परिच्छेद – १ प्रारम्भिक

परिच्छेद – १ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भः (१) यस ऐनको नाम “विमा ऐन, २०४९” रहेको छ ।
(२) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको मितिदेखि प्रारम्भ हुनेछ ।
२. परिभाषाः विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमाः–
(क) ‘‘समिति’’ भन्नाले दफा ३ बमोजिम गठन भएको विमा समिति सम्झनु पर्छ ।
(ख) ‘‘अध्यक्ष’’ भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ ।
(ग) ‘‘सदस्य’’ भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शव्दले समितिको अध्यक्षलाई समेत जनाउंछ ।
(घ) ‘‘बीमक’’ भन्नाले दफा १० बमोजिम दर्ता भएको संगठित संस्था सम्झनु पर्छ र सो शव्दले पुनर्बीमकलाई समेत जनाउँछ ।
(ङ) ‘‘विमा व्यवसाय’’ भन्नाले जीवन विमा व्यवसाय वा निर्जीवन विमा व्यवसाय संझनु पर्छ र सो शव्दले पुनर्बीमालाई समेत जनाउँछ ।
(च) जीवन विमा व्यवसाय भन्नाले कुनै व्यक्तिको जीवन संबन्धमा निजको आयुको आधारमा किस्ताबन्दी बुझाउने गरी कुनै खास रकम तिरेमा निजले वा निजको मृत्यु भएको अवस्थामा निजको हकवालाले कुनै खास रकम पाउने गरी गरिने करार संबन्धी व्यवसाय संझनु पर्छ ।
(छ) ‘‘निर्जीवन विमा व्यवसाय’’ भन्नाले जीवन विमा व्यवसाय बाहेक अन्य विमा व्यवसाय सम्झनु पर्छ ।
(ज) ‘‘पुनर्बीमा व्यवसाय’’ भन्नाले बीमकले जोखिम धारण गर्ने अंश भन्दा बढी अंशको पुनः विमा गर्ने व्यवसाय सम्झनु पर्छ ।
(झ) ‘‘विमा लेख’’ भन्नाले विमाको करारनामा संबन्धी अधिकार तथा दायित्व उल्लेख भएको लिखत सम्झनु पर्छ ।
(ञ)     ‘‘विमांङ्की’’ भन्नाले विमा व्यवसायमा भएको दायित्वको निर्धारण तथा गणना गर्नको लागि बीमकद्वारा नियुक्त गरिएको तोकिए बमोजिमको योग्यता भएको व्यक्ति सम्झनु पर्छ ।
(ट) ‘‘बीमित’’ भन्नाले जीवन विमा तथा निर्जीवन विमा गराउने व्यक्ति वा संस्था सम्झनु पर्छ ।
(ठ) ‘‘विमा अभिकर्ता’’ भन्नाले बीमकको तलबी कर्मचारी नभई कमिशनको आधारमा बीमकको तर्पबाट काम गर्ने दफा ३० बमोजिम इजाजतपत्र प्राप्त व्यक्ति सम्झनु पर्छ ।
(ड) ‘‘सर्भेयर’’ भन्नाले क्षतिग्रस्त संपत्तिको आर्थिक मूल्यांकन गर्ने दफा ३०क बमोजिम इजाजत प्राप्त व्यक्ति सम्झनु पर्छ र सो शव्दले एडजस्टर र नोक्सानी मूल्यांकन गर्नेलाई समेत जनाउंछ ।
(ड१) ‘‘दलाल’’ भन्नाले विमा व्यवसाय संबन्धमा बीमक बीमक बीच माध्यमको रुपमा काम गर्न दफा ३०ख बमोजिम इजाजतपत्र प्राप्त व्यक्ति सम्झनु पर्छ ।
(ढ) ‘‘लेखा परिक्षक’’ भन्नाले प्रचलित कानून बमोजिम लेखा परीक्षण गर्न प्रमाणपत्र प्राप्त लेखा परिक्षक सम्झनु पर्छ ।
(ण) ‘‘आर्थिक वर्ष’’ भन्नाले प्रत्येक वर्षको श्रावण महिनाको १ गतेदेखि आषाढ महिनाको मसान्तसम्मको अवधि सम्झनु पर्छ ।
(त) ‘‘तोकिएको’’ वा ‘‘तोकिए बमोजिम’’ भन्नाले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।