परिच्छेद– १ प्रारम्भिक

परिच्छेद– १ प्रारम्भिक

१. संक्षिप्त नाम, विस्तार र प्रारम्भ ः (१) यस ऐनको नाम “नेपाली पानी जहाज (प्रमाण–पत्र र
रोजनामचा) ऐन, २०२७” रहेकोछ ।

(२) यो ऐन नेपाल  भर लागू हुनेछ र जहाँसुकै रहेको भए तापनि पानी
जहाज दर्ता ऐन, २०२७ बमोजिम दर्ता गरिएको र दर्ता गर्नुपर्ने पानी जहाज र सो पानी जहाजका
धनी, नाविक र कर्मचारीहरुलाई समेत लागू हुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा ः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “नेपाल पानी जहाज कार्यालय” भन्नाले पानी जहाज दर्ता ऐन, २०२७ अन्तर्गत
स्थापित नेपाल पानी जहाज कार्यालयलाई सम्झनु पर्छ ।
(ख) “पानी जहाज” भन्नाले कम्तीमा १० ग्रस रजिष्टर टन भारवहन क्षमता भएको
समुद्रयात्रा गर्ने जलयान (भेसल) लाई सम्झनु पर्छ ।
(ग) “यात्रुवाहक पानी जहाज” भन्नाले १२ भन्दा बढी संख्यामा यात्रु ओसार्न अधिकार
प्राप्त पानी जहाजलाई सम्झनु पर्छ ।
(घ) “मालवाहक पानी जहाज” भन्नाले यात्रुवाहक पानी जहाज बाहेक अरु सबै पानी
जहाजलाई सम्झनु पर्छ ।
(ङ) “टेङ्कर” भन्नाले ठूलो परिमाणमा तरल माल ढुवानी गर्नको लागि निर्मित वा
परिवर्तित मालबाहक पानी जहाजलाई सम्झनु पर्छ ।
(च) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा
तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।
३. प्रमाणपत्र र रोजनामचा ः (१) प्रत्येक नेपाली पानी जहाजले यो ऐन बमोजिमका प्रमाणपत्र र
रोजनामचाहरु राख्नु पर्छ ।
(२) त्यस्ता प्रमाणपत्र र रोजनामचाहरुले सो पानी जहाजको परिचय, समुद्रयात्रा गर्ने
क्षमता र समुद्रयात्रा गर्ने पानी जहाजमा हुनुपर्ने अरु आवश्यकता पूरा भएको प्रमाणित गर्नेछन्।
(३) त्यस्ता प्रमाणपत्र र रोजनामचाहरुको भाषा नेपाली हुनेछ ।
तर नेपाली भाषाको साथै दोश्रो भाषाको रुपमा अंग्रेजी भाषा पनि प्रयोग गर्न सकिनेछ ।
(४) त्यस्तो प्रमाणपत्र र रोजनामचाहरु संधै सो पानी जहाजमा नै राखिनु पर्छ र अधिकार
प्राप्त कुनै पानी जहाज कार्यालयको अधिकृत वा  नेपाली कूटनैतिक वा वाणिज्य
प्रतिनिधिबाट चाहिएको बखत पेश गर्नु पर्छ ।