परिच्छेद–४ अधिकतम हदभन्दा बढी जग्गा प्राप्त गर्ने

परिच्छेद–४ अधिकतम हदभन्दा बढी जग्गा प्राप्त गर्ने

१३. जग्गाको फाँटवारी दाखिल गर्नेः (१) तोकिएको अधिकारीले तोकिए बमोजिम सूचना जारी गरी अधिकतम हदभन्दा बढी जग्गा हुने जग्गावालाहरूलाई सो सूचना जारी भएको मितिले ३५ दिन भित्र तोकिए बमोजिमको फाँटवारी दाखिल गर्न गराउन आदेश दिन सक्नेछ । तर –
(क) सम्बन्धित व्यक्तिको निवेदन परी वा अरू कुनै मनासिव कारणले म्याद बढाउन पर्ने देखिएमा सो म्याद गुज्रेको मितिले ३५ दिनसम्मको थप म्याद तोकिएको अधिकारीले दिन सक्नेछ ।
(ख) कुनै सरकारी कर्मचारी वा विदेशमा गएका व्यक्तिले म्यादभित्र फाँटवारी दाखिल गर्न सकेको रहेनछ भने त्यस्तो व्यक्तिले म्याद बढाउन निवेदन दिएमा नेपाल सरकार वा तोकिएको अधिकारीले आवश्यक ठानेमा थप म्याद दिन सक्नेछ ।
(ग) ……………………..

(१क) उपदफा (१) बमोजिम फाँटवारी दाखिल गर्दा जग्गावालाले जग्गावाला वा मोहीको हैसियतले आफ्नोे वा आफ्नोे परिवारको नाममा नेपाल…………मा रहेको सम्पूर्ण जग्गाको विवरण एउटै फाँटवारीमा खुलाई आफ्नोे जग्गा रहेको कुनै एक जिल्लामा मात्र दाखिल गर्नु पर्नेछ ।

(२) उपदफा (१) र (१क) बमोजिमको फाँटवारी दाखिल गर्नु गराउनु प्रत्येक जग्गावालाको कर्तव्य हुनेछ । त्यस्तो फाँटवारी परिवारको हकमा सो परिवारको मुख्यले र नावालक वा होश ठेगाना नभएको जग्गवालाको हकमा निजको अभिभावक वा हकवालाले दाखिल गर्नुपर्छ ।

(२क) भोग वा दृष्टिबन्धकी जग्गाका हकमा साहू वा आसामी मध्ये कुनै एक पक्षले मात्र फाँटवारी पेश गरेमा पनि यस दफाको तात्पर्यको लागि त्यस्तो जग्गाको सम्बन्धमा फाँटवारी पेश भएको मानिनेछ ।

(३) एक वा एक भन्दा बढी क्षेत्रमा दफा ७ बमोजिम राख्न पाउने अधिकतम हदभन्दा बढी जग्गा हुने जग्गावालाले यस दफा बमोजिम फाँटवारी पेश गर्दा त्यस्तो जग्गा मध्ये कुन जग्गा राख्ने र कुन जग्गा छोड्ने भन्ने कुरा समेत सो फाँटवारीमा खुलाउनुपर्छ ।

१४. फाँटवारी तयार गर्ने ः (१) दफा १३ बमोजिम दाखिल हुन आएको फाँटवारी र तत्सम्बन्धमा अन्य सुत्रबाट प्राप्त भएको सूचनाको आधारमा तोकिएको अधिकारीले कुनै भूल सच्याउन पर्ने देखेमा सो समेत सच्याई अन्तिम फाँटवारी तयार गर्नेछ ।

तर दफा १३ बमोजिम कसैले दिएको फाँटवारीमा कुनै कुरा सच्याउनु भन्दा अगावै तोकिएको अधिकारीले कम्तीमा पन्ध्र दिनको म्याद दिई सम्बन्धित व्यक्तिलाई सबूत प्रमाण सहितको स्पष्टिकरण दिने मौका दिनुपर्छ र निजले पेश गरेको सबूद प्रमाणको छानवीन गरेर मात्र तोकिएको अधिकारीले फाँटवारी सच्याउन सक्नेछ । सो बमोजिम फाँटवारी सच्याएमा त्यसको सूचना सम्बन्धित व्यक्तिलाई दिनु पर्छ ।

(२) … … …

१४क उजूर गर्न सक्ने ः (१) यस ऐन बमोजिम जग्गावालाको हैसियतले राख्न पाउने जग्गाको अधिकतम हद भन्दा बढी जग्ता धएको कुनै व्यक्ति वा परिवारले दफा १३ बमोजिम फाँटवारी पेश गर्दा जग्गा लुकाई फाँटवारी पेश गरेको जानकारी पाउने कुनै पनि व्यक्तिले तोकिएको अधिकारी समक्ष उजुरी गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम प्राप्त भएको उजूरी जाँचबुझ गर्दा मनासिव ठहरेमा तोकिएको अधिकारीको आदेशले त्यस्तो जग्गा जफट भई नेपाल सरकारको स्वामित्वमा आउनेछ ।

(३) उपदफा (२) बमोजिम जफत भएको जग्गाको तोकिएको दरले हुन आउने मोलको २५ प्रतिशत बराबरको रकम त्यस्तो उजूरी गर्ने व्यक्तिलाई तोकिएको अधिकारीले पुरस्कार बापत दिनेछ ।

१५. अधिकतम हद भन्दा बढी जग्गा प्राप्त गर्ने ः दफा १४ को उपदफा (१) बमोजिम प्रकाशित भएको फाँटवारीमा उजूर गर्ने म्याद गुज्री उजूर नलाग्ने भै सकेकोमा सो प्रकाशित फाँटवारी बमोजिम र उजुरी परेकोमा उजुरीको अन्तिम निर्णय बमोजिम तोकिएको अधिकारीले सम्बन्धित जग्गावालाहरूको यो परिच्छेद लागू भएको क्षेत्रमा दफा ७ मा तोकिएको अधिकतम हदभन्दा बढी भएको जग्गा तोकिए बमोजिम प्राप्त गर्नेछ । त्यसरी प्राप्त गरिएपछि सो जग्गामा सम्बन्धित जग्गावालाको हक तथा अधिकार स्वतः समाप्त भएको मानिनेछ ।
तर–
(क) एक वा एक भन्दा बढी क्षेत्रमा कुनै जग्गावालाको दफा ७ बमोजिम राख्न पाउने अधिकतम हदभन्दा बढी जग्गा भै निजले दफा १३ बमोजिम फाँटवारी पेश गर्दा आफूले राख्न चाहेको जग्गा देखाई फाँटवारी पेश गरेको रहेछ भने निजले सो फाँटवारीमा रोजेको दफा ७ मा तोकिएको अधिकतम हद भित्रको जग्गा प्राप्त गरिने छैन ।
(क१) अधिकतम हदभन्दा बढीको जग्गामा मोही लागेको भए मोहीको हक जतिको जग्गा नरमगरम मिलाइ छुटयाई बाँकी जग्गा नेपाल सरकारको स्वामित्वमा आउनेछ ।
(ख) त्यसरी प्राप्त गरिएको जग्गा परिच्छेद ६ बमोजिम बिक्री वितरणमा पाउने व्यक्तिलाई हस्तान्तरण नभएसम्म साविक जग्गावालाले साविक बमोजिम नेपाल सरकारमा मालपोत तिर्नु पर्ने गरी भोग चलन गर्न पाउने छ ।

१६. अधिकतम हदभन्दा बढी जग्गा प्राप्त हुन आएमा गर्नेः (१) अंश पाई वा अपुताली परी वा खोलाले छोडी वा नरवेसी भै कुनै व्यक्ति वा निजको परिवारलाई जग्गावालाको हैसियतले प्राप्त हुन आएको जग्गा र निजको सो अघि कुनै जग्गा भए सो समेत मिलाउँदा दफा ७ मा तोकिएको अधिकतम हदभन्दा बढी भएमा निजले सो प्राप्त भएको ३५ दिनभित्र तोकिए बमोजिमको फाँटवारी तोकिएको अधिकारी छेउ दाखिल गर्नुपर्छ ।
तर सम्बन्धित व्यक्तिको निवेदन परी म्याद बढाउनु पर्ने देखिएमा तोकिएको अधिकारीले बढीमा ७ दिनसम्मको थप म्याद दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम कसैको फाँटवारी दाखिल भएपछि तोकिएको अधिकारीले त्यस्तो जग्गावाला र जग्गाको सम्बन्धमा समेत दफा १४ र दफा १५ बमोजिम कारवाई गर्नेछ ।

१७. बन्धकी साहूको थैली कपाली हुने ः (१) कुनै जग्गा बन्धकी लिई भोग गरिरहेको साहूले दफा ७ बमोजिम सो जग्गा भोग गर्न नपाउने भै असामीले फिर्ता पाउने भएमा सो फिर्ता पाउने भएको मितिदेखि त्यस्तो साहूको बन्धकी थैली कपाली हुनेछ ।
(२) दुई वा सो भन्दा बढी जग्गावालको जग्गा बन्धकी लिई भोग गरिरहेका साहूले दफा ७ बमोजिम त्यस्तो सबै जग्गा भोग गर्न नपाउने भएमा लिखतको मितिको हिसाबले अघिल्लो असामीको जग्गा फिर्ता गर्नु पर्नेछ र त्यस्तोमा उपदफा (१) मा लेखिएको कुरा समेत लागू हुनेछ ।

१८. दण्ड सजाय ः (१) कसैले दफा १३ वा दफा १६ बमोजिम दाखिल गर्नुपर्ने फाँटवारी दाखिल नगरेमा वा अधूरो फाँटवारी दाखिल गरेमा वा जानी जानी झुठ्ठा फाँटवारी दाखिल गरेमा तोकिएको अधिकारीको आदेशले सम्बन्धित जग्गा जफत हुनेछ ।
तर–
(क) भोग वा दृष्टिबन्धकी जग्गाका हकमा साहू वा असामी कसैले पनि फाँटवारी पेश गरेको रहेनछ भने तोकिएको अधिकारीको आदेशले त्यसको जग्गामा साहूको परेको थैलीको कानुनी मान्यता लोप हुनेछ र त्यस्तो जग्गा समेत जफत हुनेछ ।
(ख) तोकिएको अधिकारीले सम्बन्धित जग्गा जफत गर्नु भन्दा अघि जफत किन हुनु नपर्ने भनी सम्बन्धित व्यक्तिलाई सबूद प्रमाण सहितको स्पष्टीकरण दिने मौका दिनु पर्दछ र सम्बन्धित व्यक्तिले पेश गरेको सबूद प्रमाणको समेत छानविन गरी तोकिएको अधिकारीले सम्बन्धित जग्गा जफत गर्ने वा नगर्ने निर्णय गर्नेछ ।
(२) कसैले दफा १५ बमोजिम जग्गा प्राप्त गरिने काममा तोकिएको अधिकारी वा निजको तर्फबाट काम गर्न खटिएको कर्मचारीलाई बाधा विरोध गरेमा त्यस्तो बाधा विरोध गर्ने व्यक्तिलाई तोकिएको अधिकारीको आदेशले रु. ५०,०००।– पचास हजारसम्म जरिवाना वा ६ महीनासम्म कैद वा दुवै सजाय हुन सक्नेछ ।
(३) … … …