परिच्छेद–९ अनिवार्य बचत तथा ऋणको व्यवस्था

परिच्छेद–९ अनिवार्य बचत तथा ऋणको व्यवस्था

४०. अनिवार्य बचत गर्नुपर्नेः प्रत्येक जग्गावाला र मोहीले आफ्नोे वा आफूले कमाएको जग्गाको एक मुख्य वार्षिक उब्जनी वालीको तोकिएको दरले जिन्सीमा अनिवार्य बचत तोकिएको समिति संस्था वा अधिकारी छेउ जम्मा गर्नु गराउनु पर्छ ।
तर–
(क) यसरी तोकिएको समिति वा संस्था वा अधिकारी छेउ जम्मा हुन आउने बचतको अन्तिम जिम्मेवारी नेपाल सरकारको हुनेछ ।
(ख) तोकिएको समिति वा संस्था वा अधिकारीले आवश्यक सम्झेमा तोकिएको दर भाउमा नगदीमा बुझाउन लगाउन सक्नेछ । खाद्यान्न बाहेक अरू नगद बाली लागेका जग्गाको हकमा तोकिएको दरले नगदीमा जम्मा गर्नु गराउनु पर्छ ।
(ग) यसरी उठाएको बचत तोकिए बमोजिम कृषि विकास र कृषि कार्य सम्बन्धी स्थानीय आवश्यकतालाई प्राथमिकता दिई नेपाल सरकारले तोकिएको प्रशासनद्वारा उपयोग गर्ने गराउनेछ ।

४१. बचतमा व्याज दिने र नगदीमा परिणत गर्ने बारेः (१) दफा ४० बमोजिम जम्मा गराइएको बचतको रकममा सो जम्मा राख्ने समिति, संस्था वा अधिकारीले वार्षिक सयकडा पाँचका दरले व्याज दिनेछ र बचत जम्मा गरेको मितिले दुईवर्ष पछि र पाँचवर्षभित्र पटक पटक गरी वा एकमुष्ट त्यस्तो व्याजको भुक्तानी दिनेछ ।
(२) दफा ४० बमोजिम जम्मा भएको अनिवार्य जिन्सी बचत रकमलाई सो जम्मा राख्ने समिति, संस्था वा अधिकारीले तोकिए बमोजिम नगदीमा परिणत गर्न सक्नेछ ।

४२. बचतको रकम फिर्ता दिने बारेः दफा ४० बमोजिम जम्मा गरिएको बचत सो जम्मा गरिएको मितिले क्रमशः पाँच पाँच वर्ष पछि सो बचत जम्मा राख्ने समिति, संस्था वा अधिकारीले सो जम्मा रकम र बाँकी व्याज भए सो समेत नगदी, जिन्सी वा दुवैमा वा जिन्सीलाई दफा ४१ बमोजिम नगदीमा परिणत गरिएको भए नगदीमा फिर्ता भुक्तानी गर्नेछ वा भुक्तानी गर्नुपर्ने नगदी र जिन्सीको मोलको पूरै वा कुनै अड्ढको सट्टा किसानहरूलाई ऋण उपलब्ध गराउने वा मुलुकको विकास गर्ने उद्देश्यले बनेको तथा तोकिएको कर्पोरेशन, बैड्ढ वा अरू संगठित संस्थाको शेयर स्टक वा डिवेन्चर वा नेपाल सरकारले जारी गरेको ऋणपत्र उपलब्ध गराउनेछ ।

४३. जमानत राख्न र शेयर खरीद गर्न सकिनेः दफा ४० बमोजिम बचत गरिएको रकमको रसीद वा दफा ४२ बमोजिम उपलब्ध गराइएको शेयर डिबेन्चर वा ऋणपत्र नेपाल सरकारमा बुझाउन पर्ने कुनै प्रकारको डिपोजिट वा जमानतको निमित्त ग्राहृय हुनेछ र त्यस्तो बचत रसीदबाट सरकारी संस्थाको शेयर खरीद गर्न सकिनेछ ।

४४. ऋणको फाँटवारी दाखिल गर्नेः (१) तोकिएको अधिकारीले तोकिए बमोजिम सूचना जारी गरी यो दफा प्रारम्भ हुँदा कसैको किसानसंग असुल गर्न बाँकी रहेको कृषि सम्बन्धी ऋणको सावाँ र व्याज फिर्ता गरी लिनुपर्ने गोरु र कृषिका अन्य साधनको तोकिए बमोजिमको फाँटवारी ऋण सम्बन्धी लिखत पत्रको नक्कल साथ राखी सो सूचना जारी भएको ३५ दिनभित्र आफू छेउ वा सम्बन्धित गाउँपालिका वा नगरपालिकामा दाखिल गर्न गराउन आदेश दिन सक्नेछ र यो उपदफा प्रारम्भ हुनु भन्दा अघि सम्बन्धित गाउँपालिका वा नगरपालिका मा दाखिल गरेको तोकिए बमोजिमको फाँटवारीलाई यसै उपदफा बमोजिम दाखिल गरेको मानिनेछ ।
तर–
(क) सम्बन्धित व्यक्तिको निवेदन परी वा अरू कुनै मुनासिव कारणले म्याद बढाउन पर्ने देखिएमा सो म्याद गुज्रेको मितिले ३५ दिनसम्मको थप म्याद तोकिएको अधिकारीले दिन सक्नेछ ।
(ख) कुनै सरकारी कर्मचारी वा विदेशमा गएको व्यक्तिले म्यादभित्र फाँटवारी दाखिल गर्न सकेको रहेनछ भने त्यस्तो व्यक्तिले म्याद बढाउन निवेदन दिएमा नेपाल सरकार वा तोकिएको अधिकारीले आवश्यक ठानेमा थप म्याद दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम फाँटवारी दाखिल गर्नु प्रत्येक साहूको कर्तव्य हुनेछ । तर त्यस्तो साहू नाबालक वा होश ठेगाना नभएको व्यक्ति भए निजको अभिभावक वा हकवालाले फाँटवारी दाखिल गर्नुपर्छ ।
स्पष्टीकरणः यो दफाको प्रयोजनको लागि कृषि सम्बन्धी ऋण भन्नाले लेन देनको लिखत जुनसुकै व्यहोराको वापत जनाएको भए तापनि किसानहरूलाई देहायमा लेखिएको कामको लागि दिइएको नगदी वा जिन्सी ऋण सम्झनुपर्छः–
(क) बीउ,
(ख) किसानलाई खानाको निमित्त दिएको नगदी वा जिन्सी ऋण,
(ग) खेति गर्न लगाइने मजदूरलाई मजदूरी दिन,
(घ) मलजल लगाउन,
(ङ) मालपोत, पानीपोत तिर्न,
(च) गोरु र कृषि औजार ।
(३) यस परिच्छेदको प्रयोजनको लागि कुनै ऋण कृषि सम्बन्धी ऋण हो, होइन भन्ने प्रश्न उठेमा तोकिएको अधिकारीले गाउँपालिका वा नगरपालिकाको प्रतिनिधि राखी आवश्यक देखेमा सरजमीन समेत गरी त्यसको निर्णय गर्नेछ ।

४५. ऋणको साँवा र व्याजको वास्तविक रकम निश्चित गर्ने ः दफा ४४ बमोजिम फाँटवारी दाखिल भएपछि सो दाखिल गराउने समिति, संस्था वा अधिकारीले सम्बन्धित व्यक्तिहरूलाई उचित म्याद दिई, बुझी, आवश्यक छानवीन र जाँचबुझ गरी कृषि सम्बन्धी ऋणको बाँकी साँवा र व्याजको वास्तविक अङ्क देहायको आधारमा निश्चित गर्नेछ ।
(क) साहूले साँवाको दोवर व्याज असुल गरी सकेको भए ऋण साधन भएको मानिनेछ ।
(ख) नगदी जिन्सीमा दसौंद भन्दा बढी व्याज लिएको भए बढी लिएको व्याज साँवामा कट्टा भएको मानिनेछ ।
(ग) व्याजको व्याज लिएको भए त्यस्तो व्याज साँवामा कट्टा भएको मानिनेछ ।
(घ) थैलीको सयकडा १० भन्दा बढी आयस्ता पाउनेगरी भोग बन्धकीमा भोग गरेको भए पाए जति सबै आयस्तालाई नगदीमा परिणत गरी सकयडा १० भन्दा बढी ठहरिन आएको रकम साँवामा कट्टा भएको मानिनेछ ।
(ङ) कसैले आफ्नोे हली, जन वा गोठालालाई दिएको ऋण वापत व्याज दिइने छैन र त्यस्तो व्याज लगाई लिएको भए पनि सो व्याज साँवामा कट्टा भएको मानिनेछ । त्यस्तो हली, जन वा गोठालाले काम गरकोे प्रत्येक वर्षको लागि निजले आफ्नोे गृहस्थ साहूलाई बुझाउन पर्ने कूल ऋणको सयकडा १० का दरले ऋणमा स्वतः मिन्हा हुँदै गएको मानिनेछ ।
तर स्थानीय चलन अनुसार काम गरे वापत पाउने मजदूरी सो रकम भन्दा बढी पाउने रहेछ भने बढी पाउने रकम जति ऋणमा कट्टा गरिनेछ ।
(च) जग्गावालाबाट मोहीले लिएको बीउमा व्याज लिएको भए सो व्याज साँवामा कट्टा भएको मानिनेछ ।
(छ) कानुन वा रीतिथिति चलन अनुसार जग्गा फार्छे वा राजीनामा नहुने किपट जग्गाको हकमा यो प्रतिवन्धात्मक वाक्याशं प्रारम्भ हुनु भन्दा अघिको भोगबन्धकीमा खाए पाएको आयस्था खण्ड (घ) बमोजिम भोगबन्धकीमा साँवामा कट्टा गरिनेछैन ।

४५क. कागज सद्दे कीर्ते छुट्याउने अधिकारः (१) दफा ४५ मा उल्लेख भए बमोजिमको ऋण रकम निश्चित गर्दा कागज सद्दे कीर्ते छुट्याउनु पर्ने हुन आएमा ऋण रकम निश्चित गर्ने अधिकारीले प्रचलित कानुनबमोजिम सद्दे कीर्ते छुट्याउन सक्नेछ ।
(२) दफा ३५ बमोजिम ऋण निश्चित गराउने, सिलसिलामा पेश भएको यो दफा प्रारम्भ हुनु भन्दा अगाडिको कुनै लिखतमा आय टिकट टाँसिएको रहेनछ भने अन्य प्रचलित नेपाल कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि तोकिएको अधिकारीले कानुनबमोजिम आय टिकट टाँस्न लगाई सो लिखतका सम्बन्धमा कारवाही गर्न सक्नेछ ।

४६. ऋण प्राप्त गर्नेः तोकिएको समिति, संस्था वा अधिकारीले दफा ४५ बमोजिम निश्चित भएको ऋणको साँवा, ब्याज, गोरु र कृषिको औजारको फाँटवारी तयार गरी सो मध्ये आवश्यक देखिए जति ऋण तोकिए बमोजिम सम्बन्धित किसानहरूबाट असुल गर्नेछ ।
तर ऋणको सम्बन्धमा साहू असामीको मुख नमिली कारवाई चलिरहेकोमा अन्तिम निर्णय नभएसम्म मुख नमिले जति रकम असुल गर्ने कारवाई गरिने छैन ।

४६क.जिन्सी ऋणलाई नगदीमा परिणत गर्नेः दफा ४६ बमोजिम असुल उपर गरिएको जिन्सी ऋणलाई सो जिम्मा राख्ने समिति, संस्था वा अधिकारीले तोकिए बमोजिम नगदीमा परिणत गर्न सक्नेछ ।

४७. ऋण असुल गर्दाको अन्य व्यवस्थाः (१) तोकिएको समिति, संस्था वा अधिकारीले दफा ४६ बमोजिम ऋणको साँवा र व्याज असुल गर्दा साँवाको सयकडा १० ले व्याज लगाई असुल गर्नेछ ।
तर सो बमोजिम असुल गर्दा कुनै किसानलाई पीर पीराउ पर्ने देखिएमा सो समिति, संस्था वा अधिकारीले बढीमा ५ वर्षभित्र किस्तावन्दीमा साँवा र व्याज बुझाउनु पाउने गरी आदेश दिन सक्नेछ ।
(२) यो दफा र दफा ४६ बमोजिम ऋणको साँवा र व्याज असुल गर्नुपर्ने किसानबाट सो साँवा र व्याज पूरा असुल नभएसम्म वा यो परिच्छेद प्रारम्भ भएको २ वर्षभित्र जुन अघि हुन्छ सो म्यादभित्र कुनै साहूले आफूले उठाउन पाउने कृषि सम्बन्धी बाहेक अरू ऋणको साँवा, व्याज वा भरी पाउने बिगोको कुनै अङ्क वा किसानले खेतिमा लगाएको गोरु वा कृषिको अन्य साधन उठाउन, भराउन वा फिर्ता लिन पाउनेछैन ।
(३) यो दफा बमोजिम कुनै साहूले ऋण उठाउन नपाई निजको हद म्याद जाने रहेछ भने त्यसमा रोक्का फुकुवा भएको मितिले ७० दिनसम्म निजको हदम्याद कायम रहेको मानिनेछ ।

४८. असुल गरिएको ऋणको सम्बन्धमाः (१) यस परिच्छेद बमोजिम ऋण असुल गर्न समिति, संस्था वा अधिकारीले दफा ४४, दफा ४६, र दफा ४७ अन्तर्गत किसानहरूबाट असुल गरी लिएको ऋणको साँवा र व्याज र साँवाको तोकिए बमोजिमको व्याज समेत लगाई सम्बन्धित व्यक्तिलाई तोकिए बमोजिमको शर्त र तरीका अनुसार बुझाउनेछ ।
(२) उपदफा (१) बमोजिमको व्यवस्था नभएसम्म त्यस्तो ऋण वा त्यसको व्याजमा साहूले असामीलाई पक्रन पाउनेछैन ।

४९. खेतीमा लगाएको गोरु वा अन्य साधन फिर्ता लिन नपाउनेः जग्गावालाले खेतीको कामको निमित्त मोहीलाई दिएको गोरु वा कृषिको अन्य साधन मोहीबाट फिर्ता लिन पाउनेछैन । त्यस्तो गोरु वा साधनको मोल गाउँपालिका वा नगरपालिकाबाट कायम गराई सो कायम भएको मोलका सम्बन्धमा पनि कृषि सम्बन्धी ऋण सरह यस परिच्छेदमा लेखिएको कुरा लागू हुनेछ ।

५०. अरू ऋणको रकम निश्चित गराउनेः कुनै किसानले साहूबाट लिईराखेका कृषि सम्बन्धी बाहेक अरू कुनै ऋणको रकम निश्चित गरी पाउँ भनी तोकिएको समिति वा अधिकारी छेउ निवेदन दिएमा तोकिएको समिति वा अधिकारीले सम्बन्धित साहूबाट उचित म्याद दिई फाँटवारी लिई दफा ४५ बमोजिम त्यस्तो ऋणको रकम निश्चित गरी आवश्यक देखेमा किस्तावन्दीमा बुझाउन पाउने गरी आदेश दिन सक्नेछ ।

५१. दण्ड सजायः (१) दफा ४४ वा दफा ५० बमोजिम ऋणको फाँटवारी दाखिल गर्नु पर्ने कर्तव्य भएको कुनै साहूले सो बमोजिम फाँटवारी दाखिल नगरेमा वा झुट्ठा फाँटवारी दाखिल गरेमा तोकिएको अधिकारीको आदेशले त्यस्तो साहूको सम्बन्धित ऋणको कानुनी मान्यता लोप हुनेछ र त्यसपछि त्यस्तो ऋणको सम्बन्धमा असामी उपर साहूको कुनै दावी लाग्नेछैन ।
(२)यस परिच्छेद बमोजिम दाखिल गर्नुपर्ने बचत दाखिल नगर्ने व्यक्तिलाई तोकिएको अधिकारीले रु. ५००।– सम्म जरिवाना गरी बचत असुल उपर गर्नेछ र तत्काल बचत असुल उपर हुन नसकेमा तोकिएको अधिकारीले अर्को सालको बाली रोक्का गरी बचत असुल उपर गर्नेछ ।
(२क) यस परिच्छेद बमोजिम असामी किसानबाट सोझै असुल नहुने कृषि सम्बन्धी ऋणको साँवा व्याजको रकम सोझै असुल गर्ने व्यक्तिलाई तोकिएको अधिकारीको आदेशले बढीमा रु. ५००।– पाँचसयसम्म जरिवाना हुनेछ र सम्बन्धित विगो समेत जफत हुनेछ ।
(३) … … …

५१क. ऋण असुली सम्बन्धी सुविधा पाउने ः नेपाल कानुनबमोजिम गठित कुनै सहकारी संस्था, बैंक वा तोकिएको औद्योगिक कम्पनीले किसानसंग उठाउन, भराउन वा फिर्ता लिनुपर्ने जुनसुकै ऋणको साँवा र व्याज सोझै उठाउन, भराउन वा फिर्ता लिन यस परिच्छेदका कुनै कुराले बाधा पु¥याउने छैन र त्यस्तो सहकारी संस्था, बैंक वा तोकिएको औद्योगिक कम्पनीले दफा ४४ बमोजिम ऋणको फाँटवारी दाखिल गर्नुपर्ने छैन ।

५१ख. असामीबाट ऋणको फाँटवारी आएकोमा त्यस्तो ऋण असामीले पाउने दफा ४४ वा ५० बमोजिम ऋणको फाँटवारी दाखिल गर्नुपर्ने कर्तव्य भएको कुनै साहूले सो बमोजिम फाँटवारी दाखिल नगरी त्यस्तो फाँटवारी सम्बन्धित किसानबाट भै दफा ४६ बमोजिम ऋण प्राप्त भएमा साहूको त्यस्तो ऋण र त्यस्को वार्षिक सयकडा पाँचका हिसाबले व्याज समेत पाँचवर्ष पछि असामीलाई एकमुष्ट फिर्ता दिइनेछ ।

५१ग. साधन भएको ऋण असामीले फिर्ता पाउनेः कुनै असामीले दफा ४६ बमोजिम समिति वा संस्थामा बुझाएको ऋण रकम दफा ४५ बमोजिम ऋण निश्चित गर्दा साधन भएमा निज असामीले तुरुन्त फिर्ता पाउनेछ ।

५१घ. बचत वा ऋण हिनामिना गरेमा असुल गर्ने ः दफा ४० वा ४१ बमोजिम असुल भएको बचत दफा ४६ बमोजिम प्राप्त भएको ऋण कुनै व्यक्ति, अधिकारी, समिति वा संस्थाका सदस्यले हिनामिना गरेको छ भन्ने लागेमा नेपाल सरकारले त्यस सम्बन्धमा कुनै अधिकृतद्वारा आवश्यक जाँचबुझ गराउन सक्नेछ र सो जाँचबाट हिनामिना भएको देखिएमा त्यस्तो हिनामिना गर्ने व्यक्ति, अधिकारी, समिति वा संस्थाका सदस्यहरूलाई नेपाल सरकारले बिगो बमोजिम जरिवाना गरी निजबाट हिनामिना भएको बचत वा ऋण समेत सरकारी बाँकी सरह असुल गर्न सक्नेछ ।