स्थान, आवास वा धितोको सम्पत्ति रहेको वा भेटिएको अन्य कुनै पनि स्थानमा बेचबिखन गर्न सक्नेछ ।
४९. धितोको हकको कार्यान्वयनमा बाधा विरोध गरेमा प्राप्त अधिकारः (१) यस ऐन, धितोसम्बन्धी सम्झौता वा प्रचलित कानून प्रतिकूल हुने गरी धितो दिने व्यक्तिले धितोको हकको कार्यान्वयन गर्ने, धितो बेचबिखन गर्ने वा अन्य तरिकाबाट चलन चलाउने कार्यमा रोक लगाएमा वा बाधा विरोध गरेमा धितो लिने व्यक्तिले धितोको सम्पत्तिको सुरक्षा गर्नको लागि देहायका अवस्थामा अदालतमा निवेदन दिन सक्नेछः–
(क) धितोको सम्पत्तिमा हानि नोक्सानी पुर्याएको वा पुर्याउन सक्ने सम्भावना रहेको वा गलत ढङ्गले हस्तान्तरण भएको वा हुनसक्ने संभावना रहेको,
(ख) धितोको सम्पत्ति पत्ता लगाउन नसकिने अवस्था भएको, वा
(ग) धितो दिने व्यक्ति पत्ता लगाउन नसकिएको ।
(२) उपदफा (१) बमोजिम परेको निवेदनको सम्बन्धमा अदालतले देहायबमोजिमको आदेश जारी गर्न सक्नेछः–
(क) धितो दिने व्यक्ति वा धितोको सम्पत्ति कब्जामा राख्ने अन्य कुनै पनि व्यक्तिलाई धितोको सम्पत्ति बेचबिखन गर्न रोक लगाउने,
(ख) धितो दिने व्यक्ति वा धितोको सम्पत्तिको बारेमा जानकारी भएको अन्य कुनै पनि व्यक्तिलाई अदालत समक्ष हाजिर हुन आउन र धितोको सम्पत्तिको सम्बन्धमा जानकारी दिन लगाउने,
(ग) धितो दिने व्यक्तिलाई धितोको सम्पत्तिउपरको कब्जा धितो लिने व्यक्तिलाई जिम्मा दिन लगाउने,
(घ) यस ऐनबमोजिम धितोको हकसहितको धितोको सम्पत्ति प्राप्त गरेको कुनै पनि व्यक्तिलाई त्यस्तो धितोको सम्पत्तिउपरको कब्जा धितो लिने व्यक्तिलाई जिम्मा दिन लगाउने ।
५०. धितो लिने व्यक्तिले धितोको सम्पत्ति बेचबिखन गर्न सक्नेः (१) दायित्वको पालना नभएमा धितो लिने व्यक्तिले कुनै वा सबै धितोको सम्पत्ति बिक्री गर्न, भाडामा दिन, इजाजतमा दिन वा अन्य कुनै पनि तवरले बेचबिखन गर्न सक्नेछ ।
(२) धितोको सम्पत्ति एक वा एकभन्दा बढी करारअन्तर्गत सार्वजनिक वा निजीरुपमा बेचबिखन गर्न सकिनेछ ।
(३) यस ऐनबमोजिम धितो लिने व्यक्तिको कर्तव्यसँग अनुकुल हुने गरी धितोको सम्पत्तिको बेचबिखन कुनै पनि समय, स्थान वा शर्तमा छुट्टाछुट्टै वा समूहगतरुपमा गर्न सकिनेछ ।
(४) धितोको सम्पत्ति छिट्टै सड्ने, गल्ने भई वा सोको मूल्यमा तुरुन्तै गिरावट आउने प्रकृतिको भई सूचना दिन व्यावहारिक नहुने भएकोमा बाहेक धितो लिने व्यक्तिले धितो दिने व्यक्तिलाई धितोको सम्पत्ति सार्वजनिकरुपमा बिक्री गर्ने समय र स्थान वा निजीरुपमा बिक्री वा अन्य कुनै तवरले बेचबिखन गर्ने समयको मुनासिब जानकारी दिनु पर्नेछ ।
(५) धितो लिने व्यक्तिले धितोको सम्पत्ति कुनै सार्वजनिक वा व्यक्तिगत बिक्रीको माध्यमबाट खरिद गर्न सक्नेछ ।
५१. बेचबिखनको परिणामः (१) बेचबिखनबाट प्राप्त लाभको सम्बन्धमा देहायबमोजिमको प्राथमिकताक्रम अनुसार भुक्तानी हुनेछः–
(क) धितो लिने व्यक्तिले कानून व्यवसायीलाई तिरेको मनासिब माफिकको शुल्क र मुद्दामामिला गर्दा लागेको कानूनी खर्च लगायत धितोको सम्पत्ति पुनः प्राप्त गर्दा, ग्रहण गर्दा, बेचबिखनको तयारी तथा बेचबिखन गर्दा लागेको मनासिब माफिकको खर्च,
(ख) धितोको हकबाट सुरक्षित ऋण,
(ग) बेचबिखनबाट प्राप्त लाभको बाँडफाँड गर्नुभन्दा अगावै लिखित अनुरोध प्राप्त भई अधीनस्थ धितोको हक लिने व्यक्तिले त्यस्तो हकको मनासिब प्रमाण दिएमा धितोको सम्पत्तिउपर रहेको अधीनस्थ धितोको हकबाट सुरक्षित ऋण ।
(२) धितो लिने व्यक्तिले धितोको सम्पत्तिको बिक्रीबाट प्राप्त भई बचत हुन आएको रकम धितो दिने व्यक्तिलाई फिर्ता दिनेछ र अन्यथा सहमति भएकोमा बाहेक नपुग रकमको हकमा धितो दिने व्यक्ति जिम्मेवार हुनेछ ।
(३) दायित्वको परिपालन नभई धितो लिने व्यक्तिले धितोको सम्पत्ति बेचबिखन गर्दा देहायबमोजिम गर्नु पर्नेछः–
(क) धितोको सम्पत्ति बेचबिखन हुँदा सो बेचबिखनमा असल नियतले मूल्य तिरी प्राप्त गर्ने प्राप्तकर्ताले त्यस्तो धितोको सम्पत्तिमा रहेको सबै अधिकार, धितोको हक वा अधीनस्थ धितोको हक वा विशेषाधिकारबिना नै सो धितोको सम्पत्ति प्राप्त गर्ने, र
(ख) धितोको सम्पत्तिको स्वामित्वको अभिलेख राख्ने कार्यालयले मूल्य दिई किन्ने सो सम्पत्तिको प्राप्तकर्तालाई नयाँ स्वामित्वको प्रमाणपूर्जा प्रदान गर्दा सो कार्यालयले अनुरोध गरेमा धितो लिने व्यक्तिले कब्जा गर्न पाउने गरी अदालतले दिएको आदेशको ढाँचामा नयाँ स्वामित्वको प्रमाणपूर्जा जारी गर्ने अख्तियारी वा दायित्व पालना नभएमा धितो लिने व्यक्तिलाई कब्जा हस्तान्तरण गर्ने गरी धितो दिने व्यक्तिले गरेको लिखित सम्झौता सो कार्यालय समक्ष पेश गर्ने ।
५२. धितोको सम्पत्ति रोक्का राख्ने वा नियन्त्रणमा लिनेः (१) दायित्वको पालना नभएमा धितो लिने व्यक्तिले सुरक्षित दायित्व पूर्ण वा आंशिकरुपमा पालना गराउनको लागि धितोको सम्पत्ति रोक्का राख्न वा नियन्त्रणमा लिन प्रस्ताव गर्न सक्नेछ ।
(२) धितो लिने व्यक्तिले धितो दिने व्यक्ति तथा धितोको सम्पत्तिमा रहेको हकसम्बन्धी लिखित दाबी प्राप्त गरेको धितो लिने अन्य कुनै व्यक्ति समक्ष उपदफा (१) बमोजिम प्रस्ताव राख्नु पर्नेछ ।
(३) धितो लिने व्यक्तिले उपदफा (२) बमोजिम प्रस्तावको सूचना पाउने हक भएको व्यक्तिबाट त्यस्तो सूचना पठाइएको मितिले एक्काइस दिनभित्र लिखित दाबी विरोध प्राप्त गरेमा निजले यस परिच्छेदमा भएको व्यवस्थाबमोजिम त्यस्तो धितोको सम्पत्ति बेचबिखन गर्नु पर्नेछ ।
(४) उपदफा (३) बमोजिमको म्यादभित्र दाबी विरोध प्राप्त नभएमा धितो लिने व्यक्तिले उपदफा (१) बमोजिमको प्रस्ताव अनुसार धितो दिने व्यक्तिको दायित्वको भुक्तानी वा पालन गराउन धितोको सम्पत्ति रोक्का राख्न वा आफ्नो नियन्त्रणमा लिन सक्नेछ ।
५३. धितो दिने व्यक्तिको धितोको सम्पत्ति निखन्ने अधिकारः (१) लिखितरुपमा अन्यथा सहमति भएकोमा बाहेक दायित्वको पालना नभई धितो दिने व्यक्ति वा धितो लिने अन्य कुनै व्यक्तिले धितोको सम्पत्तिबाट सुरक्षित सम्पूर्ण दायित्वहरु पूरा गर्दा धितो लिने व्यक्तिले भुक्तानी गरेको मनासिब कानून व्यवसायी शुल्क र कानूनी कारबाही गर्दा लागेको अन्य खर्च लगायत त्यस्तो धितोको सम्पत्ति पुनः प्राप्त गर्दा, ग्रहण गर्दा, बेचबिखनको तयारी गर्दा वा बेचबिखन गर्दा धितो लिने व्यक्तिले गरेको अन्य मनासिब खर्चहरु बुझाई धितोको सम्पत्ति निखन्न सक्नेछ ।
(२) धितो लिने व्यक्तिले धितोको सम्पत्ति बेचबिखन गर्नुभन्दा अघि वा बेचबिखनको लागि करार गर्नुभन्दाअघि वा दायित्व पूरा हुनुभन्दा अघि धितोको सम्पत्ति निखन्न सक्नेछ ।
५४. दायित्वको पालना नगरेमा धितो लिने व्यक्तिको दायित्वः (१) धितो लिने व्यक्तिले यस परिच्छेदका व्यवस्थाहरुको पालना नगरेमा अदालतले उपयुक्त शर्त तथा अवस्थाहरु तोकी सोही अनुसार धितोको सम्पत्तिको बेचबिखन गर्न वा बेचबिखनमा रोक लगाउने गरी आदेश जारी गर्न सक्नेछ ।
(२) धितो लिने व्यक्तिले धितोको सम्पत्ति बेचबिखन गर्दा व्यावसायिक मान्यताअनुरुप मनासिब तवरले त्यस्तो सम्पत्ति बेचबिखन गर्नु पर्नेछ ।
(३) धितोको सम्पत्ति बेचबिखन भईसकेपछि धितो दिने व्यक्ति वा सूचना पाउने हक भएको व्यक्ति वा बेचबिखन गर्नुअगावै धितोको सम्पत्तिमा आफ्नो हक भएको कुरा धितो लिने व्यक्तिलाई जानकारी गराएको व्यक्तिले यस परिच्छेदका व्यवस्था पालना नभएको कारणबाट निजलाई हुन गएको हानि नोक्सानीबापतको क्षतिपूर्ति धितो लिने व्यक्तिबाट भराई लिन पाउनेछ ।
(४) धितो लिने व्यक्तिले छानेको समय तथा तरीकाभन्दा भिन्नै समय वा तरीकामा धितोको सम्पत्ति बिक्री गरिएको भएमा अधिकतम मूल्य प्राप्त गर्न सकिने थियो भन्ने आधारमा मात्र त्यस्तो बिक्री व्यावसायिक मान्यताअनुरुप मनासिब तरिकाले बेचबिखन नगरिएको भन्ने दाबी लाग्ने छैन ।
(५) धितोको सम्पत्ति जुन किसिमको छ त्यसै किसिमका सम्पत्तिका डिलरले अबलम्बन गर्ने प्रचलित व्यावसायिक मान्यताअनुरुप हुने गरी धितो लिने व्यक्तिले धितोको सम्पत्ति बेचबिखन गरेको भएमा त्यस्तो बिक्रीलाई व्यावसायिक मान्यताअनुरुप मनासिब तरिकाले बिक्री भएको मानिनेछ ।
(६) कुनै कानूनी कारबाहीमा धितोको सम्पत्तिको बेचबिखनको कुनै खास तरीका अपनाई बेचबिखन गर्न स्वीकृति दिइएकोमा त्यसरी भएको बेचबिखनलाई पूर्णतः व्यावसायिक मान्यताअनुरुप र मनासिब तरिकाले बिक्री भएको मानिनेछ ।