परिच्छेद – ५ अनुमतिपत्र सम्बन्धी व्यवस्था

परिच्छेद – ५ अनुमतिपत्र सम्बन्धी व्यवस्था

२१. अनुमतिपत्र नलिई दूरसञ्चार सेवा संचालन गर्न नपाइनेः यो ऐन प्रारम्भ भएपछि कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा संचालन गर्न पाउने छैन ।
२२. अनुमतिपत्रको लागि निवेदन दिने सूचना प्रकाशन गर्नु पर्नेः (१) दफा २३ को उपदफा (२) बमोजिम तोकिएको दूरसञ्चार सेवा बाहेक प्राधिकरणले अन्य दूरसञ्चार सेवा संचालन गर्ने अनुमतिपत्र प्रदान गर्नु अघि त्यस्तो सेवाको लागि प्रदान गरिने अनुमतिपत्रको संख्या र दूरसञ्चारको किसिम निर्धारण गरी अनुमतिपत्रको लागि निवेदन दिने म्याद सहितको सूचना सार्वजनिक रुपमा प्रकाशन गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम कुनै दूरसञ्चार सेवाको अनुमतिपत्र प्रदान गरी सकेपछि पाँच वर्षसम्म सोही दूरसञ्चार सेवा संचालन गर्न अर्को अनुमतिपत्र दिइने छैन ।
तर अनुमतिपत्र प्राप्त व्यक्तिले अनुमतिपत्रमा तोकिए बमोजिमको दूरसञ्चार सेवा उपलब्ध गराउन नसकेमा वा वस्तुगत मूल्याङ्कनको आधारमा त्यस्तो दूरसञ्चार सेवाको थप आवश्यकता छ भन्ने देखिएमा प्राधिकरणले अन्य व्यक्तिलाई अनुमतिपत्र दिन यस उपदफाले बाधा पु¥याउने छैन ।
२३. अनुमतिपत्रको लागि निवेदन दिनु पर्नेः (१)यस ऐन बमोजिम दूरसञ्चार सेवा संचालन गर्न चाहने तोकिए बमोजिमको पूँजी, प्राविधिक निपूणता तथा पेशा सम्बन्धी दक्षता भएका योग्य व्यक्तिले आफूले संचालन गर्न चाहेको दूरसञ्चार सेवा सम्बन्धी आर्थिक तथा प्राविधिक अध्ययन प्रतिवेदन र कार्य संचालन योजना संलग्न गरी तोकिए बमोजिमका कुराहरु खुलाई प्राधिकरणले दफा २२ बमोजिम तोकिदिएको म्यादभित्र अनुमतिपत्रको लागि प्राधिकरण समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि नेपाल सरकारले प्राधिकरणको सिफारिश लिई नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिए बमोजिमको दूरसञ्चार सेवा संचालन गर्ने अनुमतिपत्रको लागि जुनसुकै बखत निवेदन दिन सकिनेछ ……………….।
(३) यो ऐन प्रारम्भ हुनु अगावै नेपाल सरकारबाट अनुमति लिई दूरसञ्चार सेवा संचालन गरिहरेका व्यक्तिले आफूले संचालन गरिरहेको सेवा सम्बन्धी विवरणहरु खुलाई यो ऐन प्रारम्भ भएको छ महिनाभित्र अनुमतिपत्रको लागि प्राधिकरण समक्ष निवेदन दिई एक वर्षभित्र अनुमतिपत्र लिइसक्नु पर्नेछ ।
२४. अनुमतिपत्रको व्यवस्थाः (१) दफा २३ बमोजिम निवेदन प्राप्त भएपछि प्राधिकरणले सो सम्बन्धमा आवश्यक जाँचबुझ गर्नेछ र त्यसरी जाँचबुझ गर्दा थप जानकारी वा विवरण लिन आवश्यक देखेमा प्राधिकरणले त्यस्तो निवेदन दिने व्यक्तिसंग थप जानकारी वा विवरण माग गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम आवश्यक जाँचुबझ गर्दा प्राधिकरणले अनुमतिपत्र दिन उपयुक्त देखेमा उपदफा (३) र (४) बमोजिम दिइने अनुमतिपत्र बाहेक अन्य अनुमतिपत्रको लागि तोकिए बमोजिमको दस्तुर लिई निवेदकलाई अनुमतिपत्र दिनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम जाँचबुझ गर्दा दफा २३ को उपदफा (१) अन्तर्गत निवेदन दिने व्यक्तिहरुमध्ये एक जना मात्र त्यस्तो दूरसञ्चार सेवा संचालन गर्न योग्य देखेमा प्राधिकरणले त्यस्तो व्यक्तिसँग वार्ता गरी अनुमतिपत्र दस्तुर, नवीकरण दस्तुर तथा रोयल्टी निर्धारण गरी निवेदकलाई अनुमतिपत्र दिनु पर्नेछ ।
(४) उपदफा (१) बमोजिम जाँचबुझ गर्दा दफा २३ को उपदफा (१) अन्तर्गत निवेदन दिने एकजना भन्दा बढी व्यक्तिहरु त्यस्तो दूरसञ्चार सेवा संचालन गर्न योग्य देखेमा प्राधिकरणले ती सबै व्यक्तिहरुलाई अनुमतिपत्र दस्तुर, नवीकरण दस्तुर तथा रोयल्टीको सम्बन्धमा बढाबढ गर्न सूचना दिई बढाबढमा सबभन्दा बढी बोलकबोल गर्ने व्यक्तिलाई अनुमतिपत्र दिनु पर्नेछ ।
(५) उपदफा (२) बमोजिम अनुमतिपत्र दिंदा निवेदन प्राप्त भएको मितिले वा उपदफा (१) बमोजिम थप जानकारी वा विवरण मागिएकोमा त्यस्तो जानकारी वा विवरण प्राप्त भएको मितिले नब्वे दिन भित्र दिनु पर्नेछ ।
(६) उपदफा (३) वा (४) बमोजिम अनुमतिपत्र दिंदा दफा २३ को उपदफा (१) बमोजिम निवेदन दिने म्याद समाप्त भएको मितिले वा उपदफा (१) बमोजिम थप जानकारी वा विवरण मागिएकोमा त्यस्तो जानकारी वा विवरण प्राप्त भएको मितिले एक सय बीस दिन भित्र दिनु पर्नेछ ।
(७) उपदफा (५) वा (६) मा तोकिएको म्याद भित्र अनुमतिपत्र नपाउने व्यक्तिले त्यस्तो म्याद नाघेको तीस दिनभित्र नेपाल सरकार समक्ष उजूरी दिन सक्नेछ र त्यस्तो उजूरीमा नेपाल सरकारबाट भएको निर्णय अन्तिम हुनेछ ।
२४क. अनुमतिपत्र लिनु नपर्नेः यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहाय बमोजिम दूरसन्चार सेवा सन्चालन गर्न अनुमतिपत्र लिनु पर्ने छैनः–
(क) नेपाल सरकारले आफ्नै प्रयोगको लागि नेटवर्क स्थापना गरी दूरसन्चार सेवा सन्चालन गर्न,
(ख) नेपाल ………….. बाहिर दर्ता भएका वायुयानमा अन्तर्राष्ट्रिय अनुबन्ध अनुरुप नेटवर्क जडान गरी दूरसन्चार सेवा सन्चालन गर्न,
(ग) कुटनैतिक नियोगले आफ्नै प्रयोगको लागि नेटवर्क स्थापना गरी दूरसन्चार सेवा सन्चालन गर्न,
(घ) दुरसन्चार प्रणालीसंग आवद्ध नगराई आफ्नो घर कम्पाउण्डभित्र दूरसन्चार सेवा सन्चालन गर्न,
(ङ) तोकिए बमोजिमका अन्य दूरसन्चार सेवा सन्चालन गर्न ।
२५. अनुमतिपत्रको अवधि र नवीकरणः (१) अनुमति पत्रको अवधि बढीमा पच्चीस वर्षको हुनेछ ।
तर एक पटकमा दश वर्षभन्दा बढी अवधिको लागि अनुमतिपत्र दिइनेछैन ।
(२) अनुमतिपत्र नवीकरण गर्न चाहने अनुमतिपत्र प्राप्त व्यक्तिले अनुमतिपत्रको अवधि समाप्त हुनु अगावै तोकिएको अवधिभित्र अनुमतिपत्र नवीकरणको लागि प्राधिकरण समक्ष निवेदन दिनु पर्नेछ । त्यसरी निवनेदन परेमा एक पटकमा पाँच वर्षमा नबढाई अनुमतिपत्र नवीकरण गरिदिनु पर्नेछ ।
(३) दफा २४ को उपदफा (३) र (४) बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिले उपदफा (२) बमोजिम अनुमतिपत्र नवीकरण गर्नको निमित्त आफूले कबुल गरे बमोजिमको नवीकरण दस्तुर प्राधिकरणमा बुझाउनु पर्नेछ ।
(४) दफा २४ को उपदफा (२) बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिले उपदफा (२) बमोजिम अनुमतिपत्र नवीकरण गर्नका निमित्त तोकिए बमोजिमको दस्तुर प्राधिकरणमा बुझाउनु पर्नेछ ।
(५) उपदफा (२) बमोजिमको म्यादभित्र अनुमतिपत्र नवीकरण नगराएमा त्यस्तो अनुमतिपत्र स्वतः रद्द हुनेछ ।
२६. अनुमतिपत्रमा संशोधनः (१) अनुमतिपत्र प्राप्त व्यक्तिले आफूले प्राप्त गरेको अनुमतिपत्रमा उल्लिखित कुनै कुरा संशोधन गर्न आवश्यक देखेमा त्यसको कारण समेत खुलाई प्राधिकरण समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको निवेदनमा अनुमतिपत्रमा संशोधनको लागि दिइएको कारण मनासिब र उचित भएमा प्राधिकरणले त्यस्तो निवेदन प्राप्त भएको तीस दिनभित्र अनुमतिपत्रमा मुलभूत कुरामा फरक नपर्ने भए संशोधन गरिदिनु पर्नेछ र अनुमतिपत्रमा त्यसरी संशोधन गर्न उपयुक्त नदेखेमा कारण सहितको सूचना निवेदकलाई दिनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम अनुमतिपत्रमा संशोधन गर्न तोकिए बमोजिमको दस्तुर प्राधिकरणमा बुझाउनु पर्नेछ ।
(४) प्राधिकरणले कुनै अनुमतिपत्रमा उल्लिखित कुनै कुरा संशोधन गर्न आवश्यक देखेमा त्यसको कारण सहितको सूचना सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्तिलाई दिन सक्नेछ ।
(५) उपदफा (४) बमोजिम सूचना प्राप्त भएपछि अनुमतिपत्र प्राप्त व्यक्तिले आफ्नो अनुमतिपत्रमा त्यसरी संशोधन गर्न आवश्यक नदेखेमा त्यसको कारण समेत खुलाई त्यस्तो सूचना प्राप्त भएको पन्ध्र दिनभित्र प्राधिकरण समक्ष निवेदन दिन सक्नेछ ।
(६) उपदफा (५) बमोजिमको निवेदन प्राप्त भएपछि वा सो म्याद समाप्त भएपछि प्राधिकरणले अनुमतिपत्रमा संशोधन गर्ने वा नगर्ने कुराको निर्णय गरी त्यसको सूचना अनुमतिपत्र प्राप्त व्यक्तिलाई दिनु पर्नेछ ।
२७. अनुमतिपत्रको बिक्री वा हस्तान्तरणः (१) अनुमतिपत्र प्राप्त व्यक्तिले आफ्नो अनुमतिपत्र कसैलाई बिक्री गरी वा अन्य कुनै प्रकारले हक हस्तान्तरण गरी दिन चाहेमा त्यसको कारण सहित निजले र अनुमतिपत्र किन्ने वा हक हस्तान्तरण गरी लिन चाहने व्यक्तिले आपसमा निर्धारित तत्सम्बन्धी शर्त बन्देज समेत उल्लेख गरी स्वीकृतिको लागि प्राधिकरण समक्ष संयुक्त निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम कुनै निवेदन प्राप्त हुन आएमा प्राधिकरणले आवश्यक छानबिन गर्दा निवदेनमा उल्लिखित व्यक्तिलाई अनुमतिपत्र बिक्री गरी वा हक हस्तान्तरण गरी दिन उचित देखेमा प्राधिकरणले त्यस्तो निवेदन प्राप्त भएको तीस दिनभित्र अनुमतिपत्र बिक्री गरी वा हक हस्तान्तरण गरी दिन स्वीकृति दिनु पर्नेछ र त्यस्तो स्वीकृति दिन उचित नहुने देखेमा कारण सहितको सूचना निवेदकलाई दिनु पर्नेछ ।
(३) अनुमतिपत्रको बिक्री वा हक हस्तान्तरण गर्ने स्वीकृतिको लागि तोकिए बमोजिमको दस्तुर प्राधिकरणमा बुझाउनु पर्नेछ ।
२८. अनुमतिपत्र खारेज गर्न सकिनेः (१) अनुमतिपत्र प्राप्त व्यक्तिले अनुमतिपत्रमा तोकिए बमोजिमको अवधिभित्र दूरसञ्चार सेवा संचालन नगरेमा प्राधिकरणले त्यस्तो अनुमतिपत्र खारेज गर्न सक्नेछ ।
(२) अनुमतिपत्र प्राप्त व्यक्तिले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम र अनुमतिपत्रमा उल्लिखित शर्त विपरीत कुनै काम गरेमा प्राधिकरणले त्यस्तो काममा सुधार गर्न निश्चित अवधि समेत तोकी सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्तिलाई आदेश दिन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम तोकिएको अवधिभित्र अनुमतिपत्र प्राप्त व्यक्तिले सुधार नगरेमा प्राधिकरणले त्यस्तो व्यक्तिले पाएको अनुमतिपत्र खारेज गर्न सक्नेछ ।
(४) उपदफा (१) वा (३) मा जुनसुकै कुरा लेखिएको भएतापनि अनुमतिपत्र खारेज गर्नु अघि सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्तिलाई आफ्नो सफाई पेश गर्ने मनासिब मौका दिइनेछ ।
(५) उपदफा (३) बमोजिम प्राधिकरणले अनुमतिपत्र खारेज गरेकोमा चित्त नबुझ्ने व्यक्तिले नेपाल सरकार समक्ष ३५ दिनभित्र उजुरी दिन सक्नेछ र त्यसरी परेको उजुरीमा नेपाल सरकारबाट भएको निर्णय अन्तिम हुनेछ ।
२९. अनुमतिपत्र प्राप्त व्यक्तिले पालन गर्नु पर्ने शर्तहरूः अनुमतिपत्र प्राप्त व्यक्तिले दूरसञ्चार सेवा संचालन गर्दा पालन गर्नु पर्ने यस ऐनमा लेखिएदेखि बाहेकका अन्य शर्तहरू तोकिए बमोजिम हुनेछन् ।
३०. निर्देशित क्षेत्रमा दूरसञ्चार सेवा विकास, विस्तार र संचालन गर्नु पर्ने ः (१) दफा २४ को उपदफा (३) र (४) बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिले आफ्नो कुल लगानीको तोकिए बमोजिमको प्रतिशत ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको विकास, विस्तार र संचालनमा लगाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम विकास, विस्तार र संचालन गर्नु पर्ने ग्रामीण क्षेत्र अनुमतिपत्रमा तोकिए बमोजिम हुनेछ र त्यसरी नतोकिएकोमा प्राधिकरणले समय समयमा तोकिदिए बमोजिम हुनेछ ।
(३) उपदफा (१) र (२) बमोजिम कुनै एक अनुमतिपत्र प्राप्त व्यक्तिले विकास, विस्तार र संचालन गर्नु पर्ने दूरसञ्चार सेवा आपसी सहमतिको आधारमा कुनै अर्को अनुमतिपत्र प्राप्त व्यक्तिले विकास, विस्तार र संचालन गर्न चाहेमा प्राधिकरणले आवश्यक जाँचबुझ गरी अनुमति दिन सक्नेछ ।
(४) ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको विकास, विस्तार र संचालनका लागि प्राधिकरणले एक कोष खडा गर्नेछ र अनुमतिपत्र प्राप्त व्यक्तिले प्राप्त गरेको वार्षिक आयको प्राधिकरणले तोके बमोजिमको रकम प्रत्येक वर्ष सो कोषमा जम्मा गर्नु पर्नेछ ।
(५) उपदफा (४) बमोजिमको कोषमा जम्मा भएको रकम प्राधिकरणले नेपाल सरकारको दूरसञ्चार सम्बन्धी नीतिको अधीनमा रही ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको विकास, विस्तार र संचालनका लागि प्रयोग गर्नु पर्नेछ ।
(६) उपदफा (५) बमोजिम दूरसञ्चार सेवाको विकास, विस्तार र संचालन गर्नको लागि प्राधिकरणले कुनै अनुमतिपत्र प्राप्त व्यक्तिलाई तोक्न सक्नेछ र त्यस्तो अनुमतिपत्र प्राप्त व्यक्तिले प्राधिकरणले तोके बमोजिमको ग्रामीण क्षेत्रमा दूरसञ्चारको विकास, विस्तार र संचालन गर्नु पर्नेछ ।
३१. दूरसञ्चार प्रणाली परस्परमा जोड्न र प्रयोग गर्न पाउनेः (१) अनुमतिपत्र प्राप्त व्यक्तिले आफूले विकास गरेको दूरसञ्चार प्रणाली अर्को अनुमतिपत्र प्राप्त व्यक्तिले विकास गरेको दूरसञ्चार प्रणालीसंग परस्परमा जोड्न र प्रयोग गर्न पाउनेछ ।
(२) अनुमतिपत्र प्राप्त एक व्यक्तिले विकास गरेको दूरसञ्चार प्रणाली अर्को अनुमतिपत्र प्राप्त व्यक्तिले जोड्न तथा प्रयोग गर्न अनुरोध गरेमा आपसमा मञ्जुरी भए बमोजिम मनासिब शर्त बन्देजको आधारमा वा त्यसरी मञ्जुरी हुन नसकेको अवस्थामा प्राधिकरणले निर्धारण गरेको शर्त बन्देजको आधारमा जोड्न तथा प्रयोग गर्न दिनु पर्नेछ ।
३२. रोयल्टी बुझाउनु पर्नेः (१) दफा २४ को उपदफा (२) बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिले तोकिए बमोजिमको रोयल्टी नेपाल सरकारलाई बुझाउनु पर्नेछ ।
(२) दफा २४ को उपदफा (३) र (४) बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिले आफूले कबुल गरे बमोजिमको रोयल्टी नेपाल सरकारलाई बुझाउनु पर्नेछ ।
(३) रोयल्टी बुझाउने तरीका र समय प्राधिकरणले तोकिदिए बमोजिम हुनेछ ।
३३. नेपाल सरकारको स्वामित्व हुनेः (१) जम्मा पूँजी लगानीको पचास प्रतिशतभन्दा बढी विदेशी व्यक्ति वा संगठित संस्थाको लगानी भएको दूरसञ्चार सेवासंग सम्बन्धित जग्गा, भवन, यन्त्र, उपकरण तथा संरचनामा अनुमतिपत्रको अवधि समाप्त भएपछि नेपाल सरकारको स्वामित्व हुनेछ ।
(२) उपदफा (१) बमोजिम नेपाल सरकारको स्वामित्वमा आएको सम्पत्ति पूर्व अनुमतिपत्र प्राप्त व्यक्तिले उपदफा (३) बमोजिम निर्धारण गरिएको मूल्य नेपाल सरकारलाई बुझाई पुनः अनुमतिपत्र प्राप्त गरी दूरसञ्चार सेवा संचालन गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिमको मूल्य निर्धारण गर्ने प्रयोजनको लागि नेपाल सरकारले प्राधिकरणको परामर्श लिई बढीमा पाँचजना व्यक्तिहरुको एक समिति गठन गर्न सक्नेछ ।
(४) जम्मा पूँजी लगानीको पचास प्रतिशतसम्म विदेशी व्यक्ति वा संगठित संस्थाको लगानी भएको दूरसञ्चार सेवाको संचालन अनुमतिपत्रको अवधि समाप्त भएपछि पूर्व अनुमतिपत्र प्राप्त व्यक्तिले पुनः अनुमतिपत्र लिई संचालन गर्न सक्नेछ ।