परिच्छेद – १ प्रारम्भिक

परिच्छेद – १ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भः (१) यस ऐनको नाम “दूर संचार ऐन, २०५३” रहेकोछ ।
(२) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको मितिदेखि प्रारम्भ हुनेछ ।
२. परिभाषाः विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “दूरसञ्चार” भन्नाले आवाज, चिन्ह, संकेत, लेखोट, आकृति, कुनै प्रकारको गोप्य संकेत वा खबर उत्सर्जन (इमिसन), प्रसारण वा प्राप्तिको लागि कुनै तरिकाले पुनव्र्यवस्था, गणना वा अन्य परिवर्तन गरेको वा नगरेको त्यस्तो आवाज, चिन्ह, संकेत, लेखोट, आकृति वा गोप्य संकेत वा खबर, विद्युतीय माध्यमबाट तार, रेडियो, प्रकाश (अप्टीकल) वा अन्य विद्युत चुम्बकीय प्रणालीद्वारा उत्सर्जन, प्रसारण वा प्राप्ति गर्ने कार्य सम्झनु पर्छ ।
(ख) “दूरसञ्चार लाइन” भन्नाले दूरसञ्चार प्रणालीको सन्दर्भमा प्रयोग गरेको वा गरिने कुनै तार, केवुल, उपकरण, टावर, खम्बा, एन्टिना, सुरुङ, प्वाल, खाडल, लठ्ठा वा अन्य संरचना वा वस्तु सम्झनु पर्छ ।
(ग) “दूरसञ्चार प्रणाली” भन्नाले दूरसञ्चार प्रणालीको सन्दर्भमा प्रयोग गरेको वा गरिने उपकरण वा उपकरणहरुको समूह सम्झनु पर्छ ।
(घ) “दूरसञ्चार सेवा” भन्नाले कुनै आवाज, चिन्ह, संकेत, लेखोट, आकृति, गोप्य संकेत वा खबर, उत्सर्जन, प्रसारण वा प्राप्तिको लागि कुनै तरिकाले पुनव्र्यवस्था, गणना वा अन्य परिवर्तन गरेको वा नगरेको त्यस्तो आवाज, चिन्ह, संकेत, लेखोट, आकृति वा गोप्य संकेत वा खबर, तार, रेडियो, प्रकाश वा अन्य विद्युत चुम्बकीय प्रणालीद्वारा आदान प्रदान गर्ने कार्य सम्बन्धी सेवा सम्झनु पर्छ ।
(ङ) “प्राधिकरण” भन्नाले दफा ३ बमोजिम स्थापना भएको नेपाल दूरसञ्चार प्राधिकरण सम्झनु पर्छ ।
(च) “अध्यक्ष” भन्नाले प्राधिकरणको अध्यक्ष सम्झनु पर्छ ।
(छ) “सदस्य” भन्नाले प्राधिकरणको सदस्य सम्झनु पर्छ र सो शब्दले अध्यक्षलाई समेत जनाउँछ ।
(ज) “अनुमतिपत्र” भन्नाले दफा २४ बमोजिम दूरसञ्चार सेवा संचालन गर्न दिइएको अनुमपित्र सम्झनु पर्छ ।
(झ) “अनुमतिपत्र प्राप्त व्यक्ति” भन्नाले दफा २४ बमोजिम दूरसञ्चार सेवा संचालन गर्न अनुमतिपत्र पाएको व्यक्ति सम्झनु पर्छ ।
(ञ) “ग्राहक” भन्नाले अनुमतिपत्र प्राप्त व्यक्तिले उपलब्ध गराएको दूरसञ्चार सेवा ग्रहण गर्ने व्यक्ति सम्झनु पर्छ ।
(ट) “शुल्क” भन्नाले यस ऐन बमोजिम दूरसञ्चार सेवा उपलब्ध गराए बापत ग्राहकबाट लिइने महसुल सम्झनु पर्छ ।
(ठ) “व्यक्ति” भन्नाले प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थालाई समेत जनाउँछ ।
(ड) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियम वा विनियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।