परिच्छेद–४ नियन्त्रक तथा प्रमाणीकरण गर्ने निकाय सम्बन्धी व्यवस्था

परिच्छेद–४ नियन्त्रक तथा प्रमाणीकरण गर्ने निकाय सम्बन्धी व्यवस्था

१३. नियन्त्रक तथा अन्य कर्मचारीको नियुक्तिः (१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नेपाल सरकारको कुनै अधिकृत कर्मचारी वा तोकिए बमोजिम योग्यता पुगेको कुनै व्यक्तिलाई नियन्त्रकको पदमा तोक्न वा नियुक्ति गर्न सक्नेछ ।
(२) नेपाल सरकारले यस ऐन बमोजिम नियन्त्रकले गर्नु पर्ने काममा सहयोग पु¥याउन आवश्यकता अनुसार उप–नियन्त्रक र अन्य कर्मचारीहरु खटाउन वा नियुक्ति गर्न सक्नेछ । यसरी खटाइएका वा नियुक्ति भएका कर्मचारीहरुले नियन्त्रकको निर्देशन तथा नियन्त्रणमा रही काम गर्नेछन् ।
१४. नियन्त्रकको काम, कर्तव्य र अधिकारः नियन्त्रकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) प्रमाणीकरण गर्ने निकायलाई इजाजतपत्र प्रदान गर्ने,
(ख) प्रमाणीकरण गर्ने निकायको काम कारबाहीको सुपरिवेक्षण र रेखदेख गर्ने,
(ग) प्रमाणीकरण गर्ने निकायले डिजिटल हस्ताक्षरको सम्पुष्टि गर्ने सम्बन्धमा कायम गर्नु पर्ने स्तरहरु निर्धारण गर्ने,
(घ) प्रमाणीकरण गर्ने निकायले आफ्नो कारोबार सञ्चालन गर्दा पालन गर्नु पर्ने शर्त निर्धारण गर्ने,
(ङ) प्रमाणपत्रको ढाँचा र त्यसभित्र समाविष्ट हुनु पर्ने विषय वस्तुको निर्धारण गर्ने,
(च) प्रमाणीकरण गर्ने निकायले ग्राहकसँग व्यवहार गर्दा अपनाउनु पर्ने प्रक्रिया निर्धारण गर्ने,
(छ) प्रमाणीकरण गर्ने निकायले यस ऐन बमोजिम प्रकट गरेका सूचनाहरुको अभिलेख खडा गरी सार्वजनिक रुपमा पहुँचयोग्य हुने गरी कम्प्युटर तथ्याङ्क आधारको व्यवस्था गर्ने र सो तथ्याङ्क आधारलाई अद्यावधिक गर्ने,
(ज) तोकिए बमोजिमको अन्य काम गर्ने ।
१५. इजाजतपत्र प्राप्त गर्नु पर्नेः कसैले पनि यस ऐन बमोजिम इजाजतपत्र प्राप्त नगरी प्रमाणीकरण गर्ने निकायको काम गर्न वा गराउन हुँदैन ।
१६. इजाजतपत्र प्राप्त गर्न निवेदन दिनु पर्नेः (१) यस ऐन बमोजिम प्रमाणपत्र जारी गरी प्रमाणीकरण गर्ने निकायको काम गर्न तोकिए बमोजिमको योग्यता पुगेको इच्छुक व्यक्तिले प्रमाणीकरण गर्ने इजाजतपत्र प्राप्त गर्नका लागि तोकिए बमोजिमको ढाँचामा तोकिए बमोजिमको दस्तुर संलग्न गरी नियन्त्रक समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम दिइने निवेदन साथ निवेदकले देहायका कागजातहरु समेत संलग्न गर्नु पर्नेछ ः–
(क) प्रमाणीकरण सम्बन्धी विवरण,
(ख) निवेदकको पहिचान तथा सनाखतको पुष्टि हुने किसिमका कागजातहरु,
(ग) वित्तीय स्रोत, जनशक्ति तथा आवश्यक अन्य सुविधा खुल्ने कागजातहरु,
(घ) तोकिए बमोजिमका अन्य कागजातहरु ।
(३) नियन्त्रकले आवश्यक ठानेमा प्रमाणीकरण गर्ने निकायको रुपमा निवेदकले काम गर्न सक्ने वा नसक्ने सम्बन्धमा निवेदकको उपयुक्तता जाँच गर्न निवेदकसँग आवश्यक थप कागजात तथा विवरण माग गर्न सक्नेछ । यसरी आवश्यक थप कागजात तथा विवरण माग गरिएमा निवेदकले त्यस्ता कागजात तथा विवरण दाखिला नगरेसम्म निजको निवेदन उपर कुनै कारबाही गरिने छैन ।
१७. प्रमाणीकरण गर्ने निकायको अन्य काम तथा कर्तव्यः प्रमाणपत्र जारी गर्ने, निलम्बन गर्ने वा रद्द गर्ने काम बाहेक प्रमाणीकरण गर्ने निकायको अन्य काम तथा कर्तव्य तोकिए बमोजिम हुनेछ ।
१८. इजाजतपत्र प्रदान गर्ने कार्यविधिः (१) दफा १६ बमोजिमको निवेदन प्राप्त हुन आएमा नियन्त्रकले निवेदकको योग्यता र तोकिए बमोजिमको वित्तीय तथा भौतिक स्रोत, जनशक्ति तथा अन्य सुविधाहरु निवेदकसँग भए नभएको र निवेदकले पेश गरेका कागजात तथा विवरणहरु उपर समेत विचार गरी निजलाई इजाजतपत्र प्रदान गर्ने वा नगर्ने सम्बन्धमा निवेदन दर्ता भएको दुई महिनाभित्र निर्णय गरी सोको सूचना निजलाई दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम इजाजतपत्र प्रदान गर्ने सम्बन्धमा निर्णय गर्दा नियन्त्रकले निवेदकसँग भएको सुविधा, वित्तीय तथा भौतिक स्रोतहरुको निरीक्षण गर्न सक्नेछ ।
(३) उपदफा (१) बमोजिम निवेदकलाई इजाजतपत्र प्रदान गर्ने गरी नियन्त्रकले निर्णय गरेमा इजाजतपत्रको बहाली अवधि र निवेदकले पालना गर्नु पर्ने शर्तहरु समेत उल्लेख गरी तोकिए बमोजिमको ढाँचामा निवेदकलाई इजाजतपत्र प्रदान गर्नु पर्नेछ ।
(४) इजाजतपत्र प्रदान गर्ने सम्बन्धी अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ ।
१९. इजाजतपत्र नवीकरण गर्नु पर्नेः (१) प्रमाणीकरण गर्ने निकायले प्राप्त गरेको इजाजतपत्र प्रत्येक वर्ष नवीकरण गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम इजाजतपत्रको नवीकरण गर्न चाहने प्रमाणीकरण गर्ने निकायले तोकिए बमोजिमको ढाँचामा तोकिए बमोजिमको नवीकरण दस्तुर संलग्न राखी इजाजतपत्रको बहाली अवधि समाप्त हुनुभन्दा कम्तीमा दुई महिना अघि नियन्त्रक समक्ष निवेदन दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम नवीकरणको लागि निवेदन पर्न आएमा नियन्त्रकले इजाजतपत्र नवीकरण गर्ने वा नगर्ने भन्ने सम्बन्धमा तोकिए बमोजिमको प्रक्रिया पूरा गरी इजाजतपत्रको बहाली अवधि समाप्त हुनुभन्दा एक महिना अगावै निर्णय गरिसक्नु पर्नेछ ।
(४) नियन्त्रकले इजाजतपत्र नवीकरण नगर्ने निर्णय गर्दा निवेदकलाई तत्सम्बन्धमा आफ्नो भनाई प्रस्तुत गर्ने मनासिब मौका दिनु पर्नेछ ।
२०. इजाजतपत्र निलम्बन गर्न सक्नेः (१) प्रमाणीकरण गर्ने निकायले इजाजतपत्र प्राप्त गर्नको लागि नियन्त्रक समक्ष पेश गरेको कागजात वा विवरण र वित्तीय तथा भौतिक स्रोत फरक वा झुट्टा भएमा वा कारोबार सञ्चालन गर्दा पालन गर्नु पर्ने शर्तको पालना नगरेमा वा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको उल्लंघन गरेको पाइएमा नियन्त्रकले तत्सम्बन्धमा जाँचबुझ पूरा नभएसम्मका लागि प्रमाणीकरण गर्ने निकायको इजाजतपत्र निलम्बन गर्न सक्नेछ ।
तर त्यसरी इजाजतपत्र निलम्बन गर्नु अघि प्रमाणीकरण गर्ने निकायलाई आफ्नो सफाई पेश गर्ने मनासिब मौका दिनु पर्नेछ ।
(२) इजाजतपत्र निलम्बन गर्ने सम्बन्धी अन्य कार्यविधि र तत्सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।
२१. इजाजतपत्र रद्द गर्न सक्नेः (१) प्रमाणीकरण गर्ने निकायको काम कारबाहीका सम्बन्धमा तोकिए बमोजिमको रीत पु¥याई भएको जाँचबुझबाट देहायका कुनै कुरा हुन गएको देखिएमा नियन्त्रकले यस ऐन बमोजिम जारी गरेको इजाजतपत्र जुनसुकै बखत रद्द गर्न सक्नेछः–
(क) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम अन्तर्गत पालन गर्नु पर्ने दायित्व प्रमाणीकरण गर्ने निकायले पालना नगरेकोमा,
(ख) प्रमाणीकरण गर्ने निकायले इजाजतपत्र प्राप्त गर्नको लागि निवेदन दिंदाका बखत वा इजाजतपत्र नवीकरणको लागि निवेदन दिंदाका बखत झुट्टा वा गलत विवरण तथा कागजात दाखिला गरेको देखिएकोमा,
(ग) प्रमाणीकरण गर्ने निकायले सार्वजनिक हित वा राष्ट्रिय अर्थतन्त्रलाई प्रतिकूल असर पर्ने किसिमबाट कारोबार सञ्चालन गरेकोमा,
(घ) प्रमाणीकरण गर्ने निकायले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम अन्तर्गत कसूर ठहरिने कुनै काम गरेकोमा,
(२) उपदफा (१) बमोजिम नियन्त्रकले इजाजतपत्र रद्द गर्नु अघि प्रमाणीकरण गर्ने निकायलाई सफाई पेश गर्ने मनासिब मौका दिनु पर्नेछ ।
(३) इजाजतपत्र रद्द गर्ने सम्बन्धी अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ ।
२२. इजाजतपत्र निलम्बन वा रद्द गरिएको सूचनाः (१) नियन्त्रकले दफा २० वा २१ बमोजिम कुनै प्रमाणीकरण गर्ने निकायको इजाजतपत्र निलम्बन वा रद्द गर्ने गरी गरेको निर्णयको सूचना त्यस्तो प्रमाणीकरण गर्ने निकायलाई लिखित रुपमा दिनु पर्नेछ र त्यस्तो सूचना आफ्नो कम्प्युटर तथ्याङ्क आधारमा राखी विद्युतीय स्वरुपमा समेत प्रकाशन गर्नु पर्नेछ ।
(२) नियन्त्रकले इजाजतपत्र निलम्बन वा रद्द गरेको निर्णयको सूचना नेपाली र अंग्रेजी भाषाका कम्तीमा दुईवटा राष्ट्रिय दैनिक पत्रिकामा दुई पटकसम्म प्रकाशन गर्नु पर्नेछ ।
तर त्यस्तो सूचना प्रकाशन नभएको कारणबाट नियन्त्रकले दफा २० वा २१ बमोजिम इजाजतपत्र निलम्बन वा रद्द गर्ने गरी गरेको निर्णय उपर कुनै असर पर्ने छैन ।
२३. प्रमाणीकरण गर्ने विदेशी निकायलाई मान्यता दिन सक्नेः (१) नियन्त्रकले कुनै विदेशी मुलुकको कानून बमोजिम प्रमाणपत्र जारी गर्ने इजाजतपत्र प्राप्त गरेको प्रमाणीकरण गर्ने निकायलाई नेपाल सरकारको पूर्व स्वीकृति लिई नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिए बमोजिमको शर्त पालना गर्ने गरी मान्यता दिन सक्नेछ । यसरी मान्यता प्राप्त गरेको प्रमाणीकरण गर्ने विदेशी निकायले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम अन्तर्गत नेपाल राज्यमा प्रमाणपत्र जारी गर्न सक्नेछ ।
(२) उपदफा (१) मा उल्लेख भए बमोजिम प्रमाणीकरण गर्ने विदेशी निकायलाई मान्यता दिंदा अपनाउनु पर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ ।
२४. नियन्त्रकले निर्देशन जारी गर्न सक्ने ः प्रमाणीकरण गर्ने निकायले प्रमाणपत्र जारी गर्ने सम्बन्धमा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम पूरा गर्नु पर्ने दायित्वहरु पालन गर्न लगाउन नियन्त्रकले समय समयमा निर्देशन जारी गर्न सक्नेछ । यसरी जारी गरिएको निर्देशनको पालना गर्नु प्रमाणीकरण गर्ने निकायको कर्तव्य हुनेछ ।
२५. नियन्त्रकले अधिकार प्रत्यायोजन गर्न सक्ने ः नियन्त्रकले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आपूmले गर्नु पर्ने काम गर्न आफुलाई प्राप्त अधिकारमध्ये सबै वा केही अधिकार आफ्नो मातहतका कुनै अधिकृत कर्मचारीले प्रयोग गर्न पाउने गरी प्रत्यायोजन गर्न सक्नेछ ।
२६. नियन्त्रकले जाँचबुझ गर्न सक्नेः (१) प्रमाणीकरण गर्ने निकाय वा अन्य सम्बन्धित व्यक्तिबाट यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमको पालना नभएको भन्ने कुरामा नियन्त्रक विश्वस्त भएमा नियन्त्रक आफैले वा अन्य कुनै अधिकृत कर्मचारीद्वारा तत्सम्बन्धमा आवश्यक जाँचबुझ गर्न गराउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको जाँचबुझमा सहयोग पु¥याउनु प्रमाणीकरण गर्ने निकायको कर्तव्य हुनेछ ।
(३) उपदफा (१) बमोजिम गरिने जाँचबुझको सम्बन्धमा नियन्त्रक वा अन्य कुनै अधिकृत कर्मचारीले अपनाउनु पर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ ।
२७. प्रमाणीकरण गर्ने निकायको कार्य सम्पादन परीक्षणः (१) नियन्त्रकले प्रत्येक वर्ष प्रमाणीकरण गर्ने निकायको कार्य सम्पादनको परीक्षण गर्न गराउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको कार्य सम्पादन परीक्षण गर्नको लागि नियन्त्रकले कम्प्युटर सुरक्षणमा विशेषज्ञता हासिल गरेका मान्यताप्राप्त लेखा परीक्षक वा कम्प्युटर विशेषज्ञलाई नियुक्त गर्न सक्नेछ ।
(३) उपदफा (१) बमोजिम गरिएको कार्य सम्पादन परीक्षणको प्रतिवेदन नियन्त्रकले आफ्नो कम्प्युटर तथ्याङ्क आधारमा राखी विद्युतीय स्वरुपमा प्रकाशन गर्नु पर्नेछ ।
(४) कार्य सम्पादन परीक्षण गर्ने परीक्षकको योग्यता, पारिश्रमिक र परीक्षणको कार्यविधि तोकिए बमोजिम हुनेछ ।
(५) नियन्त्रकले प्रमाणीकरण गर्ने निकायको सेवा स्तर निर्धारण गरी सोको सूचना सर्वसाधारणको जानकारीको लागि सार्वजनिक रुपमा प्रकाशन गर्नु पर्नेछ ।
२८. नियन्त्रकले कम्प्युटर र तथ्याङ्कमा पहुँच पाउनेः (१) कसैले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको उल्लंघन गरेको छ भन्ने शङ्का गर्नु पर्ने मनासिब कारण भएमा कुनै पनि कम्प्युटर प्रणाली, उपकरण, यन्त्र, तथ्याङ्क, सूचना प्रणाली वा त्यस्तो प्रणालीसँग जोडिएको कुनै पनि सामग्रीमा पहुँच पाउने अधिकार नियन्त्रकलाई हुनेछ ।
(२) उपदफा (१) को प्रयोजनको लागि नियन्त्रकले कुनै पनि कम्प्युटर प्रणाली, उपकरण, यन्त्र, तथ्याङ्क, सूचना प्रणाली वा त्यस्तो सूचना प्रणालीसँग जोडिएको कुनै पनि सामग्रीको धनी वा अन्य जिम्मेवार व्यक्तिलाई निजले आवश्यक ठानेको प्राविधिक वा अन्य सहायता उपलब्ध गराउन निर्देशन दिन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम दिएको निर्देशन पालना गर्नु सम्बन्धित व्यक्तिको कर्तव्य हुनेछ ।
२९. अभिलेख राख्नु पर्नेः (१) यस ऐन बमोजिम जारी गरिएका सम्पूर्ण प्रमाणपत्रहरुको अभिलेख नियन्त्रकले राख्नु पर्नेछ ।
(२) उपदफा (१) को प्रयोजनको लागि डिजिटल हस्ताक्षरको गोपनीयता र सुरक्षालाई सुनिश्चित गर्न नियन्त्रकले देहायका कार्यहरु गर्नेछः–
(क) कम्प्युटर सुरक्षण प्रणाली उपयोग गर्ने,
(ख) डिजिटल हस्ताक्षरको गोपनीयता र अखण्डतालाई सुनिश्चित गर्न सुरक्षण कार्यविधि लागू गर्ने,
(ग) तोकिए बमोजिमको स्तरको पालना गर्ने ।
(३) नियन्त्रकले सबै सार्वजनिक साँचोहरुको एउटा कम्प्युटर प्रणालीमा आबद्ध कम्प्युटर तथ्याङ्क आधार अद्यावधिक रुपमा कायम गरी राख्नु पर्नेछ ।
(४) डिजिटल हस्ताक्षर सम्पुष्टि गर्ने प्रयोजनको लागि सार्वजनिक साँचो उपलब्ध गराउन अनुरोध गर्ने कुनै पनि व्यक्तिलाई नियन्त्रकले सार्वजनिक साँचो उपलब्ध गराउनु पर्नेछ ।