परिच्छेद–८ कूतको व्यवस्था

परिच्छेद–८ कूतको व्यवस्था

३३. कूतको व्यवस्था ः जग्गावालाले मोहीबाट जग्गाको मुख्य वार्षिक उब्जनीको आधिभन्दा बढी हुनेगरी उब्जनीको भाग बाँडी लिन वा कूत ठेकी लिन हुँदैन ।
तर–
(क) काठमाडौं उपत्यकामा जग्गा हुने जग्गावालाले मोहीबाट सो जग्गाको मुख्य वार्षिक उब्जनीको निम्नलिखित दर भन्दा बढी कूत ठेकी लिन हुँदैन ।
खेत पाखो
अवल रोपनी १ को १।३। ।१०।१
द्वयम रोपनी १ को ।१८।६ ।७।२
सीम रोपनी १ को ।१३। ।४।३
चाहार रोपनी १ को ।८।५ ।२।७
(ख) यो दफा प्रारम्भ हुँदा सो भन्दा घटी दरले उब्जनीको भाग बाँडी लिने वा कूत ठेकी लिने गरी आएकोमा सोही घटी दर नै कायम हुनेछ । सो घटी दरमा बढाई जग्गावालाले मोहीबाट उब्जनीको भाग बाँडी लिन वा कूत ठेकी लिन हुँदैन ।
(ग) नेपाल सरकारले कुनै जग्गा वा तोकिएको क्षेत्रको जग्गाको निमित्त जग्गाको किसिम र उब्जनीको आधारमा मूख्य वार्षिक उब्जनीको औसत निर्धारित गरी सो औसतको आधारमा यस दफा बमोजिम मोहीले जग्गावालालाई बुझाउन पर्ने मुख्य वार्षिक उब्जनीको ५० प्रतिशत कूत तोकिदिन सक्नेछ । सो बमोजिम कूत निर्धारित भएपछि प्रत्येक वर्ष सोही बमोजिम कूत लिने दिने गर्नुपर्छ ।
स्पष्टीकरणः– यो दफाको तात्पर्यको लागि जग्गाको किसिमको आधारमा लिनु दिनु पर्ने कूत यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम अनुसार दिईने मोहियानी हकको प्रमाणपत्र वा जोताहाको अस्थायी निस्सामा लेखिए बमोजिम हुनेछ, लेनदेन भैसकेकोमा बाहेक त्यस्तो कूत मूल ऐन प्रारम्भ भएकै मिति देखि दिने लिने गर्नुपर्छ ।

३४. ……………….

३५. कूत मिन्हा दिने बारेः कुनै वर्ष मोहीले प्राकृतिक प्रकोप वा प्रतिकूलताले गर्दा वाली लगाउन सकेन वा फसल राम्रो हुन सकेन भने त्यसको सूचना यथासम्भव चाँडो जग्गावाला वा निजको तर्फबाट कूत बाली बुझ्ने व्यक्तिलाई दिनुपर्छ र जग्गावालाले पनि आवश्यक देखिएजति कूत मिन्हा दिनु पर्छ वा उब्जनीको अनुपातमा भाग बाँडी लिनुपर्छ ।

३६. कूत बुझाउने समय र तत्सम्बन्धी अरू व्यवस्थाः (१) मोहीले बुझाउनु पर्ने कूत जग्गावालालाई प्रत्येक साल तोकिएको समयभित्र बुझाई सक्नुपर्छ ।
तर उब्जनी बाली कटनी मडनी हुँदाकै बखत थला वा खरिहानमै बाँडी लिने शर्त भएकोमा जग्गावाला वा निजको प्रतिनिधिलाई नराखी मोहीले उब्जनी बाली उठाउन हुँदैन । पूर्व सूचना दिंदा पनि जग्गावाला वा निजको प्रतिनिधि नआए सम्बन्धित गाउँपालिका वा नगरपालिकामा दरखास्त दिई सो गाउँपालिका वा नगरपालिकाको कम्तीमा एकजना सदस्य र दुईजना संधियारहरूलाई साक्षी राखी निस्सा गराई मोहीले जग्गावालाको भाग छुट्याई आफ्नोे जिम्मा राख्न सक्नेछ र यसरी छुट्याएको भाग जग्गावालाले मञ्जुर गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम कूत बुझाउँदा जग्गावाला वा निजका प्रतिनिधिले कबुलियतमा उल्लेख भएको कूत बुझी नलिएमा मोहीले कूत बुझाउने म्याद नाघेको ३० दिनभित्र दरखास्त साथ बुझाउनु पर्ने कूत बजार भाउले नगदीमा परिणत गरी गाउँपालिका वा नगरपालिका वा जिल्ला माल अड्डा वा भूमि प्रशासन कार्यालयमा धरौटी राख्न सक्नेछ ।
तर आफूले बुझाउनुपर्ने कूतको सकयडा ९० प्रतिशत भन्दा कम हुनेगरी धरौटी दाखिल गरेको देखिए मोहीले यस उपदफा बमोजिम कूत बुझाएको मानिनेछैन र त्यस्तो भाउ वा अंकमा फरक पारी वा झुठ्ठा व्यहोरा देखाई धरौटी राखेको देखिए उपदफा (५) बमोजिम जग्गावालाबाट लिइने सयकडा २ प्रतिशत धरौटी राख्ने मोहीबाट असुल गरिनेछ ।
(३) उपदफा (२) बमोजिम मोहीले धरौटी राख्न आएमा धरौटी राख्ने गाउँपालिका वा नगरपालिका वा माल अड्डा वा भूमि प्रशासन कार्यालयले सो धरौटी राख्न ल्याएको रकम धरौटीमा आम्दानी बाँधी सो रुपैयाँ बुझ्ने ७ दिन भित्र जग्गावालाका नाउँमा सूचना जारी गर्नुपर्छ ।
(४) उपदफा (३) बमोजिम सूचना पाएपछि सो कूत बुझ्न नपर्ने कुनै कारण छ भने जग्गावालाले बाटोको म्याद बाहेक १५ दिन भित्र धरौटी राख्ने गाउँपालिका वा नगरपालिका वा माल अड्डा वा भूमि प्रशासन कार्यालयमा आफैं गई वा प्रतिनिधि पठाई उजूर गर्न सक्नेछ । उक्त म्याद भित्र उजूर नगरेमा सो धरौटी रहेको कूत बुझ्न जग्गावाला मन्जुर भएको मानिनेछ ।
(५) उपदफा (२) बमोजिम कूत धरौटी रहेको जनाउ पाएको वा झगडा परी अड्डाबाट अन्तिम निर्णय भएको मितिले १ वर्ष भित्र सो धरौटी रुपैयाँ पाउँ भनी जग्गावाला वा निजको प्रतिनिधिले दरखास्त दिन आएमा धरौटी अड्ढको सयकडा २ दस्तूर लिई सो रुपैयाँ धरौटी राख्ने गाउँपालिका वा नगरपालिका वा माल अड्डा वा भूमि प्रशासन कार्यालयले निजलाई बुझाईदिनुपर्छ । सो म्याद भित्र सो बमोजिम दरखास्त नदिएमा सो अवधि भुक्तान भएपछि सो धरौटी स्वतः नेपाल सरकारको संचित कोषमा जम्मा हुनेछ ।
(६) उपदफा (२) र (५) बमोजिम धरौटी अड्ढको सयकडा २ को दरले गाउँपालिका वा नगरपालिकाले दस्तुर लिएको रकम सोही गाउँपालिका वा नगरपालिकाको कोषमा आम्दानी बाँधी खर्च गर्न सक्नेछ ।

३६क. कूत भराई माग्ने हद म्यादः कूत बुझाउन म्याद नाघेको मितिले ९० दिन वा यो दफा लागू भएको मितिले ३५ दिन भित्र जुन पछि हुन्छ सो म्याद भित्र जग्गावालाले मोहीबाट कूत भराई लिन नालेस दिनु पर्छ । सो म्याद गुज्रेपछि कूत भराईमाग्ने नालेस लाग्न सक्दैन ।

३७. अरू काम लगाउन वा रकम लिन नहुनेः जग्गावालाले उचित मजुरी नदिई मोहीलाई बेठ बेगारी इत्यादि कुनै किसिमको काम लगाउन वा जग्गा कमाउन दिए वापत कूत बाहेक अरू कुनै किसिमको रकम लिन हुँदैन ।

३८. दण्ड सजायः (१) दफा ३३ वा ३५  … … … को उल्लङ्घन गरी कुनै जग्गावालाले मोहीबाट कुनै रकम कलम उठाएको ठहरेमा तोकिएको अधिकारीले सो उठाएको रकम मोहीलाई भराई दिई जग्गावालालाई विगो बमोजिम जरिवाना समेत गर्न सक्नेछ ।
(२) दफा ३४ को उल्लङ्घन गरी कुनै जग्गावालाले मोहीलाई रसीद नदिएमा तोकिएको अधिकारी, अदालत वा गाउँपालिका वा नगरपालिका ले निजलाई रु. ५००।– पाँचसयसम्म जरिवाना गर्न सक्नेछ ।
(३) दफा ३७ को उल्लङ्घन गरी कुनै जग्गावालाले मोहीलाई कुनै काम लगाएको ठहरेमा गाउँपालिका वा नगरपालिकाले स्थानीय दरले दिइने मजुरीको दोब्बर मजुरी सो जग्गावालाबाट मोहीलाई भराई दिनुपर्छ ।

(३क) दफा ३७ को उल्लङ्घन गरी कुनै जग्गावालाले मोहीबाट कुनै रकम कलम उठाएको ठहरेमा तोकिएको अधिकारी, अदालत वा गाउँपालिका वा नगरपालिकाले सो उठाएको रकम मोहीलाई भराई दिई जग्गावालालाई बिगो बमोजिम जरिवाना समेत गर्न सक्नेछ ।
(४) माथि उपदफाहरूमा लेखिए देखि बाहेक यस परिच्छेदको उल्लङ्घन गरी अन्य कुनै काम कुरा गर्ने व्यक्तिलाई तोकिएको अधिकारी, अदालत वा गाउँपालिका वा नगरपालिकाले रु. १००।– एक सयसम्म जरिवाना गर्न सक्नेछ ।

३९. मोही सम्बन्धी पुरानो मुद्दाको विशेष व्यवस्थाः यो दफा प्रारम्भ हुनु भन्दा अघिल्लो मितिसम्म जग्गावालाले आफ्नोे जग्गा कमाउने मोही वा किसानसंग वाली बाँकी वापत सो मोही वा किसानलाई निष्काशित गरी पाउँ भन्ने सम्बन्धमा विभिन्न अदालतमा दायर गरी छिन्न बाँकी रहेको मुद्दाको प्रचलित नेपाल कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि वाली बाँकी वापत अदालतले मोही वा किसानलाई निष्काशन गर्ने आदेश दिनु हुँदैन । वाली बाँकी ठहरेमा सो बाली सम्बन्धित मोही वा किसानबाट जग्गावालालाई भराई दिनुपर्छ । त्यस्तो बाँकी हो होइन भन्ने कुराको जाँचबुझ गर्न सम्बन्धित अदालतले आवश्यक देखेमा सरजमीन बुझ्न सक्नेछ ।