परिच्छेद – १३ विशेष प्रकृतिको उद्योग वा सेवा सम्बन्धी व्यवस्था

परिच्छेद – १३ विशेष प्रकृतिको उद्योग वा सेवा सम्बन्धी व्यवस्था

८४. चिया बगानका श्रमिक सम्बन्धी विशेष व्यवस्था ः (१) चिया बगानका श्रमिकप्रति रोजगारदाताको
दायित्व देहाय बमोजिम हुनेछ ः–
(क) चिया बगान नजिक बसोबास नभएका चिया बगानका श्रमिक तथा
निजका आश्रित परिवारलाई चिया बगानभित्र उपयुक्त आवासको प्रबन्ध
गर्ने,
(ख) चिया बगानका श्रमिक तथा निजका आश्रित परिवारका सदस्यलाई
सानातिना चोटपटकको निःशुल्क प्राथमिक उपचार गर्ने र सोको लागि
तालिमप्राप्त व्यक्ति सहित स्वास्थ्योपचार सामग्रीको प्रबन्ध गर्ने,
(ग) चिया बगान नजिक बजार सुविधा नभएमा दैनिक उपभोग्य बस्तु सरल
तरिकाबाट उपलव्ध हुन सक्ने व्यवस्था मिलाउने,
(घ) चिया बगानका श्रमिक तथा निजको आश्रित परिवारका सदस्यको
शारीरिक तथा मानसिक विकासका लागि खेलकूद तथा मनोरञ्जनको
समुचित व्यवस्था मिलाउने।
स्पष्टीकरण ः यस दफाको प्रयोजनको लागिः–
(१) “चिया बगान” भन्नाले प्रचलित कानून बमोजिम दर्ता भएको
चिया बगान सम्झनु पर्छ र सो शव्दले चिया बगानभित्र स्थापना
भएको कारखाना, अन्य भौतिक पूर्वाधार तथा सोको परिसर
समेतलाई जनाउँछ ।
(२) “चिया बगानका श्रमिक” भन्नाले चिया बगानको जग्गामा खन्ने,
जोत्ने, सम्याउने, झोर्ने, छर्ने, रोप्ने, गोड्ने, काट्ने, टिप्ने, उखेल्ने
वा त्यस्तै अन्य काम गर्ने श्रमिक सम्झनु पर्छ र सो शब्दले चिया
प्रशोधन गर्ने तथा चिया बगानको अन्य कुनै काममा संलग्न
श्रमिक समेतलाई जनाउँछ ।
(३) “आश्रित परिवार” भन्नाले चिया बगानका श्रमिकसँगै बस्ने तथा
निजले पालन पोषण गर्नु पर्ने निजको परिवार सम्झनु पर्छ ।
(२) चिया बगानको कुनै काम सम्पन्न गर्ने सम्बन्धमा चिया बगानमा काम गर्ने श्रमिक र
रोजगारदाताबीच सम्झौता गर्न यो दफाले बाधा पु¥याएको मानिने छैन ।
८५. निर्माण श्रमिक सम्बन्धी विशेष व्यवस्था ः (१) निर्माण श्रमिकप्रति रोजगारदाताको दायित्व देहाय
बमोजिम हुनेछ ः–

(क) निर्माणको लागि आवश्यक पर्ने औजार, उपकरण तथा सामग्री पर्याप्त
मात्रामा उपलब्ध गराउने,
(ख) निर्माण कार्यस्थल नजिक बसोबास नभएका श्रमिकलाई अस्थायी
बासस्थान र शुद्ध पिउने पानीको प्रबन्ध गर्ने तथा आवश्यक खाद्य
सामग्रीको आपूर्तिको व्यवस्था मिलाउने,
(ग) निर्माण कार्यस्थलमा उपयुक्त सुरक्षाको प्रबन्ध गर्ने ।
स्पष्टीकरण ः यस दफाको प्रयोजनको लागि,–
(१) “निर्माण कार्य” भन्नाले भवन, सडक, पुल, नहर, शुरुङ,
आन्तरिक वा अन्तरदेशीय जलमार्ग, रेलमार्ग, निर्माण कार्य वा
विद्युतगृह, दूरसञ्चार, टेलिफोन वा टेलिग्राफिक संरचना र यस्तै
अन्य संरचना निर्माण गर्ने कार्य सम्झनु पर्छ र सो शब्दले सो
संरचनामा यन्त्र, औजार वा उपकरण जडान गर्ने कार्य
समेतलाई जनाउँछ ।
(२) “निर्माण श्रमिक” भन्नाले निर्माण कार्यमा संलग्न श्रमिक
सम्झनु पर्छ ।
(२) निर्माण कार्यको जिम्मा वा ठेक्का लिने व्यक्ति वा संस्था यस ऐनको प्रयोजनको लागि
रोजगारदाता मानिनेछ ।
(३) निर्माण श्रमिकको लागि पारिश्रमिक तथा अन्य सुविधाको दररेट निर्धारण गर्दा
सम्बन्धित तहको ट्रेड युनियन र निर्माण व्यवसायी संघको अनिवार्य प्रतिनिधित्व गराउनु पर्नेछ ।
(४) निर्माण श्रमिकसँग सम्बन्धित अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
८६. यातायात श्रमिक सम्बन्धी विशेष व्यवस्था ः (१) यातायात श्रमिकप्रति रोजगारदाताको दायित्व
देहाय बमोजिम हुनेछ ः–
(क) लामो दुरी (लङरुट) मा यात्रुओसारपसार गर्ने सवारी साधन आलोपालो
गरी चलाउन कम्तीमा दुई जना चालकको व्यवस्था अनिवार्य रुपमा गर्ने,
(ख) लामो दूरीमा चल्ने सवारी साधनको चालकलाई गन्तव्य स्थानमा
पुग्नुअघि ठाउँ ठाउँमा आराम गर्ने व्यवस्था गर्ने,
(ग) दिनको आठ घण्टाभन्दा बढी समय काममा लगाइएको यातायात
श्रमिकलाई बढी समय काम गरे बापत निजले पाउने पारिश्रमिकको
डेढीका दरले पारिश्रमिक दिने,
तर यातायात श्रमिकलाई ट्रीप भत्ता, खुराकी भत्ता वा अन्य यस्तै
भत्ता दिइने भएमा निजले रोजे बमोजिम त्यस्तो भत्ता वा डेढी रकममध्ये
कुनै एउटा मात्र पाउनेछ ।
(घ) गन्तव्य स्थानमा नपुग्दै सवारी साधन विग्रिएर नचल्ने भएमा वा कुनै
कारणले एकै स्थानमा रोकी राख्नु परेमा श्रमिकलाई सवारी साधन चालू
रहेको अवस्थामा पाउने गरेको भत्ताको पचास प्रतिशत भत्ता दिनु पर्नेछ

(ङ) सवारी साधनमा प्राथमिक उपचारको लागि आवश्यक औषधि र
स्वास्थ्योपचार सामग्री राख्ने ।
स्पष्टीकरण ः यस दफाकोप्रयोजनको लागि,–
(१) “लामो दुरी” भन्नाले कानून बमोजिम निर्धारण भएको लामो
बाटो(लङरुट) सम्झनु पर्छ ।
(२) “यातायातको काम” भन्नाले यान्त्रिक साधनको माध्यमबाट एक
ठाउँबाट अर्को ठाउँसम्म मानिस, जीवजन्तु वा मालसामान
ओसारपसार गर्ने काम सम्झनु पर्छ ।
(३) “यातायात श्रमिक” भन्नाले यातायातको काममा संलग्न श्रमिक
सम्झनु पर्छ ।
(२) सवारी साधन चलाउने यातायात श्रमिकले सवारी साधन चलाउनु भन्दा कम्तीमा
बाह्र घण्टाअघिदेखि गन्तव्य स्थानमा नपुगेसम्म मादक पदार्थ सेवन गर्नु हुँदैन ।
(३) उपदफा (२) विपरीत काम गर्ने श्रमिकलाई खराब आचरण गरेको मानी सम्बन्धित
रोजगारदाताले सेवाबाट हटाउन सक्नेछ ।
तर त्यसरी सेवाबाट हटाउनुअघि त्यस्तो श्रमिकलाई स्पष्टीकरण पेश गर्ने मौका दिनु
पर्नेछ ।
(४) रोजगारदाताले आफ्नो स्वामित्वमा रहेको सवारी साधन बिक्री गरी वा अन्य
कारणबाट स्वामित्व परिवर्तन भएको कारण सवारी साधनमा कार्यरत श्रमिकलाई सेवाबाट हटाउन
चाहेमा अवकाश बापत दिनु पर्ने सुविधा दिएर रोजगार सम्बन्ध अन्त्य गर्न सक्नेछ ।
तर यो व्यवस्था सवारी साधन सञ्चालन गर्ने प्रतिष्ठानको हकमा लागूहुने छैन ।
८७. पर्यटनसँग सम्बन्धित श्रमिक सम्बन्धी विशेष व्यवस्था ः (१) पर्यटनसँग सम्बन्धित श्रमिकप्रति
रोजगारदाताको दायित्व देहाय बमोजिम हुनेछ ः–
(क) श्रमिकलाई कार्यस्थलमा पठाउँंदा पर्याप्त मात्रामा प्राथमिक उपचारका लागि
औषधि र स्वास्थ्योपचारका सामग्रीहरु उपलव्ध गराउने,
(ख) श्रमिक सङ्कट गम्भीर स्वास्थ्य समस्या वा दुर्घटनामा परेमा अविलम्ब उद्धार
कार्य गर्ने, गराउने ।
(२) उपदफा (१) मा उल्लिखित श्रमिक कार्यस्थलमा जाँदा फिल्ड भत्ता, खुराकी भत्ता वा
यस्तै अन्य भत्ता वा अतिरिक्त समय काम गरेबापत डेढी पारिश्रमिकमध्ये निजले रोजेको कुनै
एउटा सुविधा रोजगारदाताले उपलब्ध गराउनु पर्नेछ ।
(३) होटल, मोटल, रेष्टुरेण्ट, जंगल सफारी वा अन्य व्यवसाय गर्ने रोजगारदाताले
सामूहिक सम्झौता बमोजिम लिइएको सेवा शुल्क रकम तोकिए बमोजिम वितरण गर्नु पर्नेछ ।
८८. घरेलु श्रमिक सम्बन्धी व्यवस्था ः (१) घरेलु श्रमिकका लागि नेपाल सरकारले छुट्टै न्यूनतम
पारिश्रमिक निर्धारण गर्न सक्नेछ ।
(२) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि घरेलु श्रमिकको सार्वजनिक
बिदा, साप्ताहिक बिदा र त्यस सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
(३) घरेलु श्रमिकलाई रोजगारदाताले घरमा नै खान बस्नको व्यवस्था गरेको वा
अध्ययनमा सहयोग गरेको रहेछ भने सो बापतको रकम रोजगारदाताले पारिश्रमिकबाट कटाउन
सक्नेछ ।
(४) रोजगारदाताले घरेलु श्रमिकलाई निजको संस्कृति, कुल धर्म, परम्परा अनुसारको
चाडपर्व मान्न दिनु पर्नेछ ।
८९. मौसमी प्रतिष्ठान सम्बन्धी व्यवस्था ः (१) मौसमी प्रतिष्ठान बेमौसममा बन्द भएमा त्यस्तो
प्रतिष्ठानमा काम गर्ने श्रमिकलाई प्रतिष्ठान बन्द भएको अवधिभर जगेडामा राखिनेछ ।
स्पष्टीकरण ः यस दफाको प्रयोजनको लागि “मौसमी प्रतिष्ठान” भन्नाले कुनै खास मौसममा मात्र
सञ्चालन गर्न सकिने प्रतिष्ठान सम्झनु पर्छ र सो शब्दले एक वर्षमा एकसय असी दिनभन्दा बढी
सञ्चालन गर्न नसकिने प्रतिष्ठान समेतलाई जनाउँछ ।
(२) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि रोजगारदाताले नियमित
रोजगारीमा रहेको श्रमिकलाई मौसमी प्रतिष्ठान बन्द रहेको बेमौसमको अवधिभर निजले पाउने
पारिश्रमिकको पच्चीस प्रतिशत बराबरको रकम पारिश्रमिक दिनु पर्नेछ ।
(३) कुनै प्रतिष्ठान मौसमी प्रतिष्ठान हो वा होइन भन्ने प्रश्न उठेमा सोको निर्णय
कार्यालयले गर्नेछ ।
९०. विदेशमा दर्ता भई नेपालमा व्यवसाय सञ्चालन गर्ने प्रतिष्ठान सम्बन्धी व्यवस्था ः नेपालमा कुनै
व्यवसाय प्रवद्र्धन गर्ने, कुनै वस्तु बिक्री गर्ने वा अन्य कुनै पनि काममा संलग्न कुनै विदेशी
प्रतिष्ठानले सो प्रतिष्ठानको नेपालस्थित प्रतिनिधि वा श्रमिकसँग भएको रोजगार सम्झौताको
उल्लंघन गरेमा त्यस्तो प्रतिनिधि वा श्रमिकले यस ऐन बमोजिम कार्यालय वा श्रम अदालतमा
उजुरी गर्न सक्नेछ ।