परिच्छेद – १ प्रारम्भिक

परिच्छेद – १ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम “श्रम ऐन, २०७४” रहेकोछ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्का अर्थ नलागेमा यस ऐनमा,–
(क) “आधारभूत पारिश्रमिक” भन्नाले रोजगारी बापत श्रमिकले पाउने आधारभूत पारिश्रमिक सम्झनु पर्छ र सो शब्दले रोजगार अवधि एक वर्षको पुगेपछि हुने पारिश्रमिक वृद्धिको रकम समेतलाई जनाउँछ ।
(ख) “कार्यकारी प्रमुख” भन्नाले प्रतिष्ठानको काम कारबाहीका सम्बन्धमा अन्तिम जिम्मेवारी वहन गर्ने व्यक्ति सम्झनु पर्छ ।
(ग) “कार्यस्थल” भन्नाले श्रमिकले काम गर्ने स्थान वा ठाउँ सम्झनु पर्छ र सो शब्दले कामको सिलसिलामा श्रमिक रहनु पर्ने वा जानु पर्ने स्थान वा अवस्था समेतलाई जनाउँछ ।
(घ) “कार्यालय” भन्नाले श्रम तथा रोजगार कार्यालय सम्झनु पर्छ ।
(ङ) “तालाबन्दी” भन्नाले श्रमिकलाई नियमित रुपमा काम गर्नबाट पूर्ण वा आंशिक रुपमा रोक लगाउन रोजगारदाताले प्रतिष्ठान वा कार्यस्थल बन्द गरेको अवस्था सम्झनु पर्छ ।
तर सो शब्दले श्रमिकलाई जगेडामा राखेको वा तत्काल खतरा उत्पन्न भई काम बन्द भएको अवस्थालाई जनाउने छैन ।
(च) “तोकिए वा तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ र सो शब्दले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा उल्लेख भए बमोजिम नेपाल राजपत्रमा प्रकाशित सूचनालाई समेत जनाउँछ ।
(छ) “निरीक्षक” भन्नाले वरिष्ठ श्रम निरीक्षक, श्रम निरीक्षक, वरिष्ठ व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य निरीक्षक र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य निरीक्षकलाई सम्झनु पर्छ र सो शब्दले निरीक्षणको लागि खटाइएको अन्य कर्मचारी समेतलाई जनाउँछ ।
(ज) “परिषद्” भन्नाले दफा १०२ बमोजिम गठन भएको केन्द्रीय श्रम सल्लाहकार परिषद्सम्झनुपर्छ ।
(झ) “पारिश्रमिक” भन्नालेश्रमिकले पाउने आधारभूत पारिश्रमिक सम्झनु पर्छ र सो शब्दले भत्ता समेतलाई जनाउँछ ।
(ञ) “प्रतिष्ठान” भन्नाले मुनाफा आर्जन गर्ने वा मुनाफा नगर्ने गरी उद्योग, व्यवसाय वा सेवा गर्ने उद्देश्यले प्रचलित कानून बमोजिम स्थापना, संस्थापना, दर्ता वा गठन भएको वा सञ्चालनमा रहेको कुनै कम्पनी, प्राइभेट फर्म, साझेदारी फर्म,
सहकारी संस्था वा संघ वा अन्य संस्था सम्झनु पर्छ ।
(ट) “मन्त्रालय” भन्नाले नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्झनु पर्छ ।
(ठ) “मुख्य रोजगारदाता” भन्नाले श्रमिक आपूर्तिकर्ता मार्फत श्रमिकलाई काममा लगाउने रोजगारदाता सम्झनु पर्छ ।
(ड) “रोजगारदाता” भन्नाले श्रमिकलाई काममा लगाउने व्यक्ति वा प्रतिष्ठान सम्झनु पर्छ र सो शब्दले प्रतिष्ठानको हकमा व्यवस्थापकलाई र यस ऐन बमोजिम आपूर्ति गरिएको श्रमिकको हकमा श्रमिक आपूर्तिकर्तालाई समेत जनाउँछ ।
(ढ) “रोजगार सम्झौता” भन्नाले रोजगारीको सेवा, शर्त र सुविधाका सम्बन्धमा रोजगारदाता र श्रमिकबीच भएको सम्झौता सम्झनु पर्छ र सो शब्दले रोजगारदाताले श्रमिकलाई दिएको नियुक्तिपत्र समेतलाई जनाउँछ ।
(ण) “रोजगार अवधि” भन्नाले श्रमिकले रोजगारदातासँग रोजगारी गरेको अवधि सम्झनु पर्छ र सो शब्दले देहायको अवधिलाई समेत जनाउँछ :
(१) जगेडामा रहेको अवधि,
(२) पारिश्रमिक सहित बिदामा रहेको अवधि,
(३) प्रसूति वा प्रसूति स्याहारको लागि वेतलबी बिदामा बसेको अवधि,
(४) रोजगारदाताको काम गर्दा गर्दै वा सोही क्रममा भएको दुर्घटनाको कारण उपचारको क्रममा बिदामा बसेको अवधि ।
(त) “विनियमावली” भन्नाले दफा १०८ बमोजिम प्रतिष्ठानले बनाएको श्रमिकको सेवा शर्त सम्बन्धी विनियमावली सम्झनु पर्छ र सो शब्दले प्रतिष्ठानको आर्थिक प्रशासन विनियमावली समेतलाई जनाउँछ ।
(थ) “विभाग” भन्नाले श्रम तथा व्यवसाय जन्य सुरक्षा विभाग सम्झनु पर्छ ।
(द) “व्यवस्थापक” भन्नाले प्रतिष्ठानको कार्यकारी प्रमुखलाई सम्झनु पर्छ र सो शब्दले अन्तिम जिम्मेवारी वहन गर्ने वा अधिकार प्रयोग गर्ने गरी नियुक्त कुनै शाखा वा इकाईको प्रमुखलाई समेत जनाउँछ ।
(ध) “व्यवस्थापकीय श्रेणीको श्रमिक” भन्नाले रोजगारदाताको तर्फबाट श्रमिकको काममा मूल्याङ्कन, नियन्त्रण र सुपरीवेक्षण गर्ने अधिकार दिई प्रबन्धक तह वा सोभन्दा माथिल्लो पदमा नियुक्त भएको श्रमिक सम्झनु पर्छ र सो शब्दले व्यवस्थापक समेतलाई जनाउँछ।
(न) “सामाजिक सुरक्षा कोष” भन्नाले प्रचलित कानून बमोजिम स्थापित सामाजिक सुरक्षा कोष सम्झनु पर्छ ।
(प) “सामूहिक सम्झौता” भन्नाले रोजगारदाता वा रोजगारदाताको सङ्गठन र ट्रेड युनियन वा सामूहिक सौदाबाजी समितिबीच श्रमिकको पारिश्रमिक, सेवाका शर्त, सुविधा वा रोजगारदाता र श्रमिकको आपसी सरोकारका विषयमा भएको सम्झौता सम्झनु पर्छ ।
(फ) “सामूहिक सौदाबाजी समिति” भन्नाले दफा ११६ को उपदफा (१) बमोजिमको
सामूहिक सौदाबाजी समिति सम्झनु पर्छ ।
(ब) “श्रम अदालत” भन्नाले दफा १५१ बमोजिम गठित श्रम अदालत सम्झनु पर्छ ।
(भ) “श्रमिक” भन्नाले पारिश्रमिक लिई रोजगारदाताको लागि शारीरिक वा बौद्घिक कार्य गर्ने कामदार वा कर्मचारी वा जुनसुकै पदनाम दिई काममा लगाइएको व्यक्ति सम्झनु पर्छ ।
(म) “श्रमिक आपूर्तिकर्ता” भन्नाले श्रमिक आपूर्ति गर्न परिच्छेद–११ बमोजिम इजाजतपत्र प्राप्त व्यक्ति वा संस्था सम्झनु पर्छ ।
(य) “हड्ताल” भन्नाले श्रमिकहरुले नियमित रुपमा गरी आएको काम गर्न सामूहिक तवरले पूर्ण वा आंशिक रुपमा अस्वीकार गरेको अवस्था सम्झनु पर्छ । तर बिदामा बसेको वा तत्काल खतरा उत्पन्न भई काम बन्द गरेको वा श्रमिकहरुको काबु बाहिरको परिस्थिति परी काममा उपस्थित हुन नसकेको वा काम गर्न असमर्थ भएको अवस्थालाई हड्ताल मानिने छैन ।