परिच्छेद –१७ निरीक्षण तथा अनुगमन

परिच्छेद –१७ निरीक्षण तथा अनुगमन

९५.    निरीक्षण तथा हिसावकिताब जाँच गर्ने : (१) रजिष्ट्रार वा रजिष्ट्रारबाट अधिकार प्राप्त अधिकारीले सहकारी संस्थाको जुनसुकै वखत निरीक्षण तथा हिसाब जाँच गर्न, गराउन सक्नेछ ।

(२) नेपाल राष्ट्र बैंङ्कले जुनसुकै वखत सहकारी बैङ्क वा तोकिएकोभन्दा बढी आर्थिक कारोबार गर्ने सहकारी संस्थाको हिसाब किताब वा वित्तीय कारोबारको निरीक्षण वा जाँच गर्न, गराउन सक्नेछ।

(३) उपदफा (२) को प्रयोजनको लागि नेपाल राष्ट्र बैङ्कले आफ्ना कुनै अधिकारी वा विशेषज्ञ खटाई आवश्यक विवरण वा सूचनाहरू सहकारी बैङ्कबाट झिकाई निरीक्षण तथा सुपरिवेक्षण गर्न सक्नेछ ।

(४) उपदफा (१) वा (२) बमोजिम निरीक्षण वा हिसाब जाँच गर्दा नेपाल राष्ट्र बैङ्क, रजिष्ट्रार वा रजिष्ट्रारबाट अधिकार प्राप्त अधिकारीले माग गरेको जानकारी सम्बन्धित सहकारी संस्थाले उपलब्ध गराउनु पर्नेछ ।

(५) उपदफा (१) वा (२) बमोजिम निरीक्षण वा हिसाब जाँच गर्दा कुनै सहकारी संस्थाको कारबाही यो ऐन, यस ऐन अन्तर्गत बनेको नियम, निर्देशिका, मापदण्ड वा कार्यविधि बमोजिम भएको नपाइएमा नेपाल राष्ट्र बैङ्क, रजिष्ट्रार, रजिष्ट्रारबाट अधिकार प्राप्‍त अधिकारीले सम्बन्धित सहकारी संस्थालाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु त्यस्तो सहकारी संस्थाको कर्तव्य हुनेछ ।

(६) नेपाल राष्ट्र बैङ्कले यस दफा बमोजिम सहकारी बैङ्कको निरीक्षण तथा सुपरिवेक्षण गर्दा नेपाल राष्ट्र बैङ्कले प्रचलित कानून बमोजिमको अधिकार प्रयोग गर्न सक्नेछ।

(७) यस दफा बमोजिम सहकारी बैङ्कको निरीक्षण तथा सुपरिवेक्षण गर्दा प्राप्‍त हुन आएको जानकारी नेपाल राष्ट्र बैङ्कले विभागलाई उपलब्ध गराउनु पर्नेछ ।

(८) नेपाल राष्ट्र बैङ्कले तोकेको समय र ढाँचामा सहकारी बैङ्कले वित्तीय विवरण र अन्य आवश्यक तथ्याङ्क तथा कागजात नेपाल राष्ट्र बैङ्कमा पेश गर्नु पर्नेछ ।

9६.    छानबिन गर्न सक्ने : (१) कुनै सहकारी संस्थाको व्यावसायिक कारोबार सन्तोषजनक नभएको, सदस्यको हित विपरीत काम भएको वा सो संस्थाको उद्देश्य विपरीत कार्य गरेको भनी त्यस्तो संस्थाको कम्तीमा पाँच प्रतिशत सदस्यले छानबिनको लागि निवेदन दिएमा रजिष्ट्रार वा रजिष्ट्रारबाट अधिकार प्राप्त अधिकारीले त्यस्तो संस्थाको छानबिन गर्न, गराउन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम छानिवन गर्दा माग गरेको विवरण वा कागजात उपलब्ध गराई सहयोग गर्नु सम्बन्धित समितिको कर्तव्य हुनेछ ।

(३) उपदफा (१) वा (२) बमोजिम गरिएको छानबिनको जानकारी सम्बन्धित सहकारी संस्थालाई लिखित रूपमा दिनु पर्नेछ ।

9७. बचत तथा ऋणको कारोबार गर्ने संस्था वा सङ्घको निरीक्षण तथा अनुगमन सम्बन्धी विशेष व्यवस्था : (१) बचत तथा ऋणको मुख्य कारोबार गर्ने संस्था वा सङ्घले तोकिए बमोजिम अनुगमन प्रणाली अवलम्बन गर्नु पर्नेछ ।

(२) रजिष्ट्रार वा रजिष्ट्रारबाट अधिकार प्राप्त अधिकारीले बचत तथा ऋणको कारोबार गर्ने संस्था, वा सङ्घको तोकिए बमोजिमको अनुगमन प्रणालीमा आधारित भई निरीक्षण तथा अनुगमन गर्नेछ ।

(३) उपदफा (२) बमोजिम संस्था वा सङ्घको निरीक्षण तथा अनुगमन गर्दा रजिष्ट्रार वा रजिष्ट्रारबाट अधिकार प्राप्त अधिकारीले आवश्यकता अनुसार नेपाल राष्ट्र बैङ्क लगायतका अन्य निकायको सहयोग लिन सक्नेछ ।

(४) बचत तथा ऋणको मुख्य कारोबार गर्ने संस्था वा सङ्घको निरीक्षण तथा अनुगमन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

९८.   मन्त्रालयले निरीक्षण तथा अनुगमन गर्ने : (१) रजिष्ट्रार वा रजिष्ट्रारबाट अधिकार प्राप्त अधिकारीबाट कुनै सहकारी संस्थाको निरीक्षण नभएको वा त्यस्तो निरीक्षण प्रभावकारी नभएकाले सदस्यको हितमा प्रतिकूल असर परेको भनी कुनै स्रोतबाट जानकारी हुन आएमा मन्त्रालयले त्यस्तो सहकारी संस्थाको निरीक्षण तथा अनुगमन गरी सम्बन्धित सहकारी संस्थालाई आवश्यक निर्देशन दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम निर्देशन दिएमा त्यस्तो निर्देशनको पालना गर्नु सम्बन्धित सहकारी संस्थाको कर्तव्य हुनेछ ।

९९.    सङ्घले निरीक्षण तथा अनुगमन गर्नु पर्ने : (१) सङ्घले आफ्ना सदस्यको काम कारबाहीको तोकिए बमोजिम निरीक्षण तथा अनुगमन गरी सो को प्रतिवेदन विभाग तथा कार्यालयलाई दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको प्रतिवेदनमा देहायका विवरणहरू समावेश गर्नु पर्नेछ :-

(क)  अनुगमन तथा निरीक्षण गरेको संस्था वा सङ्घको विवरण,

(ख)  संस्था वा सङ्घमा यो ऐन, यस ऐन अन्तर्गत बनेको नियम र विनियमको पालनाको अवस्था,

(ग)  सदस्यहरूले प्राप्त गरेको सेवा सुविधाको अवस्था,

(घ)  सदस्यहरूको सहभागिताको स्तर,

(ङ)  संस्था वा सङ्घको आर्थिक र वित्तीय अवस्था तथा कोषको परिचालन,

(च)  तोकिए बमोजिमका अन्य व्यवस्था ।

(३) उपदफा (२) बमोजिम सङ्घले अनुगमन गर्दा आफू मातहतका कुनै संस्था वा सङ्घको काम कारबाहीमा कुनै त्रुटि फेला परेमा त्यस्तो त्रुटि सच्याउन सम्बन्धित संस्था वा सङ्घलाई सुझाव वा निर्देशन दिन सक्नेछ र त्यस्तो सुझाव वा निर्देशनको पालना गर्नु सम्बन्धित संस्था वा सङ्घको कर्तव्य हुनेछ ।

(४) उपदफा (३) बमोजिम दिएको सुझाव वा निर्देशनको पालना नभएमा रजिष्ट्रार वा रजिष्ट्रारबाट अधिकार प्राप्त अधिकारी समक्ष कारबाहीको सिफारिश गर्नेछ ।

(५) उपदफा (३) बमोजिम दिएको सुझाव वा निर्देशन सम्बन्धी विषय सङ्घको वार्षिक प्रतिवेदनमा समेत उल्लेख गर्नु पर्नेछ ।

१००. वार्षिक प्रतिवेदन पेश गर्नु पर्ने : (१) रजिष्ट्रारले आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र सहकारी संस्थाको निरीक्षण सम्बन्धी वार्षिक प्रतिवेदन मन्त्रालयसमक्ष पेश गर्नु पर्नेछ र सहकारी बैङ्कको निरीक्षण प्रतिवेदन नेपाल राष्ट्र बैङ्क समेतलाई उपलब्ध गराउनु पर्नेछ ।

(२) कार्यालयले आर्थिक वर्ष समाप्त भएको मितिले एक महिनाभित्र आफ्नो कार्यक्षेत्र भित्रको संस्था वा सङ्घको वार्षिक प्रतिवेदन रजिष्ट्रार समक्ष पेश गर्नु पर्नेछ ।

(३) उपदफा (१) र (२) बमोजिमको प्रतिवेदनमा देहायका विवरणहरू खुलाउनु पर्नेछ:–

(क)  सञ्चालनमा रहेका सहकारी संस्थाको विवरण,

(ख)  अनुगमन गरिएका सहकारी संस्थाको सङ्ख्या तथा आर्थिक कारोबारको विवरण,

(ग)  सहकारी संस्थामा सहकारी सिद्धान्त र यो ऐन, यस ऐन अन्तर्गत बनेको नियम, विनियम तथा आन्तरिक कार्यविधिको पालनाको अवस्था,

(घ)  सहकारी संस्थाका सदस्यले प्राप्‍त गरेको सेवा सुविधाको अवस्था,

(ङ)  सहकारी संस्थाको क्रियाकलापमा सदस्यको सहभागिताको स्तर अनुपात,

(च)  सहकारी संस्थाको आर्थिक क्रियाकलाप तथा वित्तीय अवस्था सम्बन्धी तोकिए बमोजिमका विवरण,

(छ)  सहकारी संस्थामा आन्तरिक नियन्त्रण प्रणालीको अवस्था,

(ज)  सहकारी संस्थामा सुशासन तथा जिम्मेवारीको अवस्था,

(झ)  सहकारी संस्थामा रहेका कोषको विवरण,

(ञ)  सहकारीको नीति निर्माणमा सहयोग पुग्ने आवश्यक कुराहरू,

(ट)  सहकारी संस्थाको दर्ता, खारेजी तथा विघटन सम्बन्धी विवरण,

(ठ)  संस्था वा सङ्घले सञ्चालन गरेको दफा २१ बमोजिमको कारोबार, व्यवसाय, उद्योग वा परियोजनाको विवरण,

(ड)  तोकिए बमोजिमका अन्य विवरण ।

१०१. सहकारी बचत तथा कर्जा सुरक्षण कोष : (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले प्रदेश सरकार वा स्थानीय तहले सहकारी संस्थाहरूको सहभागितामा संस्थाहरूले परिचालन गर्ने बचत र प्रदान गर्ने कर्जाको सुरक्षण व्यवस्थाको लागि एक सहकारी बचत तथा कर्जा सुरक्षण कोष खडा गर्न सक्नेछ ।

(२) सहकारी बचत तथा कर्जा सुरक्षण कोष सञ्चालन सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।

१०२. आपसी सुरक्षण सेवा सञ्चालन गर्न सक्ने : (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि संस्थाले बीमा समितिबाट स्वीकृत योजनाको शर्त बन्देज अनुसार आफ्ना सदस्यहरूको बालीनाली वा वस्तुभाउ जस्ता योजनामा उल्लिखित कारणले भएको क्षतिको निश्चित अंशपूर्ति गर्ने गरी निर्धारित अधिकतम सीमा र शुल्कसम्मको आपसी सुरक्षण सेवा सञ्चालन गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम आपसी सुरक्षण सेवा सञ्चालन गर्न संस्थाको न्यूनतम मापदण्ड र अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

१०३. स्थिरीकरण कोष : (१) बचत तथा ऋण विषयगत संस्थाको सञ्चालनमा सम्भावित जोखिमबाट संरक्षण गर्न त्यस्ता संस्थाहरू मिली एक स्थिरीकरण कोष खडा गर्न सक्नेछन् ।

(२) उपदफा (१) बमोजिमको कोषमा इच्छुक सहकारी संस्था, बचत तथा ऋण विषयगत केन्द्रीय सहकारी सङ्घमा सदस्य रहेका सहकारी संस्था, राष्ट्रिय सहकारी महासङ्घ, राष्ट्रिय सहकारी बैङ्क, राष्ट्रिय सहकारी विकास बोर्ड, नेपाल राष्ट्र बैङ्क, मन्त्रालय, नेपाल सरकारका अन्य निकाय र अन्तर्राष्ट्रिय सहकारी सङ्घहरूको योगदान रहन सक्नेछ ।

(३) स्थिरीकरण कोष बचत तथा ऋण विषयगत केन्द्रीय सङ्घमा रहनेछ ।

(४) स्थिरीकरण कोषको सञ्चालनका लागि बचत तथा ऋण केन्द्रीय सङ्घ, राष्ट्रिय सहकारी बैङ्क, राष्ट्रिय सहकारी महासङ्घ, राष्ट्रिय सहकारी विकास वोर्ड, नेपाल राष्ट्र बैङ्क, मन्त्रालय, अर्थ मन्त्रालय, र विभागको प्रतिनिधी समेत रहने गरी तोकिए बमोजिमको सञ्चालन समिति रहनेछ ।

(५) स्थिरीकरण कोषमा सहभागी संस्थाले वार्षिक बचतबाट दफा ६८ बमोजिम जगेडा कोषमा छुट्यार्इ तोकिए बमोजिमको रकम जम्मा गर्न सक्नेछन् ।

(६) स्थिरीकरण कोषको रकम तोकिएको बैङ्कमा खाता खोली राख्नु पर्नेछ ।

(७) स्थिरिकरण कोषको उपयोग देहायको प्रयोजनमा गर्न सकिनेछ :-

(क)  सहभागी संस्थाको तरलता कायम राख्न र समस्याग्रस्त सहकारीको बचाउको लागि सापटी दिन,

(ख)    सहभागी संस्था समस्याग्रस्त भएको अवस्थामा दफा १०५ बमोजिम गठन भएको व्यवस्थापन समितिको खर्च व्यहोर्न,

(ग)   सहभागी संस्था समस्याग्रस्त भई दफा ११४ को खण्ड (घ) बमोजिम त्यस्तो संस्थाको सञ्चालनको जिम्मेवारी महासङ्घले लिएमा त्यस्तो संस्थाको दायित्व भुक्तानी लगायत पुनःसञ्चालनमा उपयोग गर्न,

(घ)   स्थिरीकरण कोष सञ्चालक समितिको खर्च व्यहोर्न र तोकिए बमोजिम अन्य कार्यमा उपयोग गर्न,

(८) स्थिरीकरण कोष सञ्चालन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।