परिच्छेद–१ प्रारम्भिक

परिच्छेद–१ प्रारम्भिक

१. संक्षिप्त नाम, विस्तार र प्रारम्भः (१) यस ऐनको नाम “विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३” रहेको छ ।
(२) यो ऐन सम्वत् २०६३ साल भाद्र २४ गतेदेखि प्रारम्भ भएको मानिनेछ ।
(३) यो ऐन नेपाल राज्यभर लागू हुनेछ र यो ऐनको उल्लंघन गरी कसूर गर्ने जहाँसुकै रहे बसेको व्यक्ति समेतलाई यो ऐन लागू हुनेछ ।
२. परिभाषा ः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “एसिमेट्रिक क्रिप्टो सिस्टम” भन्नाले डिजिटल हस्ताक्षर सृजना गर्ने निजी साँचो र डिजिटल हस्ताक्षरको सम्पुष्टि गर्ने सार्वजनिक साँचो समावेश भएको एक सुरक्षित जोडी साँचो उत्पन्न गर्ने प्रणाली सम्झनु पर्छ ।
(ख) “इजाजतपत्र” भन्नाले दफा १८ को उपदफा (३) बमोजिम प्राप्त गरेको इजाजतपत्र सम्झनु पर्छ ।
(ग) “उत्पत्तिकर्ता” भन्नाले विद्युतीय अभिलेख उत्पन्न गर्ने, जम्मा गर्ने वा सम्प्रेषण गर्ने व्यक्ति सम्झनु पर्छ र सो शब्दले त्यस्तो कार्य अन्य कुनै व्यक्तिलाई गर्न लगाउने व्यक्ति समेतलाई जनाउँछ ।
तर सो शब्दले मध्यस्थकर्ता (इन्टरमिडियरी) लाई जनाउने छैन ।
(घ) “कम्प्युटर” भन्नाले विद्युत–चुम्बकीय वा दृश्यगत आवेगहरु परिचालन गरेर तार्किक, अङ्कगणितीय र स्मरणगत कार्य सम्पादन गर्ने विद्युत–चुम्बकीय, दृश्यगत वा अन्य उच्च गतिको तथ्याङ्क प्रशोधन गर्ने संयन्त्र वा प्रणाली सम्झनु पर्छ र सो शब्दले कुनै कम्प्युटर प्रणाली वा कम्प्युटर नेटवर्कमा कम्प्युटरसँग जोडिएका वा सम्बद्ध रहेका सम्पूर्ण आगत (इन्पुट) निर्गत (आउटपुट), प्रशोधन, सञ्चय गर्ने कार्य तथा कम्प्युटर सफ्टवेयर वा सञ्चार सुविधा समेतलाई जनाउँछ ।
(ङ) “कम्प्युटर तथ्याङ्क आधार” (कम्प्युटर डाटावेस) भन्नाले कम्प्युटर, कम्प्युटर प्रणाली वा कम्प्युटर नेटवर्कमा प्रयोग गर्ने उद्देश्यले अक्षर, छवि, ध्वनि वा श्रव्य दृश्यमा औपचारिक तवरले तयार पारिंदै गरेको वा तयार गरिएको वा कम्प्युटर, कम्प्युटर प्रणाली वा कम्प्युटर नेटवर्कद्वारा उत्पादन गरिएको सूचना, ज्ञान तथा अवधारणा वा निर्देशनको प्रस्तुतीकरण सम्झनु पर्छ ।
(च) “कम्प्युटर नेटवर्क” भन्नाले एक अर्कासँग अन्तर–आबद्ध वा सञ्चार सम्पर्कमा रहेका दुई वा दुईभन्दा बढी कम्प्युटरहरुको अन्तर–सम्बद्धता सम्झनु पर्छ ।
(छ) “कम्प्युटर प्रणाली” भन्नाले आगत र निर्गत सहायता संयन्त्रहरु लगायतको कम्प्युटर कार्यक्रमहरु, विद्युतीय निर्देशनहरु, आगत र निर्गत तथ्याङ्कहरु समाविष्ट भएको र तार्किक, अङ्कगणितीय, तथ्याङ्क सञ्चय तथा पुनः प्राप्ति, सञ्चार र नियन्त्रण लगायतका कार्यहरु सम्पादन गर्ने कुनै संयन्त्र वा संयन्त्रको समूह सम्झनु पर्छ ।
(ज) “कम्प्युटर सम्पदा” (कम्प्युटर रिसोेर्स) भन्नाले कम्प्युटर, कम्प्युटर प्रणाली, कम्प्युटर नेटवर्क, तथ्याङ्क, कम्प्युटर तथ्याङ्क आधार वा सफ्टवेयर सम्झनु पर्छ ।
(झ) “ग्राहक” (सब्स्क्राइवर) भन्नाले दफा ३१ को उपदफा (३) बमोजिम प्रमाणपत्र प्राप्त गरेको व्यक्ति सम्झनु पर्छ ।
(ञ) “जोडी साँचो” (की पेयर) भन्नाले कुनै एसिमेट्रिक क्रिप्टो सिस्टममा रहेको निजी साँचो र त्यस्तो साँचोले सृजना गर्ने डिजिटल हस्ताक्षरको जाँच सार्वजनिक साँचोले गर्न सक्ने तत्व भएको सो निजी साँचोको गणितीय रुपमा अन्तर आबद्ध सार्वजनिक साँचोको जोडी सम्झनु पर्छ ।
(ट) “तथ्याङ्क” भन्नाले औपचारिक तवरले तयार गरी कम्प्युटर प्रणाली वा कम्प्युटर नेटवर्कमा प्रशोधन गर्ने उद्देश्यले राखिएको वा प्रशोधन गरिएको वा कम्प्युटरको स्मरणमा जम्मा गरिएको जुनसुकै स्वरुपमा रहेका सूचना, ज्ञान, तथ्य, अवधारणा वा निर्देशनको प्रस्तुतीकरण सम्झनु पर्छ ।
(ठ) “न्यायाधिकरण” भन्नाले दफा ६० बमोजिम गठन भएको सूचना प्रविधि न्यायाधिकरण सम्झनु पर्छ ।
(ड) “निजी साँचो” (प्राइभेट की) भन्नाले डिजिटल हस्ताक्षर सृजना गर्न प्रयोग गरिएको कुनै जोडी साँचोको एक साँचो सम्झनु पर्छ ।
(ढ) “नियन्त्रक” भन्नाले दफा १३ बमोजिम नियुक्त भएको वा तोकिएको नियन्त्रक सम्झनु पर्छ ।
(ण) “डिजिटल हस्ताक्षर” भन्नाले रुपान्तर नभएको प्रारम्भिक विद्युतीय अभिलेख र हस्ताक्षरकारीको सार्वजनिक साँचो भएको व्यक्तिले देहायका कुरा दुरुस्तसँग निर्धारण गर्न सक्ने किसिमका एसिमेट्रिक क्रिप्टो सिस्टम प्रयुक्त भएको विद्युतीय अभिलेखको रुपान्तरणमा समावेश हुने कुनै विद्युतीय स्वरुपमा गरिएको हस्ताक्षर सम्झनु पर्छ ः–
(१) हस्ताक्षरकर्ताको सार्वजनिक साँचोसँग सङ्गति राख्ने किसिमको निजी साँचो प्रयोग गरेर विद्युतीय अभिलेखको रुपान्तरणको सृजना गरिएको थियो वा थिएन, र
(२) विद्युतीय अभिलेखको रुपान्तरण गरिएदेखि प्रारम्भिक विद्युतीय अभिलेख परिवर्तन गरिएको छ वा छैन ।
(त) “पहुँच” (एक्सेस) भन्नाले कुनै कम्प्युटर, कम्प्युटर प्रणाली वा कम्प्युटर नेटवर्कको तार्किक, अङ्कगणितीय वा स्मरण कार्य सम्पदाहरुमा प्रवेश प्राप्त गर्ने, त्यस्ता सम्पदाहरुलाई निर्देशन दिने वा त्यस्ता सम्पदाहरुसँग सञ्चार सम्पर्क गर्न सक्ने अवसर सम्झनु पर्छ ।
(थ) “पुनरावेदन न्यायाधिकरण” भन्नाले दफा ६६ बमोजिम गठन भएको सूचना प्रविधि पुनरावेदन न्यायाधिकरण सम्झनु पर्छ ।
(द) “प्रमाणपत्र” भन्नाले दफा ३० बमोजिम प्रमाणीकरण गर्ने निकायले जारी गरेको डिजिटल हस्ताक्षर प्रमाणपत्र सम्झनु पर्छ ।
(ध) “प्रमाणीकरण अभ्यास विवरणपत्र” (सर्टिफिकेशन प्राक्टिस स्टेटमेण्ट) भन्नाले डिजिटल हस्ताक्षर प्रमाणपत्र जारी गर्दा प्रमाणीकरण गर्ने निकायले लागू गर्ने अभ्यासहरु निश्चित गर्न प्रमाणीकरण गर्ने निकायद्वारा जारी गरिएको कुनै विवरणपत्र सम्झनु पर्छ ।
(न) “प्रमाणीकरण गर्ने निकाय” भन्नाले डिजिटल हस्ताक्षर प्रमाणपत्र जारी गर्न दफा १८ को उपदफा (३) बमोजिम इजाजतपत्रप्राप्त प्रमाणीकरण गर्ने निकाय सम्झनु पर्छ ।
(प) “प्रापक” भन्नाले उत्पत्तिकर्ताको चाहना अनुरुप सम्प्रेषण गरिएका विद्युतीय अभिलेख प्राप्त गर्ने व्यक्ति सम्झनु पर्छ ।
तर सो शब्दले मध्यस्थकर्ता (इन्टरमिडीयरी) लाई जनाउने छैन ।
(फ) “विद्युतीय अभिलेख” (इलेक्ट्रोनिक रेकर्ड) भन्नाले विद्युतीय स्वरुपको कुनै माध्यमबाट सृजना गरी सम्प्रेषण गरिएका, प्राप्त गरिएका वा जम्मा गरिएका तथ्याङ्क, अभिलेख, छवि वा ध्वनि सम्झनु पर्छ ।
(ब) “विद्युतीय स्वरुप” (इलेक्ट्रोनिक फर्म) भन्नाले कुनै चुम्बकीय, दृश्यगत, कम्प्युटर स्मरण वा अन्य त्यस्तै प्रकारका कुनै संयन्त्रको माध्यमबाट सृजना गरी सम्प्रेषण गरिएका, प्राप्त गरिएका वा जम्मा गरिएका सूचनाको स्वरुप सम्झनु पर्छ ।
(भ) “सार्वजनिक साँचो” (पब्लिक की) भन्नाले डिजिटल हस्ताक्षरको सम्पुष्टि गर्न प्रयोग गरिएको कुनै जोडी साँचोको एक साँचो सम्झनु पर्छ ।
(म) “सूचना” भन्नाले तथ्याङ्क, अक्षरमा लिपिबद्ध गरिएको विवरण, छवि, ध्वनि, सङ्केत चिन्ह, कम्प्युटर कार्यक्रम, सफ्टवेयर र कम्प्युटर तथ्याङ्क आधार सम्झनु पर्छ ।
(य) “सूचना प्रणाली” भन्नाले सूचना सृजना गर्ने, उत्पादन गर्ने, सम्प्रेषण गर्ने, प्राप्त गर्ने, जम्मा गर्ने, प्रदर्शन गर्ने वा अन्य किसिमबाट प्रशोधन गर्ने प्रणाली सम्झनु पर्छ ।
(र) “सफ्टवेयर” भन्नाले कम्प्युटर हार्डवेयर सञ्चालन गर्ने क्षमता भएको सिस्टम सफ्टवेयर र अप्लिकेशन सफ्टवेयर जस्ता कम्प्युटर प्रणालीको कुनै खास अंश सम्झनु पर्छ ।
(ल) “कम्प्युटर सामग्री” भन्नाले कम्प्युटर सम्पदा, कुनै संस्थाले आफ्नो व्यवसायमा प्रयोग गरेका सूचना, त्यस्तो संस्थाले तयार वा खरिद गरेका सफ्टवेयर जस्ता सामग्री, हार्डवेयर तथा कम्प्युटर नेटवर्क जस्ता प्रविधि सम्झनु पर्छ ।
(व) “सरकारी निकाय” भन्नाले नेपाल सरकारको मन्त्रालय, सचिवालय, विभाग वा सो अन्तर्गतका कार्यालय, संवैधानिक निकाय वा सो अन्तर्गतका कार्यालय, अदालत वा न्यायाधिकरण वा नेपाली सेनाको कार्यालय सम्झनु पर्छ र सो शब्दले त्यस्तै प्रकृतिका अन्य कार्यालय समेतलाई जनाउँछ ।
(श) “सार्वजनिक संस्था” भन्नाले देहायका संस्था सम्झनु पर्छः–
(१) नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व वा नियन्त्रण भएको कम्पनी, बैङ्क वा समिति वा प्रचलित कानून बमोजिम नेपाल सरकारद्वारा स्थापित आयोग, संस्था, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद् र यस्तै प्रकृतिका अन्य सङ्गठित संस्था,
(२) नेपाल सरकारद्वारा सञ्चालित वा नेपाल सरकारको पूर्ण वा आंशिक अनुदानप्राप्त विश्वविद्यालय, विद्यालय, अनुसन्धान केन्द्र र अन्य त्यस्तै प्राज्ञिक वा शैक्षिक संस्था,
(३) स्थानीय स्वायत्त शासन ऐन, २०५५ बमोजिम गठित स्थानीय निकाय,
(४) नेपाल सरकारको ऋण, अनुदान वा जमानतमा सञ्चालित संस्था,
(५) उपखण्ड (१), (२), (३) वा (४) मा उल्लिखित संस्थाको पूर्ण वा आंशिक स्वामित्व भएको वा नियन्त्रण रहेको वा त्यस्तो संस्थाबाट अनुदानप्राप्त संस्था,
(६) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सार्वजनिक संस्था भनी तोकेको अन्य संस्था ।
(ष) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।