परिच्छेद –१ प्रारम्भिक

परिच्छेद –१ प्रारम्भिक

१.   संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम “सहकारी ऐन, २०७४” रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२.   परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,-

(क)  “आन्तरिक कार्यविधि” भन्नाले सहकारी संस्थाले दफा २८ बमोजिम बनाएको आन्तरिक कार्यविधि सम्झनु पर्छ ।

(ख)  “कसूर” भन्नाले दफा १२२ बमोजिमको कसूर सम्झनु पर्छ ।

(ग)  “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।

(घ)  “परिवार” भन्नाले सदस्यको पति वा पत्नी, छोरा, बुहारी, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, सौतेनी आमा र आफूले पालन पोषण गर्नु पर्ने दाजु, भाउजू, भाइ, बुहारी र दिदी, बहिनी सम्झनु पर्छ ।

तर सो शब्दले अंशबण्डा गरी वा मानो छुट्टिई आ-आफ्नो पेशा व्यवसाय गरी बसेको परिवारको सदस्यलाई जनाउने छैन ।

(ङ)  “प्राथमिक पूँजी कोष” भन्नाले शेयर पूँजी र जगेडा कोष सम्झनु पर्छ ।

(च)  “बचत” भन्नाले सदस्यले सहकारी संस्थामा जम्मा गरेको रकम सम्झनु पर्छ ।

(छ)  “मन्त्रालय” भन्नाले सहकारी सम्बन्धी विषय हेर्ने नेपाल सरकारको मन्त्रालय सम्झनु पर्दछ ।

(ज)  “मुख्य कारोबार” भन्नाले संस्था वा सङ्घले सञ्चालन गरेको व्यावसायिक क्रियाकलापहरूमा पछिल्लो आर्थिक वर्षसम्ममा परिचालित बचतको दायित्व र पछिल्लो आर्थिक वर्षको सदस्यतर्फको खरिद वा बिक्री कारोबारमा कम्तीमा तीस प्रतिशतभन्दा बढी हिस्सा भएको कारोबार सम्झनु पर्छ ।

(झ)  “रजिष्ट्रार” भन्नाले दफा ९२ बमोजिम तोकिएको रजिष्ट्रार सम्झनु पर्छ ।

(ञ)  “लेखा सुपरिवेक्षण समिति” भन्नाले दफा ४८ बमोजिमको लेखा सुपरिवेक्षण समिति सम्झनु पर्छ ।

(ट)  “विनियम” भन्नाले सम्बन्धित सहकारी संस्थाको दफा २७ बमोजिम बनाएको विनियम सम्झनु पर्छ ।

(ठ)  “विभाग” भन्नाले सहकारी विभाग सम्झनु पर्छ ।

(ड)  “शेयर” भन्नाले सहकारी संस्थाको शेयर पूँजीको विभाजित अंश सम्झनु पर्छ ।

(ढ)  “स्थानीय तह” भन्नाले गाउँपालिका तथा नगरपालिका सम्झनु पर्दछ र सो शब्दले उपमहानगरपालिका र महानगरपालिकालाई समेत जनाउँछ ।

(ण)  “सञ्चालक” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले समितिको पदाधिकारीलाई समेत जनाउँछ ।

(त)  “सदस्य” भन्नाले सहकारी संस्थाको सदस्यता प्राप्‍त गरेको व्यक्ति सम्झनु पर्छ।

(थ)  “समिति” भन्नाले दफा ४१ को उपदफा (१) बमोजिमको सञ्चालक समिति सम्झनु पर्छ ।

(द)  “सहकारी बैङ्क” भन्नाले दफा १२ बमोजिम गठन भएको सहकारी बैङ्क सम्झनु पर्छ ।

(ध)  “सहकारी मूल्य” भन्नाले स्वावलम्बन, स्व–उत्तरदायित्व, लोकतन्त्र, समानता, समता, ऐक्यवद्धता, इमान्दारी, खुलापन, सामाजिक उत्तरदायित्व तथा अरुको हेरचाह लगायत अन्तरराष्ट्रिय मान्यता प्राप्त सहकारी सम्बन्धी मूल्य सम्झनु पर्छ ।

(न)  “सहकारी व्यवसाय” भन्नाले सहकारी संस्थाको विनियममा व्यवस्था भए बमोजिम सञ्चालित व्यावसायिक क्रियाकलाप सम्झनु पर्छ ।

(प)  “सहकारी सिद्धान्त” भन्नाले स्वेच्छिक तथा खुला सदस्यता, सदस्यद्वारा लोकतान्त्रिक नियन्त्रण, सदस्यको आर्थिक सहभागिता, स्वायत्तता र स्वतन्त्रता, शिक्षा, तालिम र सूचना, सहकारी-सहकारीबीच पारस्परिक सहयोग र समुदायप्रतिको चासो लगायत अन्तर्राष्ट्रिय मान्यता प्राप्‍त सहकारी सम्बन्धी सिद्धान्त सम्झनु पर्छ ।

(फ)  “सहकारी संस्था” भन्नाले संस्था वा सङ्घ सम्झनु पर्छ र सो शब्दले सहकारी बैङ्कलाई समेत जनाउँछ ।

(ब)  “सङ्घ” भन्नाले दफा १५ बमोजिम दर्ता भएको जिल्ला विषयगत सहकारी सङ्घ, जिल्ला सहकारी सङ्घ, प्रदेश विषयगत सहकारी सङ्घ, प्रदेश सहकारी सङ्घ, केन्द्रीय विषयगत सहकारी सङ्घ र विशिष्टिकृत सहकारी सङ्घ सम्झनु पर्छ र सो शब्दले सोही दफा बमोजिम दर्ता भएको राष्ट्रिय सहकारी महासङ्घलाई समेत जनाउँछ ।

(भ)  “संस्था” भन्नाले दफा ३ बमोजिम गठन भई दफा १५ बमोजिम दर्ता भएको विषयगत वा बहुउद्देश्यीय संस्था सम्झनु पर्छ ।

(म)  “साधारण सभा” भन्नाले सहकारी संस्थाको साधारण सभा सम्झनु पर्छ ।