४. भूमिकर ठेक्ने र दर्ता गरिदिने

४. भूमिकर ठेक्ने र दर्ता गरिदिने

(१) दफा ११ को अधिनमा रही यस ऐनबमोजिम रैकर गरिएका जग्गामा आर्थिक साल २०१६–१७ देखि साल बसाल लागू हुने गरी देहायबमोजिम भूमिकर ठेकिएको छ –
(क) “क” श्रेणीको बिर्ता जग्गामा बिर्तावालले बिर्ता जग्गाका मोहीबाट उठाई लिने गरी आएको मालपोतको अङ्कबमोजिम ।
तर, कसैका नाममा मोहियानी दर्ता र आवाद समेत नभएको पर्ति जग्गा वा जङ्गल रहेछ भने बिर्ताको लगतसम्म काटिनेछ ।
(ख) काठमाडौं उपत्यकाका “ख” श्रेणीको बिर्ता जग्गामा देहायबमोजिम–
खेत पाखो
(१) अवल रोपनी १ को ने.रु.३।– ने.रु. १।१४
(२) द्वयम रोपनी १ को ने.रु.२।४४ ने.रु.।९४
(३) सीम रोपनी १ को ने.रु.१।६९ ने.रु. ।५६
(४) चाहार रोपनी १ को ने.रु.१।१२ ने.रु.।३७
तर काठमाडौं उपत्यकामा “ख” श्रेणीको ः–
(१) कुनै बिर्ता जग्गाका सम्बन्धमा आर्थिक साल २०१६–१७ को निमित्त आँठाको रैकर जग्गामा लागेको मालपोतको अङ्कको आधाको दरले लाग्ने भूमिकरको दर उक्त दरभन्दा घटी पर्न आएमा त्यस्तो बिर्ता जग्गाको उक्त सालको निमित्त सोही घटी दरमा भूमिकर लिइनेछ ।
(२) कुनै बिर्ताजग्गाका सम्बन्धमा आर्थिक साल २०१७।१८ को निमित्त आँठाको रैकर जग्गामा लागेको मालपोतको अङ्क बमोजिम लाग्ने भूमिकरको दर उक्त दरभन्दा घटी पर्न आएमा त्यस्तो बिर्ता जग्गाको उक्त सालको निमित्त सोही घटी दरमा भूमिकर लिइनेछ ।
नेपाल … … … का अन्य पहाडी क्षेत्र र तराई क्षेत्रका “ख” श्रेणीका बिर्ता जग्गामा आँठाको रैकर जग्गामा लागेको मालपोतको अङ्कबमोजिम ।
तर आर्थिक साल २०१६–१७ को निमित्त आँठाको रैकर जग्गामा लागेको मालपोतको अङ्कको आधा मात्र लिइनेछ ।
(ग) आर्थिक साल २०१६।१७ र २०१७।१८ को निमित्त कसैले खण्ड (ख) बमोजिम तिर्नु पर्नेभन्दा बढी भूमिकर तिरिसकेको रहेछ भने निस्सा प्रमाण समेत दाखिल गरी लिखित रूपमा दावा गर्न आएमा बढी त्यसरी तिरेको भनी प्रमाणित भएको जति निजलाई फिर्ता गरिनेछ ।
(२) उपदफा (१) बमोजिम ठेकिएको भूमिकर इलाका मालको हाकिमले निर्धारित गर्नेछ र त्यस्तो भूमिकर लागेको बिर्ता जग्गा देहायबमोजिम रैकरमा दर्ता गरी लगत खडा गर्ने र भूमिकर असूल गर्नेछ ः–
(क) “क” श्रेणीको बिर्ता जग्गा भए बिर्ता जग्गाको मोहीको नाउँमा ।
तर आवाद नभएको पर्ति तथा जङ्गल कसैका नाममा दर्ता गरिने छैन र नेपाल सरकारको अन्य पर्ति जग्गा तथा जङ्गल सरह हुनेछ ।
(ख) “ख” श्रेणीको बिर्ता जग्गा भए बिर्तावालको नाउँमा ।
तर भोग वा दृष्टिमा लिई भोग्ने व्यक्ति वा भोग सर्दै आएको निजका हकवालाका नाममा दर्ता हुन गयो भने भोग वा दृष्टिकै रूपमा मात्र निजको हक कायम हुनेछ र प्रचलित नेपाल कानुनबमोजिम निखन्न दिन्न भन्न पाउँदैन र निखन्नेले आफ्नो नाममा रैकरमा दर्ता गराउने हक सुरक्षित रहनेछ ।
(३) “ख” श्रेणीको बिर्ता जग्गामा उपदफा (२) बमोजिम निर्धारित दरका सम्बन्धमा चित्त नबुझ्ने व्यक्तिले प्रमुख जिल्ला अधिकारी छेउ पुनरावेदन दिन सक्नेछ र प्रमुख जिल्ला अधिकारीले गरेको निर्णय उपर चित्त नबुझ्नेले सम्बन्धित राजस्व न्यायाधीकरणमा पुनरावेदन दिन सक्नेछ ।
(४) “ख” श्रेणीको बिर्ता जग्गा भएको ठाउँका साँध वा नजिकको त्यसै किसिमको रैकर जग्गामा एकातिर घटी अर्कोतिर बढी मालपोत लागेको रहेछ भने नेपाल सरकारको अर्को आदेश नभएसम्म बढी दर कायम गरी भूमिकर निर्धारित गरिनेछ ।
(५) यो ऐनबमोजिम भूमिकर ठेकिएको जग्गामा यो ऐन प्रारम्भ हुनु भन्दा अगाडी कुनै किसिमको कर वा तिरो लागी नेपाल सरकारमा बुझाई आएको रहेछ भने त्यस्तो कर वा तिरो भूमिकरमै सम्मिलित भएको मानिनेछ र सो कर वा तिरोको लगत काटिनेछ ।