परिच्छेद –३ बालकलाई काममा लगाउने सम्बन्धी व्यवस्था

परिच्छेद –३ बालकलाई काममा लगाउने सम्बन्धी व्यवस्था

५. सूचना दिनु पर्नेः (१) यो ऐन प्रारम्भ हुँदाका बखत अनुसूचीमा उल्लिखित जोखिमपूर्ण व्यवसाय वा कार्य सञ्चालन गरिरहेका व्यवस्थापकले यो ऐन प्रारम्भ भएको मितिले तीस दिनभित्र श्रम कार्यालयलाई देहायका विवरणहरु खुलाई लिखित सूचना दिनु पर्नेछः–
(क) प्रतिष्ठानको नाम र ठेगाना,
(ख) व्यवस्थापकको नाम र ठेगाना,
(ग) प्रतिष्ठानद्वारा सञ्चालित व्यवसाय वा कार्यको प्रकृति, र
(घ) तोकिए बमोजिमका अन्य विवरणहरु ।
(२) यो ऐन प्रारम्भ भएपछि अनुसूचीमा उल्लिखित जोखिमपूर्ण व्यवसाय वा कार्य सञ्चालन गर्ने व्यवस्थापकले त्यस्तो व्यवसाय वा कार्य सञ्चालन गरेको मितिले पन्ध्र दिनभित्र श्रम कार्यालयलाई उपदफा (१) बमोजिम सूचना दिनु पर्नेछ ।
६. स्वीकृति लिनु पर्नेः (१) कुनै प्रतिष्ठानले बालकलाई काममा लगाउनु परेमा सम्बन्धित श्रम कार्यालय वा सो कार्यालयले तोकेको अन्य कुनै निकाय वा अधिकारी र बालकको बाबु, आमा वा संरक्षकको स्वीकृति लिनु पर्नेछ ।
तर नेपाल सरकारबाट स्वीकृति प्राप्त शिक्षण संस्था वा बालकको हक र हितको संरक्षणको निमित्त कार्यरत प्रचलित कानून बमोजिम स्थापित संस्थाद्वारा बालकको बृहत हितको निमित्त आयोजना गरिने काममा वा सांस्कृतिक कार्यक्रममा लगाउन यस दफा
बमोजिम स्वीकृति लिनु पर्ने छैन ।
(२) उपदफा (१) बमोजिम बालकलाई काममा लगाउने स्वीकृति दिंदा श्रम कार्यालयले सम्बन्धित प्रतिष्ठानलाई बालकको शीप र योग्यताको विकास गर्ने तथा शिक्षा प्रदान गर्ने उद्देश्यले उपयुक्त शर्तहरु लगाउन सक्नेछ र प्रतिष्ठानले यसको पालना गर्नु पर्नेछ ।
७. योग्यताको प्रमाणपत्र लिनु पर्नेः (१) प्रतिष्ठानले बालकलाई श्रमिकको रुपमा काममा लगाउनु अघि त्यस्तो बालकले श्रमिकको रुपमा काम गर्न सक्ने योग्यताको प्रमाणपत्र लिनु पर्नेछ ।
(२) प्रतिष्ठानले उपदफा (१) बमोजिम योग्यताको प्रमाणपत्र लिन त्यस्तो बालकले गर्नु पर्ने कामको प्रकृति र उमेर समेत उल्लेख गरी श्रम कार्यालयमा निवेदन दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको निवेदन प्राप्त भएपछि श्रम कार्यालयले चिकित्सकद्वारा त्यस्तो बालकको स्वास्थ्य परीक्षण गराउनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम चिकित्सकद्वारा बालकको स्वास्थ्य परीक्षण गराउँदा त्यस्तो बालक काम गर्न योग्य देखिएमा चिकित्सकले तोकिएको ढाँचामा योग्यताको प्रमाणपत्र दिनेछ ।
(५) उपदफा (४) बमोजिम दिइएको योग्यताको प्रमाणपत्र एक वर्ष बहाल रहनेछ ।
(६) उपदफा (५) बमोजिम दिइएको योग्यताको प्रमाणपत्र सम्बन्धित प्रतिष्ठानले चिकित्सकद्वारा नवीकरण गराउनु पर्नेछ ।

(७) योग्यताको प्रमाणपत्र लिंदा र नवीकरण गर्दा लाग्ने दस्तूर सम्बन्धित प्रतिष्ठानले नै व्यहोर्नु पर्नेछ ।
(८) यो ऐन प्रारम्भ हुँदाका बखत चौध वर्ष उमेर पूरा भएका बालकलाई काममा लगाएको प्रतिष्ठानले यो ऐन प्रारम्भ भएको मितिले तीस दिनभित्र योग्यताको प्रमाणपत्र लिई सक्नु पर्नेछ ।
८. विवरण दिनु पर्नेः (१) यो ऐन प्रारम्भ भएपछि बालकलाई काममा लगाउने प्रतिष्ठानले काममा लगाएको मितिले पन्ध्र दिनभित्र त्यस्तो बालकको फोटो सहित देहायका कुराहरु खुलाइएको विवरण श्रम कार्यालयमा पेश गर्नु पर्नेछः–
(क) प्रतिष्ठानको नाम र ठेगाना,
(ख) व्यवस्थापकको नाम र ठेगाना,
(ग) प्रतिष्ठान सञ्चालन भएको मिति,
(घ) प्रतिष्ठानद्वारा सञ्चालित व्यवसाय वा कार्य,
(ङ) बालकको नाम, ठेगाना र उमेर,
(च) बालकको बाबु, आमा वा संरक्षकको नाम र ठेगाना,
(छ) बालकलाई काममा लगाइएको मिति,
(ज) बालकले गर्नु पर्ने कामको प्रकृति,
(झ) बालकले पाउने पारिश्रमिकको रकम तथा अन्य सुविधाहरु,
(ञ) बालकको योग्यताको प्रमाणपत्र, र
(ट) तोकिए बमोजिमका अन्य विवरणहरु ।
(२) यो ऐन प्रारम्भ हुँदाका बखत चौध वर्ष उमेर पूरा गरेको बालकलाई काममा लगाई राखेको प्रतिष्ठानले यो ऐन प्रारम्भ भएको मितिले तीस दिनभित्र उपदफा(१) बमोजिमको विवरण श्रम कार्यालयमा पेश गर्नु पर्नेछ ।
९. काममा लगाउने समयः (१) बालकलाई बेलुका छ बजेपछि बिहान छ बजेसम्मको अवधिभर काममा लगाउनु हुँदैन ।
(२) बालकलाई काममा लगाउँदा दिनमा छ घण्टा र एक सप्ताहमा छत्तिस घण्टाभन्दा बढी अतिरिक्त पारिश्रमिक दिई वा नदिई काममा लगाउनु हुँदैन ।
(३) बालकलाई प्रत्येक दिन लगातार तीन घण्टा काम गरेपछि आधा घण्टा आराम गर्ने समय र प्रत्येक सप्ताहमा एक दिनको बिदा दिनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम दिइएको प्रत्येक दिनको आधा घण्टाको आराम गर्ने समय र प्रत्येक सप्ताहको एक दिनको बिदा काम गरेको अवधि मानिनेछ ।

(५) एकै दिन एउटा प्रतिष्ठानमा काम गरिसकेको बालकलाई सोही दिन पुनः अर्को प्रतिष्ठानमा काममा लगाउनु हुँदैन ।
१०. पारिश्रमिक र सुविधाः (१) प्रतिष्ठानले श्रमिकको रुपमा काम गर्ने बालकलाई लिङ्ग, वर्ण, धर्म वा जात जातीको आधारमा कुनै भेदभाव नगरी समान कामको लागि समान पारिश्रमिक र सुविधा दिनु पर्नेछ ।
(२) प्रतिष्ठानमा काम गर्ने बालकले पाउने पारिश्रमिक, भत्ता, बिदा र अन्य सुविधा तोकिए बमोजिम हुनेछ ।
(३) उपदफा (२) बमोजिम तोकिएको पारिश्रमिक र सुविधाभन्दा कम पारिश्रमिक र सुविधा दिने गरी व्यवस्थापकले बालकलाई प्रतिष्ठानमा काममा लगाउनु हुँदैन ।
११. बालकको स्वास्थ्य र सुरक्षा सम्बन्धी व्यवस्थाः प्रतिष्ठानमा काम गर्ने बालकको स्वास्थ्य र सुरक्षाका सम्बन्धमा व्यवस्थापकले अपनाउनु पर्ने व्यवस्था तोकिए बमोजिम हुनेछ ।
१२. उमेर सम्बन्धी विवादः (१) प्रतिष्ठानमा काम गर्ने कुनै बालकको उमेर सम्बन्धी विवाद परेमा त्यस्तो बालकको जन्म दर्ता प्रमाणपत्रमा उल्लिखित जन्म मिति अनुसारको उमेर नै निजको वास्तविक उमेर मानिनेछ ।
(२) कुनै बालकको जन्म दर्ता प्रमाणपत्र नभएमा चिकित्सकद्वारा स्वास्थ्य परीक्षण गराई निश्चित गरिएको उमेर नै निजको वास्तविक उमेर मानिनेछ ।
१३. दर्ता किताब राख्नु पर्नेः (१) प्रतिष्ठानमा काममा लगाउने बालकको सम्बन्धमा व्यवस्थापकले देहायका कुराहरु खुलाई एउटा दर्ता किताब राख्नु पर्नेछः–
(क) बालकको नाम र ठेगाना,
(ख) बाबु, आमा वा संरक्षकको नाम र ठेगाना,
(ग) जन्म मिति वा उमेर,
(घ) काममा लगाएको मिति,
(ङ) कामको प्रकृति,
(च) काम गर्नु पर्ने समय,
(छ) आराम गर्ने समय,
(ज) पारिश्रमिक तथा अन्य सुविधाहरु, र
(झ) तोकिए बमोजिमको अन्य कुराहरु ।
(२) उपदफा (१) बमोजिमको दर्ता किताब श्रम कार्यालयबाट खटी आएको
कर्मचारीले मागेको बखत प्रतिष्ठानले हेर्न दिनु पर्नेछ ।

१४. सूचना टाँस्नु पर्नेः व्यवस्थापकले बालकलाई लगाउन नहुने काम, बालकले पाउने पारिश्रमिक, सुविधा तथा साप्ताहिक बिदाको दिन र बालकलाई यस ऐन विपरीत काममा लगाएमा हुने सजाय सम्बन्धी कुराहरु प्रतिष्ठानको सूचना पाटीमा अनिवार्य रुपमा टाँस्नु पर्नेछ ।