परिच्छेद – ५ कोष, हिसाब र लेखा परीक्षण

परिच्छेद – ५ कोष, हिसाब र लेखा परीक्षण

२३. संस्थानको कोष : (१) संस्थानको आफ्नोे एउटा छुट्टै कोष रहनेछ । ऋण र अनुदान लगायत संस्थानले प्राप्त गर्ने सबै रकम सोही कोषमा जम्मा गरिनेछ र संस्थानको तर्फबाट खर्च गर्नु पर्ने रकमहरू पनि सोही कोषबाट व्यहोरिनेछ ।
(२) कोषको सबै रकम नेपाल राष्ट्र बैंक वा नेपाल सरकारले अनुमति दिएमा अरू बैंकमा जम्मा गरिनेछ ।
(३) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम विनियम बमोजिम अधिकृत कार्यहरूको निमित्त उचित ठहरिएको रकम खर्च गर्ने अधिकार समितिलाई हुनेछ ।

२४. दायित्व सम्हाल्ने : संस्थानको स्थापना हुनु भन्दा अघि यस ऐनमा उल्लेख भएको काम कुरामा नेपाल सरकारले गरेको वा नेपाल सरकारसँग भएको दायित्वहरू र ठेक्का पट्टाहरूमध्ये नेपाल सरकारले संस्थानको निमित्त छुट्टाइएको जतिमा संस्थानले वा सोसँग वा सो संस्थानको निमित्त भए गरेको मानिनेछ ।

२५. हिसाब राख्ने तरीका : संस्थानको आम्दानी खर्चको हर हिसाब नेपाल सरकारबाट स्वीकृत ढाँचा र तरीका अनुसार राखिनेछ ।

२६. नाफा वितरण : संस्थानले गरेको नाफाको वितरण र उपयोगि तोकिए बमोजिम हुनेछ ।

२७. लेखा परीक्षण : (१) संस्थानको लेखा परीक्षण नेपाल सरकारबाट खटाइएको एकजना र शेयरहोल्डरहरूको सभाले छानेको एक जना गरी जम्मा दुई जना लेखापरीक्षकहरूले गर्नेछन् । शेयरहोल्डहरूद्वारा छानिने लेखापरीक्षक वार्षिक साधारण सभामा छानिने छन् र सोही सभामा लेखापरीक्षकहरूको पारिश्रमिक पनि तोकिने छ ।
तर साधारण सभाको व्यवस्था नभएसम्म नेपाल सरकारबाट खटाएका एक जना लेखापरीक्षकले नै संस्थानको लेखापरीक्षण गर्नेछ ।
(२) शेयरहोल्डरहरूले छानेको लेखापरीक्षक कुनै कारण बस खाली भएमा अर्को साधारण सभा नहुन्जेलसम्मको लागि नेपाल सरकारले सो खाली स्थान पूर्ति गर्न सक्नेछ।
(३) संस्थानको वार्षिक हिसाब तथा लाभ हानीको खाता र तत्सम्बन्धी भरपाईहरूको लेखा परीक्षण गर्ने कर्तव्य लेखापरीक्षकहरूको हुनेछ । लेखापरीक्षकलाई संस्थानमा रहेको सबै हिसाब खाताहरूको लगत दिइनेछ । निजहरूले जुनसुकै मुनासिब समयमा संस्थानको जुनसुकै स्थानमा पदाधिकारी वा अरू कर्मचारीसँग रहेकोहिसाब किताब र कागजात हेर्न जाँच्न सक्नेछन्।
(४) लेखापरीक्षकहरूले वार्षिक हिसाब तथा लाभ हानीको खाताबारेको आफ्नोे प्रतिवेदनको एउटा प्रतिलिपि नेपाल सरकारमा र अर्को प्रतिलिपि संस्थानको साधारण सभाको व्यवस्था भएपछि सो सभामा पेश गर्नेछन्। सो प्रतिवेदनमा देहायका कुराहरू स्पष्ट उल्लेख हुनु पर्छः–
(क) संस्थानको वास्तविक आर्थिक स्थिति देखिने गरी सबै आवश्यक कुराहरू स्पष्ट खुलाई ठीकसँग वार्षिक हिसाब तथा लाभ हानिको खाता तयार गरिएको छ छैन ।
(ख) जाँचकीले मागेको कुनै स्पष्टीकरण वा सूचना संस्थानले दिएको छ छैन र दिएको भए सो सन्तोषजनक छ छैन ।
(ग) पेश भएको वार्षिक हिसाब तथा लाभहानीको खाता रीतपूर्वकको छ छैन ।
(५) संस्थानको उचित प्रबन्धको लागि उपयुक्त लागेको प्रस्तावहरू लेखापरीक्षकहरूले पेश गर्न सक्नेछन् । त्यसरी पेश गरिएका प्रस्तावहरू समितिले साधारण सभाको कार्यसूचीमा समावेश गर्नेछ ।
(६) शेयरहोल्डरहरू र साहूहरूको उचित संरक्षणको लागि संस्थानले उठाइ राखेको कदमहरू यथेष्ट भए नभएको र संस्थानको हिसाब किताब राख्ने तरीका ठीक भए नभएको कुरा खोली आफूछेउ प्रतिवेदन पेश गर्न नेपाल सरकारले जुनसुकै समयमा पनि लेखापरीक्षकहरूलाई निर्देशन गर्न सक्नेछ ।
(७) उपदफा (४) वा (६) बमोजिम प्राप्त प्रतिवेदनको आधारमा आवश्यक सुधार वा व्यवस्थाको लागि नेपाल सरकारले संस्थानलाई निर्देशन गर्न सक्नेछ ।