परिच्छेद –१ प्रारम्भिक

परिच्छेद –१ प्रारम्भिक

१. संक्षिप्त नाम, विस्तार र प्रारम्भ : (१) यस ऐनको नाम “हुलाक ऐन, २०१९” रहेको छ ।
(२) यो ऐन नेपाल ……… भर लागू हुनेछ र नेपाल ………. बाहिर रहेका नेपाली नागरिकलाई पनि लागू हुनेछ ।
(३) दफा ३१, दफा ३२ र परिच्छेद ८ नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको मितिदेखि र अरु दफाहरु तुरुन्त प्रारम्भ हुनेछन्।

२. परिभाषा : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “महानिर्देशक” भन्नाले नेपाल सरकारको हुलाक सेवा विभागको महानिर्देशक सम्झनु पर्छ। यो शब्दले सो विभागको महा–निर्देशकको अधिकार प्रयोग गर्ने अरु पदाधिकारीलाई समेत जनाउँछ ।
(ख) “क्षेत्रीय निर्देशक” भन्नाले क्षेत्रीय हुलाक निर्देशनालयको क्षेत्रीय निर्देशक सम्झनु पर्छ र सो शब्दले क्षेत्रीय निर्देशकको अधिकार प्रयोग गर्ने अन्य पदाधिकारीलाई समेत जनाउँछ ।
(ग) “हुलाक हाकिम” भन्नाले हुलाक अड्डाको मुख्य कर्मचारी सम्झनु पर्छ र यो शब्दले हुलाक हाकिमको अधिकार प्रयोग गर्ने अरु कर्मचारीलाई समेत जनाउँछ ।
(घ) “हुलाक वा हुलाक अड्डा” भन्नाले नेपाल सरकारबाट खडा गरिएको हुलाक अड्डा सम्झनु पर्छ र यो शब्दले हुलाक अड्डाको प्रयोजनको निमित्त प्रयोग गरिएको जुनसुकै घर, भवन, कोठा, सवारी वा ठाउँ र हुलाक वस्तुहरु खसाल्नको निमित्त हुलाक अड्डाले राखेको जुनसुकै पत्र मञ्जूषालाई समेत जनाउँछ ।
(ङ) “हुलाक अड्डाको कर्मचारी” भन्नाले हुलाक अड्डाको काममा लगाइएको जुनसुकै व्यक्ति सम्झनुपर्छ ।
(च) “हुलाक वस्तु” भन्नाले चिठ्ठी, समाचारपत्र, पत्रिका, बुकपोष्ट, नमूना प्याकेट, अन्धा साहित्य, पुलिन्दा र हुलाकबाट चलान हुन सक्ने जुनसुकै चीज वा वस्तुलाई समेत जनाउँछ ।
(छ) “चिठ्ठी” भन्नाले चिठ्ठी, हुलाकपत्र र हवाईपत्रलाई समेत जनाउँछ ।
(ज) “आन्तरिक हुलाक वस्तु” भन्नाले नेपाल …….. .भित्रको कुनै
ठेगानामा डेलिभरी हुने गरी नेपाल ………… भित्रै पोष्टिङ्ग (हुलाक दाखिल) गरिएको हुलाक वस्तु सम्झनु पर्छ ।
(झ) “डाँक थैला” भन्नाले हुलाकबाट चलान गर्दाको अवस्थामा हुलाक वस्तुहरु राखी लैजाने थैला, बाकस, पुलिन्दा वा अरु खाम वा खोललाई समेत जनाउँछ ।
(ञ) “हुलाक महसुल” भन्नाले हुलाकबाट चलान गर्ने हुलाक वस्तुहरुमा लाग्ने महसुल सम्झनु पर्छ।
(ट) “हुलाक टिकट” भन्नाले हुलाक वस्तुमा लाग्ने हुलाक महसुल वा अरु कुनै दस्तुर वा रकम अंकित गर्न नेपाल सरकारले निकालेको टिकट सम्झनु पर्छ र सो शब्दले कुनै खाम, हुलाकपत्र वा अरु कुनै वस्तुमा छापेर इम्बस् वा इम्पे्रस गरेर वा फ्रेकिंग मेशिनद्वारा अंकित गरेर लगाइएको टिकटको निस्सालाई समेत जनाउँछ ।
(ट१) “हुलाक अपराध” भन्नाले यस ऐन बमोजिम सजाय हुने कसूर सम्झनु पर्छ ।
(ठ) कुनै हुलाक वस्तुको सम्बन्धमा “हुलाकबाट चलान गर्दाको अवस्था” भन्नाले हुलाक वस्तु हुलाक अड्डामा डेलिभरी गरेदेखि ठेगानावालालाई डेलिभरी गरिएको वा पठाउनेलाई फिर्ता डेलिभरी गरिएको वा परिच्छेद–७ अन्तर्गत फछ्र्याइएको समयसम्मको अवधि सम्झनु पर्छ ।
(ड) कुनै हुलाक वस्तुको सम्बन्धमा “हुलाक अड्डामा डेलिभरी गर्ने” भन्नाले हुलाक वस्तु पोष्टिंग (हुलाक दाखिल) गर्नको निमित्त तत्सम्बन्धी अधिकार प्राप्त व्यक्तिलाई डेलिभरी गर्ने सम्झनुपर्छ।
(ढ) कुनै हुलाक वस्तुको सम्बन्धमा “ठेगानावालालाई डेलिभरी गर्ने” भन्नाले हुलाक वस्तु ठेगानावालाको घर वा कार्यालयमा वा ठेगानावाला आफैलाई वा निजको नोकर वा प्रतिनिधिलाई वा सामान्य प्रचलन अनुसार ठेगानावालाको नाममा आएको हुलाक वस्तुको डेलिभरी लिन अधिकार भएको भन्ने मानिएको अरु व्यक्तिलाई डेलिभरी गर्ने सम्झनु पर्छ ।
(ण) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यो ऐन अन्तर्गत बनेको नियमहरुमा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।