परिच्छेद – ६ अपराध र सजाय

परिच्छेद – ६ अपराध र सजाय

३३. … … …
३३क.कडा अपराधहरूः प्रहरी कर्मचारीले देहायको कुनै कसूर गरेमा निजलाई … … … आजन्म कैद वा चौध वर्षसम्म कैद वा तीन वर्षको तलब बराबरसम्म जरिबाना वा दुवै सजाय हुनेछः–
(क) प्रहरी सेवामा शसस्त्र बिद्रोह गरेमा वा गराएमा वा बिद्रोहमा सरीक भएमा वा सो गर्न गराउन उत्तेजना फैलाएमा वा त्यस्तो गर्न षडयन्त्र वा उद्योग गरेमा,
(ख) बिद्रोह हुने ठाउँमा आफू भएकोमा सकभर रोक्ने कोशिस नगरेमा वा यस्तो बेलामा देशभक्ति, … … … वा कर्तव्यरत कुनै पनि व्यक्तिलाई आफ्नो कर्तव्यबाट बिचलित गराएमा वा त्यस्तो उद्योग गरेमा,
(ग) बिद्रोह गर्ने मनसाय गरेको वा षडयन्त्र वा उद्योग भइरहेको थाहा पाई वा त्यस्तो भइरहेको विश्वास गर्नुपर्ने कारण हुँदा हुँदै पनि निच मारी उच्च पदाधिकारीहरूलाई यथाशक्य तत्कालै खबर वा सूचना नदिएमा,
(घ) … … …
(ङ) थाना, चौकी, गारद, पालो पहरा आदि र आफूसाथ वा आफ्नो जिम्मा रहेको हातहतियार, खरखजाना अन्य सरकारी धनमाल र कागजातहरू आक्रमणकारीहरूलाई सुम्पी मद्दत गरेमा,
(च) आक्रमण वा मुठभेडको समयमा वा सो हुने सम्भावनामा प्रहरी फोर्स वा जनतामा जानी जानी झूठो आतंक फैलाएमा वा हरेस खुवाउने वा आतंक पार्ने नियतले झुठो खतराको खबर फैलाएमा ।

३३ख. अन्य कडा अपराधहरूः प्रहरी कर्मचारीले देहायको कुनै अपराध गरेमा दश वर्षसम्म कैद वा दुई वर्षको तलब बराबर सम्म जरिवाना वा दुवै सजाय हुनेछः–
(क) नेपाल सरकार, नेपाल सरकारको काम कारबाई र नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रियता र स्वधीनतामा वा संघीय इकाइ वा विभिन्न जात, जाति, धर्म, सम्प्रदायबीचको सु–सम्बन्धमा खलल पर्न सक्ने गरी घृणा, द्वेष वा अवहेलना हुने गरी लेखेर वा बचन वा आकार र चिन्हद्वारा वा अरू कुनै किसिमबाट कुनै काम कुरा गरेमा गराएमा वा सो उद्योग गरेमा,
(ख) नेपाल सरकारको कुनै मित्रराष्ट्र भित्र लुटमार गरेमा वा गर्न तयारी गरेमा, त्यस्तो व्यक्तिलाई मद्दत वा सूचना दिएमा वा सो मनसायले त्यस्तो व्यक्तिसँग सम्पर्क राखेमा,
(ग) आफू खटिएर वा आफ्नो जिम्मामा रहेको वा आफूले रक्षा गर्नुपर्ने थाना, चौकी, गारद, पालो पहरा, पिकेट, टोली वा प्याट्रोल वा प्रतिष्ठापन वा कार्यालयमाथि आक्रमणकारी डाँकु, तस्कर, बदमास र हुलदङ्गा गर्नेहरूले आक्रमण गरेका बखत तिनीहरूसँग मुठभेठ हुँदा वा त्यस्तो मुठभेड हुने आशंकामा नामर्दिसँग भागेमा,
(घ) आफ्नो जिम्मामा रहेको सरकारी वा अरू कसैको हातहतियार खरखजाना बेचबिखन गरेमा,
(ङ) लुटको खोजिमा हिड्न आफ्नो थाना, चौकी, गारद, पालो पहरा, पिकेट, टोली, प्याट्रोल, प्रतिष्ठापन वा कार्यालय छाडेमा,
(च) ड्यूटीमा रहेको वा नरहेको भएतापनि माथिल्लो दर्जाको कर्मचारी भनी थाहा पाएपछि वा विश्वास गर्ने कारण छँदाछँदै अपराधिक बल प्रयोग गरेमा वा गर्ने उद्योग गरेमा वा धम्की दिएमा,
(छ) आफू माथिको कुनै अधिकृतले आदेश दिएमा वा बहाल टुटेपछि नियुक्तिको प्रमाणपत्र र बहाल छँदा आफ्नो जिम्मा भएको सरकारी वा अरू कसैको हातहतियार, खरखजाना, संयन्त्र, ज्याबल, सरसामान, नगदी जिन्सी समेत तुरुन्त नबुझाएमा वा मनासिब फाँटवारी नदिएमा,
(ज) लुट्ने अभिप्रायले घर वा कुनै ठाउँ फोरेमा वा कुनै किसिमबाट धनमाल लुटेमा, हानी नोक्सानी वा क्षति गरेमा,
(झ) कर्तव्य पालना गर्दा कायरता देखाएमा ।

३४. अरू अपराधहरूः प्रहरी कर्मचारीले देहायको कुनै अपराध गरेमा, पाँच वर्षसम्म कैद वा एक वर्षको तलब बराबरसम्म जरीवाना वा दुवै सजाय हुनेछः–
(क) आफ्नो जिम्मामा रहेको सरकारी वा अरू कसैको संयन्त्र, ज्यावल, सरसामान, वर्दि, तानामाना, तक्मा, पदक, नगदी, जिन्सी, सवारीको साधन र इन्धन इत्यादी जानी जानी वा लापरवाही गरी बिगारेमा, नासेमा, हराएमा वा दुरूपयोग गरेमा वा वदनीयतीले आफ्नो वा अरू कसैको निमित्त लिएमा वा दिएमा,
(ख) क्याम्पमा रसद वा अरू चाहिने कुरा ल्याउने व्यक्ति उपर हमला वा बेइज्जत गरेमा वा बल प्रयोग गरी अपराध गरेमा वा कुनै स्थानमा बल मिचाई गरेमा,
(ग) आफू माथिको प्रहरी कर्मचारीले दिएको कानुनी उर्दी नमानेमा,
(घ) प्रहरी फोर्सबाट भागेमा,
(ङ) सेण्ट्री भै पालो बसेको ठाउँमा सुतेमा वा नियमित बदली नआई बिना इजाजत छाडेमा,
(च) नियमित बदली नआई वा बिना इजाजत आफ्नो गारद, पिकेट, टोली वा प्याट्रोल छोडेमा,
(छ) आफूलाई नियुक्त गर्न अख्तियार पाएका अधिकारीको इजाजत बिना राजीनामा गरेमा वा आफ्नो पदको कर्तव्य पालन गर्न छाडेमा,
(ज) सेण्ट्रीलाई कुटेमा वा जबरजस्ती गरेमा वा गर्न उद्योग गरेमा,
(झ) गारद, पिकेट, प्याट्रोलको कमाण्डमा छँदा रीतपुवर्क बुझाएको कैदी वा व्यक्ति बुझ्न इन्कार गरेमा, मनासिब अख्तियार बिना आफ्नो जिम्मामा रहेको कुनै व्यक्ति वा कैदीलाई छाडेमा वा लापरवाही गरी त्यस्तो कैदी वा व्यक्तिलाई भाग्न दिएमा,
(ञ) गिरफ्तार वा थुनिएका बखत छाड्न सक्ने अख्तियार पाएकोले नछाड्दै गिरफ्तार भएको वा थुनिएको ठाउँ छाडी गएमा,
(ट) रोग वा शरीरको निर्वलताको झुठो बहाना गरेमा वा भान पारेमा,
(ठ) आफ्नो कमान वा जिम्मामा रहेको व्यक्तिहरूको संख्या वा अवस्थाको वा त्यस्ता व्यक्ति वा नेपाल सरकार वा प्रहरी वा प्रहरी फोर्समा सामेल हुन आएको कसैको रुपैयाँ, हातहतियार, खरखजाना, लुगाफाटो, सरसामान वा अन्य मालसामानको झुठ्ठो फाँट वा प्रतिवेदन जानीजानी पेश गरेमा वा खराब मनसायले वा जानीजानी बात लाग्ने लापरवाहीबाट माथि लेखिएका विषयको फाँट वा प्रतिवेदन तयार गर्न वा पठाउन छुटाएमा वा इन्कार गरेमा,
(ड) राजनैतिक उद्देश्यले संगठन गरिएको सभा, जुलुस वा प्रदर्शनमा भाग लिएमा, भाषण गरेमा, नारा लगाएमा वा वक्तव्य दिएमा,
(ड१) लैङ्गिक हिंसा गरेमा,
(ढ) आफ्नो ओहदाको धाक धम्की दिई कसैलाई अनाहक दुःख र टण्टा दिएमा वा कसैको सम्पत्ति हानी नोक्सानी गरेमा ।

३४क. … … …

३५. अरू ऐन बमोजिम मुद्दा चलाउन अधिकारमा बाधा नपार्नेः यस ऐनबमोजिम सजाय हुने अपराध गर्ने व्यक्ति उपर अरू ऐनबमोजिम मुद्दा चलाउन वा त्यस्ता व्यक्तिलाई अरू ऐनबमोजिम सजायको भागी हुन वा यस ऐनमा लेखिएका दण्ड सजायभन्दा बढी अरू सजायको भागी हुन यस ऐनको कुनै कुराले बाधा पर्दैन । तर कुनै व्यक्तिलाई एउटै अपराधमा दुई पटक सजाय भने हुन सक्दैन ।
३६. प्रहरी विशेष अदालतको स्थापना र गठनः (१) यस परिच्छेद अन्तर्गत सजाय हुने कसूरसम्बन्धी मुद्दाको शुरु कारवाही र किनारा गर्न देहायको दर्जाको प्रहरी कर्मचारीको सम्बन्धमा देहायको प्रहरी विशेष अदालत गठन हुनेछः–
(क) प्रहरी जवानदेखि प्रहरी सहायक निरीक्षक सम्मको लागि जिल्ला प्रहरी विशेष अदालत,
(ख) प्रहरी नायव निरीक्षकदेखि प्रहरी नायव उपरीक्षक सम्मको लागि क्षेत्रीय प्रहरी विशेष अदालत,
(ग) प्रहरी उपरीक्षक र सोदेखि माथिल्लो तहको प्रहरी अधिकृतको लागि केन्द्रीय प्रहरी विशेष अदालत ।
(२) उपदफा (१) बमोजिम जिल्ला प्रहरी विशेष अदालत, क्षेत्रीय प्रहरी विशेष अदालत र केन्द्रीय प्रहरी विशेष अदालतको गठन आवश्यकता अनुसार नेपाल सरकार गृह मन्त्रालयले गर्नेछ र प्रत्येक अदालतमा न्याय सेवाको अधिकृतको अध्यक्षतामा एकजना प्रहरी अधिकृत सहित तीनजना सदस्यहरू रहनेछन् र कारबाहीमा पर्ने व्यक्ति प्रहरी अधिकृत भएमा निजभन्दा तल्लो श्रेणीको अधिकृत विशेष अदालतमा रहने छैन ।

३६क.छुट्टै प्रहरी विशेष अदालत गठन गर्ने सकिनेः दफा ३६ मा जुनसुकै कुरा लेखिएको भएतापनि प्रहरी नायव निरीक्षक वा सो देखि माथिल्लो दर्जाका अधिकृत र सोही वा तल्लो तहका प्रहरी कर्मचारी समेत संगठित भै यस परिच्छेद अन्तर्गतको कसूर गरेमा त्यस्तो मुद्दाको शुरु कारवाई र किनारा गर्न नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरि छुट्टै प्रहरी विशेष अदालतको गठन गर्न सक्नेछ ।

३६ख.पुनरावेदनः (१) यस परिच्छेद अन्तर्गतको कसूर सम्बन्धी मुद्दामा दफा ३६ बमोजिमको प्रहरी विशेष अदालतले गरेको निर्णयमा चित्त नबुझ्ने व्यक्तिले एक तहमाथिको प्रहरी विशेष अदालतमा पैंतीस दिनभित्र पुनरावेदन गर्न सक्नेछ ।
(२) दफा ३६ को उपदफा (२) … … … बमोजिमको केन्द्रीय प्रहरी विशेष अदालत वा दफा ३६क. बमोजिमको प्रहरी विशेष अदालतले गरेको निर्णय उपर नेपाल सरकार समक्ष पुनरावेदन लाग्नेछ ।

३६ग.प्रहरी विशेष अदालतको कार्यविधिः (१) यस ऐन अन्तर्गत गठन भएको प्रहरी विशेष अदालतले आफ्नो कार्यविधि आफैं निर्धारण गरी व्यवस्थित गर्नेछ ।
(२) यस परिच्छेद अन्तर्गतको कसूर भएकोमा एक वर्षभित्र मुद्दा चलाउनु पर्नेछ ।

३७. कर्तव्य पालन गर्दा असल नियतले काम गरेमा कर्मचारी दोषी नहुनेः प्रमुख जिल्ला अधिकारी वा प्रहरी कर्मचारीले यस ऐन वा अरू प्रचलित ऐनबमोजिम गर्नुपर्ने कर्तव्य पालन गर्दा वा पाएको अख्तियार प्रयोग गर्दा वा अदालतले दिएको वा जारी गरेको आज्ञप्ति, आदेश वा वारेण्ट तामेल गर्दा असल नियतले गरेकोमा सजायको र हर्जाना तिर्ने भागी हुँदैन ।

३८. मुद्दा चलाउने हदम्यादः यस ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम अनुसार वा उक्त ऐन, नियम वा विनियमले अधिकार दिएको भन्ने सम्झी कुनै काम गरेका वा सो गर्ने आशयले गरेको कुनै कामको सम्बन्धमा प्रमुख जिल्ला अधिकारी वा प्रहरी कर्मचारी उपर देहायमा लेखिएबमोजिम नभै मुद्दा चल्न सक्दैन ।
(क) मुद्दा चलाउने कारण र वादी हुनेको र निजको वारिस भए त्यसको नाम र ठेगाना खोली लिखित नोटिस प्रमुख जिल्ला अधिकारी, प्रहरी कर्मचारीलाई बुझाएको वा हुलाकद्वारा रजिष्ट्ररी गरी पठाएको र त्यसको १ प्रति नक्कल नेपाल सरकारमा पेश गरेको १ महिना ननाघी,
(ख) मुद्दा चलाउने कारण भएको ८ महिनाभित्र मुद्दा दायर नभई ।

३९. नियम र आदेश बनाउने अधिकारः (१) यस ऐनको उद्देश्य कार्यान्वित गर्नलाई नेपाल सरकारले नियम बनाउन सक्नेछ ।
(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा प्रतिकूल प्रभाव नपारी नेपाल सरकारले देहायको विषयहरूमा नियम बनाउन सक्नेछः–
(क) प्रहरी फोर्सको गठन र वर्गीकरणको व्यवस्था बारे ।
(ख) प्रहरी फोर्सको निरीक्षणको व्यवस्था बारे ।
(ग) प्रहरी फोर्सलाई दिइने हातहतियार, तानावाना, लुगाफाटा र अरू आवश्यक बस्तुहरूको विवरण र संख्या निर्धारित गर्ने बारे ।
(घ) प्रहरी फोर्सको अधिकृत र जवान बस्ने ठाउँ तोक्ने बारे ।
(घ१) महिला तथा पुरुष प्रहरी कर्मचारीको लागि छुट्टछुट्टै आवास गृह रहने बारे ।
(घ२) शिशु स्याहार केन्द्र बारे ।
(ङ) प्रहरीको साधन सम्बन्धमा प्रहरी फोर्सको स्थापना, प्रबन्ध र व्यवस्था गर्ने बारे ।
(च) प्रहरी फोर्सको बाँडफाँड, खटनपटन, गतिविधि र स्थानको व्यवस्था गर्ने बारे ।
(छ) सबै दर्जा र श्रेणीका प्रहरी कर्मचारीको कर्तव्य किटान गर्ने र निजहरूले आ–आफ्नो अधिकार र कर्तव्य पालन गर्ने तरीका र शर्तहरू तोक्ने बारे ।
(ज) प्रहरीले सुराक लाउने र खबर जम्मा गर्ने र सो जाहेर गर्ने व्यवस्था मिलाउने बारे ।
(झ) सामान्यतः प्रहरीलाई योग्य बनाउने र निजहरूको कर्तव्यको दुरूपयोग र लापरवाही रोक्ने बारे ।
(३) नेपाल सरकारले जारी गरेको नियम र आदेशको अधीनमा रही उपदफा (२) मा लेखिएका विषयहरू बारे प्रहरी महानिरीक्षकले आदेश जारी गर्न सक्नेछ ।