परिच्छेद–१ प्रारम्भिक

परिच्छेद–१ प्रारम्भिक

१. संक्षिप्त नाम, बिस्तार र प्रारम्भः (१) यस ऐनको नाम “भूमि सम्बन्धी ऐन, २०२१” रहेकोछ ।
(२) परिच्छेद १, ७, ८, १० र ११ नेपालभर तुरुन्त प्रारम्भ हुनेछन् र अरू परिच्छेद, दफा वा उपदफाहरू समय समयमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको क्षेत्रमा तोकेको मितिदेखि प्रारम्भ हुने छन् ।

२. परिभाषाः विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “जग्गावाला” भन्नाले प्रचलित नेपाल कानुनबमोजिम नेपाल सरकारमा मालपोत तिर्नुपर्ने गरी आफ्नो नाममा जग्गा दर्ता गरी सो दर्ताको नाताले जग्गामा हक हुने व्यक्ति सम्झनुपर्छ र सो शब्दले देहायको जग्गाको सम्बन्धमा देहायको व्यक्तिलाई समेत जनाउँछ ः–
(१) बिर्ता उन्मूलन ऐन, २०१६ बमोजिम उन्मूलन भएको विर्ता जग्गाको सम्बन्धमा जग्गावालाको हैसियतले दर्ता गरिने व्यक्ति,
(२) जिमिदार साथको जग्गाको सम्बन्धमा जिमिदार,
(२क) किपटको हकमा रीतिथिति चलन अनुसार सरकारी तिरो तिरी त्यस्तो जग्गा भोग गर्ने व्यक्ति वा त्यस्तो व्यक्तिलाई तिरो तिरी त्यस्तो जग्गा भोग गर्ने व्यक्ति,
(३) त्यस्तो जग्गावालाको हकवाला वा अंशियार भएको नाताले वा त्यस्तो जग्गावालाले कानुनबमोजिम आफ्नोे हक छोडी दिएकोले सो जग्गा आफ्नोे नाममा दर्ता गराउने हक पुगेको व्यक्ति,
(४) त्यस्तो जग्गावालाको हकको जग्गा अरू कसैले भोग वा दृष्टि बन्धकीमा लिई कानुनबमोजिम भोग चलन गरी आएको भए त्यसरी भोग चलन गरुन्जेल सो व्यक्ति ।
(ख) “मोही” भन्नाले अरू जग्गावालाको जग्गा कुनै शर्तमा कमाउन पाई सो जग्गामा आफ्नोे वा आफ्नोे परिवारको श्रमले खेती गर्ने किसान सम्झनुपर्छ ।
(ग) कुनै व्यक्तिका सम्बन्धमा “परिवार” भन्नाले सो व्यक्ति र निजको देहायको अवस्थाका नातेदार सम्मलाई सम्झनुपर्छः–
(१) अंश छुट्टिएको वा नछुट्टिएको जे भए तापनि पति वा पत्नी,
(२) बाबु वा आमा जीवित छउन्जेल अंश छुट्टिएको वा नछुट्टिएको जे भए तापनि १६ वर्ष उमेर नपुगेका छोरा,छोरी,
(३)………………
(घ) “कूत” भन्नाले जग्गावालाको जग्गा कमाउन लिए वापत मोहीले जग्गावालालाई बुझाउने नगदी वा जीन्सी वा दुवै सम्झनुपर्छ ।
(ङ) “घरवारी” भन्नाले मानिस बसोबास गर्ने घर र सो घरले चर्चेको जग्गा सम्झनुपर्छ र सो शब्दले घरसंग जोडिएको वा फरक रहेको गोठ, भकारी, इनार, पोखरी, ग्यारेज, तबेला, फलफुलको बगैंचा, तरकारी बारी, बाँस घारी, खरबारी, खेलकूद वा मनोरन्जन गर्ने ठाउँ र सो सरहको अरू कुनै काममा लगाइएको जग्गालाई समेत जनाउँछ ।
(च) कुनै जग्गाको सम्बन्धमा “मुख्य वार्षिक उब्जनी” भन्नाले वर्षभरिमा सो जग्गामा लगाउने बाली मध्ये सबभन्दा बढी लाभ हुने बालीको उब्जनी सम्झनुपर्छ ।
(छ) “कृषक” भन्नाले खेतीमा लागेको व्यक्ति सम्झनुपर्छ ।
तर परिच्छेद ९ बमोजिम ऋण निश्चित गर्ने प्रयोजनका लागि सो शब्दले आफ्नोे वा आफ्नोे परिवारको श्रमले खेती गर्ने व्यक्ति सम्झनुपर्छ ।
(ज) “जिमिदारी” भन्नाले जिमिदार, पटवारी, तालुकदार, जिम्मावाल, मुखीया, थरी, द्वारे वा अरू कुनै नामबाट एजेण्ट खडा गरी निजद्वारा कानुनबमोजिम मालपोत असुल तहसील गरी नेपाल सरकारमा दाखिल गर्ने गराउने तथा किपट व्यवस्था समेतलाई सम्झनुपर्छ ।
(झ) “मालपोत” भन्नाले जग्गावालाले प्रचलित नेपाल कानुनबमोजिम नेपाल सरकारलाई तिर्नुपर्ने मालपोत र सो सरहको अरू कुनै तिरोलाई समेत जनाउँछ ।
(ञ) “सूचित आदेश” भन्नाले नेपाल सरकारबाट नेपाल राजपत्रमा प्रकाशित आदेश सम्झनुपर्छ ।
(ट) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यो ऐन अन्तर्गतको नियम वा सूचित आदेशमा तोकिएको वा तोकिए बमोजिम सम्झनुपर्छ ।