परिच्छेद – ३ रोजगारी सम्बन्धी व्यवस्था

परिच्छेद – ३ रोजगारी सम्बन्धी व्यवस्था

१०. रोजगारीका प्रकार : (१) रोजगारदाताले श्रमिकलाई देहायको कुनै प्रकारको रोजगारीमा लगाउन सक्नेछ :
(क) नियमित रोजगारी,
(ख) कार्यगत रोजगारी,
(ग) समयगत रोजगारी,
(घ) आकस्मिक रोजगारी,
(ङ) आंशिक रोजगारी ।
स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि,—
(१) “नियमित रोजगारी” भन्नाले खण्ड (ख), (ग) र (घ) मा उल्लिखित रोजगारी बाहेक अन्य जुनसुकै प्रकारको रोजगारी सम्झनु पर्छ ।
(२) “कार्यगत रोजगारी” भन्नाले रोजगारदाताले कुनै खास काम वा सेवा किटान गरी सो सम्पन्न गर्न तोकेर दिने वा दिएको रोजगारी सम्झनु पर्छ ।
(३) “समयगत रोजगारी” भन्नाले रोजगारदाताले श्रमिकलाई निश्चित समयावधि तोकी सो अवधिभित्र कुनै सेवा प्रदान गर्न वा काम सम्पन्न गर्ने गरी दिने वा दिएको रोजगारी सम्झनु पर्छ ।
(४) “आकस्मिक रोजगारी” भन्नाले रोजगारदाताले श्रमिकलाई एक महिनाको अवधिमा सात दिन वा सोभन्दा कम अवधिको लागि कुनै सेवा प्रदान गर्न वा काम सम्पन्न गर्ने गरी दिनेवा दिएकोरोजगारी सम्झनु पर्छ ।
(५) “आंशिक रोजगारी” भन्नाले हप्तामा पैंतीस घण्टा वा सोभन्दा कम समयमा काम सम्पन्न गर्ने गरी दिने वा दिएको रोजगारी सम्झनु पर्छ ।
(२) कुनै रोजगारी नियमित हो वा होइन भन्ने प्रश्न उठेमा रोजगार सम्झौतामा जुनसुकै कुरा उल्लेख गरिएको भए तापनि कामको प्रकृतिको आधारमा तोकिए बमोजिम निर्धारण गरिनेछ ।

११. रोजगार सम्झौता नगरी काममा लगाउन नहुने : (१) रोजगारदाताले रोजगार सम्झौता नगरी कसैलाई काममा लगाउन हँुदैन ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि आकस्मिक रोजगारीको लागि लिखितरुपमा रोजगार सम्झौता गर्न आवश्यक पर्ने छैन ।
(३) उपदफा (१) बमोजिम रोजगार सम्झौता गर्दा त्यस्तो सम्झौतामा श्रमिकले पाउने पारिश्रमिक, सुविधा, रोजगारीको शर्त तथा तोकिए बमोजिमको अन्य कुराहरु समेत उल्लेख गर्नु पर्नेछ ।
१२. रोजगार सम्बन्ध स्थापना हुने : (१) रोजगारदाताले श्रमिकसँग रोजगार सम्झौता गरेमा वा मौखिक रुपमा श्रमिकलाई रोजगारी दिएमा वा आकस्मिक रोजगारीको हकमा श्रमिक काममा लागेको वा निजले सेवा प्रदान गरेको मिति वा समयदेखि रोजगारदाता र श्रमिकबीच रोजगार सम्बन्ध स्थापना हुनेछ ।
(२) रोजगारदाता र श्रमिकबीच रोजगार सम्बन्ध स्थापना भएको छ वा छैन भन्ने सम्बन्धमा विवाद उत्पन्न भएमा त्यस्तो विवादको निरुपण कार्यालयले गर्नेछ ।
(३) यस ऐन बमोजिम विभाग वा अदालत समक्ष विचाराधीन कुनै विषयमा उपदफा (२) बमोजिमको विवाद समेत समावेश भए विभाग वा अदालतले त्यस्तो विवादकोसमेत निरुपण गर्नेछ ।
(४) उपदफा (२) को प्रयोजनको लागि कार्यालयले रोजगारदातालाई निजसँग रहने रोजगारसँग सम्बन्धित कुनै प्रमाण वा अभिलेख पेश गर्न आदेश दिन सक्नेछ र त्यस्तो आदेश बमोजिम रोजगारदाताले प्रमाण वा अभिलेख पेश नगरेमा रोजगारदाता र श्रमिकबीच रोजगार
सम्बन्ध स्थापना भएको मानिनेछ ।
१३. परीक्षणकाल सम्बन्धी व्यवस्था : रोजगारदाताले श्रमिकसँग रोजगार सम्झौता गर्दा निजलाई छमहिना परीक्षणकालमा रहने गरी गर्न सक्नेछ र परीक्षणकालमा श्रमिकको काम सन्तोषजनक नदेखिएमा त्यस्तो श्रमिकसँगको रोजगार सम्झौता अन्त्य गर्न सक्नेछ । त्यसरी रोजगार सम्झौता अन्त्य नभएको श्रमिकको परीक्षणकाल समाप्त भएपछि रोजगार सम्बन्ध स्वतः सदर भएको मानिनेछ ।
१४. स्वामित्व परिवर्तन भएमा पनि रोजगार सम्बन्ध कायमै रहने : (१) कुनै रोजगारदाताको काम वा व्यवसाय वा सोको कुनै भाग कानून बमोजिम स्वामित्व परिवर्तन वा हस्तान्तरण भएमा वा त्यस्तो काम वा व्यवसाय सञ्चालन गर्न अरु कसैलाई दिएमा वा दुई वा दुईभन्दा बढी प्रतिष्ठान वा व्यवसाय आपसमा गाभिई नयाँ प्रतिष्ठान वा व्यवसाय सिर्जना भएमा त्यसरी स्वामित्व परिवर्तन वा हस्तान्तरण भएको वा सञ्चालन गर्न कसैलाई दिइएको काम वा व्यवसाय वा गाभिएको प्रतिष्ठान वा व्यवसायमा कार्यरत श्रमिकको रोजगार सम्बन्ध कायम रही रहनेछ ।
(२) उपदफा (१) को प्रयोजनको लागि यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम वा सामूहिक सम्झौता भएको भए सो सम्झौता अन्तर्गतको दायित्व त्यसरी स्वामित्व ग्रहण गर्ने वा हस्तान्तरण भई प्राप्त गर्ने वा काम वा व्यवसाय सञ्चालन गर्न जिम्मा लिने रोजगारदाता वा प्रतिष्ठान वा व्यवसाय गाभिएकोमा त्यसरी गाभिई बनेको नयाँ प्रतिष्ठान वा व्यवसाय वा पूर्वाधार संरचनाको निर्माण तथा संचालनमा निजी लगानी सम्बन्धी प्रचलित कानून बमोजिम परियोजनाको स्वामित्व र दायित्व हस्तान्तरण भएमा त्यस्तो स्वामित्व र दायित्वको जिम्मा लिने प्रतिष्ठानले बहन गर्नु पर्नेछ ।
तर साविक रोजगारदाता, नयाँ रोजगारदाता र सम्बन्धित प्रतिष्ठानको युनियनबीच अन्तरिम व्यवस्थापन सम्बन्धमा कुनै सम्झौता भएमा सोही सम्झौताको व्यवस्था लागू हुनेछ ।
१५. जगेडामा रहेको अवधिमा रोजगार सम्बन्ध कायमै रहने : (१) कार्यस्थलमा कुनैविशेष परिस्थिति उत्पन्न भएमा रोजगारदाताले कार्य स्थगन गरी श्रमिकलाई जगेडामा राख्न सक्नेछ ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “विशेष परिस्थिति” भन्नाले बिजुली, पानी, कच्चा पदार्थ वा आर्थिक स्रोतको अभाव भएको वा काबुबाहिरको कुनै परिस्थिति परी कार्यस्थलमा पुग्न वा काम गर्न नसकिने वा कार्यस्थल सञ्चालन हुन नसक्ने अवस्था सम्झनु पर्छ ।
(२) उपदफा (१) बमोजिम कुनै श्रमिक जगेडामा रहेको अवस्थामा त्यस्तो श्रमिक र रोजगारदाताबीच रोजगार सम्बन्ध कायमै रहनेछ ।
(३) दश जना वा सोभन्दा बढी श्रमिक कार्यरत रहेको रोजगारदाताले उपदफा (१) बमोजिम श्रमिकलाई पन्ध्र दिनसम्म जगेडामा राख्न सक्नेछ तर सोभन्दा बढी समयको लागि जगेडामा राख्नु परेमा आधिकारिक टेड युनियन वा श्रम सम्बन्ध समितिसँग परामर्श गर्नु पर्नेछ ।
(४) श्रमिकलाई जगेडामा राख्नेसम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।