परिच्छेद–१२ विविध

परिच्छेद–१२ विविध

६७. वैदेशिक रोजगार विभाग : वैदेशिक रोजगार सम्बन्धी काम गर्नको लागि श्रम तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत एक वैदेशिक रोजगार विभाग रहनेछ ।
६८. श्रम सहचारीको नियुक्ति : (१) नेपाल सरकारले वैदेशिक रोजगारमा पाँच हजार वा सोभन्दा बढी कामदार पठाइएका मुलुकमा कम्तीमा राजपत्राङ्कित अधिकृतलाई श्रम सहचारी नियुक्त गर्नेछ ।
(२) श्रम सहचारीको काम, कर्तव्य रअधिकार देहाय बमोजिम हुनेछ :

(क) नेपाली कामदार रहेका मुलुकको श्रम तथा रोजगारको स्थिति, अध्यागमन सम्बन्धी तथ्यगत जानकारी तथा त्यस देशले श्रम तथा अन्तर्राष्ट्रिय मानव अधिकार तथा कामदारको हित संरक्षणार्थ चालेका कदम बारे नेपाल सरकारलाई जानकारी गराउने,
(ख) कामदार, रोजगारदाता संस्था वा इजाजतपत्रवालाबीच कुनै विवाद उत्पन्न भएमा समस्या समाधान गर्न सहयोग गर्ने,
(ग) वैदेशिक रोजगारको क्रममा अलपत्र अवस्थामा परेका कामदारलाई स्वदेश फिर्ता गर्न गराउन आवश्यक व्यवस्था गर्ने,
(घ) सम्बन्धित देशमा नेपाली कामदारको सीप अनुसारको काम उपलब्ध हुने भएमा सो सम्बन्धी जानकारी नेपाल सरकारलाई उपलब्ध गराउने,
(ङ) प्राकृतिक विपत्तिमा परेका वा कुनै कारणवश मृत्यु भएका कामदारको मृत शरीर सम्बन्धित मुलुक वा रोजगारदाता संस्थाको सहयोगमा स्वदेश फिर्ता पठाउन पहल गर्ने,
(च) नेपालबाट कामदार आपूर्ति गर्नका लागि सरकारी स्तरमा द्विपक्षीय सम्झौता गर्न प्रयास गर्ने,
(छ) कामदारलाई आवश्यक परामर्श प्रदान गर्ने र निजलाई सम्झौतामा उल्लिखित कार्य बाहेक अन्य कार्य गर्न निरुत्साहित गर्ने,
(ज) कामदारको लागि असर पार्न सक्ने क्रियाकलापको सुपरिवेक्षण गर्ने, र
(झ) नेपाल सरकारले समय–समयमा तोकेको अन्य कार्य गर्ने ।
(३) कुनै विदेशी मुलुकमा कुटनैतिक नियोग र श्रम सहचारी दुवै भएमा उपनियम (१) मा उल्लिखित काम र कर्तव्य पूरा गर्नु पर्ने दायित्व श्रम सहचारीमा निहित रहनेछ ।
६९. कामदारको आय फिर्ता ः (१) वैदेशिक रोजगारमा गएका नेपाली कामदारले आर्जन गरेको बचत रकम
बैङ्क वा इजाजतप्राप्त बैङ्किङ्ग सेवा प्रदान गर्ने संस्था मार्फत स्वदेश फिर्ता पठाउनु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै कामदार स्वदेश फिर्ता आउँदा निजले वैदेशिक रोजगारको सिलसिलामा आर्जन गरेको बचत रकम आपूmसँगै लिएर आउन सक्नेछ ।
(३) कुनै नेपाली कामदारले सम्झौतामा उल्लिखित समयावधियभित्र विदेशमा रही कमाएको आर्जन बैङ्क वा बैङ्किङ्ग सेवा प्रदान गर्ने संस्था मार्फत स्वदेश फिर्ता पठाएमा त्यस्तो कामदारलाई तोकिए बमोजिमको सुविधा प्रदान गरिनेछ ।
७०. इजाजतपत्र नदिइने : यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन अन्तर्गतको कुनै कसूरमा अदालतबाट सजाय पाई त्यस्तो सजाय भएको पाँच वर्ष भुक्तान नभएको व्यक्ति कुनै कम्पनीको प्रबन्धक वा सञ्चालक रहेछ भने त्यस्तो संस्थालाई इजाजतपत्र दिइने छैन ।
७१. नेपाल सरकारले पुरस्कृत गर्न सक्ने :(१) नेपाल सरकारले प्रत्येक वर्ष एउटा उत्कृष्ट इजाजत पत्रवालालाई तोकिएको मापदण्डको आधारमा बोर्डको सिफारिसमा प्रशंसापत्र सहित पुरस्कृत गर्न सक्नेछ ।
(२) इजाजतपत्रवालालाई पुरस्कृत गर्ने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
७२. स्वास्थ्य परीक्षण गराउने सम्बन्धी व्यवस्था : (१) वैदेशिक रोजगारका लागि जाने कामदारले विदेश जानुअघि नेपाल सरकारबाट स्वीकृतिप्राप्त स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम स्वास्थ्य परीक्षण गराई वैदेशिक रोजगारमा गएको व्यक्तिलाई जानी– जानी वा लापरवाहीपूर्वक वा बदनियतसाथ गलत स्वास्थ्य परीक्षण प्रतिवेदन दिएको कारण स्वदेश फिर्ता हुन परेमा वैदेशिक रोजगारमा जाँदा र फिर्ता हुँदा लागेको खर्च त्यसरी गलत स्वास्थ्य परीक्षण गर्ने संस्थाले व्यहोर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम गलत स्वास्थ्य परीक्षण प्रतिवेदन दिएको हो होइन भन्ने सम्बन्धमा निर्णय गर्न तोकिए बमोजिमको विशेषज्ञ समिति रहनेछ ।
७३. श्रमडेस्कको व्यवस्था : (१) वैदेशिक रोजगारमा जान लागेको कामदार यस ऐन बमोजिम जान लागेको हो होइन भन्ने सम्बन्धमा जाँच गर्न नेपाल सरकारले अन्तर्राष्ट्रिय विमानस्थलमा र आवश्यकता अनुसार अन्य स्थानमा श्रम डेस्क राख्नेछ ।
(२) उपदफा (१) बमोजिमको श्रम डेस्कले कामदारसँग श्रम स्वीकृति, अभिमुखीकरणको प्रमाणपत्र, पैसा तिरेको रसिद वा भौचर लगायतका आवश्यक कागजात भए नभएको जाँच गर्नेछ ।
(३) उपदफा (१) बमोजिमको श्रमडेस्कले वैदेशिक रोजगारमा गएका कामदारको अभिलेख सहितको प्रतिवेदन प्रत्येक हप्ता मन्त्रालयमा पठाउनु पर्नेछ ।
७४. शाखा खोल्ने र प्रतिनिधि (एजेण्ट) नियुक्ति सम्बन्धी व्यवस्था : (१) इजाजतपत्रवालाले जुन मुलुकमा कामदार पठाएको छ सो मुलुकमा विभागबाट तोकिए बमोजिम स्वीकृति लिई शाखा खोल्न वा आफ्नो प्रतिनिधि नियुक्त गर्न सक्नेछ ।
(२) इजाजतपत्रवालाले विभागबाट तोकिए बमोजिम स्वीकृति लिई नेपालभित्र शाखा खोल्न वा आफ्नो प्रतिनिधि नियुक्त गर्न सक्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम प्रतिनिधि नियुक्त गर्दा तोकिए बमोजिम धरौटी राख्नु पर्नेछ र त्यस्ता प्रतिनिधिले गरेका काम कारबाहीको जिम्मेवारी इजाजतपत्रवालामा नै रहनेछ ।
(४) शाखा खोल्ने र प्रतिनिधि नियुक्ति गर्ने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
७५. कामदारलाई स्वदेश फिर्ता गर्ने व्यवस्था : (१) करार बमोजिमको सुविधा नपाएको कारणबाट कामदार अलपत्र परी त्यस्तो कामदार स्वदेश फिर्ता हुनु पर्ने स्थिति आएमा सम्बन्धित इजाजतपत्रवालाले त्यस्तो कामदारलाई स्वदेश फिर्ता गराउनु पर्नेछ ।

(२) नेपाली कामदार रहेको मुलुकमा युद्ध, महामारी, प्राकृतिक विपत्ति परी कामदारलाई तत्काल फिर्ता गर्नु पर्ने भएमा नेपाल सरकारले कुटनैतिक नियोग वा श्रम सहचारी मार्फत कामदार फिर्ता गर्ने व्यवस्था मिलाउने छ ।
७६. प्रवेशाज्ञाको म्याद सकिएपछि स्वदेश फर्कनु पर्ने : (१) यस ऐन बमोजिम वैदेशिक रोजगारीका लागि गएका कामदार सम्बन्धित देशको प्रवेशाज्ञाको म्याद सकिएपछि स्वदेश फर्कनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम स्वदेश नफर्कने कामदारलाई विभागको सहयोगमा स्वदेश फर्काउने दायित्व इजाजतपत्रवालाको हुनेछ ।
(३) उपदफा (३) बमोजिम कामदार स्वदेश फर्काइसकेपछि त्यसरी फर्काइएको व्यक्तिलाई तीन वर्षसम्म विदेश जान नपाउने गरी नेपाल सरकारले प्रतिबन्ध लगाउन सक्नेछ ।
७७. इजाजतपत्रवालालाई सुविधा दिने : इजाजतपत्रवालालाई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने सिलसिलामा विदेशी मुद्राको कारोबार गर्दा तोकिए बमोजिम सुविधा दिइनेछ ।
७८. इजाजतपत्रप्राप्त संस्था सम्बन्धीे विवरण सार्वजनिक गर्ने : (१) विभागले समय–समयमा यस ऐन बमोजिम इजाजतपत्र प्राप्त गर्ने संस्थाको नाम, ठेगाना, टेलिफोन नम्बर, प्रतिनिधि (एजेण्ट) नियुक्ति गरेको वा शाखा खोलेको भए सोको विवरण र इजाजतपत्रको अवधि समेतका विवरण उल्लेख गरी विभिन्न पत्रपत्रिका वा आफ्नो वेबसाइट मार्पmत सार्वजनिक गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम विवरण सार्वजनिक गर्दा कुनै इजाजतपत्रवालाउपर यस ऐन बमोजिमको कसूरमा अनुसन्धान कारबाही भैरहेको वा कुनै इजाजतपत्रवालाको इजाजतपत्र रद्द गरिएकोभए सो समेत अध्यावधिक गर्नु पर्नेछ ।
७९. विभागको काम कारबाही सम्बन्धी : (१) विभागले यस ऐन बमोजिम आपूmले गरेको काम कारबाहीको मासिक प्रतिवेदन नेपाल सरकार, श्रम तथा यातायात व्यवस्था मन्त्रालय समक्ष पेश गर्नेछ ।
(२) यस ऐन बमोजिम गरिने काम कारबाहीको सम्बन्धमा मन्त्रालयले विभागलाई समय–समयमा आवश्यक निर्देशन दिन सक्नेछ ।
८०. अभिलेख तथा प्रतिवेदन :(१) इजाजतपत्रवालाले वैदेशिक रोजगारमा पठाइएका कामदारको अभिलेख तोकिए बमोजिम राख्नु पर्नेछ । यस्तो अभिलेख विभागले जुनसुकै बखत निरीक्षण गर्न, झिकाउन र जाँच्न सक्नेछ ।
(२) प्रत्येक इजाजतपत्रवालाले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीस दिनभित्र तोकिएको विवरण खुल्ने गरी विभाग समक्ष वार्षिक प्रतिवेदन पेश गर्नु पर्नेछ ।
८१. अधिकार प्रत्यायोजन : (१) नेपाल सरकारले यस ऐन बमोजिम आफूलाई भएको केही अधिकार नेपाल राजपत्रमा सूचना प्रकाशन गरी कुनै सरकारी निकाय वा अधिकारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।
(२) बोर्डले यस ऐन बमोजिम आफूलाई भएको केही अधिकार कार्यकारी निर्देशकलाई प्रत्यायोजन गर्न सक्नेछ ।

८२. बाधा अड्काउ फुकाउने अधिकार : यस ऐनको उद्देश्य कार्यान्वयन गर्न कुनै बाधा अड्काउ परेमा नेपाल सरकारले सो बाधा अड्काउ फुकाउनको लागि नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आवश्यक आदेश जारी गर्न सक्नेछ ।
८३. असल नियतले काम गरेकोमा बचाउ : यस ऐनले दिएको अधिकार प्रयोग असल नियतले गरेकोमा कुनै पनि सरकारी कर्मचारी व्यक्तिगत रुपले उत्तरदायी हुने छैन ।
८४. यस ऐन बमोजिम हुने : यस ऐनमा उल्लिखित कुरामा यसै ऐन बमोजिम र अन्यमा प्रचलित नेपाल कानून बमोजिम हुनेछ ।
८५. नियम बनाउने अधिकार  : यो ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियमहरु बनाउन सक्नेछ ।
८६. खारेजी र बचाऊ : (१) वैदेशिक रोजगार ऐन, २०४२ खारेज गरिएको छ ।
(२) वैदेशिक रोजगार ऐन, २०४२ अन्तर्गत भए गरेका काम कारबाही यसै ऐन अन्तर्गत भए गरेको मानिनेछ ।
८७. मुद्दा सर्ने : यो ऐन प्रारम्भ हुँदाका बखत वैदेशिक रोजगार ऐन, २०४२ अन्तर्गत विभागबाट अनुसन्धान र तहकिकात भई जिल्ला अदालतमा दायर भएका मुद्दा दफा ६४ बमोजिमको न्यायाधीकरण गठन भएपछि सो न्यायाधीकरणमा सर्नेछ ।